भर्खरै :

जनरल चाल्र्स दे गाल : एक अध्ययन – ४

रमाइलो फ्रान्स
सन् १९२६ देखि १९३० सम्म फ्रान्सेली पुँजीपतिहरू रमाउँदै थिए । प्रम पोइँकेयरका सुधारहरूले फ्रान्सको मुद्रा फ्राङ्क युरोपकै भरपर्दो मुद्रा बन्दै थियो । १९२० देखि १९२९ सम्म फ्रान्सको उत्पादन ३१ प्रतिशतले बढेको थियो । त्यसबेला समग्र युरोपको वृद्धि १८ प्रतिशत मात्र थियो । शान्ति सन्धि फ्रान्सकै भर्साइमा हुनुले पनि फ्रान्सको वर्चस्व देखाउँथ्यो । परराष्ट्रमन्त्री ब्राएँ अनन्त शान्तिको कुरा गर्दै थिए । जर्मनीमा नाजीहरूले युद्ध हुङ्कार गर्दै थिए । तैपनि त्यसलाई बोल्सेविकहरूप्रतिको हुङ्कार भनेर बुझिन्थ्यो । लोकार्नो सन्धिले जर्मनीलाई पश्चिम सीमाबाट खतरा नहुने भनी ढुक्क बनाएको थियो । सारा युरोप केही अघिसम्म युद्धमा भए पनि सन् १९२६ तिर स्टीलको कार्टेलमा एकजुट भएको थियो । फ्रान्स, जर्मनी, बेल्जियम र लक्जेम्बर्गहरू त्यो कार्टेलमा एकसाथ थिए । यसले पुँजीवादको आर्थिक होडबाजी अन्त्य भएझैँ सन्देश दिइरहेको थियो । त्यसैले ब्राएँ अखिल युरोपको भाइचाराको कुरा गर्दै थिए ।
तिनताका राजधानी पेरिसमा रमझम हुन्थ्यो । युरोपेलीहरू अमेरिकी ज्याज सङ्गीतमा नाच्न थालेका थिए । तर, फ्रान्सको यो रमाइलो कामदारहरूको तीव्र शोषणमा टिकेको थियो । त्यसैले भर्खर जन्मेको फ्रान्सेली कम्युनिस्ट पार्टीका गतिविधिहरू बढ्दै थिए । सन् १९२८ को संसदीय निर्वाचनमा कम्युनिस्टहरूले पहिलेको भन्दा २ लाख मत बढी पाए । सन् १९२९ मा पुँजीवादी संसारमा आर्थिक मन्दी आउने लक्षण देखियो । तैपनि, फ्रान्स अझै एक वर्षसम्म रमाइलै रह्यो । आफ्ना भित्री बजारहरू र स्थिर फ्राङ्कले गर्दा उसले यो सुविधा पाएको थियो । तर, १९३० को वसन्तमा फ्रान्सलाई पनि मन्दीले छोयो । उसको वार्षिक उत्पादन ३३ प्रतिशतले घट्यो । पुँजीवादी विश्वका ३ करोड जनता बेरोजगार भए । तिनको उत्पादन ४० प्रतिशतले घट्यो ।
‘तरबारको धार’
चाल्र्स दे गाल अस्थिरता र युद्धलाई संसारको रित ठान्थे । पुँजीवादको आन्तरिक अन्तरविरोधबारे उनलाई केही थाहा थिएन । उनको विचारमा अस्थिर भएका सबै मुलुकले समाधान खोज्छन् । बलिया देशहरूले निर्बलमाथि आफ्ना समस्या थोपरेर अस्थिरताबाट छुटकारा पाउँछन् । यसरी सङ्कटको बेला बलिया र क्रुर देशहरू मात्र उम्किन सक्छन् । आर्थिक राष्ट्रवादले देशलाई राजनीतिक राष्ट्रवादतिर लग्छ । अन्तमा युद्ध अनिवार्य हुन जान्छ ।
यसबीच दे गाल किताब लेखिरहेका थिए । उनको पुस्तक ‘शत्रुबीच असहमति’ चर्चित भएन । तैपनि दे गालले आफ्नो काम गरिरहे । सन् १९३२ मा उनको अर्को पुस्तक छापियो । त्यसको नाम थियो ‘तरबारको धार’ ९त्जभ भमनभ या तजभ कधयचम० । यो पुस्तकमा उनले पेगाए, बर्गसन, मौरासजस्ता आफ्ना बौद्धिक गुरुहरूकै विचार दोहो¥याएका थिए । दे गालले मौरासको विचारलाई कहिल्यै मनबाट हटाएनन् । मौरास भन्थे, “दालभातजस्तै जनतालाई सदा नेताको खाँचो पर्छ ।”
‘तरबारको धार’ मा दे गाल पश्चिमका चाणक्य मेकियावेलीजस्तै यथार्थवादी बनेका छन् । उनले जर्मन सैन्यवादका गुरुको रूपमा पहिले नै दार्शनिक नित्सेको आलोचना गरेका थिए । यो पुस्तकमा दे गालले युद्ध, युद्धको ‘नैतिक बल’ र आदर्श नेताबारे धेरैथोक लेखेका छन् । उनी युद्धलाई मानवीय स्वभाव मान्थे । फ्रान्स रमाइरहेको घडीमा उनले युद्धको आशङ्का गरे । यस्तो बेला सेनाले भित्रभित्र गतिविधि गर्नुपर्ने उनको विचार थियो । उनले ब्राएँको अनन्त शान्तिवादलाई कटाक्ष गरे । उनी मान्छेको स्वभावै युद्ध गर्ने खालको छ, त्यसैले युद्ध अनिवार्य मात्र होइन फलदायी पनि छ भनी लेखे । पुस्तकमा उनले युद्धको महिमा गाए र युद्धलाई प्रगतिकी आमा बताए । उनी सेना बर्बर मान्थे तर त्यसलाई अनिवार्य दुष्टता भन्दैनथे । सेनाको विरोधलाई अर्थहीन भन्दै उनले सेनालाई सभ्यताको विकास गर्ने निर्णायक शक्ति मान्थे । यसरी उनी सेनाको बर्बरतालाई जायज ठह¥याउँथे ।
‘तरबारको धार’ मा दे गालले युद्धलाई क्रान्तिकारी र प्रतिक्रान्तिकारी, न्यायोचित र अत्याचारी भनी बाँडे । उनी लेख्छन् – “घिनलाग्दो वा गौरवपूर्ण जस्तोसुकै भए पनि युद्धको इतिहास नै मानव जातिको इतिहास हो । तरबार नै पृथ्वीको मियो हो ।” युद्धको महिमा गाएर दे गालले सैन्य सम्भ्रान्तहरूलाई गौरवान्वित हुन प्रेरित गरे । उनले सैन्य नेताको खुबीबारे लेखे – “बौद्धिकता र अन्तरचेतनाको मिलन भएको व्यक्ति नै सैन्य नेता हुनसक्छ ।” सैन्यकलामा ‘व्यक्ति प्रकृतिसँग जोडिन्छ’ भन्नुको अर्थ यही हो । नेपोलियनले यही भनाइलाई यी शब्दमा व्यक्त गरे – “सैन्यकला मरणशील मानव र अमर देवीको सन्तान हो ।” ‘तरबारको धार’ मा दे गालले सैन्य नेताको खुबी भएको व्यक्तिको रूपमा आफैलाई उतारे । सैन्य नेता निडर र कठोर हुनुपर्ने, जनताले पहिले उसलाई माया नगरे पनि पछि उसको विकल्प अरू नभेटिने उनको जिकिर थियो । उनीले लेखे – “कर्मशील व्यक्ति वा ‘म्यान अफ एक्सन’ लाई सुरुमा वरिष्ठ व्यक्तिहरूले अहङ्कारी ठान्छन् र कनिष्ठ व्यक्तिहरूले उपदेशक मान्छन्, तर परेको बेला जोखिम मोल्दै र अगुवाइ लिँदै त्यो व्यक्ति मैदानमा उत्रिन्छ र काममा दत्तचित्त हुन्छ । कर्मशील व्यक्ति ओहोदापछाडि लुक्दैन, कागजपत्र र रिपोर्टको चाङले थिचिन्न, बरु रुखा जिम्मेवारीहरू खोज्दै जान्छ, दुःख झेल्दै जान्छ, यही नै नायकहरूको परिचय हो ।”
सैन्य नेताले प्रतिष्ठा प्राप्त गर्न अनेक कुरामा ध्यान दिनुपर्ने दे गालको विचार छ । सैन्य नेता सैनिकहरूबीच जाँदा होसियार हुनुपर्ने, उसले आराम वा रमाइलो त्याग्नुपर्ने, साथीभाइ वा परिवारको सानिध्य छोड्नुपर्ने र एक्लिनुपर्ने उनी मान्थे । यसलाई उनी ‘महान् व्यक्तिको दुःख’ भन्थे । ठिक्कको खुसी हुनु, असन्तुष्ट भइरहनु उसको विशेषता मान्थे । दे गालमा बाबुसाहेबको प्रवृत्ति हुनु नौलो होइन । त्यसैले उनले नेताहरू आत्मकेन्द्रित, अहङ्कारी, कडा र चतुर हुनुपर्छ, मालिक बन्नलाई जनताको नोकरजस्तो देखिनुपर्छ भनी लेख्नु अस्वाभाविक होइन । त्यसरी ‘तरबारको धार’ मा दे गालले इतिहासमा जनताको भूमिकालाई अस्वीकार गरे । जनतालाई उनी भीडभन्दा बढ्ता देख्दैनथे । प्रजातन्त्रमा उनको विश्वास थिएन । किताबको पानापानामा उनको महत्वाकाङ्क्षा पोखिएको थियो । ठूल्ठूला लडाइँहरू जितेर गौरव आर्जन गर्ने योग्य व्यक्तिको रूपमा उनले आफूलाई उभ्याएका थिए । चरित्रबल, प्रतिष्ठा र सिद्धान्तनिष्ठताजस्ता गुणले महान् सैनिक बनाउने उनको विचार थियो ।
सुरक्षा आयोगमा
सन् १९३२ मा दे गाल बेरुतबाट पेरिस फर्के । उनी राष्ट्रिय प्रतिरक्षाको सर्वोच्च आयोगमा सचिव बने । यहाँ उनी १९३७ सम्म कार्यरत रहे । प्रधानमन्त्रीनिकट यो आयोगले युद्धको तयारी हेथ्र्यो । सन् १९३३ मा लेफ्टिनेन्ट कर्नेलमा दे गालको बढुवा भयो । अब उनी फ्रान्सको भाग्य निर्धारित गर्ने व्यक्ति र संस्थानहरूको वरपर थिए । उनी देशको सुरक्षा संयन्त्रसम्बन्धी गोप्य दस्तावेज, योजना र निर्णयहरू हेर्न सक्थे । उनले सुरक्षाका राजनीतिक, प्राविधिक र प्रशासनिक समस्याहरूको अध्ययन गरे । उनलाई युद्धको बेला प्रशासन, उद्योग र नगरपालिकाहरू कसरी सञ्चालन गर्ने भनी अध्ययन गर्न भनियो । उनले राज्यसँग स्रोतसाधन धेरै हुने देखे । तैपनि उनलाई तिनको व्यवस्थापन साधारण लाग्यो । युद्धकालीन राज्य सञ्चालनसम्बन्धी कानुन बनाउने काममा दे गाल ६ वर्षसम्म संलग्न रहे । यसबाट उनले राजनीतिबारे धेरै कुरा सिके ।
फ्रान्समा प्रथम विश्वयुद्धबारे खुला चर्चा गर्न वा पराजयको लेखाजोखा गर्न मनाही थियो । खासमा युद्धमा ७० प्रतिशत फ्रान्सेली र ४० प्रतिशत जर्मन सेना मारिएका थिए । दे गालले सेनाको निष्क्रियता देखिरहेका थिए । अगामी युद्धको तयारीमा फ्रान्स पछि छुट्दै थियो । सैन्य नेतृत्वले हरेक कुरालाई पहिलो विश्वयुद्धको आँखाले हेथ्र्यो । उनीहरू खालि पदवी र बढुवामा ध्यान दिन्थे । विश्वयुद्धको नेतृत्व गर्ने सैन्य हाई कमान्डमा हेरफेर भएको थिएन । पहिलो विश्वयुद्धभन्दा अगाडि फ्रान्सेली सेनाको नारा ‘जुनसुकै मूल्यमा आक्रामक हुनू’ भन्ने थियो । अब यो फेरिएर ‘जुनसुकै मूल्यमा रक्षात्मक हुनू’ बन्न पुगेको थियो । तर, यी दुवै नीति बढ्दो युद्धको सन्त्रासबीच काम नलाग्ने दे गालले देखे । उनी पहिलो विश्वयुद्धबारे खुला छलफल हुनुपर्छ भन्ने पक्षमा थिए ।
रक्षा आयोगका जनरल पेताँले सन् १९२१ मा फ्रान्सको उत्तरपूर्वी सिमानामा किल्ला निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । बेल्जियमतिरको सीमा खुला छोडियो । १९३४ मा उनी युद्धमन्त्री बने । उनले बेल्जियमतिरको सीमामा किल्ला नबनाउन आदेश दिए । आर्डेनका उत्तरी पहाडहरू अभेद्य भएको उनको तर्क थियो । आधुनिक हतियारले सेनालाई सुसज्जित गर्ने प्रस्ताव पनि अस्वीकृत भयो । सर्वोच्च सैन्य आयोगका सदस्य जनरल बेकार्दले त्यस्तो प्रयासलाई ‘खतरनाक युटोपिया’ भने । वायुसेना प्रतिरक्षाको लागि मात्र थियो । बमवर्षकहरू बनाइएन । ट्याङ्कलाई थलसेनाको सहायक भनियो । तोपहरू चलायनमान लडाइँ वा आक्रमणको लागि उपयुक्त थिएनन् । आधारभूत सामग्रीहरूमा पनि ध्यान दिइएन । लडाइँ सुरु भएपछि मात्र रिभोल्भर, जुत्ता र काम्लोको अभाव थाहा भयो । यस्तो चालले सन् १९४२ मा मात्र सेनालाई युद्धको लागि तयार गर्न सकिने स्थिति थियो ।
खासमा सन् १९३९ सम्म फ्रान्स आर्थिक मन्दीमा थियो । त्यसैले सेनाले कम खर्च पायो । यसरी पाइने ६६ प्रतिशत रकम अफिसरहरूको तलबमा जान्थ्यो, १० प्रतिशत सामान्य सैनिकहरूको तलबमा सकिन्थ्यो र २४ प्रतिशत मात्र सैन्य सरसामग्रीमा खर्च हुन्थ्यो । सेनाका उच्च अधिकारीहरू युद्धले जर्मनीलाई नामेट पार्ने देख्थे । फ्रान्सेली सेनाले मेजिनो रेखावारि बसेर जर्मनीको विघटन हेरे पुग्ने उनीहरूको ठहर थियो । त्यसैले सकेसम्म लडाइँ टारे पुग्ने पेताँ र वेगाँजस्ता जनरलहरूको विचार थियो । खासमा फ्रान्सेली सेना निष्क्रिय थियो । युद्ध भए पोल्यान्ड, चेकोस्लोभाकिया, युगोस्लाभियाजस्ता उसका सहयोगीहरू जर्मनीको आहार बन्ने निश्चित थियो । फ्रान्सले आफ्नो सेना चलाउनै नपर्ने सोच्नु मूर्खता मात्र थियो । अर्कोतिर उसले सोभियत सङ्घसँग मिलापमा नजाने अठोट जस्तै गरेको थियो । यो कुरा दे गालले रूचाएनन् ।
सेनाबाहिरको समूह
दे गाल जुन पदमा थिए, त्यहाँबाट उनले कानुनमा सामान्य सुधारबाहेक केही गर्न सक्दैनथे । सानातिना कामबाट आजित भएका उनी कुनै ठूलो काम गर्न चाहन्थे । यस्तो मनसाय उनी किताब र लेखहरूबाट व्यक्त गर्थे । उनी ठोस योजनाहरूको पक्षमा थिए । १९३२ मा पेरिस आएपछि उनले केही मूर्धन्य व्यक्तिहरूसँग सङ्गत गरे । एमिल माएरसँग उनको सङ्गत बढ्यो । माएर प्रथम विश्वयुद्धका फ्रान्सेली योद्धा जोफ्रेजत्तिकै योग्य व्यक्ति थिए । उनी जनरल फोकका सहपाठी थिए । साथीहरू उच्च ओहोदामा पुगे पनि माएरले लेफ्टिनेन्ट कर्नेलमा चित्त बुझाएका थिए । माएर मौलिक, दृढ र इमानदार थिए । राजनेता, साहित्यकार आदिसँग उनको उठबस थियो । उनी सेनामा हुने अनियमितताको विरोध गर्थे । एक हिसाबले उनी सैन्य सिद्धान्तकार र पत्रकार थिए । उनले विश्वयुद्धताका ‘जुनसुकै मूल्यमा आक्रामक हुनू’ भन्ने नीतिको आलोचना गरेका थिए । माएरको व्यक्तित्वको यो पक्षले दे गाललाई आकर्षित ग¥यो । दे गालको चरित्रबल, प्रतिबद्धता, मूल्यमान्यताबाट माएर पनि प्रभावित भए । यसरी सेनाभित्र र बाहिरका केही व्यक्तिहरूको ससानो समूह बन्यो । यसको केन्द्र दे गाल थिए । यो समूह प्रत्येक सोमबार एउटा क्याफेमा भेला हुन्थ्यो । कहिलेकाहीँ उनीहरू दे गालको घरमा जम्मा हुन्थे । उनीहरू विविध विषयमा छलफल गर्थे । यिनै बैठकमा दे गालले आफ्ना विचारलाई छलफलमा ल्याए । समूहबाट उनले धेरै कुरा सिके । माएरसँगकै कुराकानीबाट हतियारबन्द सेनाको विचार जन्मियो । यो विचारलाई पछि दे गालले आफ्नो कार्यक्रम बनाए ।
औद्योगिक क्रान्तिले गर्दा सैन्य प्रविधि र उद्योगले फड्को मारेको थियो । सैन्य इतिहासबारे जानकार दे गाललाई युद्धमा प्रविधिको महत्वबारे थाहा थियो । मेसिन वा मोटर गाडीको युगमा घोडा, कवच आदिले अर्थ राख्दैनथे । पछिल्लो युद्धमा ट्याङ्कको अहम् भूमिका हुने निश्चित थियो । सेनाको आकारको दृष्टिले जर्मनी फ्रान्सभन्दा ठूलो थियो । सन् १९३० को दशकमा फ्रान्सको जनसङ्ख्या युद्धअघिभन्दा घटेको थियो । जन्मिने भन्दा मर्नेहरूको सङ्ख्या ठूलो थियो । पहिले युरोपको कुल जनसङ्ख्याको छैटौँ भाग फ्रान्सको थियो । विश्वयुद्धपछि उसको जनसङ्ख्या सोह्रौँ भागमा सीमित भयो । यसलाई हेरेर माएर र दे गालले एउटा सशक्त, चलायमान र आक्रामक दस्ता निर्माण गर्नुपर्ने देखे । त्यसमा ट्याङ्कको महत्व ठूलो हुने थियो । ट्याङ्कले मात्र फ्रान्सको रक्षा गर्न सक्थ्यो । पहिलो विश्वयुद्धमा बेलायतले ट्याङ्कको राम्रो उपयोग गरेको थियो । फ्रान्समा पनि जनरल एस्तियनले सन् १९१७ मा ट्याङ्कको प्रयोग गरेका थिए । उनले ट्याङ्कको अलग्गै दस्ता बनाउनुपर्ने प्रस्ताव राखेका थिए । सन् १९२८ मा उनको त्यो प्रस्ताव अस्वीकृत भयो । सन् १९३३ मा मात्र ट्याङ्कको एउटा डिभिजन बनाइयो । तर, त्यसको काम रेकी गर्ने र पैदल सेनालाई सुरक्षा दिने मात्र थियो । सन् १९२१ मा जनरल पेताँले सैन्य नियमावली जारी गरेका थिए । उनको निर्देशनअनुसार तोप, ट्याङ्क र विमानलाई थलसेनाको सहायक मात्र मानिएको थियो । खासमा यो पहिलो विश्वयुद्धकै सैन्य नीति थियो । जर्मनीको युद्ध नियमावलीमा ट्याङ्कको गतिशीलता र मारक क्षमतालाई महत्व दिइएको थियो ।
सन् १९३३ मा जर्मनीमा हिटलर सत्तामा आए । युद्ध नजिकिँदै थियो । यो कुरा दे गाल र उनको समूहलाई हेक्का थियो । उनले सैन्य तयारीबारे आफ्नो दृष्टिकोण बनाए । आफ्नो योजना सेनाको उच्च नेतृत्वसामु राख्नु भालुलाई पुराण सुनाएझैँ हो भन्ने उनलाई थाहा थियो । त्यसैले दे गालले आफ्ना विचारहरू जनताबीच राख्ने मन बनाए ।
प्रस्तुति ः सुरेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *