भर्खरै :

फस्टाउँदै गरेका हाम्रा ढोङ्गी चलन र अनौठा बानी

तराईको भोजमा एक दुई पटक सहभागी हुने मौका मिलेको थियो । भान्सेले एकपछि अर्को गरी क्रमशः अझ स्वादिला चीजहरू दिंँदै जाने र खान बसेकाहरूले ती चीज चुपचाप लिएर अलिअलि खाँदै त्यत्तिकै बसिरहँदा रहेछन् । पछि अघाएर उठ्ता त हरेकको भागमा कमसेकम तीनजनालाई पुग्ने खानेकुरा त्यत्तिकै बाँकी रहेछ !
भोज उठेपछि मैले त्यतैका एकजना मित्रलाई सोधँें, “यसरी खानेकुरा किन खेर फालेको ? सबैतिर यस्तै हुन्छ कि आज यहाँमात्रै हो ?”
उनले सजिलै भने, “तपाईँलाई थाहै रहेनछ ! हाम्रो त जुनसुकै भोजमा पनि यस्तै हो । कुनै पनि भोजमा यसरी नै छारस्ट खानेकुरा नफालेसम्म हामीलाई खाएजस्तै लाग्दैन ।” त्यतातिरको भोजमा खाँदा, खानेकुरा खाएभन्दा पनि बढी फाल्नुपर्ने रहेछ भन्ने कुरा थाहा पाउँदा सा¥है नमज्जा लाग्यो ।
हुन त पृथ्वीमा रहेका कुनै चीजलाई मानिसले बनाउन पनि सक्दैन र बिगार्न पनि सक्दैन भनिन्छ । यद्यपि, यहाँको माटोमा श्रम गरेर वा बिनापरिश्रम उब्जेका हरेक चीजलाई सदुपयोग गर्न सक्दा नै राम्रो हो । कुनै पनि वस्तुको दुरूपयोग गर्नुलाई, मान्छेमा मानवीयता र सभ्यताजन्य गुण बढेको भन्न सकिँदैन ।
अस्वस्थकर खानेकुरा खानु त छँदैे छ । स्वस्थकर नै भए पनि, खानेकुरा बढी लिएर फ्याँक्ने चलन अहिले जताततै छ । पार्टी प्यालेसतिर भएका बिहे/व्रतबन्धका कार्यक्रम, जहाँ आफूलाई मन लागेको आइटम जे र जति पनि लिएर खान पाइने (बफे सिस्टम) हुन्छ, त्यहाँ पनि जानीजानी बढी खानेकुरा लिएर फाल्ने गरिन्छ । गाउँघरमा भएका भोजभतेरमा पनि आफूले खान मन नपराउने खानेकुरा र आवश्यकताभन्दा बढी खानेकुरा चुपचाप लिने र जुठो लगाएर छोड्ने गर्नुलाई सामान्य मानिन्छ । कसैलाई दिइएको खानेकुरा चोखै भए पनि त्यसलाई फेरि अरूका लागि दिन प्रयोग गर्ने चलन छैन । फालेर नष्ट गर्नुलाई नै ‘सभ्य व्यवहार’ मानिन्छ । होटेलतिर पनि प्रशस्त मात्रामा खानाको नाश भइरहेको देखिन्छ । त्यसरी बढी भएको खाना घरपालुवा पशुपन्छीलाई दिनु त राम्रै हो । सहर बजारमा कतिपय ठाउँमा त त्यस्तो सुविधा नभएर फोहोरकै रूपमा फाल्नुपर्दा वातावरण दुर्गन्धित भइरहेको हुन्छ । जम्मा गरेको बासीभातलाई दालमोट बनाउने काममा पनि प्रयोग गरिन्छ रे ! त्यसलाई खानेकुराको सदुपयोगभन्दा पनि दुरूपयोग भएको भन्नु बेस होला ।
विदेशतिर भने खानेकुरालाई यहाझैँ नफालेर अति नै माया र जतन गरिन्छ रे ! त्यहाँ बढी खाना माग्दै मागिँदैन रे ! केही गरी बढी भयो भने पनि घरमा लगेर फ्रिजमा राखी खाइन्छ रे ! कुनै पनि स्रोतको सदुपयोग गर्नुपर्छ भन्ने कुरा उनीहरूले राम्ररी बुझेका रहेछन् । हामीकहाँ त आफूले खाने खानेकुराको मात्रै होइन, देवी देउतालाई चढाउने कुरामा पनि उस्तै दुरूपयोग भएको देख्रिन्छ । मन्दिरमा चढाइएको भेटी जम्मा गरिन्छ वा पुजारीले लान्छ । त्यो त सदुपयोग भएकै हो । त्यहाँ आस्थाको फूलसम्म चढाउनु पनि ठिक्कै हो । तर, मन्दिरभित्र लुकेर रहेका वा बाहिरै देखिएका कलात्मक र राम्रा मूर्तिलाई कतै कतै त अनेक थरीका खाना र फल चढाएर त्यसको वास्तविक आकृति नै नचिनिने गरी फोहोर बनाउनुलाई हामीकहाँ बडो धार्मिक स्वभाव र भक्तिभाव मान्ने गरिएको छ । दसैँको बेलामा धेरै ठाउँमा जीवजन्तु काटेर रगतको आहालै बनाइन्छ । तिनलाई खुसी पार्ने चलनै त्यस्तै बसेको छ । मन स्थिर गर्नका लागि गइएको सफा र पवित्र ठाउँ (मन्दिर) मा खेर जाने गरी नैवेद्य, फल चढाई झिङ्गा भुसुना भन्काएर दुर्गन्ध बढाउनु ठीक नहुनुपर्ने हो । त्यतिमात्र होइन, निर्मम तरिकाले जीवजन्तु काटेर वातावरण नै त्रासपूर्ण पार्ने कार्यलाई ‘मानवीय भक्तिभाव र पवित्र सोचाइ’ नठानिनुपर्ने हो !
उपत्यकामा विभिन्न गल्लीगल्लीका छेउछाउमा, आस्थाका देवतालाई चढाएको भनेर लगभग एकपटक एकजनालाई पुग्ने खानेकुरा फालिएको हुन्छ । ती खानेकुरालाई न त कुकुरले नै मन पराएर तान्छन् न त कमिलाले नै खानका लागि लान्छन् । त्यो खानेकुरा त्यत्तिकै माटोमा बिग्रनुभन्दा, कोही पनि भोका मानिसलाई काम लाग्थ्यो । भूमिमा चढाउनै छ भने थोरै चढाए पनि त हुन्थ्यो होला !
नेपाली हिन्दू संस्कारअनुसार कसैले पनि जन्मदिन मनाउँदा आफ्नो आयु बढोस् भन्ने कामनाका साथ अष्टचिरञ्जीवीको पूजा गरेर मनाइनुपर्ने हो । त्यसदिन थोरै भए पनि दुःखी गरीबलाई दान दिन सके झनै राम्रो ! तर, ‘जन्मदिन’ का ठाउँमा आजकल ‘बर्थ डे’ आएपछि जान्नेबुझ्नेले पनि केक काट्ने, बत्ती निभाउने, बेलुन फुटाउनेजस्ता पश्चिमी चलन गरेर रमाउन थालेका छन् । त्यतिमात्र होइन, त्यस दिन खाने केकलाई मुखमा दल्ने चलन आइसक्यो । यो, टीभीमा देखिने अङ्ग्रेजी– हिन्दी हास्य कार्यक्रमबाट नक्कल गरी चलेको अनुमान जानकारहरूको छ । नक्कल पनि राम्रो कुराको गरे पो हुन्छ ! यसै क्रममा एउटा यस्तै ‘बर्थ डे’ कार्यक्रममा सजाइएको ‘टावर केक’ मा अनुहार घोप्टिँदा, ‘केकपिस’ जोड्नका लागि प्रयोग गरिएको सिन्का आँखामा बिझेका कारण ‘बर्थ डे’ वालालाई नै अस्पताल कुदाउनुपरेको थियो रे !
एउटा तह पास गरेर गएका विद्यार्थी तथा विभिन्न कार्यक्रममा सहभागी भएका सरकारी व्यक्तिलाई मायाको चिनो भनेर ‘गोल्डन कलर’ को धातुबाट बनेको चीज दिने एउटा वाहियात चलन पनि छ । त्यो कुनै कलात्मक वस्तु पनि होइन । एउटा दुइटासम्म हुञ्जेल त ठिक्कै होला । हरेक कार्यक्रममा त्यस्तो चीज पाउनेले तिनलाई कहाँ सजाएर राख्ने होला ! धेरै नै भएपछि त ‘डस्ट बिन’ मा फालेर फोहोर लिन आउने गाडीलाई दिइपठाउनुबाहेक अर्को उपाय नै छैन । तिहारमा दिइने भाइमसलामा पनि त्यस्तो सिक्काजस्तो वस्तु प्याकमा राखेको भेटियो । एकझलक हेर्नु र फाल्नुबाहेक त्यसको उपयोगिता के होला ¤ आजकल कसैको देहावसान हुँदा, मृतकको तस्बिर फ्रेममा सजाएर समवेदना दिन जाने अनौठो ‘सभ्य चलन’ पनि आइसकेको छ ।
कुनै पनि कार्यक्रममा आमन्त्रित अतिथि तथा विदेशबाट आउने विशिष्ट व्यक्तिलाई हार्दिक स्वागत गर्नु राम्रो कुरा हो । त्यस्तै, जाँदाखेरि शुभकामनाका साथ बिदाइ गर्नु पनि शिष्टता हो । तर, यस्ता कार्यक्रममा अनावश्यक माला र खादा लाइदिने गर्दा वातावरण नै भद्दा देखिन थालेको छ, फोहोरको मात्रा बढ्न थालेको छ । कुनै नेता÷मन्त्रीलाई स्वागत गर्नुपर्दा साक्षात् भगवान्÷भगवती नै प्रकट भएजसरी क्विन्टलसम्मका माला लगाइदिने चलन आएको छ । भ्रष्टाचारी तथा ज्यानमाराहरू जेलबाट छुट्ता झन् धेरै खादा र माला ! त्यस्तो ‘भव्य स्वागत’ ले जनमानसमा कस्तो सन्देश दिन्छ होला ! त्यसको सट्टा रुमाल वा गम्छाजस्तो काम लाग्ने वस्तु दिन सकेको भए पनि त हुन्थ्यो ! कसैको मनमा बस्न सकिएको छ र कसैप्रति मनमा श्रद्धा छ भने यसरी खातैखात खादा र फूलैफूलको मालाको भारी लिनदिन आवश्यक पर्छ र !
दसैँमा अक्षता रङ्गाएर टन्नै टीका लगाइन्छ । दक्षिणामा सकभर नयाँ पैसा चाहिन्छ । त्यतिखेर चलनमा ल्याइने पैसालाई सिंदुर/अक्षताले छोएर मैल्याइन्छ र त्यसलाई पानीले पनि भिजाइन्छ । बर्सेनि नेपाल राष्ट्र बैङ्कले नयाँ नोट छाप्नैपर्ने अवस्थाको सिर्जना, हाम्रै यस्तै असावधानीपूर्ण क्रियाकलापका कारण भइरहेको छ ।
विभिन्न सरकारी गोष्ठी, छलफल, भेला तथा एनजीओ÷आइएनजीओ कार्यक्रममा सहभागी भएकालाई झोला दिने चलन छ । राम्रो र द¥हो खालको भए त त्यसको पनि कामै थियो । तर, प्राय : त्यस्ता झोलाहरू एकपटक तरकारी किन्न जाँदा पनि काम नदिने खालका हुन्छन् । जसरी पनि बजेट सिध्याउने, कमिसन पचाउने र बिल मिलाउने उद्देश्य भएपछि कार्यक्रमकोे सार्थकता र वस्तुको सदुपयोगमा ध्यान दिइने कुरै भएन ।
यस पटकको तिहारका लागि डेढ अर्बको भाइमसला आयात भएको समाचार आएको थियो । विदेशबाट ल्याईल्याई त्यसरी खाने/चलाउने कामै थिएन । जे होस्, त्यो त खाइसकियो नै । दिदीबहिनीले दिएका ढाकाटोपी कहिले लाइसकिने हो !
विदेशी वस्तुको मोह, वस्तुको दुरूपयोग, ढोङ्गी र वाहियात चालचलन अनि फजुलखर्ची आनीबानीबाट यो समाजलाई मुक्त गराउने विषयमा हामी कहिले सचेत बनौँला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *