भर्खरै :

के संरा अमेरिकी र भारतीय सरकार प्रजातन्त्रवादी हुन् ?

बालिग मताधिकारको आधारमा निर्वाचित प्रतिनिधिहरूले बनाएको संविधान र जनप्रतिनिधिहरूले नै बनाएको ऐन–कानुनअनुसार हुने शासन व्यवस्थालाई प्रजातान्त्रिक शासन भनिन्छ । एक प्रश्न टड्कारो रूपले उठ्छ – शोषक वर्गले शोषक वर्गकै निम्ति बनाउने संविधान र ऐन–कानुनले शोषक वर्गकै ‘कानुनी राज’ हुन्छ । त्यसैलाई पुुँजीवादी प्रजातान्त्रिक व्यवस्था भनिन्छ । सार हो– त्यो ‘कानुनी राज्य’ र ‘प्रजातन्त्र’ भनेको पुँजीपति वर्गकै तानाशाही वा शोषक वर्गकै शासन व्यवस्था हो । निर्वाचनदेखि पुँजीवादी शासन व्यवस्थाको हरेक निर्णय र गतिविधि प्रजातान्त्रिक हुँदैन भन्ने निक्र्याेल तलका बुँदाहरूले प्रस्ट गर्छन् ः
१) त्यसमा पनि निर्वाचनमा ठूलो धनराशीको खर्च, उम्मेदवारको धरौटी, हाकाहाकी पैसा बाँड्ने, उपहार दिने र भोज–भतेरको खर्च धनी पार्टीका उम्मेरवारहरूले मात्र व्यहोर्न सक्छन् । फेरि गाडी तथा प्रचारको निम्ति गरिने खर्च र गैरकानुनी वा निर्वाचन आचार–संहिता विपरीत गरिने खर्च एवम् अनियमितता आदिको कारण संरा अमेरिकाको निर्वाचन प्रणाली र शासन प्रजातान्त्रिक हुँदैन भन्ने गुनासो त्यहाँका जनताको हो ।
२) संरा अमेरिकामा आज ५२ प्रतिशत श्वेत नागरिक छन् भने ४८ प्रतिशत अश्वेत (अफ्रिकी), आदिवासी (ताम्रवर्णका), मेक्सिकाली र हिस्पानीयाली (दक्षिण अमेरिकी) र एसियाली एवम् अन्य जाति–जनजातिका छन् । अश्वेत र अन्य जातिहरूमध्ये ठूलो प्रतिशतलाई मताधिकार प्राप्त छैन भने झन्डै ३०–४० प्रतिशत मतदाताहरूले मात्र मतदानमा भाग लिन्छन् । त्यसमा पनि प्रगतिशील र परिवर्तनवादी उम्मेदवारहरू एवम् ती दलहरूका कार्यकर्ताको प्रचार–प्रसार ‘राष्ट्रिय’ प्रचारमाध्यमले गर्दैन । मतदानको बेला अश्वेत र परिवर्तनवादीहरूलाई बाटो छेकेर, खानतलासी गरी अनेक दुःख दिएर मतदानमा भाग लिन दिँदैनन् ।
४० प्रतिशत मतदानमा २१ प्रतिशत मतदाताहरूको मतले नै संरा अमेरिकामा जनप्रतिनिधि निर्वाचित हुन्छन् । राष्ट्रपतिको निर्वाचनमा हुने धाँधली, दङ्गा–फसाद, मार–काट, हुल–हुज्जत, हत्या, हिंसा र अनियमितता त पूर्व राष्ट्रपति ट्रम्पको शैलीबाटै थाहा हुन्छ ।
३) प्रगतिशील कर प्रणाली प्रजातान्त्रिक हो । तर, अमेरिकामा जति ठूलो धनी हुन्छ, त्यति प्रतिशत कम कर तिरिन्छ, अर्बपति र खर्बपतिहरूले तुलनात्मकरूपले थोरै कर तिर्छन् ।
४) संरा अमेरिकामा झन्डै २० प्रतिशत जनता बेरोजगार र गरिबीको रेखामुनि छन् । अश्वेत र अन्य जातजाति त्यसमा पर्छन् । कोरोनाको खोप अमेरिकामा भर्खर ५०–६० प्रतिशत जनताले मात्र लगाउन पाएका छन् । खोपको मूल्य महँगो भएको हुनाले गरिबहरूले खोप लगाउन पाइरहेका छैनन् ।
५) भारतमा झुग्गी–झोपडी (गरिबको बस्ती) भनेजस्तै अमेरिकामा ‘स्लम एरिया’ हुन्छन् । ती क्षेत्रमा खानेपानी र ढल निकास व्यवस्था हुँदैन । भारतमा जस्तै अमेरिकामा पनि २०–२५ प्रतिशत जनता अव्यवस्थित क्षेत्रमा बस्छन् ।
६) भारतमा जसरी मुसलमान, दलित, जन–जातिहरूलाई भेदभाव गरिन्छ, हत्या–हिंसा र बलात्कारका घटनाहरू भइरहन्छन्, अमेरिकामा पनि त्यस्तै खान नपाउने, बेरोजगारी, अशिक्षा, अराजकता र आतङ्क छ । मुख्य–मुख्य सहरमा मात्रै प्रशासन कडा छ, अन्य ठाउँमा प्रजातन्त्र होइन अराजकता छ ।
७) २ वर्ष अगाडि जर्ज फ्लोयडको हत्यापछि अमेरिकाभरि वा देशव्यापी मात्र होइन युरोप, अफ्रिका र एसियामा समेत त्यसको विरोधमा गतिविधि फैलियो । संरा अमेरिकाको मानव अधिकार’ कस्तो छ, नागरिक अधिकार कति सुरक्षित छ आदि सबै उदाङ्गियो ।
८) संरा अमेरिका र भारतमा संसारको सबभन्दा पुरानो र सबभन्दा ठूलो ‘प्रजातन्त्र’ भनी प्रचार गरिन्छ । तर, भारत र अन्य पुँजीवादी देशहरूका ५०–५४ प्रतिशत सांसद र जनप्रतिनिधि आपराधिक पृष्ठभूमिका र प्रहरीको खोजीमा रहेका व्यक्तिहरू हुन्छन् ।
अमेरिकी प्रशासनले अमेरिकी सरकार र पुँजीवादी कम्पनीहरूले भनेको नमान्ने वा तिनीहरूका प्रतिद्वन्द्वीहरूलाई अनेक निहँु र झूटो आरोप एवम् प्रचार गरी अमुक देशमा ‘मानव अधिकार’ छैन र पक्षपात– भेदभाव छ भनी झूटो प्रचार गर्छ । अमेरिकी सरकारको ज्यू–हुजुरी गर्ने र आदेश पालन गर्ने देशमा मात्र ‘मानव अधिकार’ भएको प्रचार गरिन्छ तथा गरिब, कमजोर र स–साना देशहरूलाई तर्साइन्छ । सारमा, पूर्वराष्ट्रपति ट्रम्प नै अमेरिकी सरकारको ज्वलन्त उदाहरण हुन् । उनी हरेक रात हिटलरको पुस्तक पाठ गर्छन् र उक्त पुस्तक सिरानीमा राख्छन् । ट्रम्पकै साथी भारतका प्रम मोदी हुन् । भारत भ्रमण गर्दा कोरोनाको बेला पनि हातमात्र होइन गला मिलाउने र अँगालो हाली भारतीय जनतालाई ट्रम्प (संरा अमेरिका) र मोदी (भारतीय जनता पार्टीको सरकार) ले आफूहरू हिटलरकै शिष्य भएको सन्देश दिए । त्यति मात्र होइन, इटालीको अति राष्ट्रवादी फासीवादी मुसोलिनी, जर्मनीमा प्रजातन्त्रको हत्या एवम् अन्य देशमा थिचोमिचो र आक्रमण गर्ने हिटलर अनि भारतको मोदीको भाजपाकै अर्ध–सैनिक युवा दल एउटै शैलीका हुन् । मोदी सरकार नेपाल, भुटान, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का आदि छिमेकीहरूमाथि थिचोमिचो गर्दैै छ । यस अर्थमा संरा अमेरिका साम्राज्यवादी हो भने भारत विस्तारवादी हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *