भर्खरै :

न माक्र्स न पुष्पलाल

पाँचौँ महाधिवेशनदेखि लगातार कम्युनिस्ट विचारधाराबाट स्खलनको दिशामा हिँडेको एमाले दसौँ महाधिवेशनसम्म आइपुग्दा पूर्णतः कम्युनिस्टको विशेषताबाट च्युत बनेको छ । एमालेले ‘कम्युनिस्ट’, ‘माक्र्सवाद’ र ‘लेनिनवाद’जस्ता शब्दको प्रयोग गर्नु उही बिरालो बाँधी श्राद्ध गर्नुजस्तै मात्र हो । त्यसको न कुनै औचित्य छ न कुनै तर्क । कम्युनिस्ट पार्टीको महाधिवेशनमा माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ त्सेतुङको तस्बिर त परको कुरा एमालेले पुज्दै आएका नेताहरू पुष्पलाल, मनमोहन र मदन भण्डारी आदि नेताहरूको तस्बिरसमेत राखिएन । बरू एमालेको दसौँ महाधिवेशनको आकर्षण गैंडाको प्रतिमा बन्यो ।
कम्युनिस्टहरू स्वभावतः साम्राज्यवादविरोधी शक्ति हुन् । संसारमा साम्राज्यवाद, उपनिवेशवाद, फासीवादविरोधी सङ्घर्षको सबभन्दा अग्रमोर्चामा कम्युनिस्ट पार्टी हुन्छन् । बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा नेपाल पनि विश्व साम्राज्यवादको निशाना बन्दै छ । आगामी दिनमा नेपाल साम्राज्यवादी गतिविधिको केन्द्र बन्न सक्ने र त्यसको विरोधमा कम्युनिस्टहरूले साम्राज्यवादविरोधी सङ्घर्षलाई पेचिलो बनाउनुपर्ने सम्भावनालाई नकार्न सकिन्न । त्यस अवस्थामा एमालेको महाधिवेशन साम्राज्यवादविरोधी बृहत् सम्मेलन हुनुपथ्र्यो । तर, चितवन महाधिवेशन मानिसहरूको कुम्भमेलाबाहेक केही पनि भएन । चुनावी हिसाबमा यसले एमालेलाई केही लाभ हुनसक्ला । तर, कम्युनिस्टहरूले चाहेको समाजको आमूल परिवर्तनको निम्ति चितवनको कुम्भमेलाले कुनै विशेष महत्व राख्दैन ।
एमालेको दसौँ महाधिवेशनले आफ्नो नामबाट ‘कम्युनिस्ट’ शब्द र आफ्नो मार्गनिर्देशक सिद्धान्तमा ‘माक्र्सवाद–लेनिनवाद’ शब्द हटाउने निर्णय गरे कम्तीमा नेपाली जनता लामो समयदेखिको एउटा भ्रमबाट मुक्त हुने थिए । ‘कम्युनिस्ट’ को नाम उच्चारण गर्न पनि नछोड्ने, ‘माक्र्सवाद–लेनिनवाद’ भन्न पनि नछोड्ने अनि कम्युनिस्ट आन्दोलन र माक्र्सवाद–लेनिनवादको पनि बदनाम गर्न नछोड्ने दोहोरो चरित्रले कालान्तरमा एमाले स्वयम्को पनि भलो गर्दैन । महाधिवेशनमा एमाले नेताहरूलाई यति सद्बुद्धि मिलोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *