भर्खरै :

बलराज साहनीको ‘घर घरको कथा’

भारतीय कला क्षेत्रमा सन् १९५०/६० को दशकताका एक बेजोड प्रतिभाशाली, प्रभावशाली, चर्चित र लोकप्रिय कलाकार थिए– बलराज साहनी । उच्च बौद्धिक व्यक्तित्व र जीवन्त अभिनयकै कारण बलराजको कलाकारिताले विशेष स्थान हासिल गरेको थियो । वास्तवमा पात्रहरूमा पूरै डुबेर अभिनय गर्नु बलराजको खुबी थियो । बलराजका हरेक चलचित्रमा उनको सशक्त प्रतिभाशाली खुबी महसुस गर्न सकिन्छ ।
लाहोर विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेका बलराजले रवीन्द्रनाथ टैगोरको शान्ति निकेतन विश्वविद्यालयमा अङ्ग्रेजी प्राध्यापन गरेका थिए । बलराजले त्यहीँ शान्ति निकेतनबाट प्रकाशित ‘सचित्र भारत’ पत्रिकाको लागि हिन्दीमा कथा तथा हास्यव्यङ्ग्य लेख्थे । साथै गान्धीको सेवाग्राम आश्रमबाट प्रकाशित ‘नई तालिम’ पत्रिकाको सम्पादन गर्थे । त्यतिबेलासम्म बलराज राजनीति र साहित्य अलग सम्झन्थे । बलराज आफ्ना भाइ भीष्म साहनीलाई साहित्यिक क्षेत्रमा लाग्ने बताउँथे । महात्मा गान्धीकै परामर्शमा साम्राज्यवादी बेलायतको बीबीसी हिन्दी सेवामा चार वर्ष काम गरे । बेलायतबाट फर्केपछि बलराजले राजनीतिक परिवर्तनको लागि साहित्यसँगसँगै कलाकारितालाई अगाडि बढाउने निधो गरे । नाटक र चलचित्रका माध्यमबाट व्यापक जनतालाई राजनीतिकरूपमा जगाउन नै बलराजले सचेततापूर्वक कलाकारिता रोजेका थिए । दोस्रो विश्वयुद्ध अवधिभरि बेलायत बसेका बलाराजले युद्ध विभीषिकाबाट माक्र्सवादी सिद्धान्तअनुसार नै भारत र भारतीय जनताको मुक्ति हुने सत्मार्ग बुझे । बेलायतबाट फर्केपछि कलाको माध्यमबाट भारतीय जनतालाई सचेत र सङ्गठित पार्न खोलिएको भारतीय जननाट्य सङ्घ (इप्टा) मा मात्र होइन, बलराज भारतीय कम्युनिस्ट पार्टीमा पनि आबद्ध भए । बलराज भारतका विभिन्न राज्यहरूबाट २५० भन्दा बढी युवाहरूले प्रतिनिधित्व गरेको पहिलो राष्ट्रिय सम्मेलनबाट भारतीय कम्युनिस्ट पार्टीको युवा सङ्गठन अखिल भारतीय युवा सङ्घको पहिलो अध्यक्ष निर्वाचित भए ।
माक्र्सवादी दर्शनअनुसार सुसंस्कृत भारतीय समाजको परिकल्पना गर्ने बलराजले हिन्दी, पञ्जावी तथा काश्मिीरी भाषाका विभिन्न चलचित्रहरूमा आफ्नो सशक्त अभिनय प्रस्तुत गरे । चलचित्रको कथावस्तु र सन्देश पटकथा लेखकबाट सिर्जना भएको हुन्छ । यद्यपि, बलराजले अभिनय गरेका चलचित्रहरूमा उनको दृष्टिकोण र आदर्श झन् मुखरित भएका छन् । बलराजले परिकल्पना गरेको आदर्श समाज कस्तो हुनुपर्छ ? भन्ने उदाहरण सन् १९७० मा प्रदर्शित उनको ‘घर घरको कथा’ चलचित्रमा पनि पाइन्छ । सन् २०१६ मा युट्युवमा अपलोड गरिएको उक्त ‘घर घरको कथा’ चलचित्रका नायक शङ्करनाथले मात्र होइन, उनको परिवारका श्रीमती, छोराछोरीहरूले समेत आदर्श आचरण प्रदर्शन गरेका छन् । साँचोमा शङ्करनाथको परिवारले सिङ्गो समाजलाई मार्गदर्शन गरेको छ ।
टि प्रकाश रायद्वारा निर्देशित ‘घर घरको कथा’ मा शङ्करनाथको भूमिका नायक बलराज साहनीले निर्वाह गरेका छन् । शङ्करनाथ एउटा कार्यालयको प्रमुख हुन्छ । शङ्करनाथले ७०० रूपैयाँ तलबमा कर कट्टा गरेपछि ६३० रूपैयाँ पाउँछन् । शङ्करनाथले छोरा रविलाई अजान्ता भ्रमणको लागि ५० रूपैयाँ, छोरी रूपालाई विद्यालयको नृत्यमा लगाउने तेलरिनको फ्रकको लागि ५० रूपैयाँ अनि कान्छो छोरा राजाको लागि साइकल किन्ने पैसा दिन सकिरहेको हुँदैन । तर, शङ्करनाथको आधामात्रै तलब पाउने उनकै कार्यालयका एक कर्मचारी साधुरामको भड्किलो जीवनशैली र खर्चको सीमा असीमित हुन्छ । ‘घर घरको कथा’ चलचित्रको कथा यहीँबाट सुरु हुन्छ ।
शङ्करनाथ महँगीको कारण घरका सबै आवश्यकता पूरा गर्न नसकेको बताउँथ्यो । साधुरामले ५ जना छोराछोरीका सबै आवश्यकता पूरा गर्नसक्ने तर आफूहरू तीन जना छोराछोरीको पनि माग पूरा नगरी शङ्करनाथले महँगीको बहाना गरेको छोरा रवि गुनासो गथ्र्यो । साधुरामको खर्च व्यवस्थापनबारे वास्ता नगर्ने शङ्करनाथ मान्छेसँग जत्रो पछ्यौरी छ त्यतिमात्र हात फैलाउनु पर्छ भन्ने मान्यता राख्थ्यो । मामाको छोराले शङ्करनाथ एक नम्बरको कन्जुस भनेकोले पनि रविलाई आफ्नै बुबाप्रति शङ्का लाग्छ । रविलाई बुबासँग पैसा भएर पनि भाइबहिनी र आफ्नो याचना नसुनेको जस्तो लाग्थ्यो । अजान्ता भ्रमण गर्नुभन्दा एट्लासको किताब देखाएर उक्त किताब पढेमा यात्राको थकान र खर्चबिना सन्सार बुझ्न सकिने बताउने शङ्करनाथलाई रवि पनि फलफूलको किताब हेरेर संसारका सबैभन्दा मीठा फलहरूको स्वाद चाख्न सकिन्छ त ? भनी सवाल गथ्र्यो । तर्कबाट हारेर बहस गर्न तर्किन खोज्ने शङ्करनाथबाट ५० रूपैयाँ पैसा झार्न रविले महात्मा गान्धीले जस्तै सत्याग्रहको ‘हतियार’ प्रयोग गर्ने उद्घोष गर्छ ।
रविको सत्याग्रही भोक हड्तालमा बहिनी रूपा र भाइ राजाले पनि साथ दिन्छन् । भोक हड्ताल आफूले नगरेको भन्दै श्रीमती पदमा (निरूपा राय) खाना पस्कन लगाउँछन् । पदमाले बच्चाहरूलाई भोकै राखी कसरी खाने ? भन्छिन् । शङ्करनाथ भन्छन्, “मलाई पस्केको खानाको बास्ना सुँघेपछि यिनीहरूको ¥याल चुहिनेछ । एकैक्षणमा पेटमा मुसा दौडेपछि यिनीहरूको फलामजस्तो इच्छा मैनजस्तै पग्लिनेछ ।” तर शङ्करनाथले पहिलो गाँस मुखमा लगिसक्दा पनि कुनै छोराछोरी भान्सा कोठामा आएनन् । शङ्करनाथ छोराछोरीबिना खाना खान सक्दैनन् । थालमै खाना छोडेर उठेर विस्तरामा जान्छन् । अर्को दिन पनि अनसन नतोडेपछि शङ्करनाथले अर्को उपाय निकाल्छन् । माध्यमिक तह पढ्ने छोरालाई अब ठूलो भइसकेको भन्दै साथीसरह सम्झेर वार्ता गर्छन् । शङ्करनाथले आफ्नो बसभाडा र चुरोट खर्च, आमाको भान्सा खर्च अनि तीनै छोराछोरीको विद्यालय खर्च गरेर बाँकी तलबबाट केटाकेटीहरूले जे मन लाग्छ किन्न पाउने अनुमति दिन्छन् । वार्तामा अब उपरान्त छोरा रविले घर चलाउने सहमति हुन्छ । यो सहमति एक महिनाको लागि मात्र होइन, ६ महिना लागु हुने पनि सहमति भयो । शङ्करनाथले गुनासो गर्नेहरूलाई नै गद्दीमा ल्याएर राखिदिन्छन् ।
शङ्करनाथले महिनाको तलब पूराका पूरा ६३० रूपैयाँ रविको हातमा बुझाउँछन् । कार्यालय जान बस भाडा र चुरोट खानको लागि आफूलाई चाहिने ५० रूपैयाँ पनि शङ्करनाथले छोरा रविको हातबाटै लिन्छन् । रविको हातमा पैसा पर्नासाथ बहिनी रूपा फ्रक किन्न उफ्रिन्छन् अनि भाइ राजाले साइकल किन्न पैसा माग्छ । रविले पहिला सबै मिलेर बजेट बनाउने भन्छन् । दुई भाइबहिनीलाई लिएर आमासँग भान्साको लागि चाहिने सामानको विवरण माग्न जान्छन् । बडो मितव्ययी भएर खर्च गर्दा महिनाको अन्तमा ४० रूपैयाँ बचत हुन्छ । यसरी नै हरेक महिनामा ४० रूपैयाँ बचत भएमा आउने ६ महिनामा २४० बचत हुने रूपा हिसाब निकाल्छिन् । त्यो पैसाले साइकल पनि किन्न पाउने भन्दै राजा खुसी हुन्छन् । शङ्करनाथले तिनुपर्ने सबै ठाउँमा तिरिसकेको हो र ? भन्दै एक एक सोध्न थाल्छन् । एक एक गर्दै तिरिसकेको भन्दै मुस्कुराइरहेको रविको अनुहारमा बिजुलीको बिल र धोवी ज्याला सुनेपछि एकाएक बादल लाग्छ ।
पहिलो महिनाको बजेटमा केटाकेटीहरूलाई न नाफा न घाटा भयो । तीन छोराछोरीको बैठकमा खर्च कटौतीको लागि विभिन्न प्रस्ताव पेश हुन्छ । आमालाई कामको भार नपर्ने गरी मासिक ३० रूपैयाँ ज्याला लिई घरमा काम गर्ने महिलालाई कामबाट निकाल्ने, ११ रूपैयाँ बचतको लागि कपडा आफै धुने आदि । कलिला छोराछोरीहरूले घर सफा गर्ने, भाँडा माझ्ने, बजार गर्ने आदि दुःख गरेको देख्दा पदमालाई दुःख लाग्थ्यो । टाउको दुखाउने बाहेक केही पनि उपलब्धि नभएको जिम्मेवारी लिनुभन्दा बरु बुबालाई नै घर चलाउने जिम्मा दिन पदमा रविलाई सल्लाह दिन्छिन् । पैसा बचाउन नसके पनि अभिलाशा बढेकोमा रविलाई गौरव लाग्छ । मासिक अपरिहार्य घर खर्चबाट पैसा जोगाउन रवि, रूपा र राजाले सा¥है मिहिनेत गर्छन् । तीनै जना बस छोडेर हिडेर स्कूल जान्छन् । छोराछोरीलाई पछ्याउँदै हिँडेर कार्यालय आउजाउ गर्ने शङ्करनाथ थकित भएको देखेर अब उपरान्त बसमै जान कसम खुवाउँछन् । दीपावलीमा पड्काउने पटाकाले अनावश्यकरूपमा देशको करोडौँ रूपैयाँ नोक्सान भइरहेकोमा ठूलाहरू सबै एकमत भए पनि सानो छोरा राजाको लागि पटाका किन्ने पैसा खर्च गर्न सबै राजी हुन्छन् । पटाकाजस्तै एकक्षण धुँवा उडाएर पैसा सक्ने चुरोट नखाँदा बुबाको स्वास्थ्यलाई पनि फाइदा हुने भएकोले महिनाको २० रूपैयाँ खर्च घटाउन चुरोट त्याग्ने शङ्करनाथको घोषणालाई सबैले समर्थन गर्छन् । मासिक तलबको पैसा बचाउन परिवारका पाँचै जना सदस्यले एक अर्कामा स्नेह, प्रेम, श्रद्धा, समर्पण र सहयोग गर्छन् । यद्यपि, शङ्करनाथको मासिक ६३० रूपैयाँ तलबबाट पैसा बचाउन सक्दैनन् । त्यसमाथि कहिलेकाँही आउने पाहुना र आकस्मिक खर्चहरूले रविको बजेटलाई घाटामा पु¥याउँथ्यो ।
यसबीचमा साधुराम बरोबर श्रीमती र पाँचै छोराछोरीलाई महँगो र राम्रो राम्रो उपहार दिइरहन्छन् । साधुरामकी जेठी छोरी सीमाले भने आफ्नो लागि धेरै पैसा खर्च गर्नु पर्दैन भन्दै बुटिक लगाएको सिल्कको साडी फर्काउन भन्छिन् । तर, अझै नयाँ र महँगा उपहारको अपेक्षा गर्ने श्रीमती छोरीले फर्काउन भनेको साडी पनि तान्छिन् । साधुरामले यी सबै खर्च चोखो तलबको स्रोतबाट जुटाउन सक्ने अवस्थामा थिएनन् । साधुराम मानिस बलियो हुनको लागि भिटामिन ‘आर’ अर्थात् रिस्वत (घुस) पनि खानुपर्छ भन्थे । साधुराम कार्यालयमा आएको फाइल अगाडि बढाउन पैयाँ (पाइला) हाल्नुपर्ने भन्दै सेवाग्राहीहरूसँग हाकाहाकी ‘रु .. पैयाँ’ माग्छन् । कार्यालय प्रमुख शङ्करनाथले ढिला आउनुको कारण सोध्दा साधुराम आफू यो लोकको मात्र होइन, स्वर्गलोकको पनि सोच्ने मान्छे भएकोले मन्दिर जाँदा पानी धारामा जस्तै लामो लाइनमा बस्नु परेको हुँदा ढिलो भएको स्पष्टीकरण दिन्थे । शङ्करनाथको कार्यालयमा साधुराम मात्र होइन, पियन पनि घुस खान्छ । कार्यालय प्रमुखको हैसियतमा शङ्करनाथले घुस लेनदेन रोक्न कुनै कदम चालेको देखिँदैन । शङ्करनाथको अगाडि कसैले घुस लिएदिएको पनि ‘घर घरको कथा’ चलचित्रमा देखाइँदैन । आफ्नै कार्यालयको टेबलमा राखिदिने नगद होस् या घरमा आएर दिएको वस्तुहरूको घुस लिन शङ्करनाथ अस्वीकार मात्र गर्दैनन्, ती घुस दिने मानिसलाई पनि निन्दा गर्छन् । घुसखोरी र बेइमानीकै कारण देश बर्बाद भएकोमा आक्रोश व्यक्त गर्छन् ।
साधुरामकी जेठी छोरी सीमाको सुरेस (राकेश रोशन, ऋतिक रोशनका बुबा)सँग प्रेम चलिरहेको हुन्छ । धनी सुरेससँग विवाह गराउन पाउँदा साधुराम खुसी हुन्छ । सुरेस र सीमाको विवाहको लागि टीकाटालो हुन्छ । लगत्तै साधुराम घुस खाएको आरोपमा रङ्गेहात पक्राउ पर्छ । पक्राउपछि रुने श्रीमतीलाई सम्झाउँदै साधुराम भन्छन्, “नरोऊ, पहिला नेताहरू पनि त जेल गएका थिए । फरक यति हो, नेताहरू देशको लागि जेलमा गए, म आफ्नो खानदानको लागि जेल जाँदै छु ।” श्रीमती साधुरामले घुस खाएको थाहा नभएको भन्दै विलौना गर्छिन् । बुबाले घुस खाएरै घरमा तक्सार (पैसा छाप्ने अद्दा) बनाएको सबैलाई थाहा भएको छोरी सीमाले प्रस्ट पारिन् । बुबाको तलबभन्दा बढी खर्च भइरहेको बताउँदा आमाले वास्ता नगरेको भन्दै आमालाई आलोचना गरिन् । पश्चातापमा डुबेकी साधुरामकी श्रीमतीले घाँटीको हार चुँडालेर फाल्छिन् । यता भ्रष्टाचारीकी छोरी सीमासँग छोराको विवाह गर्न अप्ठ्यारो मान्ने सुरेसकी विधवा आमालाई शङ्करनाथले सम्झाएपछि सीमा र सुरेसको विवाह हुन्छ ।
आवश्यकताभन्दा बढी छोराछोरीलाई माया गरेर पनि समाजमा केटाकेटी बिग्रेका हुन्छन् । रविको मामाको छोरा गोपी यसरी नै मायाबाट बिग्रेको केटाको रूपमा प्रस्तुत गरिएको छ । अनपढ तर धनी बाबुकी छोरी रविकी माइजू छोरा गोपीले जे भने पनि सही मान्छिन् र भनेको जति पैसा दिइरहन्छिन् । गोपी जुवा खेल्ने कुलतमा फसिसकेको हुन्छ । रविको मामाले पटक–पटक सचेत गराउँदा पनि माइजु झन् गोपीलाई पुलपुल्याउन छोड्दिनन् । आमाले दिएको पैसा नपुगेर, साइकल र ट्रान्जिस्टरसमेत धरौटी राखी सकेको गोपीले मौकामा रविको घरमा पैसा चोर्छ । रविले पुरस्कारमा पाएको २ सय र बुबाको तलबको ६ सय एकसाथ दराजमा राखेको ८ सय पैसा हराएपछि शङ्करनाथको परिवार ठूलै सङ्कटमा पर्छ । पैसाको हिफाजत गर्ने जिम्मा पाएको रविको होस् उड्छ । मामाले गोपी रविको घरमा आएको बताएपछि पैसा गोपीले नै चोरेको पक्का गर्छन् । रवि गोपीको खालमा पुग्छन् । जुवाको खालमा गोपी अरू जुवाडेहरूसँग लडिरहेको हुन्छ । रविले पैसा हात पार्छन् । झगडा नटुगिँदै शङ्करनाथ, गोपीका बुबा अर्थात् रविको मामा पनि आइपुग्छन् । गोपीले बुबा र फुपाजु शङ्करनाथ अनि रविसँग माफी माग्छ । ‘घर घरको कथा’ चलचित्रको अन्त्यमा शङ्करनाथ (बलराज साहनी) को मान्यता फेरि दोहो¥याइन्छ – जत्रो पछ्यौरी छ, मानिसले त्यतिमात्र हात फैलाउनु पर्छ ।
हिन्दू धर्ममा आस्था राख्ने शङ्करनाथको सामान्य परिवार चलाउन अधिकृतको तलबले पुग्दैन । शङ्करनाथसँग दुइटा बाटा थिए – परिवारको खर्च नियन्त्रण गर्ने वा अवैधानिक स्रोततिर आँखा लगाउने । इमानको दुई रोटी खानु मै आनन्द मान्ने शङ्करनाथले भ्रष्टाचार गर्ने कल्पना पनि गर्न सक्थेन । त्यसैले अरूको देखासिकी गर्नुभन्दा पनि आफ्नै पेटमा पटुका कसेर बाँध्ने विकल्प नै शङ्करनाथले अपनाए । आफ्नो स्वार्थसिद्ध गर्न हुने– नहुने जे पनि काम गर्न अघि सर्ने अगुवाहरू बाहुल्य भएको आजको पुँजीवादी समाजमा आफू एक्लैमात्र निष्ठापूर्वक बाँच्छु भनेर जीवन अगाडि बढाउन कठिन हुन्छ । देश र जनताको लागि त्याग र निष्ठाको आधा जीवन व्यतित गरेर पनि छोराछोरीको इच्छालाई व्यवस्थित गर्न नसक्दा आफ्नो जीवनको आस्थाबाटै विचलित भएका व्यक्तिहरूको पनि समाजमा उदाहरण पाइन्छन् । अथवा, छोराछोरीको इच्छा वास्ता नगर्दा समाजका गलत तत्वहरूको संगतमा लागेर इमानको धरोहर बनेका आफ्नै अभिभावकको बद्नाम गर्दै हिँड्ने स्वार्थी छोराछोरीहरू पनि छन् । शङ्करनाथ एक नम्बरको कन्जुस भन्ने मामाको छोरा गोपीको कुरा सुनेर रवि पनि भड्किसकेको थियो । शङ्करनाथसँग पैसा भएर पनि छोराछोरीको लागि खर्च गर्न कन्जुस भएको भन्दै रविले भोक हड्ताल गरेको थियो । तर समझदार शङ्करनाथले भोक हड्ताली रविहरूलाई दबाउनुभन्दा पनि वार्ता गरेर जिम्मेवार बनाए । रवि र रविका भाइबहिनीहरूले पनि शङ्करनाथको आदर्शलाई पछ्याउँदै मितव्ययी भएर बचत गर्न खोजे । यद्यपि, सामान्य कर्मचारीले भन्दा बढी तलब पाउने उच्च अधिकृतका छोराछोरी रविहरूको घर खर्चबाट बचत गरेर आफ्ना रहरहरू किन्ने सपना पूरा भएन । बाँच्न मात्र पुग्ने अथवा अझै दोस्रो सन्तान पाउने कल्पना पनि गर्न नसक्ने गरी ज्याला दिने पुँजीवादी श्रम बजारमा उच्च अधिकृतको तलबले पनि इमानदारीपूर्वक छोराछोरीका सबै आवश्यकताहरू पूरा गर्न सकिँदैन भन्ने उदाहरण बलराज साहनीको ‘घर घरको कथा’ चलचित्रले देखाएको छ ।
श्रमको उचित ज्याला नदिने पुँजीवादी व्यवस्थाले मानिसहरूको आकाँक्षा बढाइ दिएको हुन्छ । यो असमान व्यवस्थामा मानिसहरूले क्षमताभन्दा बढी व्यवहार गर्न खोज्दा समाजमा भ्रष्टाचार बढ्छ । यसकारण, समाजलाई त्यो गलत बाटोमा जान नदिन ‘घर घरको कथा’ का शङ्करनाथको परिवारले आदर्शवादी यथार्थवादी व्यवहार प्रदर्शन गर्नु बलराज साहनीको आदर्श समाज स्थापना गर्ने लक्ष्य मुताविक देखिन्छ । ‘जनताको साहित्य र साहित्यकार’ मा साहित्यकार हरिबहादुर श्रेष्ठले “यथार्थमा आधारित आदर्शवादी साहित्य र आदर्शले ठीकसित सिङ्गारेको यथार्थवादी साहित्य र कला जनताको सङ्घर्षमा सहायक तत्व बन्न सक्छ” भने जस्तै ‘घर घरको कथा’ चलचित्र बलराज साहनीको माक्र्सवादी दर्शनअनुसार आदर्श समाज स्थापना गर्न सहायकसिद्ध बनेको छ भन्नु सान्दर्भिक हुन्छ । ‘घर घरको कथा’ ले आफ्नो अधिकारबारे सोच्नेबेलामा कर्तव्यप्रति जिम्मेवार हुनुपर्ने नागरिक भावना जगाउन अभिप्रेरित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *