भर्खरै :

उत्तम विश्व स्वास्थ्य ढाँचाको निम्ति

सन् २०२० को नोभेम्बर महिनामा पेरिस शान्ति मञ्चको बैठक हुँदासम्म संसारमा कोभिड–१९ को कुनै पनि खोप प्रयोगको लागि अनुमोदित थिएन । त्यसको ठीक एक वर्षपछि संसारभर ७ अर्बभन्दा बढी मात्रा खोप लगाइसकिएको छ । जसले कैयौँ मानिसलाई मृत्युबाट जोगाएको छ । धेरै देशमा महामारीको हुरी रोक्न खोपले मद्दत गरेको छ । तर, यो वैज्ञानिक सफलताको छायाले कोभिडको खोपबाट संसारका सबै मानिसले लाभ लिन नसकेको वास्तविकता भने छोपिएको छ ।
यो लेख लेख्दै गर्दासम्म संसारको कुल जनसङ्ख्याको एकतिहाइभन्दा बढी मानिसले पूर्ण मात्रा खोप पाइसकेका छन् । तर, अफ्रिका महादेशमा भने जम्मा ६.७ प्रतिशत मानिसले मात्र पूर्ण मात्रा खोप पाउन सके । यो अवस्थालाई कसरी स्वीकार्न सकिन्छ ? हामीले यो अवस्थामा तत्काल परिवर्तन गर्न जरुरी छ । विश्वव्यापी ऐक्यबद्धतामा आइपर्ने कुनै पनि चुनौती भनेको विश्व सुरक्षा र स्थायित्वमाथिकै खतरा हो ।
आफ्ना नागरिकको सुरक्षा गर्नु सबै सरकारहरूको दायित्व हो । तर, महामारी नियन्त्रणको निम्ति अत्यन्त महत्वपूर्ण स्रोतहरू जस्तै सूचना, जैविक नमुना र खोप, परीक्षण उपकरणलगायत अन्य सामग्री दिन केही सरकारहरूले कञ्जुस्याइँ गर्दा न्यून वा न्यून मध्यम आय भएका धेरै देशहरूले आफ्नो जिम्मेवारी पूरा गर्न सकेका छैनन् ।
कोभिड–१९ महामारी कदापि अन्तिम महामारी हुनेछैन । त्यही भएर यो सङ्कटको घाउ पुर्दै गर्दा प्रभावकारी सहकार्य र साझेदारीमार्फत भविष्यमा यस्ता महामारी फैलिन नदिन सुनिश्चित गर्नुपर्नेछ । अहिलेको महामारीमा जस्तै अराजकता र अन्योलको अवस्थाले भविष्य थप भयावह बनाउन हुन्न ।
कोभिड–१९ महामारीको विश्वव्यापी प्रतिरोध अहिले समीक्षाको विषय बनेको छ । भोलिका दिनमा फैलिन सक्ने यस्ता रोगबारे पूर्वजानकारी पाउन सक्ने धेरै उपायहरू अहिले सुझाइएको छ । त्यसरी रोग फैलिनुअघि नै थाहा पाउन सक्ने अवस्था बने कुनै पनि रोगले महामारीको रूप लिनु त परको कुरा, फैलिन पनि पाउनेछैन । अथवा, फैलिहालेको अवस्थामा पनि शीघ्रातिशीघ्र र प्रभावकारी प्रतिरोध गर्न सकिन्छ । कोभिड महामारीको समीक्षात्मक प्रतिवेदनमा मुलतः चार वटा कुरा उठेका छन् ः
पहिलो, विश्वव्यापी शासन प्रणाली थप समावेशी, समतामूलक र उत्तरदायी बनाउनुपर्छ । संसारको विद्यमान स्वास्थ्य सुरक्षा ढाँचा जटिल र विभाजित खालको छ । स्वेच्छिक संयन्त्रले सामूहिक कार्यको निम्ति आवश्यक सबै कुरा पूरा गरेको देखिँदैन ।
त्यही भएर मैले एउटा नयाँ अन्तर्राष्ट्रिय संयन्त्र स्थापनाको वकालत गर्दै आएको छु । त्यो संयन्त्र एउटा अन्तर्राष्ट्रिय सन्धि हुनसक्छ जसले महामारीको तयारी र प्रतिरोधलाई निर्देशित गर्न सकोस् । प्रस्ट नियम र व्यवस्थासहित विश्वव्यापी सहकार्यको लागि प्रभावकारी ढाँचा बनाउन सके सबै देशहरूबीच प्रभावकारी ऐक्यबद्धता र सहकार्य कायम हुनसक्छ । यसै महिना त्यस्तो संयन्त्रबारे विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरूबीच विश्व स्वास्थ्य सम्मेलनको विशेष अधिवेशनमा छलफल हुँदै छ ।
दोस्रो, हामीले महामारीको तयारी र प्रतिरोधको लागि थप र उचित आर्थिक बन्दोबस्त गर्नुपर्छ । त्यसअन्तर्गत सबै सरकारले आफ्नै देशभित्र लगानी बढाउनुका साथै न्यून र न्युन मध्यम आयका देशहरूलाई थप अन्तर्राष्ट्रिय सहायता गर्नुपर्दछ । त्यस्ता कुनै पनि आर्थिक सहायता विद्यमान वित्तीय संस्थामार्फत हुनुपर्छ । त्यसको निम्ति अर्को नयाँ आर्थिक निकाय बनाउनुले विश्वव्यापी स्वास्थ्य ढाँचालाई अझ विभाजित बनाउनेछ ।
त्यस्ता संयन्त्र स्वेच्छिक सहायताले मात्र चल्नु हुन्न । त्यसो गर्दा अहिले नै अभावग्रस्त स्रोतको निम्ति प्रतिस्पर्धा थप सघन बनाउनेछ । बरु, हामी थप स्रोत जम्मा गर्न स्वास्थ्य चुनौती कोष स्थापनाको प्रस्ताव गर्छौं । वित्तीय मध्यस्थता कोषको रूपमा त्यो विश्व स्वास्थ्य सङ्गठनअन्तर्गत नै स्थापना गर्न सकिन्छ । अनि जिम्मेवारको भारअनुसार विभिन्न देश र क्षेत्रीय सङ्गठनहरूले त्यसमा पैसा लगाउनुपर्नेछ ।
तेस्रो, हामीले बहुक्षेत्रीय स्वास्थ्य निगरानीको लागि उपयुक्त प्रणाली र उपायको प्रयोग र कार्यान्वयन गर्नुपर्छ । विश्व स्वास्थ्य सङ्गठनले त्यस्ता संयन्त्र बनाउन थालिसकेको छ । सेप्टेम्बर १ मा हामीले बर्लिनमा महामारी र रोगव्याधि निगरानीको लागि नयाँ डब्ल्युएचओ केन्द्र उद्घाटन ग¥यौँ । त्यसले संसारलाई कुनै पनि आकस्मिक जनस्वास्थ्य अवस्था पहिचान गर्न र प्रतिरोध गर्न आवश्यक तथ्याङ्क र सूचना प्रदान गर्नेछ । फ्रान्सको लिओनमा फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोंसँगै मलाई विश्व स्वास्थ्य सङ्गठन प्रतिष्ठानको शुभारम्भ गर्ने मौका प्राप्त भयो । प्रतिष्ठानले विश्वका स्वास्थ्यकर्मीहरूको लागि उच्चस्तरीय दीर्घकालीन सिकाइमा पहुँच विस्तार गर्न अत्याधुनिक प्रविधिको प्रयोग थाल्नेछ ।
स्वीट्जरल्यान्डमा जीवाणुको भण्डारण र वितरणको लागि डब्ल्युएचओ जैविक केन्द्र (बायोहब) जस्ता संरचना बनाउने काम भइरहेको छ । त्यस्तै विश्वव्यापी स्वास्थ्य सजगता समीक्षा (युएचपीआर) निर्माणको काम पनि भइरहेको छ । संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्ले प्रयोग गरेको युएचपीआरले विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरूबीच उत्तरदायित्व र पारदर्शिता बढाउन सामूहिक समीक्षा (पियर रिभ्यु) को प्रयोग गर्नेछ । यो पद्धतिबाट डब्ल्युएचओका सदस्य देशहरूबीच महामारीको लागि तयारी र प्रतिरोध क्षमता र आपसी दुरी पहिचान गर्न मद्दत गर्नेछ ।
अन्तमा, हामीले विश्वको स्वास्थ्य ढाँचाको केन्द्रमा रहेको विश्व स्वास्थ्य सङ्गठनलाई बलियो, सशक्त र दिगो बनाउनुपर्छ । सङ्गठनमा आबद्ध १९४ सदस्य देश र १५२ देशस्थित कार्यालयसहित विश्व स्वास्थ्य सङ्गठनसँग विश्वव्यापी क्षेत्राधिकार, पहुँच र वैधता छ । तर, पछिल्ला दसकमा विश्व स्वास्थ्य सङ्गठन क्रमशः कमजोर बन्दै गएको छ । डब्ल्युएचओमा अनिवार्य र स्वेच्छिक योगदानबीचको ¥हासोन्मुख असन्तुलनले त्यसलाई कमजोर बनाएको छ । यसले हाम्रो (डब्ल्युएचओ) को बजेट प्रभावित बनाएको छ । फलतः हाम्रा सदस्य देशहरूका अपेक्षा पूरा गर्न र प्रतिभाशाली मानिसहरूलाई आकर्षित गर्न र जोगाउन मुस्किल हुँदै गएको छ ।
कोभिड–१९ महामारीले विश्वको स्वास्थ्य सुुरक्षाको गम्भीर महत्वलाई उजागर गरेको छ । विश्व स्वास्थ्य सङ्गठन थप कमजोर हुनु र विश्वको स्वास्थ्यको संस्थागत ढाँचामा थप विभाजन हुनु विश्व स्वास्थ्य सुरक्षाको निम्ति सबभन्दा ठूला जोखिम हुन् । संसारले त्यस्तो सङ्गठनमा लगानी गर्नुपर्छ जसले सबै देशको स्वास्थ्यको खास प्रतिनिधित्व गर्नुका साथै त्यो क्षेत्रमा काम गर्छ ।
आगामी महिना र वर्ष आउन सक्ने अरू सङ्कटहरूले निःसन्देह हाम्रो चासोको माग गरेको छ । तर, हामीले विश्व स्वास्थ्य सुरक्षा प्रबद्र्धनलाई उपेक्षा गर्न सक्दैनौँ । यदि संसार आजकै बाटोमा अघि बढिरहे, हाम्रो स्वास्थ्य अवस्था अझ खस्किनेछ । जसको आर्थिक र राजनीतिक प्रभाव विकराल हुन सक्छ । तर, हामीले नयाँ विचारलाई अँगीकार गर्ने र ऐक्यबद्धताको क्षेत्रमा काम गर्नुपर्छ । त्यसो गर्दा हामीले अझ स्वस्थ, अझ सुरक्षित, अझ न्यायपूर्ण र अझ शान्त भविष्य बनाउन सक्छौँ ।


(टेड्रोस विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक हुनुहुन्छ ।)
स्रोत ः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद ः सुशिला

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *