भर्खरै :

पर्यटक कि सम्पदा चोर ?

नेपाल आफ्नै कला र संस्कृतिमा धनी देश हो । हाम्रा पुर्खाहरूले सिर्जना गरेर गएका कला र संस्कृति हाम्रा सम्पदा हुन् । सरकारहरूको बेवास्ता र अक्षमताका कारण धेरै सम्पदा मासिएर गएका छन् भने कैयौँ सम्पदा चोरी भएर विदेश पुगेका छन् । प्राज्ञ लैनसिंह बाङडेलले त त्यसरी नेपालबाट चोरी भएका मूर्तिलगायत ऐतिहासिक सम्पदाको तस्बिर सङ्कलन गरेर – स्टोलन इमेजेज अफ नेपाल नामक तस्बिर पुस्तक नै प्रकाशन गर्नुभएको छ । त्यसरी आजभन्दा ४०–५० वर्षदेखि हराइरहेका ऐतिहाकिस मूर्तिहरू, गजुरहरू, तोरणहरू युरोपेली देश बेलायत, फ्रान्स, स्पेन, इटाली, जर्मनी, बेल्जियम तथा संरा अमेरिका र क्यानाडाका निजी तथा सरकारी ग्यालरीहरूमा फेला पर्न थालेका छन् ।
बसन्तपुर दरबार क्षेत्रको कुमारीघरबाट सन् १९८०–९० को दशकमा चोरी भएको देवी दुर्गाको आकृतिसहितको झन्डै तीन सय वर्ष पुरानो (१८ औँ शताब्दी) तोरण केही हप्ताअघि बरकत ग्यालरीको बेलायतस्थित शाखामा भेटियो । त्यस्तै सोही ग्यालरीमा नेपालबाट चोरी भएको चार सय वर्ष पुरानो पुरातात्विक महत्वको मूर्ति अमेरिकाको एक निजी ग्यालरीमा भेटिएको छ । काठमाडौँको बटु टोलमा रहेको बटु बहालबाट सन् १९८० को दशकमा चोरी भएको दाताको मूर्ति बरकत ग्यालरीको अमेरिकी शाखामा भेटिएको हो ।
त्यस्तै काठमाडौँको मञ्जुश्री टोलमा रहेको यंगालबाट सन् १९८० को दशकमा चोरी भएको घुँडा टेकेको मुद्रामा रहेको दाताको ढुङ्गाको मूर्ति बरकत ग्यालरीको लण्डन शाखामा नै भेटिएको छ । पर्यटकको रूपमा नेपाल आएका चोरहरूले ती सम्पदा चोरेर लगेको हुनु्पर्छ । त्यसमा नेपालका चोर र दलालहरूको संलग्नता पनि अवश्य नै होला । कतिपय कूटनीतिक पासपोर्टधारीहरूले ती सम्पदा युरोप र अमेरिका पु¥याउन काम गरेको हुनसक्छ । विदेशी पर्यटक भनेर आँखा चिम्लिेर विश्वास गर्ने र खुला छोड्ने गल्ती अब हामीले गर्नुहुँदैन । पर्यटक र कूटनीतिज्ञको भेषमा सम्पदा चोर पनि हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *