भर्खरै :

“जनता ठग्ने सहकारी संस्थालाई सरकारले किन कारबाही गरेन ?”

काठमाडौँ, १८ मङ्सिर । काठमाडौँ टोखाको मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि.को पन्ध्रौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले साधारण सभाको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले नेपालमा ३०–४० हजार सङ्ख्यामा रहेका सहकारी संस्थाहरूमध्ये दुई सय जतिमा जनताको बचत ठगी भएको बताउनुभयो । उहाँले ओरेन्टल, सिभिललगायत सहकारीले जनताको अर्बौंँ रूपैयाँ बराबरको बचत रकम ठगी गरे तर राज्यले समयमै त्यस्ता ठगहरूलाई कारबाही गरी उनीहरूको घैघरानाबाट जनताको बचत फिर्ता दिलाउनुपर्ने बताउनुभयो ।
“सहकारी संस्थालाई एउटा वडा र पालिकाको क्षेत्राधिकार तोकेर सञ्चालन गराइएमा जनताको बचत ठगी हुनेछैन”, सांसद सुवालले भन्नुभयो ।
सहकारी संस्थाले सदस्यहरूलाई देश र विदेशको समसामयिक विषयमा जानकारी दिने कार्यक्रम राख्न जरुरी भएको भन्दै उहाँले कोभिड–१९ को सङ्क्रमण जोखिम कायमै रहेको बताउनुभयो ।
“युरोप र अमेरिकाले खोप राष्ट्रवादको नीति लिएको हुँदा दक्षिण अफ्रिकामा भाइरसको परिवर्तित रूप ओमिक्रोन देखिएको छ”, उहाँले भन्नुभयो ।
कोभिड–१९ सङ्क्रमण रोकथाम गर्न चीनले जिम्मेवारीपूर्वक बाँकी संसारलाई स्वास्थ्य सामग्री र खोप उपलब्ध गराएको चर्चा गर्दै सांसद सुवालले संरा अमेरिका, भारत, युरोपका देशहरू, अस्टे«लियालगायतले कोभिड–१९ सङ्क्रमण रोकथाममा बेवास्ता गरेको बताउनुभयो ।
“देशको सन्तुलित विकास नहुनुमा सरकारमा गएका पार्टी र तिनका नेताहरू नै दोषी छन् । काठमाडौँका बासिन्दा बढ्दो प्रदूषण, खानेपानीको अभावको कारण सास्ती भोग्ने अवस्थामा छन्”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले उत्कृष्ट सहकारीको परिकल्पना गरी अगाडि बढाउनका लागि संस्थाका जिम्मेवार सदस्यहरू अनुशासित, परिपक्व र गतिलो आचरणयुक्त हुनुपर्ने बताउनुभयो ।
मिर्मिरे साकोसका अध्यक्ष राजवीर डंगोलको सभापतित्वमा भएको साधारणसभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजु, नेमकिपा काठमाडौँ जिल्ला समितिका सचिव श्यामकुमार महर्जन, नेमकिपा टोखा नगर समितिका उपाध्यक्ष एवम् मिर्मिरे साकोसका संस्थापक अध्यक्ष शोभालाल श्रेष्ठ, टोखा नपा सहकारी शाखाका प्रमुख कमला कार्की, सिद्धि गणेश साकोसका प्रतिनिधि रुद्रनारायण लाखेजु, नीलबाराही साकोसका प्रतिनिधि सजीव श्रेष्ठ, टोेखा नपा २ नं. वडा सदस्य हिराकाजी डंगोल, गणेश इङ्गलिस स्कूलका प्रधानाध्यापक विशोक डंगोल, मिर्मिरे साकोसका उपाध्यक्ष कमलबहादुर डङ्गोलले कार्यक्रममा बोल्नुभएको थियो ।
साधारणसभाको दोस्रो चरणको बन्दसत्रमा संस्थाको आ.व. २०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदन, संस्थाको आर्थिक प्रतिवेदन, संस्थागत गतिविधि प्रतिवेदन, विभिन्न उपसमितिको वार्षिक प्र्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो भने प्रतिवेदनहरूलगायत संस्थाको भावी नीति तथा कार्यक्रमहरूमा व्यापक छलफल गरी पारित गरिएको थियो । पन्ध्र्रौँ सभाले कृष्णमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति र शोखराज डंगोलको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।
कीर्तिपुर
नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मङ्सिर २८ गतेबाट सुरु हुने हिँउदे संसद् अधिवेशनमा एमसीसी पेश गरे एमसीसीविरुद्ध थप कडा सङ्घर्ष अघि बढाउने बताउनुभएको छ ।
नेमकिपा कीर्तिपुर नगर समितिको आयोजनामा शनिबार कीर्तिपुरमा आयोजित कार्यकर्ता भेलामा बोल्दै उहाँले नेमकिपाले एमसीसी सम्झौताविरुद्ध देशव्यापी सङ्घर्षको क्रममा ७० भन्दा बढी जिल्लामा एमसीसीविरुद्ध गतिविधि गरिसकेको र अब फेरि सबै कार्यकर्ताहरूलाई तयारी अवस्थामा रहन आह्वान गर्नुभयो ।
उहाँले देशका शासक राजनैतिक पार्टीहरूकै कारण न्यायालयमा विवाद भएको बताउँदै मन्त्री घूस खुवाउने र मन्त्री घूस खाने राजनीतिक दल र सर्वोच्च आलतका प्रधानन्यायाधिश दुवै दोषी रहेको बताउनुभयो ।
समाजवादी व्यवस्थाको स्थापनाले देशका समस्या समाधान गर्न सकिने चर्चा गर्दै सांसद सुवालले समाजवादमा उत्पादनका सबै साधनहरू राष्ट्रियकरण, शिक्षा, स्वास्थ्य निःशुल्क र योग्यतानुसार काम र कामअनुसारको मामको व्यवस्था सुनिश्चित हुने बताउनुभयो ।
नेमकिपा केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले उपत्यका बचाउन उपत्यकाका स्थानीयबासीहरू राजनैतिकरूपले सचेत हुनुपर्ने बताउनुभयो । एमसीसी सम्झौताविरुद्ध नेमकिपाले देशव्यापीरूपमा गरेका गतिविधिलाई स्थानीय जनताले स्वागत गरेको उहाँले स्मरण गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सांसद सृजना सैँजुले सङ्घीयता समाजवाद होइन भनेर प्रदेशसभामा कुरा गर्दा अलमलमा परेका दलहरू बागमती प्रदेशमा तीन वर्ष तीन जना मुख्यमन्त्री फेर्नु लज्जास्पद रहेको बताउनुभयो । उहाँले नक्कली कम्युनिस्टले सक्कली कम्युनिस्टको विचार रोकेर रोक्न सक्दैन भन्नुभयो ।
नेमकिपा केन्द्रीय सदस्य नारायण महर्जनले कीर्तिपुर नगरमा क्रियाशील पार्टीको गलत चर्तिकला प्रस्ट पार्दै पार्टीको कार्यक्रम जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादमा पुग्न जनता सङ्गठित पार्ने हो भन्नुभयो ।
नेमकिपा वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले सङ्गठन विस्तारमा कार्यकर्ताहरूको भूमिकाबारे प्रशिक्षण दिनुभयो ।
कार्यक्रममा नेमकिपाका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जन, पूर्वकेन्द्रीय सदस्य प्रशान्त महर्जनलगायतले बोल्नुभएको थियो ।
नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष बुद्धिमान महर्जन, सुनेना महर्जनले पनि बोल्नुभएको थियो ।
भेलालले नेमकिपा कीर्तिपुर नगर समिति नारायण महर्जनको अध्यक्षतामा नयाँ समिति गठन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *