भर्खरै :

सक्वको म राजदास–११३ / मेरा जीवनका सुख दुःखका केही अनुभूतिहरू

गान्तोक पुगेर बसबाट ओर्लिएँ । नयाँ ठाउँ, नयाँ परिवेश, अपरिचित वातावरण र एक गन्तव्यविहीन यात्रु म । कहाँ जाने, के गर्ने केही योजना थिएन । न कोही आफन्त, न साथीभाइ, घरपरिवार सबै त्यागेर देश छोडेर आएको म । आफूसँग एउटा ब्रीफकेसबाहेक केही थिएन । मसँग परिवारको एउटा सानो फोटो आल्बम र एउटा नोटबुक थियो । त्यसमा म कुन दिन कति बेला घरबाट निस्केको भनेर लेखेको थिएँ ।
बसबाट निस्केर चारैतिर पहाडैपहाड, खोँचमा परेको गान्तोक सहरको बस स्टप हेरेँ । अलि माथि उक्लेर एउटा होटलमा छिरेँ । होटेलमा त्यसै बस्न भएन, खाना अर्डर गरेँ । काँकडभिट्टामा एक कप चिया र दुइटा बिस्कुटबाहेक अघिल्लो बिहानदेखि केही पनि खाएको थिइनँ । त्यसैले खान मन नभए पनि खाएँ ।
अघिल्लो दिन १० बजेतिर घरबाट निस्केको थिएँ । अघिल्लो दिनभर र रातभर बसमा बसेको बस्यै । कहीँकतै ओर्लेको छैन, केही खाएको पनि थिएन, भोक प्यास पनि लागेको थिएन । दिनभरि रातभरि एउटै झ्यालनजिकको सीटमा बसेको बस्यै । नारायणघाट नपुगेसम्म बसको झ्यालबाट बाहिर हेर्दै गएँ । त्रिशुली नदीको किनारैकिनार जङ्गलपहाडहरू हेर्दै गएँ । त्रिशुलीसँगसँगै म बग्दै गएँ, सबै कुरा बिर्सेँ । मन एकदम हलुको भयो । दिमागले केही सोचेको थिएन । जे देखियो हेर्ने काम भन्यो, बस !
काठमाडौँ जिल्ला कट्न लाग्यो, धादिङ्ग जिल्ला आउन लाग्यो, त्रिशुली नदी छेउ बस गुड्दै थियो । मेरो आँखासामु त्रिशुली नदी तर्ने पुल आयो । पुल तरेपछि काठमाडौँ जिल्ला कटिन्छ, छिट्टै धादिङ जिल्ला आउँछ । धादिङ जिल्ला आउने बित्तिकै जोगीमारा भन्ने ठाउँ आउँछ । धादिङ, काठमाडौँ र चितवन तीनवटा जिल्लाको सङ्गम स्थल हो, जोगिमारा । जोगिमारा भन्ने बित्तिकै मन सिरिङ्ग हुन्छ । किनकि, यो ठाउँमा धेरै सवारी दुर्घटना हुने गर्दछ । यो ठाउँबाट धेरै गाडीहरू त्रिशुली नदीमा खसे । धेरै मानिसको ज्यान गइसकेको छ ।
जोगिमाराको दायाँपट्टि त्रिशुली नदी बगेको छ । नदी वेगले बगिरहन्छ, नदी कति गहिरो थाहा छैन तर पानीको बहाव धेरै छ । यहाँ गाडी खसेपछि कहाँ पुग्छ अत्तोपत्तो हुँदैन । यात्रुका लासहरू यत्रतत्र हुन्छन् । एकचोटि यस्तै एउटा ठूलो दुर्घटना हुँदा बङ्गलादेशबाट गोताखोर झिकाएर नदीमा खसेको बस खोज्न लगाइएको थियो ।
यस ठाउँमा यातायात दुर्घटना हुनुको एक मूल कारण त्यहाँ ठूलठूला चुनढुङ्गाका पहाडहरू भएर हो । ती पहाडहरूमध्ये एउटा ठूलो ढुङ्गैढुङ्गाको भिर कृष्णभिर हो । काठमाडौँबाट जाँदा बायाँ साइडमा कृष्णभिर पर्छ । त्यस भिरमा रुखबिरुवा त्यति देखिँदैन, माटो पनि त्यति छैन । केवल ढुङ्गैढुङ्गा भएका कारण वर्षायाममा अविरल पानी पर्दा त्यो भिरको पहाडभित्र भित्र पानी जान्थ्यो र त्यही पानीसँगसँगै ती चट्टानहरूको ठूल्ठूला पहिरो आउने गथ्र्यो । कृष्णभिरको चट्टान लिएर प्रयोगशालामा परीक्षण गर्न त्यो ठाउँमा धेरै पटक पुगेको छु ।
चुनढुङ्गा मेरो अध्ययन तथा चासोको विषय भयो । मेरो इन्जिनियरिङ्ग विषय नै चुनढुङ्गासम्बन्धी थियो । त्यही चुनढुङ्गाबाट सिमेन्ट र चुन उत्पादन गर्ने मेरो अध्ययनको विषय हो । त्यसकारण, म बारम्बार त्यस ठाउँमा जान थालेँ र त्यस इलाकाका ढुङ्गाखानीको अध्ययन गर्न थालेँ । कृष्णभिरपछि एउटा सानो बस्ती आउँछ, जोगीमारा बस्ती । जोगीमाराको बायाँ साइडबाट खोला बगिरहेको छ । त्यो खोला (खहरे) आएर त्यही वस्ति नजिक त्रिशुलीमा मिसिन्छ । म धेरैचोटि त्यो बस्तीमा गई केही रात बिताएको छु । त्यहाँ राम्रो गुणस्तरको चुनढुङ्गा पाइन्छ ।
खानी विभागमा मैले एक अनुसन्धान अधिकृतको रूपमा काम गर्दा उदयपुर जिल्लामा सबभन्दा राम्रो चुनढुङ्गा भेट्टाएको थिएँ । पछि उदयपुर जतिकै राम्रो चुनढुङ्गा यहाँ जोगीमारामा भेट्टाएँ । त्यसकारण, मेरो व्यवसायिक जीवनमा जोगीमारा अत्यन्त निकटमा जोडिन गयो ।
जोगीमाराबाट चुनढुङ्गा ल्याएर त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्र कीर्तिपुरमा त्यसको विस्तृत अध्ययन अनुसन्धान गरेँ । २०३३/२०३४ सालतिर म त्रिभुवन विश्वविद्यालय व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रमा एक अनुसन्धान अधिकृतको रूपमा काम गर्थेँ । नेपालमा चुन र सिमेन्ट उद्योगको सम्भाव्यता अध्ययन गर्नु मेरो काम थियो । केही वर्षमा मेरो पूरा अनुसन्धान यही जोगीमाराको चुनढुङ्गामा केन्द्रित हुन गयो ।
‘व्यावहारिक विज्ञान तथा अनुसन्धान केन्द्र’ त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भर्खर खोलिएको नयाँ वैज्ञानिक अनुसन्धान केन्द्र थियो । म सन् १९७३ मा सोभियत सङ्घबाट केमिकल इन्जिनियरिङको डिग्री लिएर नेपाल फर्केर केही समय काठमाडौँ लैनचौरस्थित खानी तथा भूगर्भ विभागमा काम गरेपछि त्रिभुवन विश्वविद्यालयको यस व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रमा काम गर्न आएको थिएँ ।
यस अनुसन्धान केन्द्र खास गरेर नेपालमा खाद्य अनुसन्धान विषयमा स–साना घरेलु उद्योगहरू प्रवद्र्धन गर्ने उद्देश्यले खोलिएको थियो । पछि यहाँ म र मेरा श्रीमती भ्यालेन्टिना श्रेष्ठ (उहाँ पनि केमिकल इन्जिनियर) आएपछि निर्माण सामग्रीहरूको पनि घरेलु उद्योग स्थापना गर्ने शाखा खोलियो र सँगसँगै सौर्य शक्ति (सोलार इनर्जी), वायु शक्ति (विन्ड इनर्जी), वायो इनर्जी (गोवर ग्यास) का विषयमा पनि ग्रामीण प्रविधि विकास गर्न अध्ययन अनुसन्धान गर्न थालियो ।
खाद्य प्रविधि विकास गर्ने सिलसिलामा धरानमा अवस्थित खाद्य अनुसन्धान केन्द्रबाट दुईतीन जना अनुभवी विज्ञहरू पनि अनुसन्धानमूलक काम गरिरहेका थिए । नयाँ नयाँ प्रयोगशालाहरू बन्दै थिए । यसै सिलसिलामा यस अनुसन्धान केन्द्रअन्तर्गत पोखरामा एउटा खाद्य उद्योग तथा अनुसन्धान शाखा खोल्ने निर्णय भएको थियो र यसको लागि एउटा तीनतले भवन ठेक्कामा बन्दै थियो ।
ठेक्का पट्टा भइसकेको थियो र भवन निर्माण कार्य पनि सुरु भएको थियो । त्यसै भवन निर्माणको सम्बन्धमा निरीक्षण अनुगमन गर्न दुई जनाको टोली पोखरा पठाइयो । त्यसमा म पनि थिएँ। टोली प्रमुख त्यहीँ केन्द्रका अधिकृत सिभिल इन्जिनियर हुनुहुन्थ्यो । हामी पोखरा पुग्यौँ, निर्माण स्थल गयौँ । भवन निर्माण गर्न जग राखिसकेको थियो ।
व्यावहारिक विज्ञान तथा अनुसन्धान केन्द्रको उद्देश्य सकेसम्म स्थानीय कच्चा पदार्थ प्रयोग गर्दै स्थानीय प्रविधि अपनाउने भएको कारणले पोखरामा बन्न लागेको उद्योग अनुसन्धान केन्द्र पनि स्थानीय निर्माण सामग्री चुन, सुर्की र ढुङ्गा प्रयोग गरी बनाउने भन्ने थियो । ढुङ्गा त पोखरामा प्रशस्त थियो, त्यसको कुनै समस्या भएन तर पोखरामा चुन उद्योग र माटोको इँटा उद्योग नभएको कारण चुन अन्य कतैबाट ल्याउने र सुर्की (पोलिएको इँटाको धुलो) को सट्टा बालुवा प्रयोग गर्ने निर्णय लिइएको थियो ।
निर्माण स्थलमा ठेकेदारसँग भेट भयो । ठेकेदारसँग निर्माण सामग्री विशेष गरेर चुनको विषयमा मैले कुरा उठाएँ ।
उहाँले चुन कुरीनटारको एउटा सानो उद्योगबाट ल्याएको भन्नुभयो । चुन हेर्दा कमसल खालको थियो । एक भाग चुनमा ३ भाग बालुवा मिसाएर ढुङ्गाको पर्खाल बनाउन लागिएको थियो । मैले चुन र बालुवाको सो मिश्रण इन्जिनियर र ठेकेदारलाई देखाउँदै भनेँ, “यो निर्माणकार्य तुरुन्तै रोक्नुस् । यो चुन र बालुवाको मिश्रणबाट भवन खडा गरियो भने उक्त भवन खडा हुनुपूर्व नै भत्किने छ र ठूलो जनधनको नोक्सान हुनेछ ।” किनकि, त्यो चुन भवन बनाउन लायकको थिएन । कहीँकतै उक्त चुनको प्राविधिक र रासायनिक परीक्षण पनि भएको थिएन । हचुवाको भरमा त्यसै भवन निर्माण कार्य अघि बढाइएको पाइयो । मेरो सुझावअनुसार निर्माण कार्य तत्काल रोकियो र ठेकेदारले स्वभावतः असन्तुष्टी र रिस देखाए  ।
ठेकेदार र इन्जिनियरको गाईँगुईँ कुरा सुन्दा मैले सहजै अनुमान गरेँ कि ठेकेदारले टोली प्रमुखलाई खुसी पार्न खोज्दै हुनुहुन्थ्यो र रातिको खानाको बन्दोबस्त गर्ने कुरा ठट्टै ठट्टामा हुँदै थियो ।
तर, उक्त भवन निर्माणमा प्रयोग गर्न ल्याइएको चुनको गुणस्तर धेरै नै निम्न कोटीको भएको कारण मैले फेरि पनि भनेँ, “यसबाट निर्माण गर्न कुनै हालतमा हुँदैन ।” मैले यसो भनेपछि ठेकेदारले सोधेँ, “असल राम्रो चुन कस्तो हुन्छ त सर ?” मैले भनेँ, “तपाईँ जोगीमाराको चुनढुङ्गा लिएर आउनुस्, म तपाईँलाई देखाइदिन्छु राम्रो असल चुन भनेको कस्तो हुन्छ ।” नभन्दै मित्र ठेकेदार पुष्पराज सुवेदी ३/४ दिनपछि २/३ बोरा जोगीमारा खोलाको चुन ढुङ्गा बोकी मेरो प्रयोगशालामा आउनुभयो । उहाँको तत्परमा देखेर म धेरै खुसी भएँ र भनेँ, “दुईतीन दिन तपाईँ मसँगै काठमाडौँ बस्नुस्, म तपाईँलाई राम्रो चुन बनाएर देखाउँछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *