भर्खरै :

भारतीय सेनाद्वारा दर्जन बढी निहत्था कोइला मजदुरहरूको हत्या

कोहिमा, ५ डिसेम्बर (द वायर) । पूर्वोत्तर भारतको नागाल्याण्ड राज्यको मोन जिल्लामा शनिबार भारतीय सेनाले दर्जन बढी निहत्था कोइला मजदुरहरूको हत्या गरेको छ । सुरक्षा बलको कथित सुरक्षा कारबाहीमा गोलीबारीमा परेर कम्तीमा ११ जना ग्रामीण कोइला खानीका मजदुरहरूको मृत्यु भएको त्यहाँको पुलिसले जानकारी दिएको हो ।
सेनाले सुरक्षा कारबाहीको नाममा कोइला खानीबाट घर फर्किरहेका मजदुरहरूको चढेको भ्यानमाथि गोलीबारी गरेको पाइएको स्थानीय पत्रकारहरूले जनाएका छन् । ओटिङ र तिरु गाउँको बीचमा एक कोइला खानीका मजदुरहरू कामबाट घर फर्किरहेको बेला शनिबार साँझ उक्त घटना भएको बताइएको छ ।
उक्त घटना सम्बन्धमा एक पुलिस अधिकारीले दिएको जानकारी मृतकहरूको सटीक सङ्ख्या अझै पत्ता लागेको छैन किनभने ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीररूपमा घाइते भएका कैयौँलाई छिमेकी राज्य असमका अस्पतालहरूमा लगिएकोमा अरूको पनि मृत्यु भएको खबर छ । पुलिसका अनुसार उसले घटनाको सत्यतथ्य जाँच गरिरहेको छ र सेनाले दाबी गरेजस्तै गलत सूचनाको घटना हो वा होइन ।
सेनाले घटनामा एक सैन्यकर्मीको मृत्यु भएको र कैयौँ घाइते भएको दाबी गरेको छ । निहत्था मजदुरहरूले १ सय मिटर परबाट कुनैखाले हमला गरे भने कुरा पत्याउन कठिन छ र यसलाई भारतीय सेनाको गल्ती ढाकछोप गर्ने बहानाको रूपमा धेरैले बुझेका छन् । मजदुरहरूमाथि गोली चलाउने नचलाउने भन्नेबारे सेनोको टुकडीभित्रै विवाद र भिडन्त भएको अनुमान गरिएको छ । भारतीय सेनाको कोर–३ मुख्यालयले पनि एक विज्ञप्ति जारी गर्दै – नागाल्यान्डको मोन जिल्लाको तिरुमा उग्रवादीहरूको सम्भावित गतिविधिको विश्वसनीय गुप्तचरी जानकारीको आधारमा इलाकामा विशेष अभियान चलाउने योजना बनाइएको थियो । यो घटना र यसपछि जे भयो त्यो अत्यन्त खेदजनक रहेको जनाएको छ ।
नागाल्याण्ड राज्य सरकारले उक्त घटनालाई अत्यन्त खेदजनक भन्दै उक्त घटनाको उच्चतम स्तरमा जाँच गर्न लागेको जनाएको छ । राज्यका मुख्यमन्त्री नेफ्यु रियोले घटनाको उच्चस्तरीय जाँच गराउने प्रतिबद्धता जनाउँदै समाजका सबै वर्गलाई शान्ति कायम राख्न अपिल गरेका छन् । राजधानी कोहिमालगायत विभिन्न सहरमा मानव अधिकार संस्थाहरू र मजदुर सङ्गठनहरूले निहत्था तथा निर्दोष मजदुर हत्याकोे विरोधमा प्रदर्शन गरेका छन् । आक्रोशित प्रदर्शनकारीहरूले केही सरकारी गाडीहरू तोडफोड र आगजनी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *