भर्खरै :

स्वास्थ्य स्वयम्सेविका जनताको सेवा गर्ने सामाजिक कार्यकर्ता

भक्तपुर, १९ मङ्सिर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा आइतबार सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको भेला भयो । १८ औँ स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा आयोजित कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नेपालमा बालबालिका र मातृ मृत्युदर घट्नुमा स्वास्थ्य स्वयम्सेविकाहरूको भूमिका उल्लेखनीय भएको बताउनुभयो ।
उहाँले महिला स्वयम्सेविकाहरूले महिला, ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्यको क्षेत्रमा घरदैलोमा पुगेर आवश्यक स्वास्थ्य सेवा दिनु प्रशंसनीय काम भएको बताउँदै स्वास्थ्य कार्यकर्ताहरूलाई जनताको सेवा गर्ने सामाजिक कार्यकर्ता भएको बताउनुभयो ।
नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एकमात्र सरकारी निकाय सिंहदरबार वैद्यखानाको स्तर झन्झन् खस्किँदै गइरहेको र पर्याप्त औषधिको अभाव, आधुनिक उपकरण नहुँदा त्यसप्रतिको विश्वसनीयता घट्दै गइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले घरदैलो नर्सिङ सेवामा महिला स्वास्थ्य स्वयम्सेविकाहरूको भूमिका उल्लेखनीय रहँदै आएको बताउँदै स्वय्सेविकाहरूले समुदायमा विभिन्न विषयमा सचेतना कार्यक्रमहरू गर्दै जनतालाई सचेत बनाउनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारी नियन्त्रणमा महिला स्वास्थ्य स्वयम्सेविकाको भूमिकाबारे चर्चा गर्दै भक्तपुर नपाले स्टाफ नर्स र स्वास्थ्य स्वयम्सेविकाबाट घरदैलो नर्सिङ सेवा पुनः सञ्चालनमा ल्याएको अवगत गराउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले स्वास्थ्य स्वयम्सेविकाहरूले उच्च मनोबलका साथ आफ्नो कर्तव्य निर्वाह गरे समाजमा त्यसको परिणाम सकारात्मक हुने बताउनुभयो । शिक्षा, स्वास्थ्य, सम्पदा, सुशासनलगायतका क्षेत्रमा गरेको सेवा सुविधासम्बन्धी व्यवस्थाले भनपाको कदम अनुकरणीय भएको उहाँले चर्चा गर्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले नेपालको संविधानले स्वास्थ्यलाई आधारभूत मौलिक हकको रूपमा स्थापित गरेको र उक्त संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी अधिकारलाई सबै नागरिकले उपभोग गर्न पाउने अवसरको सिर्जना राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले गरेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य स्वयम्सेविका तारादेवी धन्छा र ख्वप अस्पतालका स्टाफ नर्स रचना सुवालले पनि बोल्नुभएको थियो ।
१८ औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसमा स्वास्थ्य स्वयम्सेविकाहरू वडा नं. ७ का लक्ष्मीकेशरी तुईतुई, वडा नं. ८ का तारादेवी धन्छा र ५ का सजना कवांलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *