भर्खरै :

नेक्राविसङ्घलाई शुभकामना !

आज मङ्सिर २२ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले हरेक वर्ष मङ्सिर २२ मा स्थापना दिवस मनाउँदै आएको छ । २०२५ को मङ्सिर २२ गते नवलपरासी जिल्लाको सुस्ता क्षेत्रमा भारतले अतिक्रमण गरेको विरोधमा आयोजित विरोध जुलुसमा तत्कालीन पञ्चायत सरकारले दमन गरी देशभक्त एवम् क्रान्तिकारी युवा, विद्यार्थी र किसानहरूलाई पक्राउ गरेको थियो । निरङ्कुश पञ्चायती व्यवस्थाले जनाधिकार कुण्ठित बनाएको कठिन परिस्थितिमा देशको सीमा मिचिएको र निहत्था जनतामाथि कुटपिट भएको विरोधमा आयोजित जुलुसमाथि भएको दमनले पञ्चायतको जनविरोधी चरित्रमात्र होइन, विस्तारवादी शक्तिप्रतिको आत्मसमर्पणवादी चरित्रसमेत उदाङ्गिएको थियो । सो घटना आजपर्यन्त सुस्ता काण्ड नामले इतिहासमा अङ्कित छ । त्यही घटनाको आधारशीलामा २०२६ मा नेपाल क्रान्तिकारी विद्यार्थी स्थापना भएको थियो । यद्यपि, तत्कालीन राजनीतिक परिस्थितिमा नेक्राविसङ्घले त्यत्तिबेलाको अनेरास्ववियुभित्रै रहेर द्यौसीवाद (पञ्चायती व्यवस्थासामु आत्मसमर्पणवादी चरित्र) को विरोधमा सङ्घर्ष ग¥यो । तर, २०३० को दशकमा आइपुग्दा अखिललाई आत्मसमर्पणवादी चिन्तनबाट जोगाउन नसकिने र विभाजित अवस्थामा पुगेपछि नेक्राविसङ्घले खुलारूपमा गतिविधि गर्न थालेको थियो ।
२०६६ सालमा रुपन्देही जिल्लाको बुटवलमा भएको नेक्राविसङ्घको नवौँ राष्ट्रिय सम्मेलनले सुस्ता काण्डको इतिहास र नेक्राविसङ्घ स्थापनाको निम्ति सो घटनाले खेलेको भूमिकालाई क्रान्तिकारी युवा–विद्यार्थीको पुस्तौँ पुस्तासम्म हस्तान्तरण गर्दै जाने भावनासहित मङ्सिर २२ लाई नेक्राविसङ्घ स्थापनाा दिवसको रूपमा मनाउने निर्णय ग¥यो । त्यसअघि नेक्राविसङ्घले मङ्सिर २२ लाई सुस्ता अतिक्रमणविरोधी दिवसको रूपमा विविध गतिविधि गर्ने गरेको थियो । नवौं सम्मेलनयता नेक्राविसङ्घले विविध रचनात्मक, प्रशिक्षणात्मक र सङ्घर्षका गतिविधि गरी आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । यो वर्ष पनि नेक्राविसङ्घ स्थापना दिवसको अवसरमा देशका विभिन्न जिल्ला र क्याम्पसहरूमा रचनात्मक कार्यक्रम भइरहेका छन् ।
नेपालको विद्यार्थी आन्दोलनमा नेक्राविसङ्घले विशिष्ट भूमिका खेल्दै आएको छ । नेक्राविसङ्घले स्थापनाकालदेखि नै नेपालको विद्यार्थी आन्दोलनमा वैचारिकरूपमा प्रस्ट, सैद्धान्तिकरूपमा अविचलित श्रमिक वर्गीय जनताका छोराछोरीहरूको देशभक्त एवम् क्रान्तिकारी सङ्गठनको परिचय बनाएको छ । नेक्राविसङ्घले संसारका विभिन्न देशमा भइरहेका न्यायपूर्ण श्रमिक वर्गीय सङ्घर्षप्रति ऐक्यबद्धता जनाएर अन्तराष्ट्रवादी हुनुको दायित्व पनि पूरा गर्दै आएको छ ।
नेपालको शैक्षिक क्षेत्र विद्यमान शासन व्यवस्थाको प्रतिबिम्ब वा उत्पादन हो । आजको पुँजीवादी व्यवस्थाले व्यापक श्रमिक जनताको भलो गर्नसक्दैन भने त्यसको माथिल्लो संरचना (सुपरस्ट्रक्चर) को रूपमा शिक्षा व्यवस्थाले श्रमिक जनताका छोराछोरीको हित कदापि गर्न सक्दैन । आज नेपालको शिक्षा क्षेत्रमा नवउदारवाद नामको आक्रामक पुँजीवादको कारण शिक्षामा वर्गीय असमानता अझ फराकिलो बन्दै गएको छ । शिक्षा व्यापारको विषय बनाइएको छ । पैसा हुनेले राम्रो शिक्षा र पैसा नहुनेले शिक्षा नै नपाउने विभेदकारी व्यवस्था आज पनि उस्तै छ । शिक्षाको उद्देश्य नेपालमा पुँजीवादलाई बलियो बनाउने हेतुबाट अभिप्रेरित छ । तसर्थ नेक्राविसङ्घले शिक्षा क्षेत्रमा नवउदारवादको विरोधमा सैद्धान्तिक सङ्घर्ष अघि बढाएको छ । अन्य विद्यार्थी सङ्गठनहरू पात टिप्नमै व्यस्त रहेको अवस्थामा नेक्राविसङ्घले आजको शोषणमूलक र विभेदकारी शासन व्यवस्थाको जरा खन्ने काम गर्दै आएको छ ।
देशभक्त र साम्राज्यवादविरोधी विद्यार्थीहरूको सङ्गठन हुनुको जिम्मेवारी पूरा गर्दै अहिले नेक्राविसङ्घले देश हितविपरीतको एमसीसी सम्झौताको विरोधमा देशका विभिन्न जिल्लामा लगातार विरोध कार्यक्रम र जनचेतनामूलक गतिविधि गर्दै आएको छ । एमसीसीविरुद्ध सङ्घर्षको मैदानबाटै नेक्राविसङ्घले यो वर्ष स्थापना दिवस मनाउँदै छ । नेक्राविसङ्घका सबै क्रान्तिकारी युवा–विद्यार्थीहरूमा स्थापना दिवसको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *