अवकाशपछि पनि शैक्षिक क्षेत्रमा सक्रिय रहन आग्रह
- असार ४, २०८३
भक्तपुर, ५ असार । वि.सं.२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको भक्तपुर वडा नं. २ स्थित ऐतिहासिक शारदा मा.वि.को भवन मौलिक शैलीमा सम्पन्न गरी शुक्रबार एक समारोहबिच उद्घाटन कार्यक्रमको आयोजना गरियो ।
उक्त उद्घाटन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘सय वर्षपछिको भक्तपुर’ लेखेर भक्तपुरको संस्कृति र कलाको महत्वबारे संसारको अगाडि राख्नुभएको हो । शारदा माविको भवन नेपाली शैलीमा पुनः निर्माण भई आज उद्घाटनसमेत हुनुले भक्तपुरको संस्कृति र कलाको महत्व थप उजागर भएको छ ।”
उहाँले भन्नुभयो, “जग बलियो भए घर बलियो हुन्छ भनेजस्तै विद्यालय शिक्षा राम्रो भए विश्वविद्यालय शिक्षा राम्रो हुनेछ ।”
विद्यालय र कलेजमा वैज्ञानिक सोचाइसहितको शिक्षा दिई विद्यार्थीहरूलाई देशभक्त र निःस्वार्थ बनाउनु जरूरी रहेको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “देशभक्तहरूको आन्दोलन समाजमा भएको रूढीवादी विचार अन्त्य गर्न र देश निर्माणको लागि हुनु आवश्यक छ ।”
“कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन र निर्णय अंश अध्ययन गर्दा गत भदौ २३ र २४ गतेको आन्दोलन उपद्रव मच्चाउन भएको पुष्टि हुन्छ । यो उप्रदवको जिम्मेवार ३५ वर्ष यता पालैपालो सरकारमा गएका शासक दलहरू पनि हुन्”, उहाँले थप्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “आन्दोलनका आयोजकहरूले विद्यार्थीहरूलाई पुस्तक, झोला र विद्यालय पोशाकमा सहभागी भए गोली नहानिने बताएको र निर्णायक आन्दोलनको लागि पेट्रोल बम र घरेलु हतियारसमेतलाई प्रवेश गराएको उक्त प्रतिवेदनमा उल्लेख भएको सार्वजनिक भइरहेको छ ।”
भदौ २३ गते निहत्था जनतामाथि गोली हान्ने र भदौ २४ गते देशभरि आगजनी गर्नेहरूलाई कारबाही हुनु जरूरी भएकोमा सचिव सुवालले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “गएको फागुन २१ गतेको प्रतिनिधिसभाको चुनावमा देशभक्त जनता एक हुन नदिइँदा उपद्रव मच्चाउनेहरू संसद् र सरकारमा पुगेको पनि सार्वजनिक भइरहेको छ । यो परिणामको लागि विदेशी पैसाबाट सञ्चालित गैरसरकारी संस्थाहरूको पैसा खाने र फेसबुकमा पोस्ट गर्नेहरू पनि दोषी हुन् ।
वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले शारदा मा.वि. भक्तपुरकै एक प्रतिष्ठित र शैक्षिक अभियानमा अग्रणी भूमिका निर्वाह गर्दै आएको विद्यालय भएको बताउँदै विद्यालयको भौतिक उपलब्धिसँगै शैक्षिक उपलब्धि हासिल गर्न जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले विद्यालयको उन्नतिमा समुदायको निरन्तर साथ र सहयोग आवश्यक भएको हुँदा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको उत्साहका लागि सामूहिक प्रयास झन् बढ्दै जाने आवश्यकता बोध गर्दै अतिथि गोसाईले समाज विज्ञान र प्रविधिमा निरन्तर अगाडि बढिरहेकोले शिक्षण विधि र शैक्षिक प्रगतिका लागि प्रविधिको क्षेत्रमा पनि अगाडि बढाउनेतर्फ सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
भूकम्पपछि नेपालभरका सांस्कृतिक सम्पदाहरू भत्केको र त्यसको निर्माण भक्तपुरको मोडेलमा सरकार अगाडि बढ्नुपर्नेमा त्यसरी अगाडि नबढेकोमा चिन्ता व्यक्त गर्दै उहाँले विदेशीसँग हात नफैलाई समाज र समुदायलाई साथमा लिएर निर्माणको काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले विद्यालयले शिक्षा क्षेत्रमा गर्दै आएको योगदानको चर्चा गर्दै विद्यालयको प्रगतिको कामना गर्नुभयो ।
भ.न.पा वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले शैक्षिक प्रगतिका लागि स्थानीय तहले विद्यालयलाई आर्थिक सहयोग गर्ने गरेको बताउँदै भूकम्पले विद्यालयको भवन क्षति तुल्याए पनि यहाँको शैक्षिक अभियानमा क्षति नपुगोस् भन्ने अभिप्रायले जनप्रतिनिधिहरूले काम गरिरहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक रोशनराज तुइतुईले विद्यालय भवनको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भक्तपुर नगरपालिका शिक्षा शाखा प्रमुख साधुराम फुयाल, विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् शिक्षाप्रेमी हिमालयश्वरलाल मूल, शिक्षकहरू विनय कोजु, सुशीला कर्माचार्यलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर सुवालले गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, विद्यालय निर्माणमा गठित उपभोक्ता समितिका पदाधिकारीहरू, शिक्षासेवी, स्थानीय शुभचिन्तकहरू, विद्यालयका पूर्वविद्यार्थी तथा शिक्षकलगायत अभिभावक एवम् विद्यार्थी र शिक्षकहरूको उपस्थितिमा भवन उद्घाटन कार्यक्रम भएको थियो ।
Leave a Reply