भर्खरै :

ओमिक्रोन रोक्न सीमावर्ती जिल्लामा कडाइ, स्वास्थ्य मापदण्ड पालनामा जोड

काठमाडौँ, २१ मङ्सिर । ओमिक्रोन भाइरस छिमेकी देश भारतमा पनि दिनानुदिन फैलिएपछि नेपालले भारतसँग सीमावर्ती जिल्लामा कडाइ गर्न थालेको छ । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण जोखिम रहेकोले पूर्वसतर्कता अपनाउन थालिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी) को बैठकले जिल्लामा उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।
बैठकले यातायातका सवारी साधन र विद्यालय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तै क्वारेन्टिन र आइसोलेसन निर्माण गरी स्थानीय तहले पूर्वतयारी अवस्थामा रहन अनुरोध गर्ने, झुलाघाट नाकाबाट भित्रिने नागरिकको अनिवार्य एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ रिपोर्ट आएका सङ्क्रमितलाई राख्न सदरमुकामस्थित दशरथचन्द नगरपालिकालाई आइसोलेसन निर्माण गर्न अनुरोध गर्ने निर्णय भएको छ ।
जिल्ला अस्पताल बैतडीले अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक भवन निर्माण यथाशीघ्र गर्ने र मौज्दात रहेका अक्सिजन सिलिण्डरलाई तयारी अवस्थामा राख्ने, पठनपाठन सुरु राख्दै कोभिड–१९ को स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालन गर्ने र सार्वजनिक सवारी सञ्चालनको लागि कोभिड–१९ जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएरमात्र सञ्चालन गर्न यातायात व्यवसायीलाई पत्राचार गर्ने र सोको अनुगमनका लागि सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय भएको छ ।
भारतसँग सीमा जोडिएको मोरङ जिल्लामा पनि सुरक्षा मापदण्डको पालनामा कडाइ गर्ने मङ्गलबार बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको आज बसेको बैठकले हाल कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिका, युरोप तथा एसियालगायतका मुलुकहरूमा क्रमिकरूपमा फैलिँदै गइरहेको र नेपालमा उक्त भेरियन्ट फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी सरकारी कार्यालय, शिक्षण संस्था, विद्यालय, उद्योग प्रतिष्ठान, निजी क्षेत्रलगायतमा अनिवार्यरूपमा मास्क, स्यानिटाइजर र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने निर्णय गरेको छ ।
धार्मिक कार्य, विवाह, व्रतबन्धलगायतका कार्यक्रमहरू स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी गर्ने गराउने, मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा मापदण्डको सन्दर्भमा स्थानीय तहले प्रचारप्रसारको कार्यलाई थप प्रभावकारी बनाउने भएको छ । साथै कोभिड–१९ को सङ्क्रमण प्रभाव न्यूनीकरण र नियन्त्रण गर्न पूर्वतयारीका लागि जिल्लास्थित स्थानीय तहलाई अनुरोध गर्ने, भारतबाट आउने तथा लामो समय भारतमा बसी नेपाल फर्केका नेपाली नागरिकलाई सीमा नाकामा स्वास्थ्य हेल्थ डेस्कले अनिवार्यरूपमा ज्वरोलगायतका सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यकतानुसार ऐन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । यस्तै एन्टिजेन परीक्षणबाट पोजिटिभ आएका बिरामीलाई तत्काल आइसोलेसनमा बस्न लगााउने, सबै खालका सवारी साधनहरूमा यात्रुहरूले अनिवार्य मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउने र हाल भइरहेको विभिन्न राजनीतिक दलहरूको कार्यक्रमहरूमा मानिसहरूको अत्यधिक भीडभाडका कारण कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने हुँदा मास्क र स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी कार्यक्रम सञ्चालन गर्ने गराउने जस्ता बैठकले निर्णय गरेको छ ।
यसैबीच सरकारले कोभिडको खोप अभियानलाई तीव्रता दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप पर्याप्त रहेकाले खोप अभियानलाई तीव्रता दिने बताएको छ ।
१८ वर्षमुनिका लागि पनि एक करोड डोज खोप ‘बुक’ गरिसकेकाले विद्यालयमा नै खोप केन्द्र बनाएर बालबालिकालाई खोप प्रदान गर्ने सरकारको योजना छ । स्वास्थ्य मन्त्रालयले देशभर १६ हजार खोप केन्द्र स्थापना गरी कोभिड–१९ विरुद्धको खोप जनतालाई लगाउने तयारी गरिरहेको छ ।
मन्त्रालय स्रोतका अनुसार दुई डोज खोप लगाइसकेकालाई बुष्टर डोज खोपको लागि मन्त्रिपरिषद्मा छलफल भएको छ । त्यसबारे थप छलफल भइरहेको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *