आधारभूत चिनियाँ तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण
- असार ३, २०८३
भक्तपुर, ४ असार । आदर्श आजाद मा.वि. भेलुखेलमा बिहीबार अनिवार्य अवकाश प्राप्त प्र.अ. चक्रबहादुर चाकतुको बिदाइ तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले अवकाशपछि पनि शैक्षिक क्षेत्रमा सक्रिय रहन ‘सेवा निवृत्त शिक्षक समाज’ गठन गरिएको जानकारी दिँदै उक्त समाजमा आबद्ध हुन सेवा निवृत्त शिक्षक चक्रबहादुर चाकतुलाई अनुरोध गर्नुभयो ।
विगत लामो समयदेखि एउटै शिक्षक सङ्घमा रहेर चाकतु सरसँग काम गर्दै आएको अनुभव सुनाउँदै उहाँले चक्रसर सामूहिक भावनामा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ, अबको नयाँ नेतृत्वले पनि सामूहिक भावनालाई कदर गरी काम गर्न आग्रह गर्नुभयो ।
विद्यालयको ६७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिकामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले विद्यालयको नामअनुसार आजादी भावनाले काम गर्न दिनुभएको विचारलाई मनन गर्न अनुरोध गर्दै उहाँले आजादी भावनाले काम गर्न सजिलो नभएको उदाहरण दिनुभयो ।
शिक्षण पेसा पैसा कमाउने पेसा होइन भन्दै उहाँले पैसाभन्दा धेरै मूल्यवान देश र समाजको लागि आवश्यक योग्य जनशक्ति बन्ने विद्यार्थीहरू नै शिक्षकका अक्षय सम्पत्ति हुन् भन्नुभयो ।
हप्ताको दुई दिन बिदा दिने सङ्घीय सरकारको निर्णय विगतमा दुईपटक असफल भएको चर्चा गर्दै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा यो बिदा उचित नभएको तर्क गर्नुभयो ।
कार्यक्रमका सभापति, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले जान्ने भई टोपल्नुभन्दा नजान्ने भई जिज्ञासु हुनु धेरै श्रेयस्कर भन्दै विभिन्न दार्शनिकहरूको उदाहरण सुनाउनुभयो ।
सामुदायिक शिक्षण सेवामा १०–४ को जागिरे दायित्वभन्दा अतिरिक्त सेवाको योगदानको खाँचो औँल्याउँदै उहाँले शैक्षिक नेतृत्वमा बस्नेहरूसँग केही थप योगदान गर्ने सङ्कल्प र प्रशासनिक कडाइको आवश्यकता हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष विश्वराम कवांले समितिले आवश्यक पूर्वाधार बनाइदिएकोलाई सही सदुपयोग शिक्षकहरूले गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रअ प्रतिनिधि न्हुछेभक्त कवांले आफ्नो पालामा शिक्षकहरूले एक–एक महिनाको तलब राखेर बनाएको छाप्रोमा हुर्केको यो स्कूल आज ६–७ वटा ठुला भव्य भवनहरू भएको अवस्थामा पाउँदा खुसी लागेको चर्चा गर्दै प्रगतिको निम्ति त्यागको भावना पनि चाहिने बताउनुभयो ।
कार्यक्रममा अवकाश प्राप्त शिक्षक चक्रबहादुर चाकतुले २०४३ सालदेखि २०८३ सालसम्मको करिब ४० वर्षको शिक्षण सेवाको क्रममा भोगेको अनेक आरोह अवरोहका अनुभवरू सुनाउँदै समाजमा रहँदा कहिले विद्यार्थी आन्दोलनमा त कहिले राजनीतिक आन्दोलनमा पनि लागियो भन्नुभयो ।
उहाँले भन्नुभयो, “जुनसुकै आन्दोलनमा लागे पनि मूल कुरा समाजको आमूल परिवर्तनकै भावनाले सामूहिक भावनाले नै लागियो । यसै क्रममा २०५४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष पदमा छालिङमा चुनाव पनि लडियो । तर, प्रतिक्रियावादीहरूले जालझेल गरेर निर्वाचनमा हराए ।”
उहाँले आफ्नो राजनीतिक भावना कसै गरे पनि विचलित नहुने बताउनुभयो ।
कार्यक्रममा शिक्षक प्रतिनिधिद्वय शिवराम बोहजु र सीताराम भ्वयद्योले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अवकाश प्राप्त शिक्षक चाकतुलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट कदरपत्र, दोसल्ला र मायाको चिनोबाट सम्मानका साथ बिदाइ गरिएको थियो भने प्रअ चाकतुले प्र.अ.को निमिति कार्यभार सहायक प्रधानाध्यापक सुभद्रा दुवाललाई हस्तान्तरण गर्नुभयो ।
बिदाइ हुनुभएका नवनियुक्त प्रअलाई शिक्षक कर्मचारीहरूले पुष्पगुच्छा र खादाबाट सम्मान गरेका थिए ।
Leave a Reply