भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
चीनको हरेक प्रगतिलाई अमेरिका र पश्चिमी मुलुकको नक्कल भनेर नाक खुम्च्याउनेहरूले अहिले खुलमखुला चीनको नक्कल गरिरहेका छन् । विश्व प्रणालीको लागि चीनको प्रणाली नक्कल गर्ने होइन, सिक्ने प्रणाली बनेको छ । विश्व प्रणाली कस्तो हुनुपर्छ भन्ने विषयमा अहिले चीनले पश्चिमेली मुलुकलाई बाटो देखाउँदै छ । सन्दर्भ हो, चीनको ‘बेल्ट एन्ड रोड’ लाई प्रतिवाद गर्न हालैमात्र युरापेली सङ्घले ल्याएको ग्लोबल गेटवे परियोजना ।
प्रतिस्पर्धाबाट निस्केको परिणाम राम्रै हुने मान्यता छ तर इष्र्याले गरेको कामको परिणाम निश्चितरूपमा विनाशकारी नै हुन्छ । यस्तै इष्र्याले भरिएको पछिल्लो कार्य युरोपेली सङ्घबाट भएको छ । युरोपेली सङ्घले पनि चीनले झैँ विश्व बजारमा आफ्नो लगानी वृद्धि गर्ने योजना बनाइरहेको छ । चीनको ‘बेल्ट एन्ड रोड’ लाई पछ्याएर अमेरिकाले ‘बिल्ड ब्याक बेटर वल्र्ड’ बनायो भने अहिले युरोपेली सङ्घल ‘ग्लोबल गेटवे’ नामको कार्यक्रम लिएर विभिन्न देशमा लगानी गर्न अगाडि आएको छ ।
तर, चीनसँगै उधारो लिएर आफ्नो आन्तरिक अर्थतन्त्र सुधार गरिरहेका युरोपेली देशहरूले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्नेमा शङ्का लाग्छ । त्यसमाथि अमेरिकी स्वार्थमा धक्का पुग्ने बित्तिकै अमेरिकाले राजनैतिक दबाब दिइहाल्छ । तैपनि, युरोपेलीहरू अमेरिकीहरूकै सहयोगी बनेर चीनसंँग प्रतिस्पर्धा गर्ने मनसाय बनाउँदै छन् ।
२७ राष्ट्र सम्मिलित युरोपेली सङ्घले सन् २०२७ सम्ममा ३०० अर्ब युरो (३४० अर्ब अमेरिकन डलर) को ‘ग्लोबल गेटवे’ नामक परियोजना अनावरण गरेको छ । यसले फाइबर अप्टिक केबलहरू, यातायात कोरिडोरहरू, स्वच्छ विद्युत् प्रसारण लाइन, डिजिटल, यातायात र ऊर्जा नेटवर्कजस्ता भौतिक पूर्वाधार बलियो बनाउन जोड दिने उल्लेख छ । यो परियोजनालाई चीनको ‘बेल्ट एन्ड रोड’ रणनीतिको प्रतिक्रियाको रूपमा हेरिएको छ । युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डर लेयनका अनुसार, “यो एक अर्कालाई सुदृढ पार्ने पहलअनुरूप अमेरिकी ‘बिल्ड ब्याक बेटर वल्र्ड’ र युरोपेली ‘ग्लोबल गेटवे’ हो ।” उनको दाबाअनुसार ग्लोबल गेटवे परियोजनाअन्तर्गत विश्वभरका सार्वजनिक र निजी पूर्वाधार लगानीमा वित्तीय सहायता परिचालन गरिनेछ र ग्लोबल गेटवेलाई एक विश्वसनीय ब्रान्ड बनाएर उच्च गुणस्तर, भरपर्दो मापदण्ड र उच्च स्तरको पारदर्शिता र सुशासनको प्रतीक बनाउनेछ ।
अर्थ राजनीतिक विज्ञहरूका अनुसार यो रणनीति जी–७ देशहरूले विकासशील देशहरूलाई चिनियाँ परियोजना बेल्ट एन्ड रोडको विकल्प प्रस्ताव गर्ने योजनाको एक भाग हो जुन औद्योगिक शक्तिहरूको शिखर सम्मेलनमा प्रस्तुत गरिएको थियो । ‘यदि चिनियाँ बेल्ट एन्ड रोड नभएको भए निश्चितरूपमा युरोपेली ग्लोवल गेटवे पनि हुने थिएन’ एक परराष्ट्र मामिलाका विज्ञले त्यसै भनेका होइनन् । यद्यपि, युरोपेली सङ्घको यो परियोजनालाई एसियालाई अफ्रिका र युरोपसँग जोड्ने चीनको विशाल पूर्वाधार पहलको विरोध गर्ने प्रयासको रूपमा नभई युरोपेली सङ्घलाई अझ प्रभावकारी भूराजनीतिक खेलाडीमा परिणत गर्ने उद्देश्य रहेको भन्ने युरोपेली सङ्घका अध्यक्ष दाबी गर्छन् ।
बेल्ट एन्ड रोड सन् २०१३ मा सुरु भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रमुख परियोजना हो । चिनियाँ विदेश नीतिको केन्द्रबिन्दु रहेको उक्त परियोजनामा पेइचिङले १३९.८ अर्ब डलर लगानी गरेको छ । चीनको कार्यक्रमले कूटनीतिक प्रभाव र विश्वव्यापी शक्ति प्रदान गर्ने बन्दरगाह, पुल र पावर प्लान्टहरूको सञ्जाल बनाएर चीनलाई बाँकी विश्वसँग जोड्ने बजार र नयाँ व्यापार मार्गहरू विकास गर्ने लक्ष्य राखेको छ ।
बेल्ट एन्ड रोड परियोजनाले चीनलाई व्यापार र विकासका लागि एसिया, युरोप र अफ्रिकासँग जोड्न जमिन र समुद्री पूर्वाधार विकास गर्ने गरेको छ । यसरी चीनले विश्वभर धेरै साझेदारमूलक बनाएको छ । तर, पश्चिमाहरूले यो चीनको लागि गरिब देशहरूलाई प्रभाव पार्ने औजार भनेर हल्ला फैलाइरहेका छन् । वास्तवमा चीनले साझेदार मुलुकहरूको सार्वभौमसत्तामाथि कुनै आँच नआउने गरी ऋण प्रदान गर्दछ जसले संयुक्त परियोजनाहरूलाई फाइदा पु¥याउँछ । तर, पश्चिमाहरू चीनको सम्झौता सर्तहरूले मानव, श्रम र वातावरणीय अधिकारको दुरूपयोगलाई बेवास्ता गर्दछ भनेर एकतर्फी बकवास तर्क गरिरहेका छन् । पश्चिमाहरू उदयीमान अर्थतन्त्रहरूलाई धेरै ऋण लिन उक्साएकोमा चीनको आलोचना गर्छन् र गोप्य टेन्डर प्रक्रिया भ्रष्टाचारको जोखिममा रहेको आरोप लगाउँछन् ।
अन्तर्राष्ट्रिय सम्बन्धमा भाइचारा अभिवृद्धिको लागि चीन सिर्जनशील पहल गर्दछ तर पश्चिमाहरू न्यूटनको तेश्रो नियम अनुशरण गर्दै चीनको प्रतिवाद गर्न चिनियाँहरूकै नक्कल गर्दछन् । भरेको खर्च र सिकाएको बुद्धिले जीवन चल्दैन भनेजस्तै गलत मनसायबाट सिर्जित भएको कार्य उपलब्धिमूलक हुन गाह्रो हुन्छ । न त अमेरिकाले घोषणा गरेको प्रतिक्रियात्मक कार्यक्रम ‘बिल्ड ब्याक बेटर वल्र्ड’ र एमसीसी, न त युरोपेली सङ्घको ग्लोवल गेटवे टिकाउपूर्ण कार्यक्रम नै हुन् । यी दुवै कार्यक्रमलाई न उनीहरूको साधन श्रोतले साथ दिन्छ न त सिर्जनशिलताले नै । किनकि, यही युरोपसँग चीनको व्यापार लाभ वार्षिक झन्डै ६०० अर्ब डलर छ भने युरोपले वार्षिक ६० अर्ब डलर खर्च गर्ने यो परियोजनाले ठूलो उथलपुथल ल्याउला भन्ने आश छैन । चिनियाँ बेल्ट एन्ड रोडलाई ‘ऋणको पाशो’ भन्ने पश्चिमा भाष्यले अन्तमा उनीहरूकै योजना गरिब देशको लागि ऋणको पाशो बनाउने निश्चित छ किनकि पश्चिमाहरूको सहयोग जहिल्यै स्वार्थपरक हुने गरेको छ । वास्तवमा युरोपेली सङ्घले चीनको इष्र्या गरेर झमेलामा फस्नुभन्दा सहयोगको खाँचो भएका विकासोन्मुख मुलुकलाई निःस्वार्थ मद्दत गर्नु आवश्यक छ ।
चिनियाँ सिर्जनशिलतालाई मान्नुपर्छ । चीनको यो अथाह विकास र शक्तिको पछाडि त्यहाँका नेता र अधिकारीहरूको इमानदारिता, भ्रष्टाचारमुक्त सुशासन र राष्ट्रिय हितलाई सर्वोपरि राख्ने इमानदारिता देखिन्छ । जहिल्यै चीनको भ्रमणपछि चीनबाट सिक्नुपर्छ भन्ने हाम्रा नेताहरूले कहिलेबाट चिनियाँ नेताहरूको इमानदारीको सिको गर्ने हो ?
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)
Leave a Reply