भर्खरै :

एमसीसी पारित भए नेपाल साम्राज्यवादको नवउपनिवेश बन्ने छ

काठमाडौँ, २२ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको ५२ औँ स्थापना दिवसको अवसरमा बुधबार नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिले प्रवचन कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाबारे अध्ययन गर्न सुझाव दिनुभयो । उहाँले सर्वोच्च अदालतले राष्ट्रपतिलाई सर्वोच्च अदालतले मिति, समय र व्यक्ति तोकेर प्रधानमन्त्री नियुक्त गर्नु भनी निर्देशन दिनु गलत भएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “सहायक उपाध्यक्षलाई एसिया, प्यासिफिक, युरो, ल्याटिन अमेरिकाको लागि अतिरिक्त प्रतिनिधिको रूपमा नियुक्त गर्ने प्रावधान हिन्द–प्रशान्त क्षेत्रको अमेरिकी सैन्य गठबन्धन बनाउने नै हो ।”
सचिव सुवालले सम्झौताको क्रियाकलापबाट कुनै पनि हानि, नोक्सानी, मृत्यु भएमा नेपालले दाबी नगर्ने प्रावधान एमसीसी सम्झौतामा रहेको उल्लेख गर्दै प्रस्तुत सम्झौता र नेपालको कानुन बाझिएमा प्रस्तुत सम्झौता लागू हुने प्रावधानले नेपाल अमेरिकी साम्राज्यवादको नवउपनिवेश बन्ने छ भन्नुभयो ।
एमसीसी सम्झौतामा सरकारले एमसीसीलाई चित्त बुझ्ने योजना पेश गर्ने र त्यस्तो योजनामा भारतले समर्थन गरेको हुनुपर्ने प्रावधान नेपाललाई अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद दुवैको नवउपनिवेश बनाउने सचिव सुवालको भनाइ थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेक्राविसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष सरोजराज गोसाईले नेक्राविसङ्घको अबको आन्दोलन समाजवादी शिक्षा व्यवस्थाको निम्ति गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले शिक्षालाई उत्पादन–श्रमसँग जोड्ने माग पूरा गर्न विद्यार्थी आन्दोलन हुनुपर्ने भन्दै शिक्षामा राज्यको लगानी बढाउन आन्दोलनको विकल्प नरहेको धारणा राख्नुभयो ।
उहाँले नवउदारवादी शिक्षा नीतिको कारण गरिबका छोराछोरी शिक्षाबाट वञ्चित भएको उल्लेख गर्दै नेक्राविसङ्घले २०६२–२०६३ को जनआन्दोलनको क्रममा समाजवादी गणतन्त्रको नारा लगाई आन्दोलनलाई नयाँ उचाइमा पु¥याएको विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् नेक्राविसङ्का पूर्व केन्द्रीय सदस्य राजेन्द्र चवालले चीनको समृद्धिलाई कमजोर बनाउन प्रजातन्त्र सम्मेलनको नाममा संरा अमेरिकाले अन्तर्राष्ट्रिय ध्रुवीकरण गरेको बताउनुभयो ।
उहाँले चीनले जनताको जीवन रक्षा गर्नु नै प्रजातन्त्र भएको तर्क गरेको उल्लेख गर्दै खान र लाउन नपाइने अमेरिकी प्रजातन्त्रको अर्थ नभएको धारणा राख्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय संयोजक एवम् कार्यक्रमका सभापति प्रकाश गुरूङले नेक्राविसङ्घले सुस्तामाथि भारतले गरेको अतिक्रमणको विरोधमा भएको आन्दोलनलाई आधार मानी स्थापना दिवस मनाउन थालेको विचार राख्नुभएको थियो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सचिव रमेश प्रजापति र सङ्घका केन्द्रीय सदस्य हृदय दाहालले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *