भर्खरै :

वैचारिक दरिद्रता सबैभन्दा घातक

समृद्धि र दरिद्रता शब्द आर्थिक अवस्थालाई लिएर बढी प्रयोग गर्ने गरिन्छ तर, समृद्धि र दरिद्रता विचारका सन्दर्भमा पनि लागू हुन्छ । लगनशील र सजग भएमा आर्थिक समृद्धि हासिल गर्न धेरै कठिन छैन र धेरै समय पनि लाग्दैन । आफ्नै देशको स्रोतसाधनको समुचित परिचालन र सीपको उपयोगबाट धेरै देशले आर्थिक विकासमा फड्को मारेका कैयौँ उदाहरण छन् । आर्थिक विकास र समृद्धिको लागि देशको नेतृत्व वा सरकारसित देशको भूगोल र परिस्थिति सुहाउँदो योजना र सक्रियता पूर्वसर्त हो । देशको नेतृत्व आफ्नो देशप्रति प्रतिबद्ध नभएको स्थितिमा जस्तै मूल्यवान स्रोतसाधन भएका देशहरू पनि अविकास र आर्थिक विश्रृङ्खलताको भुमरीमा फसिरहन्छ । त्यसको ज्वलन्त उदाहरण हाम्रै देश पनि हो । आर्थिक दरिद्रताभन्दा वैचारिक दरिद्रता धेरै घातक हुन्छ । अहिले हाम्रो नेपाली जनताले शासक दलहरूमा रहेको वैचारिक दरिद्रताको भुक्तमान भोगिरहेका छौँ ।
नेपाली युवाहरू नेपालको भरपर्दो जनशक्ति हुन् । यस जनशक्तिलाई देश विकासको लागि बढीभन्दा बढी परिचालन गर्नुपर्ने हो । तर, अहिले करिब ८० लाख नेपाली युवाहरू विभिन्न वैदेशिक रोजगारीको नाममा विदेशमा छन् । काम गर्ने चाहना राख्ने युवाहरू गाउँ र सहरहरूमा झन्डै रित्तिएका छन् । कतिपय गाउँमा कुनै गाउँलेको मृत्यु भएमा पुरूष मलामी नपाउने अवस्था छ । अधिकांश निम्न मध्यम वर्गका युवाहरू वैदेशिक रोजगारका नाममा खाडी देशहरू र मलेसिया, सिङ्गापुर, दक्षिण कोरियालगायत दक्षिण–पूर्वी एसियाली देशमा पुगिरहेका छन् भने मध्यम वर्गीय र सम्पन्न घरानाका सन्तानहरू अध्ययनको नाममा युरोप, उत्तर अमेरिका र अष्ट्रेलियामा जाने र खोजेजस्तो रोजगार मिलेमा उतै बस्न थालेका छन् । वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले पठाएको रेमिट्यान्सबाट नै नेपालको अर्थतन्त्र धानिएको र नेपालको आर्थिक स्तर माथि उठिरहेको चर्चा धेरैले गर्ने गर्छन् । वैदेशिक रोजगारबाट केही हदसम्म आर्थिक अवस्थामा सुधार भएको देखिए तापनि नेपाली युवाहरूले विदेशी भूमिमा पाएको अपमान र दुःखकष्टको तुलनामा त्यो थोरै मूल्य हो । वैदेशिक रोजगारको नाममा लाखौँ युवालाई बन्धक बनाइएका र हजारौँ नेपाली चेलीहरू बेचिएका छन् ।
सरकारले ती देशहरूसित श्रम सम्झौता गर्दा अडान लिन नसक्दा र राम्रो कूटनीतिक पहल नगर्दा नेपाली युवा जनशक्ति विदेशी पुँजीको दास बनिरहेको समाचार निरन्तर आइरहेका छन् । खाडी राष्ट्र कतारमा फिफा विश्व कप २०२२ आयोजना गर्न आवश्यक रङ्गशालाहरू निर्माण गर्न दस वर्षदेखि नेपाली युवाहरू प्रयोग भइरहेका थिए तर अहिले काम सकिएपछि वा उक्त खेल महोत्सव हुन लागेपछि कतार सरकारले नेपाली कामदारहरूलाई त्यहाँबाट फिर्ता पठाउन वा निकाल्न जोड गरिरहेको समाचार प्रकाशमा आएको छ । रङ्गशाला बनाउन र कतारलाई सिँंगार्न श्रम गर्ने नेपालीलगायत विभिन्न देशका युवाहरूलाई विश्वकप हेर्न नपाइने गरी निकाला गर्नु धनी देशका सरकार र पुँजीपति वर्गले गरेको ठूलो उपेक्षा र अपमान हो । अरू देशहरूमा नेपाली युवाहरूले भोगिरहेको अपमान र असुरक्षा वर्णन गरी साध्य छैन ।
युवाहरूलाई विदेशमा पठाएर देशको आर्थिक विकास हुने होइन भन्ने छर्लङ्ग भइसकेको छ । सय वर्ष अगाडिदेखि बेलायती र भारतीय सेनामा लाखौँ नेपाली युवाहरू भर्ती भएर नोकरी गरिसकेका छन् तर देशको विकास र आर्थिक स्थितिमा कायापलट भएको छैन । अहिले सरकारले नर्सिङ्ग तालिम लिइसकेका चेलीहरूलाई बेलायतलगायत विभिन्न देशमा पठाउने तयारी गरेको छ । देशलाई नै स्वास्थ्य जनशक्ति कमी भइरहेको स्थितिमा जनशक्ति विदेश पठाउने योजना बनाउनु वैचारिक दरिद्रताको अर्को उदाहरण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *