भर्खरै :

संरा अमेरिकामा प्रजातन्त्रको अवस्था – ५

(डिसेम्बर ९ र १० मा संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको अग्रसरतामा कथित ‘प्रजातन्त्र सम्मेलन’ को आयोजना गरिएको थियो । सो सम्मेलनमा पूर्वाग्रहवश रुस र चीनजस्ता देशहरू आमन्त्रित छैनन् । बरु संरा अमेरिकाले नै स्वीकार्दै आएको चीनको अविभाज्य भाग थाइवानलाई आमन्त्रण गरिएको छ । यसबाट संरा अमेरिकाले प्रजातन्त्रको नाममा संसारलाई अझ विभाजित र विशेषतः चीनको सन्दर्भमा आन्तरिक मामिलामा हस्तक्षेपसमेत गर्न उद्यत्त रहेको देखिएको छ । यसै पृष्ठभूमिमा चीनको विदेश मन्त्रालयले प्रजातन्त्र र अमेरिकी प्रजातन्त्रको अवस्थाबारे आलेख सार्वजनिक गरेको छ । यसमा प्रजातन्त्र, प्रजातन्त्रको नाममा संरा अमेरिकाले गरिरहेका गतिविधि र संरा अमेरिकाकै प्रजातन्त्रको क्षयीकरणबारे विश्लेषण गरिएको छ । प्रस्तुत छ, सो आलेखको नेपाली अनुवाद–सम्पादक)
ग) नाकाबन्दीको दुरूपयोगले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भएको छ
संरा अमेरिकाले अरू देशसँग व्यवहार गर्न एकोहोरो नाकाबन्दीको ‘मोटो लाठ्ठी’ प्रयोग गर्ने गरेको छ । धेरै वर्षदेखि संरा अमेरिकाले आर्थिक प्रभुत्ववादको अभ्यास गर्दै आएको छ । अरू देशविरुद्ध बारम्बार, एकोहोरो हस्तक्षेपको लागि उसले आफ्नो प्राविधिक मुखुण्डोको दुरूपयोग गर्दै आएको छ ।
संरा अमेरिकाले ‘अन्तर्राष्ट्रिय आर्थिक शक्ति कानुन’, विश्वव्यापी मागनिट्स्की मानवअधिकार उत्तरदायित्व कानुन’, ‘नाकाबन्दीमार्फत अमेरिकाका विरोधीको प्रतिरोध गर्ने कानुन’ जस्ता केही खतरनाक कानुनहरू बनाएको छ । कुनै पनि देश, संस्था वा व्यक्तिलाई निशाना बनाएर उसको विरोधमा नाकाबन्दी थोपर्न अमेरिकाले यिनै कानुनलाई आधार बनाउने गरेको छ ।
यी कानुन र सरकारी आदेशमा रहेका अस्पष्ट नियम जस्तै ‘न्यूनतम सम्पर्क सिद्धान्त’ र ‘विचारधाराको प्रभाव’ आदि वास्तवमा संरा अमेरिकी आन्तरिक कानुनको क्षेत्राधिकारबारे आफूखुशी विस्तार हो ।
यी कानुन र सरकारी आदेशले अरू देशका संस्था वा व्यक्तिमाथि कारबाही गर्न वा त्यस्तो कारबाहीको लागि ‘क्षेत्राधिकार विस्तारित गर्न’ संरा अमेरिकी सरकारलाई आफ्ना आन्तरिक संरचना परिचालन गर्न मार्गप्रशस्त गर्छन् । यसका दुई प्रमुख उदाहरण फ्रान्सेली कम्पनी अल्स्टम र हुवावेका आर्थिक मामिला प्रमुख मेङ वानचाओका घटना हुन सक्छन् ।
तथ्याङ्कले ट्रम्प सरकारले ३ हजार ९ सत्र्न्दा बढी प्रतिबन्धहरू थोपरेको देखाउँछ । त्यसको अर्थ संरा अमेरिकाले आफ्नो ‘मोटो लठ्ठी’ औसतमा दिनको तीन पटक प्रयोग गर्ने गरेको छ । आर्थिक वर्ष सन् २०२१ मा संरा अमेरिकी नाकाबन्दी भोगेका संस्था वा व्यक्तिको कुल सङ्ख्या ९ हजार ४२१ पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो क्रमशः बढ्ने क्रममा छन् ।
संरा अमेरिकाले मनपरी थोपर्ने एकोहोरो नाकाबन्दी र ‘विस्तारित क्षेत्राधिकार’ ले अरू देशका सार्वभौमिकता र सुरक्षालाई नराम्ररी उपेक्षा गर्दै आएको छ । फलतः ती देशको आर्थिक विकास र जनताको भलाइमाथि गम्भीर प्रभाव परेको छ । नाकाबन्दी र ‘विस्तारित क्षेत्राधिकार’ अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताविपरीत हो ।
अरू देशहरूमाथि संरा अमेरिकी नाकाबन्दी सन् २०२१ मा पनि अनियन्त्रितरूपमा चालु रह्यो ।
आफ्ना युरोपेली साझेदार देशहरूसँग मिलेर संरा अमेरिकी सरकारले रुसविरुद्धको घेराबन्दी गर्ने र दमनलाई अझ सघन बनाउँदै लगेको छ । नाभाल्नी घटना, रुसी साइबर हमला र संरा अमेरिकी चुनावमा चलखेलको जवाफ भन्दै संरा अमेरिकाले रुसमाथि अघोषित नाकाबन्दीहरू बढाउँदै लगेको छ । रुसविरुद्ध कूटनीतिक युद्धको सिलसिलामा रुसी कूटनीतिज्ञहरूलाई आफ्नो देशबाट निष्काशन गर्न समेत संरा अमेरिका पछि परेको छैन ।
संरा अमेरिकाले नोर्ड स्ट्रिम–२ प्राकृतिक ग्यासको पाइपलाइन परियोजना र विद्युतीय सेवा करजस्ता विषयलाई लिएर आफ्ना युरोपेली मित्रहरूमाथि समेत नाकाबन्दी थोपर्नु कति पनि असहज अनुभव गरेन ।
चीन–संरा अमेरिकाबीच पहिलो चरणको व्यापार सम्झौताको प्रभावबाट आत्तिएर संरा अमेरिकाले चीनमाथि थप घेराबन्दी र असहजता निम्त्याउने काम ग¥यो । उसले आफ्नो निषेधको सूचीमा ९४० भन्दा बढी चिनियाँ निकाय र व्यक्तिलाई सूचीकृत ग¥यो । संरा अमेरिकाको अर्थ विभागअन्तर्गत वैदेशिक सम्पत्ति नियन्त्रण कार्यालयको तथ्याङ्कअनुसार सन् २०२१ को अक्टोबर १९ सम्ममा हङकङ र मकाउसहित चीनका ३९१ वटा संस्था र व्यक्तिमाथि संरा अमेरिकाले नाकाबन्दी थोपरेको छ ।
‘फरेन अपेयर्स’ नामको अनुसन्धानमूलक पत्रिकाको सन् २०२१ को सेप्टेम्बर÷अक्टोबर महिनाको अङ्कमा प्रकाशित लेखमा टफ्ट्स विश्वविद्यालयका प्राध्यापक र ब्रुक्लिङ प्रतिष्ठानका वरिष्ठ अध्येता डानिएल ड्रेजनरले संरा अमेरिकाका एकपछि अर्को सरकारले ‘हरेक वैदेशिक नीतिका समस्याको समाधानको रूपमा नाकाबन्दी’ लाई प्रयोग गरेको लेखेका छन् । उनले त्यस्ता नाकाबन्दी निष्प्रभावी मात्र होइनन्, बरु ‘मानवीय क्षति समेत भएको’ र त्यसकारण संयुक्त राज्य अमेरिकालाई ‘संयुक्त राज्य नाकाबन्दी’ भन्न उपयुक्त हुने बताए ।
संरा अमेरिकाका एकोहोरो नाकाबन्दी अमेरिकी र अन्य देशका जनताको मानवअधिकारको लगातारको गम्भीर उल्लङ्घन हो । क्युवाविरुद्धको संरा अमेरिकाको लामो नाकाबन्दी यसको सबभन्दा खराब उदाहरण हो ।
६० वर्षभन्दा लामो समयदेखि संरा अमेरिकाले क्युवाविरुद्ध विस्तारित नाकाबन्दीलाई चालु राखेको छ । संयुक्त राष्ट्र सङ्घीय महासभामा क्युवामाथिको नाकाबन्दीविरुद्ध पारित कैयौँ प्रस्तावको संरा अमेरिकाले वास्ता गरेको छैन । ‘टोरिसिल्ली कानुन’ र ‘हेम्स–बर्टन कानुन’ जस्ता संरा अमेरिकाका नाकाबन्दी नीति र आन्तरिक कानुनको आधारमा क्युवामाथि वाशिङ्टनले ती नाकाबन्दी थोपर्दै आएको छ ।
क्युवाविरुद्धको नाकाबन्दी संसारको आधुनिक इतिहासमा सबभन्दा लामो र क्रुर प्रणालीगत व्यापारिक, आर्थिक र वित्तीय नाकाबन्दी हो । क्युवाको आर्थिक र सामाजिक विकासमा अमेरिकाको नाकाबन्दीले घातक प्रभाव पार्दै आएको छ । नाकाबन्दीको कारण क्युवाको अर्थतन्त्रमा १ खर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ ।
इरानविरुद्ध संरा अमेरिकी नाकाबन्दी सन् १९७० को दसकको उत्तराद्र्धबाट सुरु भयो । त्यसयता बितेका चालिस वर्षमा संरा अमेरिकी एकोहोरो नाकबन्दी दुवै गहिराइ र आकारमा बढेको छ । आज इरानविरुद्ध अमेरिकी नाकाबन्दी अर्थतन्त्र, व्यापार र ऊर्जा क्षेत्रमा समेत विस्तार भएको छ । इरानका विभिन्न निकाय र व्यक्तिलाई नाकाबन्दीले निशाना बनाएको छ । नाकाबन्दीको मूल प्रयोजन भने सबै कोणबाट इरानमाथि दबाब सघन बनाउनु हो ।
सन् २०१८ को मे महिनामा संरा अमेरिकी सरकारले संयुक्त बिस्तृत कार्य योजना –इरान आणविक सम्झौता (जीसीपीओए) बाट हात झिक्ने निर्णय ग¥यो । सम्झौताबाट फिर्ता भएलगत्तै इरानविरुद्ध नाकाबन्दी पुनः थोपरियो र अझ विस्तार गरियो । धेरै देश र निकायलाई इरानसँग उनीहरूले गर्दै आएको सहकार्य त्याग्न बाध्य बनाइयो । इरानको उत्पादनमूलक उद्योग नियमित गतिमा काम गर्न सकेनन् । इरानले आर्थिक मन्दता भोग्नुप¥यो, मुद्रास्फीति अचाक्ली बढेको र मुद्राको मूल्य व्यापकरूपमा घटेको छ ।
संरा अमेरिकाले बेलारुस, सिरिया र जिम्बाबेमाथि वर्षौं वर्षदेखि नाकाबन्दी थोपरेको छ । प्रजग कोरिया, भेनेजुयला आदि देशहरूविरुद्ध पनि संरा अमेरिकाले ‘अधिकतम दबाब’ थोपर्दै आएको छ ।
घ) ‘प्रजातन्त्रको प्रकाशस्तम्भ’ माथि विश्वव्यापी आलोचना
संसारका जनताको आँखा निकै तीखो छ । उनीहरूले संरा अमेरिकी प्रजातन्त्रका कमी कमजोरी राम्ररी देखेका छन् । संरा अमेरिकी ‘प्रजातान्त्रिक मूल्य’ को निर्यातमा निहीत पाखण्डी र प्रजातन्त्रको नाममा संसारभर संरा अमेरिकाले लाड्दै आएको प्रभुत्ववाद र हस्तक्षेप पनि जनताले देख्दै भोग्दै आएका छन् ।
रुसी विदेश मन्त्रालयका एक जना प्रवक्ताले एक पटक भनेका थिए,“संरा अमेरिका आफूलाई ‘प्रजातन्त्रको प्रकाश स्तम्भ’ का रूपमा देखाउनमा अभ्यस्त बनिसकेको छ । उसले सबैलाई उनीहरूले भन्ने गरेको ‘शान्तिपूर्ण प्रदर्शन’प्रति मानवीय व्यवहार गर्न आग्रह गर्छ । तर, आफ्नै घरभित्र भने उसले ठीक विपरीत कदम चाल्ने गरेको छ ।” उनले संरा अमेरिका ‘प्रजातन्त्रको प्रकाशस्तम्भ’ नभएको भन्दै अमेरिकी सरकारले केही राम्रा काम गर्न पहिला ‘आफ्ना नागरिकमाथि दमनमा उत्रनुभन्दा उनीहरूका कुरा राम्ररी सुन्नुपर्ने र अरू देशको मानवअधिकारको अवस्थाबारे पाखण्डपूर्वक बोल्न बन्द गर्नुपर्ने’ बताइन् । “संरा अमेरिका अरू देशलाई मानवअधिकार र नागरिक स्वतन्त्रताको विषयमा उपदेश दिने स्थानमा छैन”, उनले भनिन् ।
सन् २०२१ को मे महिनामा जर्मनीको एउटा मत सर्वेक्षण निकाय लाताना र नाटोका महासचिव तथा डेनमार्कका प्रधानमन्त्री एन्डर्स फोग रसमुस्सेनले स्थापना गरेको ‘प्रजातन्त्र मोर्चा’ ले ५३ देशका ५० हजारभन्दा बढी मानिसबीच गरिएको सर्वेक्षणमा आधारित रहेर प्रजातन्त्रबारे बुझाइ सूचकाङ्क सार्वजनिक गरेको थियो । सो अध्ययनअनुसार ४४ प्रतिशत उत्तरदाताहरूले आफ्नो देशमा प्रजातन्त्रको निम्ति संरा अमेरिका नै सबभन्दा ठुलो खतरा हुन सक्ने उत्तर दिएका थिए । उत्तर दिएकामध्ये ५० प्रतिशत अमेरिकीहरूले संरा अमेरिकालाई अप्रजातान्त्रिक देश हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । संरा अमेरिकी उत्तरदातामध्ये ५९ प्रतिशतले आफ्नो सरकारले मुट्ठीभर मानिसका स्वार्थको मात्र सेवा गरिरहेको उत्तर दिएका थिए ।
सन् २०२१ को जुन महिनामा ‘द वाशिङ्टन पोस्ट’ मा युनिभर्सिटी कलेज लन्डनमा राजनीतिशास्त्रका सहायक प्राध्यापक ब्राइन क्लासको लेख प्रकाशित भएको थियो । ‘अमेरिकी प्रजातन्त्रको कमजोरीले संसार त्रस्त बनेको छ’ शीर्षकको सो लेखमा पिउ अनुसन्धान केन्द्रका तथ्याङ्क उद्धृत गर्दै संरा अमेरिकाबाट ‘डाँडोको टुप्पामा रहेको चहकिलो सहर’ नरहेको बताएका छन् । संरा अमेरिकाका साझेदार देशहरूमा जनता पनि संरा अमेरिकालाई ‘विशृङ्खलित र स्खलित’ भएको धारणा राख्छन् । न्युजिल्यान्डका ६९ प्रतिशत, अस्टे«लियाका ६५ प्रतिशत, क्यानाडाका ६० प्रतिशत, स्वीडेनका ५९ प्रतिशत, नेदरल्यान्डका ५६ प्रतिशत र बेलायतका ५३ प्रतिशत मानिसहरू संरा अमेरिकी राजनीतिक व्यवस्थाले राम्रो परिणाम दिन नसकेको सोचाई राख्ने सर्वेक्षणले देखाएको छ । फ्रान्स, जर्मनी, न्युजिल्यान्ड, ग्रीस, बेल्जियम र स्वीडेनका चौथाइभन्दा बढी मानिस अमेरिकी प्रजातन्त्र अब पछ्याउन लायक असल प्रजातन्त्र नभएको मतमा विश्वास गर्छन् ।
मत सर्वेक्षण गर्ने संस्था इयुपिनियनको प्रतिवेदनअनुसार युरोपेली सङ्घमा संरा अमेरिकाप्रतिको विश्वास क्रमशः ओरालो लागेको छ । ५२ प्रतिशत उत्तरदाताले संरा अमेरिकी प्रजातान्त्रिक प्रणालीले काम नै नगरेको मत व्यक्त गरे । फ्रान्सका ६५ प्रतिशत र जर्मनीका ६१ प्रतिशत मानिसहरू पनि यस्तै सोचाइ राख्छन् ।
सन् २०२१ को सेप्टेम्बरमा बेलायती विद्वान् मार्टिन उल्फको ‘अमेरिकी प्रजातन्त्रको अनौठो मृत्यु’ शीर्षकको लेख ‘द वाशिङ्टन टाइम्स’ मा प्रकाशित भएको थियो । सो लेखमा संरा अमेरिकी राजनीतिक अवस्था अहिले ‘फर्किन नसक्ने बिन्दु’ मा पुगेको र ‘प्रजातान्त्रिक गणतन्त्रको अधिनायकवादी शासनतिर रूपान्तरण हुँदै गरेको’ लेखेका छन् ।
सन् २०२१ को नोभेम्बरमा स्वीडेनको ‘प्रजातन्त्र तथा चुनावी सहायताको लागि अन्तर्राष्ट्रिय प्रतिष्ठान’ले प्रजातन्त्रको अवस्थाबारे विश्वव्यापी सूची सार्वजनिक गरेको थियो । सो सूचीमा पहिलो पटक संरा अमेरिकी प्रजातन्त्र तल झर्दैै गएको देखाइएको छ । सो संस्थाका महासचिवले ‘संरा अमेरिकामा प्रजातन्त्र देखिने गरी क्षयीकरणको दिशामा गएको’ र ‘चुनावी परिणामको विश्वसनीयता घटेको, चुनावमा जनसहभागिता कम गर्ने प्रयास भएको र चरम ध्रुवीकरणको अवस्था’ बनेको बताए ।
भारतका राजनीतिक अभियन्ता योगेन्द्र यादवले संरा अमेरिका ‘प्रजातन्त्रको उदाहरण’ नरहेको बताए । संसारले अब संरा अमेरिकाले आफ्नो प्रजातन्त्रको समीक्षा गर्नुपर्ने र अरू देशका प्रजातन्त्रबाट पनि संरा अमेरिकाले सिक्नुपर्ने उनको मत छ ।
मेक्सिकोबाट प्रकाशित हुने ‘प्रोसेसो’ नामको पत्रिकामा बाहिरबाट हेर्दा संरा अमेरिकी प्रजातन्त्र स्वतन्त्र र प्रजातान्त्रिक जस्तो देखिए पनि त्यसमा ठुल्ठुला कमी कमजोरी भएको टिप्पणी गरेको छ ।
प्रिटोरिया विश्वविद्यालयमा राजनीतिशास्त्र विभागका वरिष्ठ अध्यापक सिथेमबाइल एमबेटेको एउटा लेख ‘मेल एन्ड गार्जियन’ पत्रिकामा प्रकाशित भएको थियो । सो लेखमा उनले लेखेका छन्,“स्वतन्त्र र निष्पक्ष चुनावका धेरै सूचकाङ्क जस्तै मतदाताको भूमिका, चुनावको केन्द्रीकृत व्यवस्थापन, एकै थरी नीति–नियम अहिले अमेरिकी प्रणालीमा पाइन्न । हामी अफ्रिकीहरूलाई जे कुरा देखाएर राम्रो चुनाव भनी तालिम दिइएको थियो, अहिले ती कुरा संरा अमेरिकामा नै छैन ।”
निष्कर्ष
अमेरिका–डाँडामाथिको प्रकाशस्तम्भ रहेन । –द टाइम्स अफ इजरायल
संरा अमेरिकाले दिगो प्रजातन्त्र र त्यसका परिणाम गुम्ने गरी प्रजातन्त्रलाई औपचारिकतामा वा प्रक्रियामा मात्र जोड दिनुको सट्टा अमेरिकी जनताका प्रजातान्त्रिक अधिकार सुनिश्चित गर्न र प्रजातान्त्रिक प्रणालीमा सुधार गर्नमा ध्यान दिनु बुद्धिसम्मत हुनेछ ।
संसारभर अरू देशहरूमाथि प्रजातन्त्रको आफ्नो ब्रान्ड निर्यात गर्न खोज्नु, संसारमा विभाजन निम्त्याउन आफ्नो मूल्य मान्यतालाई हतियारको रूपमा प्रयोग गर्ने वा प्रजातन्त्र प्रवद्र्धनको बहानामा अरू देशमाथि हस्तक्षेप, हमला र दमन गर्नुको सट्टा संरा अमेरिकाले थप अन्तर्राष्ट्रिय जिम्मेवारी बहन गरेर अरू देशहरूलाई सार्वजनिक वस्तु उपलब्ध गराउनु उसको बुद्धिमानी हुनेछ ।
अन्तर्राष्ट्रिय समुदायले कोभिड–१९ महामारी, आर्थिक मन्दीदेखि जलवायु परिवर्तनको सङ्कटजस्ता गहन विश्वव्यापी चुनौती सामना गरिरहेको छ । ती चुनौती वा जोखिम एक्लै सामना गर्न सक्ने सामथ्र्य कुनै पनि देशसँग छैन । सबै देशले मिलेर काम गर्नुपर्छ । यस्ता अप्ठ्यारामाथि जीत हासिल गर्ने एउटै तरिका भनेको मिलेर काम गर्नु नै हो ।
प्रजातन्त्रको एउटा वा निरपेक्ष ढाँचा थोपर्न कुनै पनि प्रयास, अन्तर्राष्ट्रिय सम्बन्धमा प्रजातन्त्रलाई औजार वा हतियारको रूपमा प्रयोग गर्ने वा गुटबन्दीको राजनीति र गुटबन्दीको द्वन्द्वको पक्षधरताले ऐक्यबद्धता र सहकार्यको भावनाको उल्लङ्घन हुनेछ । आजको कठिन समयमा त्यस्तो विभाजन निकै गम्भीर विषय हो ।
सबै देशहरू राजनीतिक व्यवस्थाको भिन्नताबाट माथि उठेर शून्य जोड उपलब्धि (जिरो सम गेम) को मानसिकताबाट मुक्त हुनुपर्छ र साँचो बहुपक्षता अघि बढाउनुपर्छ ।
सबै देशहरूले शान्ति, विकास, समता, न्याय, प्रजातन्त्र र स्वतन्त्रता जस्ता मानव जातिका साझा मूल्य मान्यताको प्रवद्र्धन गर्नुपर्छ ।
सबै देशले एकआपसलाई सम्मान गर्नु, साझा आधार विस्तार गर्न काम गर्नु, आपसी भिन्नता कम गर्नु, आपसी विश्वासबाट सहकार्य प्रवद्र्धन गर्नु र मानव जातिको साझा भविष्यको समुदाय सबै मिलेर बनाउनु महत्वपूर्ण छ ।
समाप्त
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *