रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
(तत्कालीन सोभियत रूसको विषयमा भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूले लेख्नुभएका लेखहरूको सङ्कलन ‘सोभियत रसिया, सम रेन्डम स्केच्स एन्ड इम्प्रेसन्स’ को पहिलो अङ्ग्रेजी प्रकाशन सन् १९२९ मा बम्बईको चेतना प्राकाशनले गरेको थियो । त्यसको दोस्रो छपाई सन् १९४९ मा भएको थियो । इन्डियन कल्चर वेभसाइटमा राखिएको सो पुस्तकको ई–प्रतिबाट अनुवाद गरिएको हो । जम्मा १४८ पृष्ठको १६ शीर्षकमा विभाजित यो पुस्तक हरेक शनिबारको ‘मजदुर’ दैनिकमा क्रमशः प्रकाशित गर्दै जानेछौँ । पुस्तकको नेपालीमा अनुवाद सुशिलाले गर्नुभएको हो–सम्पादक)
यात्रा
सोभियत सङ्घ स्थापनाको दसौँ वर्ष पुगेको असरमा परराष्ट्र सांस्कृतिक सम्बन्ध समाजले हामीलाई सन् १९२७ को नोेभेम्बरमा मस्कोमा आमन्त्रण गरेको थियो । सबै देशका महिला र पुरुषको नाममा ठूलो सङ्ख्यामा निमन्त्रणा गरिएको थियो । आमन्त्रितमध्ये कम्युनिस्टहरूमात्र थिएनन् । धेरै सङ्ख्यामा प्राध्यापक, वैज्ञानिक र विशिष्ट व्यक्तित्वहरू पनि थिए । मेरो विचारमा सात सयदेखि आठ सय मानिस निम्तो मानेर मस्को गएका थिए । हाम्रो बेफुर्सदी र मस्को पुग्न लामो समय लाग्ने भएकोले हाम्रै भ्रमण पनि अन्तिम समयमा मात्र टुङ्गो लागेको थियो ।
सुरुमा हामी बर्लिन पुग्यौँ र त्यहाँबाट सिङ्गै पोल्यान्ड छिचोल्यौँ । पोल्यान्डको यात्रामा खास केही विशेष थिएन । एकप्रकारले रुखो यात्रा थियो । पोल्यान्ड रित्तो रित्तो र उदास देखिन्थ्यो । राजधानी वार्साबाहेक अन्यत्रका स्टेसन स–साना थिए । छेउछाउमा पनि निकै कम सङ्ख्यामा मात्र घरहरू देखिन्थे । हाम्रो रेलका परिचालक जर्मन थिए । उनी पोल्यान्ड र त्यहाँ सबै कुराप्रति गहिरो वैरभाव थियो । उनको लागि सभ्यता जर्मनीको सिमानासम्म मात्र सीमित थियो र पोल्यान्डका मानिसहरू बर्बर थिए । मौसमको कारण पनि पोल्यान्ड उजाड देखिएको हुनसक्छ । जाडो महिना भर्खर सुरु हुँदै थियो । तर, औद्योगिक देशमा त मौसमले पनि खास केही फरक पार्न नपर्ने थियो । रेलबाट हामीले पोल्यान्डमा औद्योगिकीकरणका केही पदचिह्न देख्यौँ । बर्लिनबाट बिदा भएको २८ घण्टापछि हामी नोभेम्बर ७ को राति रुसको सिमाना नैजेरेलोजेमा पुग्यौँ । रुस पस्नुअघि हामी बसेको रेलको डिब्बामा भन्सार कार्यालयबाट एक जना रुसी अधिकारी हामीलाई भेट्न आएका थिए । उनले हामीलाई सोभियत सङ्घको स्थापना दिवसको अवसरमा आयोजित उत्सवमा निम्तो मान्न आएको हो कि भनी सोधे । हामी त्यही प्रयोजनमा आएको निश्चय गरेपछि उनले हाम्रा झोलाझम्टाको जिम्मा आफ्नो भएकोले चिन्ता नगर्न आग्रह गरे । हामीलाई सीमामा कुनै किसिमको जाँच गरिएन ।
सिमानाको रुसी चौकी पुरै झन्डाले सजाइएको थियो । जताततै रुसी राष्ट्रिय चिह्न हँसिया र हथौडा अङ्कित राता झन्डा फरफराइरहेका थिए । त्यहाँ लेनिन र अरू नेताहरूका तस्बिर र प्रतिमाहरू पनि थिए । त्यो दिन वोल्शेविकहरूले सत्ता कब्जा गरेको दस वर्ष पुगेको दिन थियो । सिङ्गो रुस उत्सव मनाइरहेको थियो ।
हामीले रातिको खाना खाइसकेका थियौँ । तैपनि चौकीका कर्मचारीहरूले हामीलाई खानाको थुप्रो ल्याइदिए । भारतीय चलनअनुसार हामीले नाइँ भन्ने कुरै भएन । हामीले रुसीहरूको चाहना पूरा गरिदियौँ । युरोपमा बोलिने भाषामध्ये हामीलाई अङ्ग्रेजी र फ्रान्सेली भाषामात्र बोल्न आउँथ्यो । त्यसकारण, हामीलाई रुसीहरूसँग कुराकानी गर्न केही असहजता सामना गर्नुप¥यो । चौकीका कर्मचारीलाई अङ्ग्रेजी पटक्कै आउँदैनथ्यो । फ्रान्सेली पनि निकै कममात्र बुझ्थे । धेरैले जर्मनी भाषा भने बुझ्दारहेछन् । पछि अलि अलि फ्रान्सेली बुझ्ने एक जना मान्छे आयो र ऊ नै हाम्रो दोभाषे बन्यो । त्यहाँ हाम्रो लागि निकै छोटो स्वागत कार्यक्रम भयो । छोटोमा एक जनाले स्वागत भाषण गरे र मैले त्यसको सङ्क्षिप्त प्रतिक्रिया दिएँ । महिला, पुरुष र केटाकेटीसहित बीस पच्चीस जना गाउँलेहरू सहभागी थिए । उनीहरू स्वागत कार्यक्रम निकै रुचिपूर्वक हेरिरहेका थिए । मेरी श्रीमती र बहिनीले लगाएको साडीको कारण पनि उनीहरूले हामीलाई अभिरुचिपूर्वक हेरिरहेका थिए । त्यहाँबाट हामीलाई एउटा कोठामा लिएर गए । त्यहाँ राखिएका तस्बिर र पोस्टरबारे हामीलाई व्याख्या गरियो । हामीले पहिलोपटक त्यहाँ लेनिनप्रतिको समर्पणभाव अनुभव ग¥यौँ । लेनिनको कुनै कुरा आउने बित्तिकै त्यहाँ उपस्थिति सबैको अनुहारमा एकप्रकारको चमक देखिन्थ्यो । बाटोमा परेको त्यो चौकीमा हाम्रो बसाइ मेरा पिताजीले सत्याग्रह आन्दोलनका दिनमा भारतको कुनै सहर वा गाउँमा काङ्ग्रेसको प्रतिनिधिको रूपमा भ्रमणबारे कुनै बेला सुनाउनुभएको घटनासँग झझल्को दिने खालको थियो ।
नैजेरेलोजेदेखि हामी रुसी रेलमा बसेर अगाडिको यात्रालाई निरन्तरता दियौँ । हाम्रो लागि आयोजकले नै सीटको चाँजोपाँजो मिलाएका थिए । त्यही भएर हाम्रो यात्रा ज्यादै आरामदायी भयो । रुसी रेलमा एउटैमात्र वर्ग हुन्छ । तर, त्यहाँ सुत्न मिल्ने विशेष खालको आसन पनि हुन्छ । हामीलाई त्यस्तै खातको व्यवस्था मिलाइएको थियो । हामी त्यो सिङ्गो रात र अर्को दिन लगभग दिनभरि नै यात्रा गरेर साँझतिर मात्र मस्को पुग्यौँ । बाटोका सबै स्टेसनहरू वार्षिकोत्सवकै अवसरमा झन्डा र तस्बिरहरूले श्रृङ्गार गरिएको थियो । स्टेसनहरूमा हामीले देखेका महिला, पुरुष र केटाकेटीले न्यानो लुगा लगाएका थिए । अधिकांशले घुँडासम्म आउने लामो कोट लगाएका थिए । अनि खुट्टामा घुँडासम्मै आउने बुट पनि लगाएका थिए ।
मस्कोमा हामीलाई सांस्कृतिक समाजका प्रतिनिधिहरू स्वागत गर्न आएका थिए । हामीले नचिनेका भारतका केही युवाहरूलाई पनि उनीहरूले त्यहाँ स्वागत गरे । हामी पुग्नु केही दिनअघि नै मस्को पुगेका एसजे साक्लातभाला पनि हामीलाई स्वागत गर्न आएका थिए । त्यहाँबाट हामीलाई प्लेस डे ला रिभुल्युसनको ग्रान्ड होटल डी मस्कोमा लगियो । त्यो विशाल भवनमा पहिलाका धेरै भव्यता र सुविधाको अझै अवशेष थियो । तर, त्यो भव्यता रुसको अहिलेको शासन व्यवस्था सुहाउँदो थिएन । त्यसकारण, प्रायशः छोपिएको थियो ।
हामीलाई सुरुमै एक–दुई दिनअघि नै मस्को आइपुग्नु पर्नेरहेछ भन्ने पश्चाताप बोधले सतायो । सोभियत सङ्घको दसौँ स्थापना दिवसको अवसरमा आयोजित वार्षिकोत्सव समारोह हामी पुग्नु एक दिनअघि नै भइसकेको रहेछ । हामी मूल समारोहमै बस्न पाएनौँ । दसौँ लाख मानिसहरूबीच लेनिन चोकमा ठूलो परेडको आयोजना गरिएको रहेछ । रुसभरिबाट आएका केटाकेटी र मजदुरहरूले प्रदर्शन गरेका रहेछन् । रुसी सङ्घका किसान सङ्गठनका सभापति कालिनिन ठूलो पदमा पुगेर पनि अहिले पनि किसानजस्तै हिँड्दा रहेछन् । उनी पनि परेडमा सहभागी बनेका रहेछन् । बिहानैदेखि रातिसम्म मजदुरहरूको गान अन्तर्राष्ट्रिय गीतको धुनमा परेड लगातार चलेको रहेछ । सुरुमा सिपाहींहरूको परेड, त्यसपछि कारखानाका मजदुरहरू । अनि कलेज र विद्यालयका विद्यार्थीहरू । अनि सहर र गाउँका जनता । मजदुर, किसान, महिला, पुरुष, बालबालिका भावविभोर भएर उत्साहका साथ माथि माथिसम्म आफ्नो हातका ध्वजा उडाउँदै परेडमा सहभागी बनेका रहेछन् । परेडमा सहभागी रुसी जनताले चेम्बरलिन (बेलायतका प्रधानमन्त्री), ब्राएन्ड (फ्रान्सका नेता) र बाल्डविन (बेलायतका अनुदार नेता)का पुत्ला पनि बोकेका थिए । यसरी पुत्ला बोकेका केही रुसीहरूमध्ये कोही त निकै बाठा थिए । चेम्बरलिनको पुत्ला बोकेको एक जना मान्छेले त हँसिया हथौडासामु चेम्बरलिन झुकेको देखाएका थिए । परेडको अन्तिममा ठूलो रेड स्क्वाएरमा निकै तेजगतिमा कोस्साक सिपाहींहरूले घोडा दौडाएका थिए । हामी मस्को पुग्दा हामीलाई अघिल्लो दिनको परेडबारे यी कुरा सुनाइएको थियो । हामीले अघिल्लो दिनको व्याख्या जति जति सुन्दै गयौँ, हाम्रो मनमा ती मनमोहक दृश्य हेर्न नपाएकोमा मन चुक्चुकायौँ ।
मस्को प्रभाव
सडक मानिसले भरिएको थियो । प्रायः हिँडिरहेका थिए । जताततै मानिसको भीड देखिन्थ्यो । मूल सडकको दुवै छेउका पदमार्गदेखि सडककै बीचसम्म मानिसले भरिएको थियो । तर, सबै मानिस सडक अनुशासनको पालना गर्दै लगातार आफ्नो गन्तव्यतर्फ अघि बढिरहेका थिए । त्यसकारण, त्यहाँ कुनै अवरोध वा गतिरोध थिएन । प्रहरी अथवा त्यहाँ भनिने मिलिसियाहरूले सवारी साधनको उचित व्यवस्थापन गरिरहेका थिए । अरू ठूला सहरमा जस्तै सवारी साधनलाई व्यवस्थापन गर्ने उनीहरूको काम त्यत्ति गाह«ो थिएन किनभने त्यहाँ सवारी साधनको चाप त्यत्ति सघन थिएन । धेरै विद्युत्तीय ट्राम र गाडीहरू थिए । सबै यात्रुले भरिएका थिए । ट्याक्सी र निजी कारहरू पनि बाटोमा गुडिरहेका थिए । तर, पेरिस, बर्लिन वा लन्डनमा देखिने ठूलो सङ्ख्याको सवारीसाधनको तुलनामा मस्कोमा कमैमात्र सवारी साधन देखिन्थ्यो । सोभियत सङ्घ स्थापनाको दसौं वार्षिकोत्सवको समय भएकोले पनि अरू सामान्य समयमा भन्दा मानिसहरूको भीड बढी भएको हुनसक्छ ।
स्थापना दिवसकै सन्दर्भमा सहर पूरै झन्डाले सजाइएको थियो । जताततै हँसिया हथौडा अङ्कित राता झन्डाहरू थिए । हँसिया र हथौडा मजदुर र किसानहरूको शासनको प्रतीक हो । लेनिनका तस्बिरहरू पनि सजाइएका थिए । सोभियत सङ्घ स्थापना भएको दस वर्ष पुगेको सङ्केत गर्दै ठाउँ–ठाउँमा ‘दस’ पनि देखिएको थियो । राति ती सबै सजावट र चिह्नहरू प्रकाशले अझ उज्यालो देखिन्थ्यो । बिजुली बत्ती पनि प्रायः रातै रङको हुन्थ्यो । रातो रङको क्रान्तिकारी महत्वबाहेक पनि रुसीहरूलाई रातो रङ खुब मनपर्छ । रुसी भाषामा रातो रङ र सुन्दर दुवैलाई जनाउने शब्द एउटै हुन्छ । अहिले लेनिनको प्रतिमा भएको क्रेमलिन (रुसी सरकारको केन्द्र) भन्दा बाहिरको चोकलाई क्रान्तिअघि नै पनि रेड स्क्वाएर भनिन्थ्यो ।
मस्को सहरबारे पहिलो प्रभाव झन्डै अन्य ठूला सहरको जस्तै थियो । तर, भित्र पस्दै जाँदा भिन्नताहरू पनि देखिंदै जान्छ । अनि अन्ततः पश्चिमका अन्य सहरभन्दा मस्को सहर फरक भएको निष्कर्षमा पुग्छ । असङ्ख्य सुनौला अट्टालिका, ठूला चोक र चौडा सडकले मस्कोलाई सुन्दर बनाएको छ । मस्को सहर गिर्जाघरहरूले भरिएको छ । कसैले हामीलाई मस्को सहरमा मात्र १६ सय वटा गिर्जा घर भएको बताएका थिए । गिर्जाघरहरूमध्ये केही ठूलालाई सङ्ग्रहालयमा परिणत गरिएको छ । तर, इमानदारीका साथ भन्दा अधिकांश गिर्जाघर भने खुलै थिए । सोभियत सरकारले भने गिर्जाघर वा अन्य कुनै धर्मलाई प्रवद्र्धन गर्दैन । वास्तवमा त्यहाँ धर्मविरोधी व्यापक प्रचार गर्ने स’गठनहरू छन् । ती सङ्गठनहरूले धर्मनिरपेक्ष शिक्षाको प्रचार गर्छन् । तथापि, सर्वसाधारणलाई गिर्जाघर जान कुनै रोकतोक छैन । विशेषतः ग्रामीण क्षेत्रका सर्वसाधारणहरूमध्ये धेरै सङ्ख्या अहिले पनि गिर्जाघर जाने गर्छन् । क्रेमलिन नजिकै भर्जिन मेरीको एउटा प्राचीन इसाई मन्दिर छ । निकै टाढा टाढाबाट मानिसहरू त्यहाँ प्रार्थना गर्न आउँछन् । हामीले त्यहाँ भक्तजनको भीड देख्यौँ । तीमध्ये अधिकांश महिला थिए । उनीहरूलाई रोक्ने कसले ? तर, त्यहाँ जाने जो कोहीले पनि त्यहाँको भित्तामा टाँसेको शिलालेख पक्कै हेर्छन् । त्यसमा ठूला अक्षरमा कार्ल माक्र्सको एउटा चर्चित भनाइ लेखिएको छः ‘धर्म जनताको लागि अफिम हो ।’
मस्कोमा जस्तो विविध भेषभूषा र टोपी पश्चिमका कुनै पनि सहरमा देख्न मुस्किल पर्छ । पेरिसलाई युरोपकै सबभन्दा ठूलो अन्तर्राष्ट्रिय केन्द्र बताइन्छ । त्यहाँ सबै देशबाट मानिसहरू पुगेका हुन्छन् । तर, त्यहाँ आउने मानिसहरू पश्चिमको स्थापित भेषभूषामा आएका हुन्छन् । साडी लगाएर जाने भारतीय महिलाहरूमात्र त्यहाँ अपवाद हुने गर्छन् । तर, मस्कोमा विभिन्न कुनाबाट एसियाले चियाउने गर्छ । उष्ण प्रादेशिक एसियामात्र होइन, एसियाको विशाल भूभाग, उत्तरको चिसो भूभाग, पूर्व र मध्य एसिया जताततैको झल्को मस्कोमा प्रतिबिम्बित हुन्छ । त्यहाँ हरेक थरी भारी बुट र हरेक किसिमका लामा लामा कोट र टोपी देखिन्छन् । मानिसहरू यस्ता विविधतामा अभ्यस्त छन् । अनेकथरी लवाइखवाइ मस्कोको लागि सामान्य कुरा भएकोले मानिसहरू त्यसलाई विशेष ठान्दैनन् । मस्कोको लागि असामान्य हुनसक्ने मेरी श्रीमती र बहिनीले लगाएको साडीप्रति बर्लिन वा पेरिसमा भन्दा मस्कोमा मानिसहरू कममात्र आकर्षित बने ।
तर, मस्कोमा जो कोहीले अनुभव गर्ने एउटा खास परिवर्तन भनेको हावापानी र त्यहाँको हावा हो । जति दिन बस्दै गयो, त्यत्ति नै हावापानीमा परिवर्तन अनुभव हुन्छ । चरम सम्पन्न र गरिबीबीचको खाडल मस्कोमा देखिंदैन । न त त्यहाँ कसैले वर्ग वा जातको तल–माथि याद गर्छ । रेल स्टेसनको भरिया होस् वा रेस्टुराँको बेडा सबै एकअर्काका कमरेड (टभरिस्ट) हुन् र उनीहरू एकअर्कालाई यसरी नै बोलाउँछन् । कसैको योग्यता वा स्तर धन वा उसको तलबको आधारमा निर्धारण गरिन्न । हामीलाई दिइएको जानकारीअनुसार सबभन्दा बढी तलब पाउने कम्युनिस्ट पार्टीको सदस्यले महिनामा २२५ रुबल पाउँछन् । त्यो भनेको भारु ३०० सय हुन्छ । रुसका सबै उच्च सरकारी अधिकारीहरू कम्युनिस्ट पार्टीका सदस्यहरू हुन्छन् । रुसका राष्ट्रपतिको तलब र एक जना पियनले पाउने तलबमा धेरै ठूलो अन्तर हुँदैन । फरक कति मात्र हो भने राष्ट्रपतिले बस्नको लागि केही कोठा पाउँछन्, यताउता जान गाडी पाउँछ र त्यस्तै केही अन्य सुविधा पाएको हुन्छ । गाउँबाट आएको किसान वा कारखानाका मजदुरले राष्ट्रपतिलाई भेट्दा आफ्नै वर्गको एक जना प्रतिनिधिको रूपमा भेट्ने गर्छ । राष्ट्रपतिलाई उनीहरूले आफूभन्दा बुद्धिमान र थप सक्षम व्यक्तिको रूपमा हेर्छन् । राष्ट्रपतिलाई पनि उनीहरू ‘टभरिस्ट’ (रुसी भाषामा कमरेड) भनी सम्बोधन गर्छन् ।
सडकमा देखिने अधिकांश सवारीसाधन या त ट्याक्सी हुन्छन् नभए सरकार वा कुनै सोभियत, मजदुर सङ्गठन, सहकारी, कारखाना, ठूला कम्पनी आदि कुनै सङ्गठनका हुन्छन् । व्यक्तिको नाममा कुनै निजी कार भएको कतै देखिएन ।
मस्कोमा अन्य देशका सहरहरूमा जस्तै ठूला पसल र भण्डारहरू पनि छन् । ठूला पसलहरू सबै राज्यले चलाएका हुन्छन् । स–साना पसलहरूमात्र व्यक्तिको हुन्छ । स–साना सामान हातमा बोकेर सडकमा बेच्दै गर्ने हकरहरू पनि छन् । पसलहरूमा सजाइएका सामानहरू सामान्य र सरल खालका छन् । कुनै उत्ताउला वा नक्कलझक्कल खालका छैनन् । ¥यु डे रिभोली वा बोन्ड सहरमा जस्ता नक्कली वा कमसल खालका सामान पसलमा देखिंदैन । सडक वा जतासुकै पनि मानिसहरू नक्कलझक्कलको कुनै पर्वाह नगरी कपास कोचिएको बाक्लो कोट लगाएका हुन्छन् । अधिकांश त्यस्ता कोटमा न कठालो हुन्छ न टाइ नै लगाएका हुन्छन् । धेरै महँगो सामान किन्न कसैसँग पैसा नै हुँदैन । तर, सामानको मूल्त्न्दा यस्ता कुरामा खर्च गर्नुलाई समयको बर्बादी र लुगामा पैसा फालेको अर्थमा लिइन्छ ।
सहरका केही ठूला चोकमा ध्वनि उत्सर्जक (लाउड स्पिकर) राखिएका हुन्छन् । ती यन्त्रले दैनिक समाचार भन्छन् । समय–समयमा गीत–सङ्गीतको कार्यक्रम तथा सम्भवतः राजनीति भाषण गर्न पनि प्रयोग हुन्छन् । राज्यका नियम मिच्ने र सन्देहमा बस्ने मानिसको चित्त बुझाउन त्यस्ता राजनीतिक भाषणका कार्यक्रम हुन्छन् । कम्युनिस्टहरू संसारलाई आफ्नो सिद्धान्तका कुरा भन्ने मौका कहिल्यै छोड्दैनन् ।
हामीले सरकारी प्रेक्षालय भवनको भ्रमण गरेका थियौँ । जारको समयमा बनाइएको यो भवन आकर्षक थियो । सात वटा सुनौला तल्लाहरू मिलाएर त्यो भवन बनेको थियो । जारको समयमा त्यो भवन धन र फेसनको सम्मिलन थियो । त्यहाँ हामीले देखेका दर्शक फरक खालका थिए । सामान्य लुगा लगाएका मानिसले त्यो प्रेक्षालय भरिएको थियो । कसैले कोट लगाएका थिएनन्, कोही भने बाहुला भएको कमिज लगाएका थिए । त्यहाँ कसैले धाक लगाएको देखिएन । कसैले विशेष अवसर भनेर अलगै लुगा लगाएका पनि थिएनन् । उनीहरू सबै आफ्नै गाउँघरका मानिसजस्तै देखिएका थिए । उनीहरूमध्ये कोही बुद्धिजीवी थिए, कोही मजदुर त कोही किसान । फूलजस्ता केटाकेटीका हात समातेर उनीहरू त्यहाँ ओइरिएका थिए । सांस्कृतिक कार्यक्रममा नाच, गान र गीति नाटक (ब्यालेट) प्रदर्शन गरिएको थियो । सबै प्रस्तुति एकसेएक थिए । दर्शकहरू सबैले मन पराए । त्यही भएर कतिपय प्रस्तुति दोहो¥याएर पनि देखाउन लगाइयो । दस वर्ष पनि नपुगेका एक जना सानो केटा र केटीको नाच ज्यादै सुन्दर थियो । तर, सबभन्दा आकर्षक प्रस्तुति भने जारकालीन समयका एक जना विख्यात कलाकारको थियो । उमेरले उनी ६० वर्ष पुगे पनि हेर्दा भर्खर ३० वर्षकी देखिन्थिन् । उनको नाच वास्तवमै चकित पार्ने खालको थियो । सारमा सौन्दर्य र कलाको कोणबाट हेर्दा त्यो सांस्कृतिक कार्यक्रमलाई पछार्र्न संसारको कुनै पनि देशलाई हम्मेहम्मे पर्छ ।
हामी चलचित्र हेर्न चित्रगृहमा पनि पुग्यौँ । चित्रगृहमा हामीले ‘द लास्ट डेज अफ पेट्रोग्राड’ (पेट्रोग्राडका अन्तिम दिन) नामको क्रान्तिकारी चलचित्र हे¥यौँ । रुसी चलचित्र सौन्दर्य र कलात्मक अब्बलको निम्ति प्रसिद्ध छन् । तर, दुःखको कुरा भारतका चलचित्रमा हामी त्यस्तो अब्बलता देख्न पाउँदैनौँ । हामी अमेरिकाको हलिउड चलचित्रका सुन्दर तर मूर्खतापूर्ण र बेतुका चलचित्रको नक्कल गर्छौँ । मस्कोमा हामीलाई देखाइएको चलचित्रमा जारकालीन समयको सुख र दुःखबीचको भिन्नता प्रदर्शन गरिएको थियो । अनि युद्धका भयानक दृश्यहरू देखाइएको थियो । जारको पतन, केरन्स्की सरकार र वोल्शेविक र केरेन्स्कीबीच सत्ताको लागि भएको सङ्घर्ष र लेनिनको विजयलाई चलचित्रमा सशक्तरूपमा प्रस्तुत गरिएको छ । त्यो ज्यादै सशक्त र प्रभावशाली चलचित्र हो । त्यसको प्रचारात्मक मूल्य बृहत् छ ।
हामी मस्कोको क्रान्ति सङ्ग्रहालयमा पनि पुग्यौँ । पुराना दिनमा ‘अङ्ग्रेज क्लव’ रहेको भवनमा त्यो सङ्ग्रहालय बनाइएको थियो । अङ्ग्रेज क्लवको अर्थ अङ्ग्रेज शैलीको क्लव हो, अङ्ग्रेजहरूमात्र जाने क्लव भने होइन । सङ्ग्रहालयमा धेरै रोचक कुरा हेरियो । तर, समग्रमा भने हामीलाई ज्यादै दुःख लाग्यो । हामी चित्र सङ्ग्रहालयमा पनि गयौँ । त्यहाँ विशेषतः हाम्रो रुचि एसियाली रुसी अर्थात् तर्किस्तान आदिको चित्रकला हेर्नमा चासो देखायौँ ।
जारकालीन दिनको भव्य भारदार हललाई अहिले मजदुर सङ्घको हलमा परिणत गरिएको थियो । ‘रुसका मित्रको सभा’ त्यही हलमा गरिएको थियो । मैले देखेका हलहरूमध्ये सबभन्दा सुन्दर र भव्य त्यही हो ।
क्रेमलिनका सरकारी भवन र अट्टालिकाहरूमा पनि हामीले भ्रमण ग¥यौँ । रुसी सङ्घका राष्ट्रपति कालिनिनसँगको छोटो भेटको लागि बाहेक हामी जारको पुरानो दरबार वा अन्य कुनै भवनभित्र पसेनौँ । त्यहाँ हामीले दुई–तीन वटा कोठामा पुगेका थियौँ । ती कुनै पनि भवनमा कुनै भव्यता वा सुविधाको चिह्न थिएन । क्रान्तिले रुसमा धेरै कुरा परिवर्तन ग¥यो । तर, क्रान्तिले परिवर्तन गर्न नसकेको एउटा कुरा हो–द्रोस्की । द्रोस्की भनेको एकप्रकारको साधारण यातायातको साधन हो । चार पाङ्ग्रा भएको यो बग्गीलाई एउटा घोडाले तान्ने गर्छ । यो निकै पुरानो शैलीको सवारी साधन किन अझै प्रयोगमा छ ? कसैलाई थाहा छैन । त्यसमा एकै जना मानिस अथवा पातलो भए दुई जनासम्म मात्र बस्ने ठाउँ हुन्छ । यो साधन घण्टामा बढीमा छ माइलको दुरी पूरा गर्छ ।
क्रान्तिले सडकमा माग्नेहरूलाई अझै हटाइसकेको छैन । हामीलाई माग्नेहरूले निकै सताए । कतिबेला त त्यस्ता माग्नेहरूमध्ये हातमा बच्चा बोकेका युवतीहरू पनि हुन्थे । कम्युनिस्टहरूले हामीलाई पहिलाको तुलनामा माग्नेहरूको सङ्ख्या अहिले निकै घटिसकेको बताए । युगौँ युगदेखि रहेको माग्ने चलन र मगन्तेहरूलाई एकैबाजी हटाउन गाह«ो हुन्छ ।
मस्को सबै ठाउँ घुम्न त्यहाँको हाम्रो बसाइ निकै छोटो अवधिको रह्यो । तर, छोटो अवधि पनि त्यो सुन्दर सहरप्रति आकर्षण अनुभव गर्न मनग्य भयो । हामी पश्चाताप बोध गरेर र सूर्यको किरणले सुनौलो बनेका त्यहाँका अट्टालिका, पूर्वदेखि पश्चिमबाट आएका अनौठा अनौठा मानिस नै मानिसले भरिएका सडक र चोकहरू फेरि कुनै दिन हेर्ने चाहना बोकेर मस्कोबाट फर्कियौँ ।
उत्कृष्ट अनुवाद