भर्खरै :

सोभियत रुस – केही टिपोट र प्रभाव– २

(तत्कालीन सोभियत रूसको विषयमा भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूले लेख्नुभएका लेखहरूको सङ्कलन ‘सोभियत रसिया, सम रेन्डम स्केच्स एन्ड इम्प्रेसन्स’ को पहिलो अङ्ग्रेजी प्रकाशन सन् १९२९ मा बम्बईको चेतना प्राकाशनले गरेको थियो । त्यसको दोस्रो छपाई सन् १९४९ मा भएको थियो । इन्डियन कल्चर वेभसाइटमा राखिएको सो पुस्तकको ई–प्रतिबाट अनुवाद गरिएको हो । जम्मा १४८ पृष्ठको १६ शीर्षकमा विभाजित यो पुस्तक हरेक शनिबारको ‘मजदुर’ दैनिकमा क्रमशः प्रकाशित गर्दै जानेछौँ । पुस्तकको नेपालीमा अनुवाद सुशिलाले गर्नुभएको हो–सम्पादक)
यात्रा
सोभियत सङ्घ स्थापनाको दसौँ वर्ष पुगेको असरमा परराष्ट्र सांस्कृतिक सम्बन्ध समाजले हामीलाई सन् १९२७ को नोेभेम्बरमा मस्कोमा आमन्त्रण गरेको थियो । सबै देशका महिला र पुरुषको नाममा ठूलो सङ्ख्यामा निमन्त्रणा गरिएको थियो । आमन्त्रितमध्ये कम्युनिस्टहरूमात्र थिएनन् । धेरै सङ्ख्यामा प्राध्यापक, वैज्ञानिक र विशिष्ट व्यक्तित्वहरू पनि थिए । मेरो विचारमा सात सयदेखि आठ सय मानिस निम्तो मानेर मस्को गएका थिए । हाम्रो बेफुर्सदी र मस्को पुग्न लामो समय लाग्ने भएकोले हाम्रै भ्रमण पनि अन्तिम समयमा मात्र टुङ्गो लागेको थियो ।
सुरुमा हामी बर्लिन पुग्यौँ र त्यहाँबाट सिङ्गै पोल्यान्ड छिचोल्यौँ । पोल्यान्डको यात्रामा खास केही विशेष थिएन । एकप्रकारले रुखो यात्रा थियो । पोल्यान्ड रित्तो रित्तो र उदास देखिन्थ्यो । राजधानी वार्साबाहेक अन्यत्रका स्टेसन स–साना थिए । छेउछाउमा पनि निकै कम सङ्ख्यामा मात्र घरहरू देखिन्थे । हाम्रो रेलका परिचालक जर्मन थिए । उनी पोल्यान्ड र त्यहाँ सबै कुराप्रति गहिरो वैरभाव थियो । उनको लागि सभ्यता जर्मनीको सिमानासम्म मात्र सीमित थियो र पोल्यान्डका मानिसहरू बर्बर थिए । मौसमको कारण पनि पोल्यान्ड उजाड देखिएको हुनसक्छ । जाडो महिना भर्खर सुरु हुँदै थियो । तर, औद्योगिक देशमा त मौसमले पनि खास केही फरक पार्न नपर्ने थियो । रेलबाट हामीले पोल्यान्डमा औद्योगिकीकरणका केही पदचिह्न देख्यौँ । बर्लिनबाट बिदा भएको २८ घण्टापछि हामी नोभेम्बर ७ को राति रुसको सिमाना नैजेरेलोजेमा पुग्यौँ । रुस पस्नुअघि हामी बसेको रेलको डिब्बामा भन्सार कार्यालयबाट एक जना रुसी अधिकारी हामीलाई भेट्न आएका थिए । उनले हामीलाई सोभियत सङ्घको स्थापना दिवसको अवसरमा आयोजित उत्सवमा निम्तो मान्न आएको हो कि भनी सोधे । हामी त्यही प्रयोजनमा आएको निश्चय गरेपछि उनले हाम्रा झोलाझम्टाको जिम्मा आफ्नो भएकोले चिन्ता नगर्न आग्रह गरे । हामीलाई सीमामा कुनै किसिमको जाँच गरिएन ।
सिमानाको रुसी चौकी पुरै झन्डाले सजाइएको थियो । जताततै रुसी राष्ट्रिय चिह्न हँसिया र हथौडा अङ्कित राता झन्डा फरफराइरहेका थिए । त्यहाँ लेनिन र अरू नेताहरूका तस्बिर र प्रतिमाहरू पनि थिए । त्यो दिन वोल्शेविकहरूले सत्ता कब्जा गरेको दस वर्ष पुगेको दिन थियो । सिङ्गो रुस उत्सव मनाइरहेको थियो ।
हामीले रातिको खाना खाइसकेका थियौँ । तैपनि चौकीका कर्मचारीहरूले हामीलाई खानाको थुप्रो ल्याइदिए । भारतीय चलनअनुसार हामीले नाइँ भन्ने कुरै भएन । हामीले रुसीहरूको चाहना पूरा गरिदियौँ । युरोपमा बोलिने भाषामध्ये हामीलाई अङ्ग्रेजी र फ्रान्सेली भाषामात्र बोल्न आउँथ्यो । त्यसकारण, हामीलाई रुसीहरूसँग कुराकानी गर्न केही असहजता सामना गर्नुप¥यो । चौकीका कर्मचारीलाई अङ्ग्रेजी पटक्कै आउँदैनथ्यो । फ्रान्सेली पनि निकै कममात्र बुझ्थे । धेरैले जर्मनी भाषा भने बुझ्दारहेछन् । पछि अलि अलि फ्रान्सेली बुझ्ने एक जना मान्छे आयो र ऊ नै हाम्रो दोभाषे बन्यो । त्यहाँ हाम्रो लागि निकै छोटो स्वागत कार्यक्रम भयो । छोटोमा एक जनाले स्वागत भाषण गरे र मैले त्यसको सङ्क्षिप्त प्रतिक्रिया दिएँ । महिला, पुरुष र केटाकेटीसहित बीस पच्चीस जना गाउँलेहरू सहभागी थिए । उनीहरू स्वागत कार्यक्रम निकै रुचिपूर्वक हेरिरहेका थिए । मेरी श्रीमती र बहिनीले लगाएको साडीको कारण पनि उनीहरूले हामीलाई अभिरुचिपूर्वक हेरिरहेका थिए । त्यहाँबाट हामीलाई एउटा कोठामा लिएर गए । त्यहाँ राखिएका तस्बिर र पोस्टरबारे हामीलाई व्याख्या गरियो । हामीले पहिलोपटक त्यहाँ लेनिनप्रतिको समर्पणभाव अनुभव ग¥यौँ । लेनिनको कुनै कुरा आउने बित्तिकै त्यहाँ उपस्थिति सबैको अनुहारमा एकप्रकारको चमक देखिन्थ्यो । बाटोमा परेको त्यो चौकीमा हाम्रो बसाइ मेरा पिताजीले सत्याग्रह आन्दोलनका दिनमा भारतको कुनै सहर वा गाउँमा काङ्ग्रेसको प्रतिनिधिको रूपमा भ्रमणबारे कुनै बेला सुनाउनुभएको घटनासँग झझल्को दिने खालको थियो ।
नैजेरेलोजेदेखि हामी रुसी रेलमा बसेर अगाडिको यात्रालाई निरन्तरता दियौँ । हाम्रो लागि आयोजकले नै सीटको चाँजोपाँजो मिलाएका थिए । त्यही भएर हाम्रो यात्रा ज्यादै आरामदायी भयो । रुसी रेलमा एउटैमात्र वर्ग हुन्छ । तर, त्यहाँ सुत्न मिल्ने विशेष खालको आसन पनि हुन्छ । हामीलाई त्यस्तै खातको व्यवस्था मिलाइएको थियो । हामी त्यो सिङ्गो रात र अर्को दिन लगभग दिनभरि नै यात्रा गरेर साँझतिर मात्र मस्को पुग्यौँ । बाटोका सबै स्टेसनहरू वार्षिकोत्सवकै अवसरमा झन्डा र तस्बिरहरूले श्रृङ्गार गरिएको थियो । स्टेसनहरूमा हामीले देखेका महिला, पुरुष र केटाकेटीले न्यानो लुगा लगाएका थिए । अधिकांशले घुँडासम्म आउने लामो कोट लगाएका थिए । अनि खुट्टामा घुँडासम्मै आउने बुट पनि लगाएका थिए ।
मस्कोमा हामीलाई सांस्कृतिक समाजका प्रतिनिधिहरू स्वागत गर्न आएका थिए । हामीले नचिनेका भारतका केही युवाहरूलाई पनि उनीहरूले त्यहाँ स्वागत गरे । हामी पुग्नु केही दिनअघि नै मस्को पुगेका एसजे साक्लातभाला पनि हामीलाई स्वागत गर्न आएका थिए । त्यहाँबाट हामीलाई प्लेस डे ला रिभुल्युसनको ग्रान्ड होटल डी मस्कोमा लगियो । त्यो विशाल भवनमा पहिलाका धेरै भव्यता र सुविधाको अझै अवशेष थियो । तर, त्यो भव्यता रुसको अहिलेको शासन व्यवस्था सुहाउँदो थिएन । त्यसकारण, प्रायशः छोपिएको थियो ।
हामीलाई सुरुमै एक–दुई दिनअघि नै मस्को आइपुग्नु पर्नेरहेछ भन्ने पश्चाताप बोधले सतायो । सोभियत सङ्घको दसौँ स्थापना दिवसको अवसरमा आयोजित वार्षिकोत्सव समारोह हामी पुग्नु एक दिनअघि नै भइसकेको रहेछ । हामी मूल समारोहमै बस्न पाएनौँ । दसौँ लाख मानिसहरूबीच लेनिन चोकमा ठूलो परेडको आयोजना गरिएको रहेछ । रुसभरिबाट आएका केटाकेटी र मजदुरहरूले प्रदर्शन गरेका रहेछन् । रुसी सङ्घका किसान सङ्गठनका सभापति कालिनिन ठूलो पदमा पुगेर पनि अहिले पनि किसानजस्तै हिँड्दा रहेछन् । उनी पनि परेडमा सहभागी बनेका रहेछन् । बिहानैदेखि रातिसम्म मजदुरहरूको गान अन्तर्राष्ट्रिय गीतको धुनमा परेड लगातार चलेको रहेछ । सुरुमा सिपाहींहरूको परेड, त्यसपछि कारखानाका मजदुरहरू । अनि कलेज र विद्यालयका विद्यार्थीहरू । अनि सहर र गाउँका जनता । मजदुर, किसान, महिला, पुरुष, बालबालिका भावविभोर भएर उत्साहका साथ माथि माथिसम्म आफ्नो हातका ध्वजा उडाउँदै परेडमा सहभागी बनेका रहेछन् । परेडमा सहभागी रुसी जनताले चेम्बरलिन (बेलायतका प्रधानमन्त्री), ब्राएन्ड (फ्रान्सका नेता) र बाल्डविन (बेलायतका अनुदार नेता)का पुत्ला पनि बोकेका थिए । यसरी पुत्ला बोकेका केही रुसीहरूमध्ये कोही त निकै बाठा थिए । चेम्बरलिनको पुत्ला बोकेको एक जना मान्छेले त हँसिया हथौडासामु चेम्बरलिन झुकेको देखाएका थिए । परेडको अन्तिममा ठूलो रेड स्क्वाएरमा निकै तेजगतिमा कोस्साक सिपाहींहरूले घोडा दौडाएका थिए । हामी मस्को पुग्दा हामीलाई अघिल्लो दिनको परेडबारे यी कुरा सुनाइएको थियो । हामीले अघिल्लो दिनको व्याख्या जति जति सुन्दै गयौँ, हाम्रो मनमा ती मनमोहक दृश्य हेर्न नपाएकोमा मन चुक्चुकायौँ ।
मस्को प्रभाव
सडक मानिसले भरिएको थियो । प्रायः हिँडिरहेका थिए । जताततै मानिसको भीड देखिन्थ्यो । मूल सडकको दुवै छेउका पदमार्गदेखि सडककै बीचसम्म मानिसले भरिएको थियो । तर, सबै मानिस सडक अनुशासनको पालना गर्दै लगातार आफ्नो गन्तव्यतर्फ अघि बढिरहेका थिए । त्यसकारण, त्यहाँ कुनै अवरोध वा गतिरोध थिएन । प्रहरी अथवा त्यहाँ भनिने मिलिसियाहरूले सवारी साधनको उचित व्यवस्थापन गरिरहेका थिए । अरू ठूला सहरमा जस्तै सवारी साधनलाई व्यवस्थापन गर्ने उनीहरूको काम त्यत्ति गाह«ो थिएन किनभने त्यहाँ सवारी साधनको चाप त्यत्ति सघन थिएन । धेरै विद्युत्तीय ट्राम र गाडीहरू थिए । सबै यात्रुले भरिएका थिए । ट्याक्सी र निजी कारहरू पनि बाटोमा गुडिरहेका थिए । तर, पेरिस, बर्लिन वा लन्डनमा देखिने ठूलो सङ्ख्याको सवारीसाधनको तुलनामा मस्कोमा कमैमात्र सवारी साधन देखिन्थ्यो । सोभियत सङ्घ स्थापनाको दसौं वार्षिकोत्सवको समय भएकोले पनि अरू सामान्य समयमा भन्दा मानिसहरूको भीड बढी भएको हुनसक्छ ।
स्थापना दिवसकै सन्दर्भमा सहर पूरै झन्डाले सजाइएको थियो । जताततै हँसिया हथौडा अङ्कित राता झन्डाहरू थिए । हँसिया र हथौडा मजदुर र किसानहरूको शासनको प्रतीक हो । लेनिनका तस्बिरहरू पनि सजाइएका थिए । सोभियत सङ्घ स्थापना भएको दस वर्ष पुगेको सङ्केत गर्दै ठाउँ–ठाउँमा ‘दस’ पनि देखिएको थियो । राति ती सबै सजावट र चिह्नहरू प्रकाशले अझ उज्यालो देखिन्थ्यो । बिजुली बत्ती पनि प्रायः रातै रङको हुन्थ्यो । रातो रङको क्रान्तिकारी महत्वबाहेक पनि रुसीहरूलाई रातो रङ खुब मनपर्छ । रुसी भाषामा रातो रङ र सुन्दर दुवैलाई जनाउने शब्द एउटै हुन्छ । अहिले लेनिनको प्रतिमा भएको क्रेमलिन (रुसी सरकारको केन्द्र) भन्दा बाहिरको चोकलाई क्रान्तिअघि नै पनि रेड स्क्वाएर भनिन्थ्यो ।
मस्को सहरबारे पहिलो प्रभाव झन्डै अन्य ठूला सहरको जस्तै थियो । तर, भित्र पस्दै जाँदा भिन्नताहरू पनि देखिंदै जान्छ । अनि अन्ततः पश्चिमका अन्य सहरभन्दा मस्को सहर फरक भएको निष्कर्षमा पुग्छ । असङ्ख्य सुनौला अट्टालिका, ठूला चोक र चौडा सडकले मस्कोलाई सुन्दर बनाएको छ । मस्को सहर गिर्जाघरहरूले भरिएको छ । कसैले हामीलाई मस्को सहरमा मात्र १६ सय वटा गिर्जा घर भएको बताएका थिए । गिर्जाघरहरूमध्ये केही ठूलालाई सङ्ग्रहालयमा परिणत गरिएको छ । तर, इमानदारीका साथ भन्दा अधिकांश गिर्जाघर भने खुलै थिए । सोभियत सरकारले भने गिर्जाघर वा अन्य कुनै धर्मलाई प्रवद्र्धन गर्दैन । वास्तवमा त्यहाँ धर्मविरोधी व्यापक प्रचार गर्ने स’गठनहरू छन् । ती सङ्गठनहरूले धर्मनिरपेक्ष शिक्षाको प्रचार गर्छन् । तथापि, सर्वसाधारणलाई गिर्जाघर जान कुनै रोकतोक छैन । विशेषतः ग्रामीण क्षेत्रका सर्वसाधारणहरूमध्ये धेरै सङ्ख्या अहिले पनि गिर्जाघर जाने गर्छन् । क्रेमलिन नजिकै भर्जिन मेरीको एउटा प्राचीन इसाई मन्दिर छ । निकै टाढा टाढाबाट मानिसहरू त्यहाँ प्रार्थना गर्न आउँछन् । हामीले त्यहाँ भक्तजनको भीड देख्यौँ । तीमध्ये अधिकांश महिला थिए । उनीहरूलाई रोक्ने कसले ? तर, त्यहाँ जाने जो कोहीले पनि त्यहाँको भित्तामा टाँसेको शिलालेख पक्कै हेर्छन् । त्यसमा ठूला अक्षरमा कार्ल माक्र्सको एउटा चर्चित भनाइ लेखिएको छः ‘धर्म जनताको लागि अफिम हो ।’
मस्कोमा जस्तो विविध भेषभूषा र टोपी पश्चिमका कुनै पनि सहरमा देख्न मुस्किल पर्छ । पेरिसलाई युरोपकै सबभन्दा ठूलो अन्तर्राष्ट्रिय केन्द्र बताइन्छ । त्यहाँ सबै देशबाट मानिसहरू पुगेका हुन्छन् । तर, त्यहाँ आउने मानिसहरू पश्चिमको स्थापित भेषभूषामा आएका हुन्छन् । साडी लगाएर जाने भारतीय महिलाहरूमात्र त्यहाँ अपवाद हुने गर्छन् । तर, मस्कोमा विभिन्न कुनाबाट एसियाले चियाउने गर्छ । उष्ण प्रादेशिक एसियामात्र होइन, एसियाको विशाल भूभाग, उत्तरको चिसो भूभाग, पूर्व र मध्य एसिया जताततैको झल्को मस्कोमा प्रतिबिम्बित हुन्छ । त्यहाँ हरेक थरी भारी बुट र हरेक किसिमका लामा लामा कोट र टोपी देखिन्छन् । मानिसहरू यस्ता विविधतामा अभ्यस्त छन् । अनेकथरी लवाइखवाइ मस्कोको लागि सामान्य कुरा भएकोले मानिसहरू त्यसलाई विशेष ठान्दैनन् । मस्कोको लागि असामान्य हुनसक्ने मेरी श्रीमती र बहिनीले लगाएको साडीप्रति बर्लिन वा पेरिसमा भन्दा मस्कोमा मानिसहरू कममात्र आकर्षित बने ।
तर, मस्कोमा जो कोहीले अनुभव गर्ने एउटा खास परिवर्तन भनेको हावापानी र त्यहाँको हावा हो । जति दिन बस्दै गयो, त्यत्ति नै हावापानीमा परिवर्तन अनुभव हुन्छ । चरम सम्पन्न र गरिबीबीचको खाडल मस्कोमा देखिंदैन । न त त्यहाँ कसैले वर्ग वा जातको तल–माथि याद गर्छ । रेल स्टेसनको भरिया होस् वा रेस्टुराँको बेडा सबै एकअर्काका कमरेड (टभरिस्ट) हुन् र उनीहरू एकअर्कालाई यसरी नै बोलाउँछन् । कसैको योग्यता वा स्तर धन वा उसको तलबको आधारमा निर्धारण गरिन्न । हामीलाई दिइएको जानकारीअनुसार सबभन्दा बढी तलब पाउने कम्युनिस्ट पार्टीको सदस्यले महिनामा २२५ रुबल पाउँछन् । त्यो भनेको भारु ३०० सय हुन्छ । रुसका सबै उच्च सरकारी अधिकारीहरू कम्युनिस्ट पार्टीका सदस्यहरू हुन्छन् । रुसका राष्ट्रपतिको तलब र एक जना पियनले पाउने तलबमा धेरै ठूलो अन्तर हुँदैन । फरक कति मात्र हो भने राष्ट्रपतिले बस्नको लागि केही कोठा पाउँछन्, यताउता जान गाडी पाउँछ र त्यस्तै केही अन्य सुविधा पाएको हुन्छ । गाउँबाट आएको किसान वा कारखानाका मजदुरले राष्ट्रपतिलाई भेट्दा आफ्नै वर्गको एक जना प्रतिनिधिको रूपमा भेट्ने गर्छ । राष्ट्रपतिलाई उनीहरूले आफूभन्दा बुद्धिमान र थप सक्षम व्यक्तिको रूपमा हेर्छन् । राष्ट्रपतिलाई पनि उनीहरू ‘टभरिस्ट’ (रुसी भाषामा कमरेड) भनी सम्बोधन गर्छन् ।
सडकमा देखिने अधिकांश सवारीसाधन या त ट्याक्सी हुन्छन् नभए सरकार वा कुनै सोभियत, मजदुर सङ्गठन, सहकारी, कारखाना, ठूला कम्पनी आदि कुनै सङ्गठनका हुन्छन् । व्यक्तिको नाममा कुनै निजी कार भएको कतै देखिएन ।
मस्कोमा अन्य देशका सहरहरूमा जस्तै ठूला पसल र भण्डारहरू पनि छन् । ठूला पसलहरू सबै राज्यले चलाएका हुन्छन् । स–साना पसलहरूमात्र व्यक्तिको हुन्छ । स–साना सामान हातमा बोकेर सडकमा बेच्दै गर्ने हकरहरू पनि छन् । पसलहरूमा सजाइएका सामानहरू सामान्य र सरल खालका छन् । कुनै उत्ताउला वा नक्कलझक्कल खालका छैनन् । ¥यु डे रिभोली वा बोन्ड सहरमा जस्ता नक्कली वा कमसल खालका सामान पसलमा देखिंदैन । सडक वा जतासुकै पनि मानिसहरू नक्कलझक्कलको कुनै पर्वाह नगरी कपास कोचिएको बाक्लो कोट लगाएका हुन्छन् । अधिकांश त्यस्ता कोटमा न कठालो हुन्छ न टाइ नै लगाएका हुन्छन् । धेरै महँगो सामान किन्न कसैसँग पैसा नै हुँदैन । तर, सामानको मूल्त्न्दा यस्ता कुरामा खर्च गर्नुलाई समयको बर्बादी र लुगामा पैसा फालेको अर्थमा लिइन्छ ।
सहरका केही ठूला चोकमा ध्वनि उत्सर्जक (लाउड स्पिकर) राखिएका हुन्छन् । ती यन्त्रले दैनिक समाचार भन्छन् । समय–समयमा गीत–सङ्गीतको कार्यक्रम तथा सम्भवतः राजनीति भाषण गर्न पनि प्रयोग हुन्छन् । राज्यका नियम मिच्ने र सन्देहमा बस्ने मानिसको चित्त बुझाउन त्यस्ता राजनीतिक भाषणका कार्यक्रम हुन्छन् । कम्युनिस्टहरू संसारलाई आफ्नो सिद्धान्तका कुरा भन्ने मौका कहिल्यै छोड्दैनन् ।
हामीले सरकारी प्रेक्षालय भवनको भ्रमण गरेका थियौँ । जारको समयमा बनाइएको यो भवन आकर्षक थियो । सात वटा सुनौला तल्लाहरू मिलाएर त्यो भवन बनेको थियो । जारको समयमा त्यो भवन धन र फेसनको सम्मिलन थियो । त्यहाँ हामीले देखेका दर्शक फरक खालका थिए । सामान्य लुगा लगाएका मानिसले त्यो प्रेक्षालय भरिएको थियो । कसैले कोट लगाएका थिएनन्, कोही भने बाहुला भएको कमिज लगाएका थिए । त्यहाँ कसैले धाक लगाएको देखिएन । कसैले विशेष अवसर भनेर अलगै लुगा लगाएका पनि थिएनन् । उनीहरू सबै आफ्नै गाउँघरका मानिसजस्तै देखिएका थिए । उनीहरूमध्ये कोही बुद्धिजीवी थिए, कोही मजदुर त कोही किसान । फूलजस्ता केटाकेटीका हात समातेर उनीहरू त्यहाँ ओइरिएका थिए । सांस्कृतिक कार्यक्रममा नाच, गान र गीति नाटक (ब्यालेट) प्रदर्शन गरिएको थियो । सबै प्रस्तुति एकसेएक थिए । दर्शकहरू सबैले मन पराए । त्यही भएर कतिपय प्रस्तुति दोहो¥याएर पनि देखाउन लगाइयो । दस वर्ष पनि नपुगेका एक जना सानो केटा र केटीको नाच ज्यादै सुन्दर थियो । तर, सबभन्दा आकर्षक प्रस्तुति भने जारकालीन समयका एक जना विख्यात कलाकारको थियो । उमेरले उनी ६० वर्ष पुगे पनि हेर्दा भर्खर ३० वर्षकी देखिन्थिन् । उनको नाच वास्तवमै चकित पार्ने खालको थियो । सारमा सौन्दर्य र कलाको कोणबाट हेर्दा त्यो सांस्कृतिक कार्यक्रमलाई पछार्र्न संसारको कुनै पनि देशलाई हम्मेहम्मे पर्छ ।
हामी चलचित्र हेर्न चित्रगृहमा पनि पुग्यौँ । चित्रगृहमा हामीले ‘द लास्ट डेज अफ पेट्रोग्राड’ (पेट्रोग्राडका अन्तिम दिन) नामको क्रान्तिकारी चलचित्र हे¥यौँ । रुसी चलचित्र सौन्दर्य र कलात्मक अब्बलको निम्ति प्रसिद्ध छन् । तर, दुःखको कुरा भारतका चलचित्रमा हामी त्यस्तो अब्बलता देख्न पाउँदैनौँ । हामी अमेरिकाको हलिउड चलचित्रका सुन्दर तर मूर्खतापूर्ण र बेतुका चलचित्रको नक्कल गर्छौँ । मस्कोमा हामीलाई देखाइएको चलचित्रमा जारकालीन समयको सुख र दुःखबीचको भिन्नता प्रदर्शन गरिएको थियो । अनि युद्धका भयानक दृश्यहरू देखाइएको थियो । जारको पतन, केरन्स्की सरकार र वोल्शेविक र केरेन्स्कीबीच सत्ताको लागि भएको सङ्घर्ष र लेनिनको विजयलाई चलचित्रमा सशक्तरूपमा प्रस्तुत गरिएको छ । त्यो ज्यादै सशक्त र प्रभावशाली चलचित्र हो । त्यसको प्रचारात्मक मूल्य बृहत् छ ।
हामी मस्कोको क्रान्ति सङ्ग्रहालयमा पनि पुग्यौँ । पुराना दिनमा ‘अङ्ग्रेज क्लव’ रहेको भवनमा त्यो सङ्ग्रहालय बनाइएको थियो । अङ्ग्रेज क्लवको अर्थ अङ्ग्रेज शैलीको क्लव हो, अङ्ग्रेजहरूमात्र जाने क्लव भने होइन । सङ्ग्रहालयमा धेरै रोचक कुरा हेरियो । तर, समग्रमा भने हामीलाई ज्यादै दुःख लाग्यो । हामी चित्र सङ्ग्रहालयमा पनि गयौँ । त्यहाँ विशेषतः हाम्रो रुचि एसियाली रुसी अर्थात् तर्किस्तान आदिको चित्रकला हेर्नमा चासो देखायौँ ।
जारकालीन दिनको भव्य भारदार हललाई अहिले मजदुर सङ्घको हलमा परिणत गरिएको थियो । ‘रुसका मित्रको सभा’ त्यही हलमा गरिएको थियो । मैले देखेका हलहरूमध्ये सबभन्दा सुन्दर र भव्य त्यही हो ।
क्रेमलिनका सरकारी भवन र अट्टालिकाहरूमा पनि हामीले भ्रमण ग¥यौँ । रुसी सङ्घका राष्ट्रपति कालिनिनसँगको छोटो भेटको लागि बाहेक हामी जारको पुरानो दरबार वा अन्य कुनै भवनभित्र पसेनौँ । त्यहाँ हामीले दुई–तीन वटा कोठामा पुगेका थियौँ । ती कुनै पनि भवनमा कुनै भव्यता वा सुविधाको चिह्न थिएन । क्रान्तिले रुसमा धेरै कुरा परिवर्तन ग¥यो । तर, क्रान्तिले परिवर्तन गर्न नसकेको एउटा कुरा हो–द्रोस्की । द्रोस्की भनेको एकप्रकारको साधारण यातायातको साधन हो । चार पाङ्ग्रा भएको यो बग्गीलाई एउटा घोडाले तान्ने गर्छ । यो निकै पुरानो शैलीको सवारी साधन किन अझै प्रयोगमा छ ? कसैलाई थाहा छैन । त्यसमा एकै जना मानिस अथवा पातलो भए दुई जनासम्म मात्र बस्ने ठाउँ हुन्छ । यो साधन घण्टामा बढीमा छ माइलको दुरी पूरा गर्छ ।
क्रान्तिले सडकमा माग्नेहरूलाई अझै हटाइसकेको छैन । हामीलाई माग्नेहरूले निकै सताए । कतिबेला त त्यस्ता माग्नेहरूमध्ये हातमा बच्चा बोकेका युवतीहरू पनि हुन्थे । कम्युनिस्टहरूले हामीलाई पहिलाको तुलनामा माग्नेहरूको सङ्ख्या अहिले निकै घटिसकेको बताए । युगौँ युगदेखि रहेको माग्ने चलन र मगन्तेहरूलाई एकैबाजी हटाउन गाह«ो हुन्छ ।
मस्को सबै ठाउँ घुम्न त्यहाँको हाम्रो बसाइ निकै छोटो अवधिको रह्यो । तर, छोटो अवधि पनि त्यो सुन्दर सहरप्रति आकर्षण अनुभव गर्न मनग्य भयो । हामी पश्चाताप बोध गरेर र सूर्यको किरणले सुनौलो बनेका त्यहाँका अट्टालिका, पूर्वदेखि पश्चिमबाट आएका अनौठा अनौठा मानिस नै मानिसले भरिएका सडक र चोकहरू फेरि कुनै दिन हेर्ने चाहना बोकेर मस्कोबाट फर्कियौँ ।

One response to “सोभियत रुस – केही टिपोट र प्रभाव– २”

  1. राम विन्दु श्रेष्ठ says:

    उत्कृष्ट अनुवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *