युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
(कोरियाली जनताका प्रिय नेता किम जङ इलको दसौँ स्मृति दिवसको अवसरमा बिहीबार कोरिया पुनः एकीकरण सहयोग समितिको आयोजनामा भएको स्मृतिमा सभामा व्यक्त मन्तव्य)
नेपाल मजदुर किसान पार्टी र कोरियाली मजदुर पार्टीबीच मित्रताको २७ औँ वर्ष पूरा हुँदै छ । ३१ जनवरी १९९३ अर्थात् विसं २०५० माघ २८ को दिन नेपाल मजदुर किसान पार्टी र कोरियाली मजदुर पार्टीबीच औपचारिकरूपमा सम्बन्ध स्थापित भएको हो । नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि दुई पार्टीबीच वैचारिक तथा सांस्कृतिक आदानप्रदान भइरहेको छ । दुई पार्टीबीचको सम्बन्धलाई विकास गर्न, समाजवाद र शान्तिको ध्येयसहितको सङ्घर्ष एवम् अन्तर्राष्ट्रिय साझा चासोहरूमा विचार आदानप्रदान गर्दै सम्बन्ध अगाडि बढ्दै छ । माक्र्सवाद, लेनिनवाद तथा प्योङयाङ घोषणापत्र दुई पार्टीबीच मित्रताको बलियो आधारशिला हो । कामदार वर्गको स्वतन्त्रता, हित तथा त्याग, समानता, सामाजिक प्रगति, प्रजातन्त्र र समाजवादी समाजको उद्देश्यका निम्ति कोरियाली मजदुर पार्टीको गतिविधिलाई नेमकिपाले उच्च मूल्याङ्कन गरी प्रकाशनहरूमार्फत नयाँ पुस्तालाई जानकार बनाउँदै छ । आजभन्दा ३० वर्षअघि झैँ आज पनि साम्राज्यवादी र प्रतिक्रियावादीहरूको क्रान्तिविरोधी हमला जारी छ । समाजवादको रक्षा गर्दै प्रजग कोरिया र कोरियाली मजदुर पार्टी विश्व कम्युनिस्ट आन्दोलनलाई ऊर्जा प्रदान गर्दै छ ।
नेमकिपा र कोरियाली मजदुर पार्टीले शान्ति, प्रजातन्त्र र समाजवादको पक्षमा, प्रभुत्व, थिचोमिचो, आक्रमण र युद्धका चालहरूको विरूद्धमा मित्रताको सम्बन्धलाई अगाडि बढाउँदै छ । एसियामा शान्ति र सुरक्षा बिथोल्ने साम्राज्यवादी धम्कीविरुद्ध सङ्घर्षरत छ । आजको यस कार्यक्रमले पनि त्यही मित्रता उजागर गर्छ । आज हामी कोरियाली जनताका प्रिय नेता किम जङ इललाई सम्झिरहेका छौँ । उहाँप्रति भावपूर्ण श्रद्धा अर्पण गर्दछु । उहाँको क्रान्तिकारी विचार तथा योगदान सदा अमर रहने हाम्रो विश्वास छ ।
साम्राज्यवादविरोधी योद्धा किम जङ इलबारे नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले भन्नुभएको यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । जापानी उनिवेशवादविरोधी स्वतन्त्रता सङ्घर्षको बन्दुक र तोपको गडगडाहटमा जन्मनुभएका र अमेरिकी आक्रमणविरोधी पितृभूमि मुक्तियुद्धमा बाल्यकाल बिताउनुभएका नेता किम जङ इल दुःख कष्ट र देशभक्तिपूर्ण र वीरतापूर्ण सङ्घर्षमा हुर्कनुभयो । मानिसका निम्ति मानिसमै भर परेर मानिसलाई केन्द्रबिन्दु मानेर अगाडि बढेको जुच्छे विचारधारामा आधारित कोरियाली शैलीको समाजवादको निर्माणलाई बुझ्दै र भाग लिँदै प्रौढता प्राप्त गर्ने कोरियाली क्रान्तिका उत्तराधिकारी किम जङ इल वास्तवमै कोरियाली राष्ट्रकै प्रतीक बन्नुभयो । (विदेशीको आँखामा कोरिया र किम जङ इल, फागुन २०५१, )
जुछे विचारधाराको एक नयाँ आधिकारिक व्याख्याता, पार्टी सङ्गठन र कोरियाली समाजवादका नयाँ सिद्धान्तकार किम जङ इललाई कोरियाली जनता सङ्घर्षको पेक्टु पर्वतले जन्माएका प्रिय नेताका रूपमा स्मरण गर्छन् । एकातिर समाजवाद पुरानो भइसक्यो भन्दै साम्राज्यवादीहरूले होहल्ला मच्चाउँदै हमला गरिरहँदा र अर्कोतिर प्रजग कोरियाली जनताले पितातुल्य नेता किम इल सङ गुमाएको त्यो शोकको घडीमा नेता किम जङ इलले प्रजग कोरियाको नेतृत्व गर्नुभयो । ‘वैज्ञानिक समाजवाद अजेय छ’, ‘समाजवाद विज्ञान हो’, ‘समाजवादलाई गाली गरेको हामी सहन्नौँ’ भन्ने विचारबाट विश्वमा ऊर्जा प्रवाह गर्नुभयो । (का. किम इल सङको वार्षिकी)
नेता किम जङ इल उच्च देशभक्त हुनुका साथै असल अन्तर्राष्ट्रवादी हुनुहुन्थ्यो । अध्यक्ष रोहित भन्नुहुन्छ, “भूतपूर्व सोभियत सङ्घ र पूर्वी युरोपेली देशहरूमा त्यहाँ अवसरवादी, सुधारवादी र विश्वासघाती नेतृत्वकै कारण ती देशहरूमा समाजवादको पतन भएको हो । नेता किमले एक समाजवादी व्यवस्थाका एक जिम्मेवार व्यक्तित्वको हैसियतबाट समाजवाद वैज्ञानिक सिद्धान्त हो भन्ने कुराको पक्ष लिनु भई संसारका सबै इमानदार, प्रगतिशील समाजवादप्रति विश्वास गर्ने जनतालाई प्रेरणा दिने काम गर्नुभयो । साथै ‘समाजवाद पतन भयो’ र ‘माक्र्सवाद पुरानो भयो’ भन्ने प्रतिक्रियावादी र साम्राज्यवादीहरूलाई मुखभरिको जवाफ दिनुभयो । यसर्थ, नेता किम जङ इल सङ्घर्षको परिस्थितिले जन्माएका नेता हुनुहन्थ्यो । विश्व समाजवादी आन्दोलनका एक रातो झन्डा र प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।” (विदेशीका आँखामा कोरिया र किम जङ इल)
उहाँले समाजवादको निर्माण गर्ने काममा प्राप्त ऐतिहासिक शिक्षा र हाम्रो पार्टीको सामान्य कार्यदिशा, “क्रान्ति तथा निर्माणको जुछे चरित्र तथा राष्ट्रिय चरित्र जोगाई राख्नेबारे”, “जुछे दर्शन क्रान्तिकारी मौलिक दर्शन हो भन्नेबारे” आदि रचनाहरू प्रदान गरी कोरियाली जनतालाई थप सैद्धान्तिक र वैचारिकरूपमा दिशानिर्देश गर्नुभयो । सोन्गुन नीतिका प्रणेता नेता किम जङ इलले नेता र युवा आन्दोलनबारे सशक्त विचार दिनुभएको छ । देशको स्वाधीनता र सार्वभौमिकता तथा क्रान्तिका लागि युवा र युवा आन्दोलनको आवश्यकता औँल्याउनुभयो । युवा क्रान्तिका उत्तराधिकारी हुन् । नयाँ पुस्ताका युवाहरूमा क्रान्तिकारी स्वभाव, पार्टी अनुशासन र वैचारिक स्पष्टता अनिवार्य सर्तको रूपमा व्याख्या गर्दै युवाहरूलाई सङ्गठित गर्नुभयो । (किम जङ इल : हाम्रो युवा आन्दोलनलाई नयाँ, अझ माथिल्लो चरणसम्म विकसित गरौँ)
प्रजग कोरियाली समाजवादको रक्षार्थ युवाहरूलाई विचारधारात्मक क्रान्ति, सांस्कृतिक क्रान्ति, प्राविधिक क्रान्तिका निम्ति तयार पार्न प्रिय नेता किम जङ इलले निकै मेहनत गर्नुभयो । वैदेशिक हस्तक्षेप र साम्राज्यवादविरूद्ध लडाकू भावनाको सदैव सञ्चार गर्नुभयो ।
नेता किम जङ इलले क्रान्तिका अग्रदूतहरूको सम्मान गर्नु क्रान्तिकारीहरूको उत्कृष्ट नैतिक कर्तव्य हो भन्ने सन्देश विश्वलाई दिनुभयो । क्रान्तिकारी पुर्खाहरूलाई सम्मान गरी तिनीहरूका उपलब्धिहरूलाई जोगाएर विकसित गरेमा क्रान्ति विजयपूर्वक अगाडि बढ्छ र क्रान्तिकारी पूर्वजहरूलाई विश्वासघात गरी तिनीहरूका उपलब्धिहरूलाई नकारेमा क्रान्ति परित्यक्त एवम् विफल हुन्छ भन्ने गम्भीर शिक्षा विश्व समाजवादी आन्दोलनले दिएको छ । आधुनिक संशोधनवादीहरू र समाजवादप्रति विश्वासघात गर्नेहरूले नेता र आफ्ना क्रान्तिकारी अग्रजहरूलाई बदनाम गरे । तिनीहरूका महान कार्यहरू मेटेर समाजवादलाई बङ्ग्याए र विध्वंस मच्चाए । ती अवसरवादीहरूले नै समाजवादविरुद्ध ‘सुधार र पुनःसंरचना’ को नीति अघि सारे । श्रमिक वर्गका नेताहरूमाथि हिलो छ्यापे । त्यस परिस्थितिमा नैतिक भ्रष्टता पुँजीवादको विशेषता हो भन्दै पुँजीवादको सैद्धान्तिक खण्डन गर्न नेता किमले कुनै कसर बाँकी छोड्नुभएन ।
नेता किम जङ इलका अनुसार क्रान्तिकारी सङ्गठनहरूमा बिताएको जीवन सामाजिक सामूहिक जीवनको उच्चत्तमरूप हो । क्रान्तिकारी सङ्गठनको जीवन कम्युनिस्ट गुणहरू हासिल गर्न विचारधारात्मकरूपले र नैतिकरूपले मानिसहरूलाई प्रशिक्षित गर्ने, शिक्षित पार्ने एउटा उत्कृष्ट पाठशाला हो । उहाँले नेता किम इल सङले निर्माण गर्नुभएको माङयोङदाए क्रान्तिकारी स्कूल जुछे वंशका मेरुदण्ड– उत्तराधिकारीहरूको प्रशिक्षण केन्द्र हो भन्ने सन्देश पनि दिनुभयो । त्यो स्कूल क्रान्तिका योद्धा र सहिदका छोराछोरीलाई वैचारिक र सैद्धान्तिक रूपले खारिएका क्रान्तिका उत्तराधिकारी तयार पार्ने पाठशालामात्र होइन, शिक्षालाई मातृभूमि प्रेम, क्रान्ति, वैज्ञानिक र प्राविधिक युद्ध, सैन्य विज्ञानसँग जोड्ने शिक्षालय पनि हो । वर्तमान चुनौतीको सामना गर्न पार्टी गतिविधिलाई अझ क्रान्तिकारी बनाऔँ भन्ने ऊर्जा समयसमयमा उहाँ दिनुहुन्थ्यो । प्रजग कोरियाविरूद्ध जुनै पनि बेला युद्धको घोषणा हुनसक्ने, दक्षिण कोरियालाई सैन्य अनुदान दिई प्रजग कोरियाविरूद्ध भाँड्ने चुनौतीविरूद्ध लड्न निरन्तर हौस्याउनुहुन्थ्यो । सेना देशको समाजवादी अर्थतन्त्र अझ बलियो बनाउनलाई प्राथमिकतामा राख्नुभयो ।[Let us effet – A revolutionary change in party work to meet the challenge of the present situation pyongyang, Korea 1989, Him Jongil]
साम्यवादी विचार त्यागेर सुखपूर्वक बाँच्नुभन्दा भोकभोकै मर्न रुचाउने प्रेरक र अनुकरणीय व्यक्तित्व रि इन मोहरूको देशमा आज पनि समाजवाद निर्माणको क्रान्ति जारी छ । वीर योद्धाहरूको योगदान र असल नेतृत्वकै कारण समाजवादको झन्डा उँचो फहरिएको छ ।
क्रान्तिको समयकालमा महिलाहरूको नेतृत्व र सहभागिताले अहम् भूमिका खेल्यो । जापानी उपनिवेशवादविरूद्धको सङ्घर्ष कोरियाली महिलाहरूको योगदानविना सम्भव थिएन । कामदार वर्गको उत्थानमा समर्पित महिला पुरुष काँधमा काँध मिलाई लडाईंको मैदानमा होमिएको इतिहास गौरवपूर्ण छ(Principles of life, Kim Il Sung)
नेता किम इल सङका ममतामयी आमाको त्याग, समर्पण, क्रान्तिकारी भावनाले उहाँलाई सङ्घर्षको मैदानमा ऊर्जाशील बनाइरह्यो । क्रान्तिमा योगदान गरेको कारण जापानी उपनिवेशवादी अर्थात् शत्रुले गरेको दुव्र्यवहार सामना आमाले गर्नुपर्यो । (किम इल सङ संस्मरण शताब्दीका साथ – १)
राष्ट्रमाता एवम् जापानी उपनिवेशवादविरोधी कोरिया मुक्तियुद्धमा योद्धा किम जङ सुकले पु¥याउनुभएको योगदान बेजोडको छ । क्रान्तिका लागि गुप्तीकार्य, अग्रमोर्चामा उभिने, सांस्कृतिक गतिविधिदेखि जनसेनाको हेरविचारसम्म निकै अनुशासित र इमानदारीपूर्वक गर्ने नेतृ हुनुहुन्थ्यो किम जङ सुक । उहाँ किम इल सङको सुरक्षाका लागि दत्तचित भई लाग्नुभयो । एकचोटि किम इल सङतर्फ अघि बढेको शत्रु सेनामाथि दनादन गोली हानी नेता किमको जीवनरक्षा गर्नुभएको घटनाले उहाँको बहादुरी उजिल्याउँछ । (विश्वका क्रान्तिकारी महिलाहरू)
कोरियाली स्वाधीनता सेनाकी विराङ्गना लि ग्वान रिन देशको मुक्तिका निम्ति निडर भई लडिन् । युद्धकालीन समयमा लोग्नेमान्छेको भेषमा पिस्तोल समाई पेशेवर सैनिक भई विदेशी शत्रुसँग उनले लडेकी थिइन् । (किम इल सङ संस्मरण शताब्दीका साथ– १) क्रान्ति अघि महिलाहरूको अत्यन्त दयनीय अवस्था थियो । क्रान्तिले महिलाहरूलाई मुक्त बनायो । क्रान्तिमा कोरियाली छोरीहरूको बलिदानीको कथा अत्यन्त मार्मिक र प्रेरक छ । नेता किम जङ इलले लेखन र निर्देशन गर्नुभएको अपेरा ‘फूल बेच्ने केटी’ र ‘पार्टीकी सच्चा छोरी’ मा कोरियाली छोरीहरूले भोगेको दुःखकष्टसँगै क्रान्तिका निम्ति गरेको वीरतापूर्ण योगदानको कथा छ ।
क्रान्तिकारी अपेरा ‘पार्टीकी सच्चा छोरी’ ले कोरिया युद्ध (१९५०–५३) कालीन सङ्घर्षको शब्ददृश्य प्रस्तुत गर्छ । देशका निम्ति अमेरिकी साम्राज्यवादविरूद्ध लडेका थुप्रै छोरीहरूको बलिदानीको कथा यसभित्र छ । देश, जनता तथा पार्टीलाई जीवनभन्दा बढी प्रेम गर्ने र पार्टी नेतालाई जीवन आदर्शको रूपमा सम्मान गर्ने कोरियाली छोरीहरूको योगदानले पनि क्रान्ति सफल भएको हो । पार्टी अनुशासन र इमानदारी सर्वोपरि ठानेर सङ्घर्ष, समर्पणको मार्गमा हिँड्न पटक्कै नहिच्किचाउने देशभक्त छोरीहरूको कथा हो – पार्टीकी सच्चा छोरी ।
अपेराको मुख्यपात्र कान यान आफ्नो जीवनको प्रत्येक क्षण पार्टी र नेताका निम्ति बाँचेका हरेक छोरीहरूका प्रतिनिधि पात्र हुन् । स्वास्थ्यकर्मी या नर्सको जिम्मेवारीमा कान यान युद्ध मैदानमा घाइते योद्धाहरूको सेवामा दिनरात लाग्छिन् । “साम्राज्यवादलाई घुँडा टेकाउँछौँ” भन्ने गीत गाउँदै अगाडि बढ्छ टोली । कान यानको दृढ निश्चयी स्वभाव, क्रान्तिप्रतिको समर्पणबाट योद्धाहरू पनि प्रभावित हुन्छन् । घाइतेको सेवामा दिनरात खट्ने उनले पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्छिन् । आफ्नो जीवनको उद्देश्य पार्टी सदस्य बन्नु र नेता किम इल सङसँग भेट्नु बताउने कान यानले युद्धमैदानको अस्पतालमा भएको हमलाको परवाह नगरी बिरामी सिपाहीको रक्षा गर्छिन् । छात्तीमा गोली थापेर योद्धाहरूको जीवनरक्षा गर्छिन् ।
यसरी कोरियाको मुक्ति पार्टीका थुप्रै सच्चा छोरीहरूको बलिदानीको उपज हो । पार्टी कार्यकर्ताको बलिदानीपूर्ण भावनाले नै समाजवादी क्रान्ति सफल बनेको सन्देश नेता किम जङ इलले अपेरामार्फत दिनुभएको छ ।
नेता किम जङ इललाई आज सम्झिरहँदा उहाँका कृतिको चर्चा, परिचर्चा तथा अध्ययनको थप आवश्यकता बोध गरिइँदै छ । उहाँको योगदानबारे छलफल गरी समाजवादी आन्दोलन तथा साम्राज्यवादविरोधी सङ्घर्ष थप उचाइमा पु¥याउनुपर्ने महसुस गरिइँदै छ । त्यतातर्फ हामी सबै अग्रसर हुन सकेको खण्डमा त्यो नै नेता किमप्रति सच्चा श्रद्धाञ्जली साबित हुनेछ ।
Leave a Reply