अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
१२१ किलोका माला लगाउने शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालले हरेक वर्ष १२१ भन्दा बढी महिला ‘पुरुष’ लाई जन्म दिनैपर्ने कारण जीवन र मृत्युको दोधारमा पुग्ने गरेको पत्तै पाउँदैनन् ।
समाजका कथित पुरोहित तथा धर्मगुरुहरूलाई यसरी महिलाको ज्यान जोखिममा परेको मतलबै हुँदैन । उनीहरू त ‘छोरा नभए पिण्ड दिने कोही नभएर पितृहरू नर्कमा पर्छन्’ भन्दै हिँड्छन् । पितृलाई छोरीहरूले पनि पिण्ड दिएर तार्न सक्छन् भनेर कहिले भन्दैनन् ।
त्यसैले अछाममा मात्र होइन काठमाडौँजस्तो ठाउँमा पनि छोरीमात्र भए वंश चल्दैन भन्दै छोरा जन्माउन बाध्य बनाउने गरेका घटना थुप्रै छन् ।
काठमाडौँका एक व्यापारीको बाह्र वर्षीय छोराको दुर्घटनामा मृत्यु भयो । उनको एक छोरा र एक छोरी थिए, छोराको मृत्युपश्चात् ती व्यापारीले ४५ वर्षीया श्रीमतीलाई ‘कि छोरा पाऊ, कि म अर्को विवाह गर्छु’ भनेर विकल्प दिएछन् । ती महिला अनेक औषधि गरेर गर्भवती भइन् । अझ भ्रुण छोरी भए गर्भपतन गराउनुपर्ने परिवारको योजना रहेछ । धन्न भ्रुण छोरा नै रहेछ तर गर्भवतीलाई बेस्सरी बान्ता हुने, उच्च रक्तचाप तथा जीउ सुनिनाले ८ महिनामै शल्यक्रिया गरेर बच्चा निकालेछन् । आमाको ज्यान खतरामा पारेर छोरा पाएकोमा ५० वर्षे बाबु दङ्ग परेका थिए । यस घटनाबाट परिवारकै २२ वर्षीया छोरी अपमानित भएको महसुस गरी अमेरिका गइन् । अहिले उनी बाबुसँग त्यति बोल्दिनन् ।
हजुरआमाको दबाबले पनि बाबाले छोरा पाउन आमालाई कर गरेकाले, हजुरआमाको पनि वास्ता गर्दिनन् । यदि उक्त परिवारमा छोरीको मृत्यु भएको भए, श्रीमान्ले श्रीमतीलाई उमेर ढल्किसकेपछि पनि ज्यानै खतरामा पार्दै छोरो जन्माउन बाध्य पार्थे होलान् र ? ती छोरी सायद नेपाल फर्किन्नन् अब । आमाको जिन्दगी खतरामा पारेर वंश चलाउन छोरा नै चाहिने बाबु र हजुरआमासँग उनको ठूलो गुनासो छ । बिचरा तिनले पनि के गरून्, ‘छोरो नभए मरे नर्क जान्छौँ’ भनेर पण्डितले भनेपछि, त्यसैको विश्वासमा परे होलान् ।
ती महिलाले पनि छोरा नभए जिन्दगी नै खतम हुन्छ भन्ने ठानिन् होला । काठमाडौँमै यस्तो छ, सुदूरपश्चिममा त के कुरा भयो र ? सायद पण्डितहरू नै श्रीमतीले छोरी पाए, जसरी पनि छोरा नै चाहिन्छ भन्छन् अझै पनि । जबसम्म सम्पूर्ण समाजले ‘छोरीलाई अंश र वंशको रक्षा गर्न सक्षम छिन्’ भन्दैन तबसम्म महिलाले छोराका लागि जीवन नै गुमाउने अवस्थाको अन्त्य हुँदैन ।
बबुरो आयुर्वेद, पारम्परिक ज्ञान र अनुसन्धान
विदेशी वैद्य नेपालमा आए उनीहरूलाई स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी, नेता, कर्मचारी, मन्त्रीहरू सबैले ढोग्छन्, सम्मान गर्छन् र ठूलो स्वरले ‘आयुर्वेद त नेपालको हो । हामी यसको धेरै प्रयोग गर्छौं भनेर गफ दिन्छन् । अर्कातिर सिंहदरबारको वैद्यखाना, कीर्तिपुर र जिल्लाका आयुर्वेदिक अस्पतालहरू बेवारिसे भएको बारे स्वास्थ्य मन्त्रालयले कतै बोल्दैन । विचरो आयुर्वेद विभाग ‘बबुरो बालक’ झैँ कुनामा बसेर झोक्राइरहन्छ ।
केही वर्षअघिको कुरा हो, गुरुपूर्णिमाको दिन कीर्तिपुरको ठूलो आयुर्वेद अस्पतालमा ‘आधुनिक चिकित्सा विज्ञान र जडीबुटीको महत्व’ बारे बोल्न आग्रह गर्दा मैले त्यहाँ कार्यरत वैद्यहरूलाई भनेकी थिएँ, “तपाईंहरू यस्तो ठूलो अस्पतालका विशेषज्ञ हुनुहुन्छ । तर, यो अस्पतालबारे कुनै प्रचार छैन । यहाँको सुविधाबारे जनस्तरमा कुनै जानकारी छैन । यहाँ बिरामी आउँदैनन् । यत्रो लगानीको सदुपयोग भएको छैन ।” त्यहाँका वैद्यहरूको दुखेसोे थियो, “ठूलो स्वरले बोल्न नसकेको हुनाले र स्वास्थ्य भनेपछि आधुनिक औषधिको मात्र छलफल हुने भएकाले हाम्रो ज्ञानको सदुपयोग भएन ।”
सायद वर्षको एक दिन धन्वन्तरी दिवसमा मात्र त्यसको सरसफाइ हुन्छ । कुनै पनि नयाँ स्वास्थ्यमन्त्री कुर्सीमा बस्नेबित्तिकै नेपालीको ‘स्वास्थ्य अवस्था सुधार्न’ वीर अस्पतालको भ्रमण गर्छन् । तर, कीर्तिपुर र नरदेवी भने ती कहिल्यै जाँदैनन् । अझ कतिपय त यी अस्पतालबारे सुन्दै नसुनी बिदा हुन पनि बेर छैन । तिनीहरू समाजमा रोग लाग्नै नपाओस् भन्ने ज्ञान दिन आयुर्वेदलाई बढावा दिन्छौँ, यसलाई हामी घरघरमा पु¥याउँछौँ पनि भन्दैनन् । आमसञ्चारमाध्यमबाट पनि जनस्वास्थ्यलाई बढावा दिन आयुर्वेदको महत्वबारे खासै कतै बोलिन्न, लेखिन्न ।
स्वास्थ्य मन्त्रालयका सचिव, सहसचिवसँग जनस्वास्थ र कुपोषणबारे कुरा गर्दा ‘बालबालिकाको कुपोषण हटाउँछौँ भन्छन्, तर प्याकेटका काम नलाग्ने वस्तु बाँड्नु बाँड्छन्” र कुपोषण हट्यो भन्ने भ्रमपूर्ण कुराहरू छर्दै हिँड्छन् । उनीहरू कहिल्यै पनि बालबालिकामा हुने कुपोषण हटाउन ‘हाम्रा परम्परागत ज्ञान र आयुर्वेद पद्धतिमा आधारित पोषिलो खाना, जस्तै– जाउलो, लिटो, हलुवा, मुगको खिचडी, उसिनेको आलु, अमला, टुसा उमारेको चना र केराउ अनेक वनस्पति आदिबारे चुँक्क पनि बोल्दैनन् ।
नेपालको सुदूरपश्चिम कर्णालीबाट अमूल्य जडीबुटीहरू विदेशी कम्पनीले बाहिर लगेर त्यसको आयुर्वेदिक क्याप्सुल बनाएर फेरि महँगोमा नेपालमै बेच्छन् । नेपालीले प्रयोग पनि गर्छन् । तर, नेपालमै भने त्यस्ता जडीबुटीको कुनै वास्ता छैन ।
यी सबै कुरा सायद धन्वन्तरी वैद्यले मलिन मुख लगाएर हेर्छन् र सोच्छन् होला ‘के भयो मेरो ज्ञान’ भनेर । ‘आयुर्वेद विभाग’ नाम मात्रको छ । आयुर्वेदका लागि स्रोत जुट्दैन । स्रोत जुटाउनुपर्छ भन्नेहरू पनि चुप लाग्छन् । यस्तो किन हुन्छ भने अहिलेको स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य भनेको आधुनिक औषधि र आधुनिक चिकित्सा विज्ञान मात्र हो । नेपालमा जनस्वास्थ्य सुधार्न आधुनिक अस्पताल, औषधि, डाक्टर र नर्स भए पुग्छ भन्ने गरिन्छ । तर, जनस्वास्थ्यका लागि रोग लाग्न नदिन आयुर्वेदको ज्ञान प्रयोग गर्न सकिन्छ भनेर कोही बोल्दैनन् ।
आयुर्वेदले मानिसलाई कसरी स्वस्थ रहने भनेर सिकाउँछ । यसले रोग लाग्नुअगावै रोकथाम गर्न प्रेरित गर्छ । तर, स्वयं आयुर्वेदिक डाक्टरले यो ज्ञान कतै पु¥याउँदैनन् । उदाहरणका लागि आधुनिक विज्ञानले कागतीमा रहेको भिटामिन सीमा रोगसँग लड्ने शक्ति छ भनेर सिद्ध गरेको छ । आयुर्वेदले सुत्केरीले ज्वानो खानुपर्छ भनेको छ । आधुनिक विज्ञानले यी दुवैमा क्याल्सियम र सूक्ष्म पोषक तत्व पनि पाइन्छ भनेर सिद्ध गरेको छ । यस्ता हजारौँ उदाहरण दिन सकिन्छ । जसबाट जनस्वास्थ्यमा आयुर्वेदको उच्च महत्व छ भनेर देखाउँछ । आयुर्वेद र आधुनिक चिकित्साशास्त्र दुवैले सँगै काम गरे जनस्वास्थ्य सुधारमा झन् ठूलो फड्को मार्न सकिन्छ भनेर नेताहरूलाई कसले बुझाउने होला ?
(लेखकको फेसबुक पेजबाट)
Leave a Reply