भर्खरै :

भारतीय जर्नलको हेलिकप्टर दुर्घटनामा षड्यन्त्र होला ?

कुनै उच्च ओहदामा बसेका व्यक्तिको दुर्घटनामा मृत्यु हुँदा स्वाभाविक दुर्घटना हो वा षड्यन्त्रबाट दुर्घटना भएको हो भन्नेबारे विवाद इतिहासदेखि हुँदै आएको छ । यसै कडीलाई जोड्ने अर्को दुर्घटना भएको छ, भारतीय चिफ अफ डिफेन्स स्टाफ (थल, जल र हवाई तीनै अङ्गको प्रमुख) विपिन रावतको ।
भारतीय सुरक्षाविज्ञ भनिने ब्रह्म चेलानीले विपिन रावतको दुर्घटना हुनेबित्तिकै केही ट्विट गर्दै लेखे, “चीनको ताइवानसँग तनाव बढ्दै गर्दा ताइवानको सेना प्रमुख सेन यि मिङ चढेको हेलिकप्टर सन् २०२० मा यसरी नै दुर्घटना भएको थियो जसमा सेना प्रमुखलगाउत ७ जना अन्य सेनाको मृत्यु भएको थियो ।” लेखेको यतिमात्रै थियो तर यसले घुमाउरो पारामा भारतीय जर्नलको हेलिकप्टर दुर्घटनामा पनि चीनको हात हुनसक्ने आरोप लगाए । यस्तो आरोपपछि चीनबाट प्रतिक्रिया आउनु स्वाभाविक थियो जसले पहिल्यै विवादास्पद हुँदै गएको घटनामाथि थप विवाद बढाउन आगोमा घ्यू थपेझैँ भयो । हुन त चीनको आधिकारिक स्रोत होइन । तर, चिनियाँ सरकारको मुखपत्र भनेर चिनिने पत्रिका ग्लोबल टाइम्सको आधिकारीक पेजमा ट्विट गरेको हुनाले यसलाई चिनियाँ सरकारको आधिकारिकजस्तै मानिने रहेछ । उक्त पत्रिकाअनुसार यो दुर्घटनामा अमेरिकाको हात हुनसक्ने अनुमान गरिएको छ । भारतको रुससँगको हतियार सम्झौता अमेरिकालाई मन परेको छैन । अहिले रुसले क्षेप्यास्त्रभेदी ‘एन्टी–मिसाइल एस–४००’ भारतमा ढुवानी गर्दै छ । दुर्घटना हुनु दुई दिनअघि रुसका राष्ट्रपति पुटिनको भ्रमणको अवसरमा विभिन्न प्रकारका हतियारसम्बन्धी सम्झौता भएको थियो ।
अमेरिकाले संसद्मा एउटा कानुन नै पास गरेको छ । जसमा अमेरिकाको शत्रु राष्ट्रसँग जो कोहीले व्यापार गर्छ भने ती राष्ट्रविरुद्ध नाकाबन्दी लगाउने उल्लेख छ । हुन त अहिलेसम्म अमेरिकाले भारतविरुद्ध नाकाबन्दीको कुरा उठाएको छैन तर रुससँगको हतियार कारोबार अमेरिकालाई मन नपरेको सर्वविदित्तै छ । अमेरिका सधैँ रुसी हतियार गुणस्तरीय छैन भन्ने देखाउन चाहन्छ । यसरी रुसमा बनेको आधुनिक भनेर दाबी गरिएको हेलिकप्टर दुर्घटना हुँदा अमेरिकाको मनसाय पूरा हुने देखिन्छ । अमेरिकाको हात हुनसक्ने अर्को तर्क थुप्रै भारतीय परमाणु वैज्ञानिकहरूको हत्या अमेरिकाको जासुसी संस्था सीआइएले गराएको इतिहास छ । भारतीय वैज्ञानिक होमी जहाँगीर भावालाई बेलायतको भ्रमणताका अमेरिकाको जासुसी संस्थाले हवाई दुर्घटना गराएको भन्ने धेरैको अनुमान थियो र पछि यसलाई अमेरिकी जासुसले पुष्टि गरेका थिए । अमेरिकाको जासुसी संस्थाले आफ्ना विरोधी देशका थुप्रै नेताहरूको हत्या गरेको इतिहास जिउँदै छ ।
भारतीय जनरल बिपिन रावत रुसप्रति अधिक झुकाव राख्थे भनिन्छ । उनी भारतको परम्परागत मित्र रुससँग भारतको दूरी बढ्दै गएर पाकिस्तान तथा चीनसंँग रूस नजिकिएकोमा भारतीय सत्तामा आसीन भएका अमेरिकापरस्त गुटसँग बिमति राख्थे । रुससँगको सम्बन्धलाई कायम रहिरहेमा रुसलाई भारत–चीन मामिलामा कमसेकम सन्तुलित राख्न मद्दत पुग्ने र पाकिस्तान र रुसबीच सम्बन्ध विकसित हुने अवसर नै नआउने उनको तर्क थियो । त्यसको लागि रुससँग खरीद गरिँदै आएको हतियारको परिमाण यथावत रहनुपर्ने उनको धारणा थियो । स्मरणीय कुरा भारतले विदेशबाट खरीद गर्ने हातहतियार मोदी सत्तामा आउनुभन्दा अघिसम्म रुसबाट खरीद गर्ने गर्दथ्यो । तर, मोदी शासनकालमा भारतले रुसमाथिको निर्भरतालाई घटाएर ५६ मा झारेको थियो ।
जनरल बिपिन रावत चीन र पाकिस्तानसँग एकैसाथ दुश्मनी मोल्ने कर्तुतका पक्षधर थिए । चीन र पाकिस्तानलाई इङ्गित गर्दै भारत ‘टु फ्रन्ट’ लडाइँको लागि तयार रहेको भन्ने जस्ता उक्साउपूर्ण बोली उनी बोल्थे । चीनसँगको सीमा विवादमा चीनविरुद्ध बोल्ने विपिन रावत नै हुन् । रावतले त खुलमखुला “भारतको पहिलो दुश्मन चीन हो” भने । विवादलाई साम्य पार्नुभन्दा विवाद चर्काउन उनी आगोमा घ्यू थप्ने काम गर्थे । भारतीय मिडियाहरू उसै त भए नभएको हल्ला फैलाएर जनतालाई भ्रममा पार्थे । यस्ता व्यक्तिको दुर्घटनामा हत्या हुँदा अहिले भारतीय मिडियाले चीनको हात हुनसक्ने भनेर आगोमा हावा हम्काइरहेको छ । यसैलाई जवाफ दिने हिसाबले चिनियाँ अखबार ग्लोबल टाइम्सले दुर्घटना हुनुको सम्भावित कारण भनेर लामै लेख प्रकाशित गरेको छ । ग्लोबल टाइम्सका अनुसार भारतीय सेनामा अनुशासनको कमी र मर्मत सम्भारमा बेवास्ता भएको छ । हुन पनि भारतको विवादास्पद सर्जिकल स्ट्राइकमा पाकिस्तानी सेनाको कब्जामा परेको भारतीय हवाई सेनाका आत्मसमर्पण गरेका पाइलट अभिनन्दनलाई उल्टै यही रावतले सम्मान गरेर पदक दिएका थिए । अभिनन्दनको विमानले पाकिस्तानी विमान खसालेको प्रचार गरेको थियो तर यो कुरा कतैबाट पुष्टि नहुँदा त्यसलाई विश्वसनीय बनाउन यो नाटक गरिएको भनिएको छ । तर, यसले भारतीय सेनामा नराम्रो सन्देश प्रवाह हुने देखिएको छ । त्यो के भने गल्ती गर्दा पनि सम्मान नै पाउने रहेछ भनेर ।
यही कुरालाई अनुशासनसँग जोडेर ग्लोबल टाइम्सले इङ्गित गर्न खोजेको हुनसक्छ । यहाँनिर एउटा पुरानो सन्दर्भ कोट्याउनु सान्दर्भिक हुन्छ । पाकिस्तामाथि सर्जिकल स्ट्राइक गरिएको भन्ने सन्दर्भमा बादल लागेको समयमा लडाकु विमान राडरमा पनि नआउने भएकोले यही समयमा हवाई आक्रमण गर्नु उपयुक्त हुन्छ भनेर सेनालाई सल्लाह दिने प्रधानमन्त्री मोदी भएको देशमा सेना कति अनुशासनमा रहे होला त्यो पनि अनुमानकै विषय हो । मर्मत सम्भारको सन्दर्भमा भारतीयहरूले रुसी विमानमा पनि अमेरिकाबाट ल्याएका र स्वदेशमै बनेको पार्टपुर्जाहरूको समिश्रण हुँदा यस्तो दुर्घटना भएको हुनसक्ने ग्लोबल टाइम्सले उल्लेख गरेको छ । संसारमा अहिलेसम्म कहीँ दुर्घटना नभएका थुप्रै सैनिक विमान भारतमा बारम्बार दुर्घटना भएका छन् । यसबाट के पनि अनुमान गर्न सकिन्छ भने पाइलटहरूको तालिममै केही कमी थियो कि ? त्यसैले यो दुर्घटना पनि यान्त्रिकभन्दा मानवीय त्रुटि नै हुनसक्ने सम्भावना रहेको छ ।
कारण जे भए पनि जिम्मेवार व्यक्तिहरूले यस्तो संवेदनशील समयमा हचुवाको भरमा घटनामाथि टीका टिप्पणी गर्नुबाट बच्नुपर्छ र अनुसन्धानबाट आउने निष्कर्षलाई पर्खनुपर्छ । हुन त अनुसन्धानको निष्कर्ष पनि निष्पक्ष नै हुन्छ भने निश्चित छैन ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)
Image: OK Janata Newsportal

Leave a Reply

Your email address will not be published. Required fields are marked *