भर्खरै :

बीपीको उदय र ‘नेपाल इन क्राइसिस’

‘नेपाल इन क्राइसिस’ पुस्तकमा डीआर रेग्मीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा बीपी कोइरालाको उदयबारे अहिले उति चर्चा नगरिने विषयमाथि चर्चा गरेका छन् । नेपाली काङ्ग्रेस स्थापनामा नेतृत्वदायी भूमिका खेल्ने नेताहरूमध्ये थिए–डीआर रेग्मी अर्थात् डिल्लीरमण रेग्मी । पुस्तकमा उनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई क्रान्तिकारी र नेपाली समाजमा दिगो रूपान्तरणका मुद्दालाई ओझेलमा पारेर सामान्य हेरफेरमा सीमित राख्ने र आफ्नो नियन्त्रणबाट बाहिर जान नदिन तत्कालीन भारतीय शासकहरूले योजनाबद्धरूपमा बीपी कोइराला नेतृत्वको काङ्ग्रेसलाई उकासेको दाबी गरेका छन् ।
बेलायतबाट भर्खर स्वतन्त्र भएको भारतका नेताहरूलाई त्यत्तिबेला आफ्नै आन्तरिक मामिलाको व्यवस्थापन गर्न हम्मेहम्मे थियो । त्यत्तिबेला उनीहरूलाई नेपालबारे धेरै चिन्ता र चासो लिइरहने समय पनि थिएन । तर, जब चिनियाँ जनमुक्ति सेना तिब्बत आइपुग्यो र तिब्बतलाई शान्तिपूर्ण ढङ्गले मुक्त ग¥यो, तब भारतीय नेताहरूको लागि नेपालको महत्व उजागर भयो । उत्तरमा बाढीजस्तै उर्लिएको ‘कम्युनिज्मको लहर’ कुनै पनि बेला भारत पस्न सक्ने खतराबाट जोगिन भारतीय नेताहरू नेपाललाई बफर क्षेत्रको रूपमा प्रयोग गर्न चाहन्थे । त्यसो गर्न उनीहरूलाई पश्चिमा शक्ति राष्ट्र र तत्कालीन सोभियत सङ्घसमेतको दबाब थियो ।
जीर्ण बनिसकेका राणा शासकहरूले उर्लिएको कम्युनिज्मको बाढी रोक्न सक्ने अवस्था थिएन । त्यसका दुई कारण थिएः पहिलो, राणाहरूको अप्रजातान्त्रिक व्यवस्थाप्रति नेपाली जनतामा असन्तोष बढ्दै थियो । चार जना सहिदहरूलाई ज्यान सजाय दिएर र टङ्कप्रसाद आचार्यजस्ता नेताहरूलाई कालकोठरीमा थुन्दा पनि प्रजातन्त्रप्रतिको चाहना नेपाली जनताबीच कम भएको थिएन । भारत बसेर प्रजातन्त्रको लागि लड्ने प्रजातान्त्रिक योद्धाहरूमात्र होइनन्, देशभित्र पनि गोपालप्रसाद रिमालको नेतृत्वमा दैनिक जागरण गीत गाउँदै राणाशासनको विरोध गर्ने क्रम सुरु भएको थियो । (दमनराज तुलाधरको संस्मरण) आपसी दुश्मनीले कमजोर बनेको राणाशासन देशभित्र र बाहिर प्रजातन्त्रप्रति जनताको बढ्दो चाहनाले क्रमशः कमजोर बन्दै गएको थियो । भारतमा सफल भएको स्वतन्त्रता आन्दोलनले पनि नेपाली जनताको मनमा त्यो चाहनाको न्यानो छरेको थियो ।
अर्को पक्ष, राणाशासनको परम्परागत संरचनाको कारणले पनि कम्युनिज्मको लहरलाई रोक्न सक्ने थिएन । ‘प्राइम मिनिस्टर’ को तजबिजमा चल्ने त्यो व्यवस्था न वैचारिकरूपमा बलियो थियो, न भौतिक वा प्राविधिकरूपमा ।
तिब्बत पुगेको कम्युनिज्मको लहर रोक्न राणाले नसक्ने भएपछि भारतीय नेताहरूलाई नेपालमा एउटा बलियो घोडाको आवश्यकता थियो । भर्खर आफै उपनिवेशवादबाट मुक्त भएको देशका नेताहरूले नेपालमाथि थिचोमिचो गर्नु नैतिकरूपमा उचित थिएन । उनीहरू अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो बद्नामी हुने भनी डराएका थिए । प्रजा परिषद्का नेताहरू जेलमै थिए । नयाँ घोडा बन्न सक्ने क्षमता बोकेको अर्को पार्टी नेपालमा थिएन । त्यसकारण, उनीहरूको स्वाभाविक छनौट भनेको भारतमै रहेका नेपाली जनताले गठन गरेको नेपाली काङ्ग्रेसलाई सिंहदरबारमा पु¥याउनु थियो । त्यो विशिष्ट अन्तर्राष्ट्रिय परिस्थितिमा २००७ सालको सङ्घर्ष भयो । भारतले चाहेजस्तै नेका दिल्ली र बनारसका गल्लीबाट सिंहदरबारको बैठकमा पुग्यो ।
‘नेपाल इन क्राइसिस’ मा डीआर रेग्मीको दाबीअनुसार नेपालको प्रजातान्त्रिक आन्दोलमा छलफलमा आएका नेपाली वस्तुस्थितिअनुसार परिवर्तनका मुद्दालाई ओझेल पार्न प्रजातान्त्रिक आन्दोलनमा तुलनात्मकरूपमा कम योगदान भएका बीपीलाई भारतीय नेताहरूले अघि ल्याएका थिए । बीपीको समूह प्रजातान्त्रिक आन्दोलनभित्रै अन्य समूहको तुलनामा वैचारिक रूपमा कम परिपक्व र नेपालमा प्रजातान्त्रिक सुधारबारे अस्पष्ट थियो । डीआर रेग्मी नेपालमा सामन्ती राणाशासनलाई बिदा गरेर प्रजातन्त्र स्थापनाको पक्षमा त थिए । उनी स्वयम् पनि त्यसको निम्ति लडेका थिए । तर, उनले नेपालको लागि परिकल्पना गरेको प्रजातन्त्र बीपीहरूले औँल्याएको प्रजातन्त्रभन्दा फरक खालको थियो । उनी नेपालमा पश्चिमा शैलीको प्रजातन्त्र अर्थात् भारतले स्वतन्त्र भएपछि लागु गरेको जस्तो प्रजातन्त्र स्थापना गर्ने पक्षमा थिएनन् । त्यस्तो प्रजातन्त्रले नेपाली जनताले चाहेको राजनीतिक र आर्थिक व्यवस्था स्थापना गर्न सम्भव नभएको उनको बुझाइ थियो । त्यसको निम्ति उनले सोभियत समाजवादबाट धेरै कुरा सिक्न सकिने मत राखेका थिए । नेपालको आर्थिक र सामाजिक विकासबारे रेग्मीले पुस्तकमा आज पनि प्रगतिशील लाग्ने कैयौँ विषय उठान भएका छन् ।

नयाँ घोडा बन्न सक्ने क्षमता बोकेको अर्को पार्टी नेपालमा थिएन । त्यसकारण, उनीहरूको स्वाभाविक छनौट भनेको भारतमै रहेका नेपाली जनताले गठन गरेको नेपाली काङ्ग्रेसलाई सिंहदरबारमा पु¥याउनु थियो । त्यो विशिष्ट अन्तर्राष्ट्रिय परिस्थितिमा २००७ सालको सङ्घर्ष भयो । भारतले चाहेजस्तै नेका दिल्ली र बनारसका गल्लीबाट सिंहदरबारको बैठकमा पुग्यो ।

उनले आफ्नो पुस्तकमा उठाएका कतिपय मुद्दा आजको नेपालको निम्ति प्रगतिशील खालका छन् । कतिपय ती मुद्दा आजको नेपालमा लागु गर्दा पनि नेपाली समाजको रूप अर्कै हुने थियो । ती मुद्दा त्यत्तिबेलाको नेपालमा लागु गर्नु नेपाली शासक वर्गको लागि त असह्य हुने नै थियो, आफूलाई प्रजातान्त्रिक र समाजवादी बताउने भारतीय नेताहरूको लागि समेत अपाच्य हुने थियो । नेपालमा ती प्रगतिशील मुद्दा लागु गर्नु भनेको नेपाल पनि क्रमशः सामाजिक र आर्थिक सुधार (राजनीतिक सुधारबारे उनी अलि फरक मत राख्छन्) को हिसाबले समाजवादी सोभियत सङ्घकै ढाँचामा जानु हुने र त्यसले भारतलाई पनि मस्त निद्रा सुत्न नदिने विषयमा भारतीय नेताहरू सचेत थिए । त्यसैकारण, डीआर रेग्मीहरू इतिहासको प्रवाहमा किनारा लगाइए र आफ्नो नियन्त्रणमा राख्न सकिने नेताहरूलाई जनताबीच लोकप्रिय बनाउन प्रयास गरियो ।
बीपी कोइराला भारतीय नेताहरूबीच जतिसुकै चिनिए पनि नेपाल, विशेषतः काठमाडौँका जनताले उनलाई चिनेका थिएनन् । काठमाडौँका जनताको निम्ति नेता भनेको फेरि पनि टङ्कप्रसाद आचार्य नै थिए । टङ्कप्रसादको रिहाइपछि काठमाडौँमा उर्लिएको मानवसागर त्यसको पुष्ट्याइँ थियो । तर, टङ्कप्रसादहरू राणाको कालकोठरीमा कैद रहेकै बेला बीपी काठमाडौँका जनताबीच काम गर्ने भनी आएका थिए । केही दिनमै उनी पक्राउ गरे । पक्राउ परेको केही दिनमै उनले विभिन्न माग राखी जेलभित्रै अनसन सुरु गरे । उनको अनसनलाई समर्थन गरेर प्रजा परिषद्का कैदीहरूले पनि कारागारभित्र अनसन थाले । आमरण अनसनको कारण प्रजा परिषद्का नेताहरू इन्तु न चिन्तु भइसकेका थिए । प्रजा परिषद्का अनसनकारीहरू त्यत्तिबेला तीनछक्क परे । बीपीले अनसन सुरु गरेको केही दिनमै आफ्ना माग फिर्ता गरेर अनसन छोडी बनारस गए । वीपीलाई आफ्नो समर्थनमा बसेको उनीहरूको अनसनबारे थाहा थियो । तथापि, उनी ती सत्याग्रहीलाई बेवास्ता गरेर आफूमात्र रिहा भई भारततिर लागेका थिए । टङ्कप्रसाद आचार्यसम्बन्धी जेम्स फिसरले लेखेको पुस्तक ‘ज्युँदा सहिद’ मा आचार्यले यो घटनाको सविस्तार चर्चा गर्दै बीपीको व्यक्तित्वबारे चर्चा गरेका छन् ।
बेलायतीहरू घर फर्के पछि हौसला गुमाएका शिथिल र कान्तिहीन राणाशासन ढालेर आफ्नो तखतको राज्य (भेसल स्टेट) बनाउने भारतीय शासक वर्गको योजना कार्यान्वयन गर्न उनीहरूको लागि बीपी समूह उपयुक्त निस्कियो । भारतीय शासक वर्गलाई तुलनात्मकरूपमा प्रगतिशील मुद्दा बोकेको डीआर रेग्मीलाई उकास्नु आफ्नै लागि अहितकारी हुने राम्ररी थाहा थियो । टङ्कप्रसाद आफै नेपालमाथि भारतको थिचोमिचोका विरोधी थिए । वीपीले भने कुनै सन्दर्भमा ‘भारत र नेपाल अलग देश नभएको’ अभिव्यक्ति नै दिएका थिए । उनको राजनीतिक हुर्काइ पनि मुख्यतः भारतमै भएको थियो । त्यसकारण, पनि बीपी भारतीय नेताहरूको छनौटमा परे ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेकाको भूमिकालाई अस्वीकार गर्न मिल्दैन । तर, इतिहासलाई फर्केर हेर्दा वा समीक्षा गर्दा साँच्चै डीआर रेग्मीले ‘नेपाल इन क्राइसिस’ पुस्तकमा उठाएका मुद्दा बीपीले पनि उठाएका भए के उनी त्यत्तिबेला जुन सङ्घर्षको नेतृत्वमा पुगेका थिए, त्यहाँ पुग्ने थिएनन् ? अथवा, उनले ती मुद्दा बोकेर सरकारमा गएपछि कार्यान्वयनको जग राखेका भए नेपाल आजको अवस्थाभन्दा माथि उकासिने थियो वा थिएन ? ती विषय उठाउन बीपीलाई के कुराले रोकेको थियो ? एसियाकै केही देशले डीआर रेग्मीले उठाएका ती प्रगतिशील मुद्दा कार्यान्वयन गर्न समाजवादी बीपीलाई केले छेकेको थियो ? अहिले त यी प्रश्न काल्पनिक खालका छन् । तर, इतिहासको समीक्षा गर्दा यी विषयमा पनि घोत्लिन पाए इतिहासका पात्रको सही मूल्याङ्कनमात्र हुने होइन, इतिहासको सही समीक्षा पनि हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *