भर्खरै :

हिन्दू राष्ट्र होस् या नहोस् भारत एक गुन्डाराजमा पक्कै परिणत भएको छ

हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले गुडगाउँ घटनाका सम्बन्धमा पत्रकारहरूसित भने, “यहाँ खुला स्थानमा नमाज पढ्ने प्रथालाई सहन गरिने छैन ।” भाजपा नेता एवं हरियाणाका मुख्यमन्त्री खट्टरसँग गुडगाउँमा केही दिनअगाडि शुक्रबार खुला स्थानमा नमाज पढ्न लागेका मुसलमानहरूमाथि दक्षिणपन्थी सङ्गठनहरूले ‘खुला स्थानमा नमाज बढ्न नदिने’ भन्दै आपत्ति जनाएर आतङ्क सिर्जना गरेका थिए ।
कुनै अर्को सभ्य समाज हुन्थ्यो भने त्यहाँका मुख्यमन्त्रीले यसो भन्थे, “यहाँ नमाजमाथि बाधा उत्पन्न गर्ने गुण्डागर्दीलाई सहन गरिने छैन । गुडगाउँमा पछिल्लो केही हप्तादेखि जुमाको नमाजको समय केही हिन्दू समूहहरूले जे गरिरहेका छन् त्यसलाई गुण्डागर्दीबाहेक अरू केही भन्न सकिँदैन । तिनीहरूले आपत्तिमात्र जनाइरहेका होइनन्, तिनीहरू नमाजको समयमा नमाजिहरूमाथि हमला गरिरहेका छन् । नमाजलाई बाधा दिनकै लागि ‘भजन–किर्तन’ गरिरहेका छन् ।”
त्यस कार्यलाई निश्चय पनि आपत्ति जनाएको मात्र भन्न सकिन्न तर हरियाणाका मुख्यमन्त्री ती हमलाकारीहरूसँगै बसेर सौहार्दपूर्ण समाधान निकाल्ने कुरा गरिरहेका छन् । यसबाट थाहा हुन्छ कि हिन्दू राष्ट्र होस् वा नहोस् भारत एक गुण्डाराजमा जरूर परिणत भएको स्थिति छ ।
पछिल्लो शुक्रबार एक पटक फेरि गुडगाउँमा नमाजको लागि तयार गरिएको ठाउँमा केही हिन्दूहरूले ट्रक, गाडीहरू ल्याएर बिसाइदिए, मुस्लिमहरूविरुद्ध नारा लगाउँदै जम्मा भए र भने कि त्यहाँ उनीहरू जनरल रावतको श्रद्धाञ्जली सभा गर्न गइरहेका छन् । तर, तिनीहरूले भनेअनुसार श्रद्धाञ्जली सभा पनि गरेनन् । यसभन्दा अगाडि हरियाणाकै रोहतकमा हिन्दूहरूको एक भिडले एक गिरिजाघर (चर्च) मा घुसेर त्यहाँ उपस्थितहरूमाथि हमलाको कोसिस गरेको थियो ।
द्वारिकामा त्यसभन्दा अगाडि इसाईहरूको उपासना स्थलमा हमला गरेको थियो । मध्य प्रदेशको विदिशामा एक मिसनरी सकूलमा पसेर ‘हिन्दूहरू’को भिडले पढिरहेका बच्चाहरूमाथि ढुङ्गाहरू प्रहार गरेका र स्कूलमा गुण्डागर्दी गरेका थिए ।
कर्नाटकमा ठाउँ – ठाउँमा इसार्ईहरूको प्रार्थना स्थल र गिरिजाघरहरूमाथि हमलाहरूको खबर सामान्य भएका छन् । छत्तिसगढमा पनि इसार्ईहरूमाथि हमलाका घटना निकै बढेका छन् । सडकमा हिँडिरहेका पादरीमाथि कुटपिटदेखि लिएर इसार्ईहरूका घरमा हुनेवाला भेलाहरूमाथि हमलाका घटना त सञ्चारमाध्यममा खबर नै बनिरहेका छैनन् ।
त्यो त युनाइटेड क्रिश्चियन फोरम या एडीएफजस्ता समूहहरूले आफ्ना वेबपेजहरू सप्रमाण त्यस्ता घटनाबारे पोस्ट गरेपछि मात्र हामीले थाहा पाएका हौँ । यस वर्ष अहिलेसम्म इसार्ईहरूको विरुद्ध करिब ३५० वटा हिंसात्मक घटना भएका छन् । तीमध्ये ४० प्रतिशत घटनाहरूमा मात्र पुलिस रिपोर्ट दर्ता हुन सकेका छन् । यसको अर्थ हुन्छ आधिकारिक तौरमा त्यस्ता हमलाका घटनालाई पनि अपराध मानिएका छैनन् ।
त्यसैगरी गुडगाउँमा हरेक शुक्रबार सामूहिक नमाज पढ्नका लागि जम्मा भएका नमाजिहरूमाथि गरिएका हमलालाई के गुडगाउँ पुलिसले अपराधको रूपमा दर्ता गरेको छ ? यदि गरिएका थिए भने तिनीहरूमाथि कानुनी कारबाही हुन्थ्यो । त्यहीँ ती हिंस्रक भिड पटक पटक फर्केर आई नमाजमाथि हमला गर्दैनथ्यो । यदि हरेक शुक्रबार त्यस्तो भइरहेको थियो भन्ने हो भने त्यसको अर्थ गुडगाउँ पुलिसकै दृष्टिमा हिंस्रक भिड ‘सम्मानित जनसमूह’ हुन्, जससित सम्झौता गर्नैैपर्ने अवस्था थियो । त्यो भिड भन्दै थियो कि हामी खुला स्थानमा नमाज हुन दिँदैनौँ ।
खबर यो पनि छ कि बैठकमा एक वरिष्ठ पुलिस अधिकारी खुसामदको स्वरमा तथाकथित हिन्दू समूहका नेताहरूलाई भन्दै थियो – बिस्तारै बिस्तारै नमाजको ठाउँ घटाउँदै लगिने छ । तपाईँ धैर्य राख्नुस् । पुलिसले जुन ठाउँमा नमाज पढ्नका लागि अनुमति दिएको हो त्यही ठाउँमा आरामसित ट्रक र अन्य गाडीहरू ल्याएर नमाजमा बाधा सिर्जना गरिन्छ भने यो मान्नुपर्ने नै हुन्छ कि पुलिस प्रशासनले नै त्यस्तो हुन दिइरहेको छ । पुलिसले यसो भन्न सक्दैन कि उनीहरू रोक्न चाहन्थे तर रोक्न सकिएन । अब हरियाणाका मुख्यमन्त्री स्वयम्ले भनिदिएका छन् जुन कुरा ती हिंस्रक समूहहरूले भनिरहेका थिए – खुला स्थानमा नमाज पढ्नुलाई सहन गर्न सकिन्न । यति भनेपछि हिंसाको स्रोत थाहा भएन र ?
हिंसा कतिवटा तरिकाले भइरहेको छ भनी त्यसको व्यहोरा पढ्दामात्र पनि लज्जा महसुस हुन्छ कि हामी यस्तो देशमा बसिरहेका छौँ । एक पादरीलाई कुटपिट गरेर उनका पत्नीमाथि जबरदस्ती सिन्दुर लगाइदिँदैमा के आनन्द मिल्छ ? यो कल्पना गर्न पनि कठिन छ । तर, हिंसाको एक विशेष उल्लास हुने रहेछ । यदि तपाईँ कसैमाथि हिंसा गर्न सक्नुहुन्छ, कसैको अपमान गर्न सक्नुहुन्छ र त्यसबाट तागतको जुन अनुभव हुन्छ त्यो कुनै नशाभन्दा कम हुँदैन । यही नशा भारतका हिन्दूहरूलाई बाँडिदै छ ।
कतिपयले आपत्ति जनाउन सक्छन् कि गुण्डाहरूलाई हिन्दू किन भनियो भनेर । कुरा ठीक पनि हो । तर, गुण्डागर्दी गरिरहेको अवस्थामा तिनीहरूले भनिरहेका हुन्छन् कि भारतमा हिन्दू प्रभुत्वका लागि तिनीहरूले यसो गरिरहेका छन् । जो गैर हिन्दू छन्, उनीहरूले ती गुण्डा समूहहरूको कुरा मानेर आफ्नो हदमा बस्नुपर्छ भनिरहेका छन् ।
केही धर्मनिरपेक्ष हिन्दूहरूलाई छोडिदिने हो भने व्यापक हिन्दू समाजमा यस विषयलाई लिएर वितृष्णाको चिह्न या त्यसको सूचना रहेको पाइँदैन । हिंसाप्रति तिनीहरूको अप्रत्यक्ष समर्थन रहेको पाउँछौं जुन कुरा उनीहरूको परिवारभित्र, घनिष्ठ मित्रहरूसितको आपसी संवादहरूमा चलाखीको रूपमा त कहीँ हिंसा र अश्लीलतासित जोडेर व्यक्त हुन्छन् । कतिपय हिन्दू धर्म गुरूहरूले यस्तो हिंसाको निन्दा गरेका हुनसक्छन् तर त्यसको खबर छैन । शङ्कराचार्य त शङ्कराचार्य नै ठहरे । बाँकी नव्य धर्मगुरूहरू स्वयम् घृणा प्रचारक देखिएका छन् ।
गुण्डाहरूको समर्थनका लागि तर्क खोज्ने गरिन्छ । जस्तो कि आखिर मुसलमानहरू खुला स्थानमा भिड जम्मा गरी नमाज नै किन पढ्ने गर्छन् ? तर यस्तो तर्क गर्नेहरू के भन्नुहुन्छ जब प्रशासनको आग्रहमा मुस्लिमहरूको नमाजका लागि एक गुुरुद्वाराको ढोका खोलिदिनासाथ ती हिंस्रक भिड त्यहाँ पुगेर शिखहरूमाथि दबाब दिनथाले कि नमाजको लागि उनीहरू आफ्नो ठाउँ नदेओऊन् ।
यसको अर्थ स्पष्ट छ । विषय खुल्ला स्थान उपयोग÷ दुरूपयोगको हुँदै होइन । हिंस्रक भिडको टाउको दुखाइ मुसलमानहरूको नमाजलाई लिएर हो या मुसलमानहरूदेखि नै हो । भारतमा मुसलमानहरूलाई मित्र किन मिलिरहेको छ भन्नेमा पनि उनीहरूको ठूलो गुनासो छ । यदि उनीहरूको गुनासो खुला स्थान दुरूपयोगलाई लिएरमात्र हो भने त्यही ठाउँमा हवन किर्तन आदि गरिँदा किन आपत्ति जनाउँदैनन् ? त्यतिबेला किन आफ्नो ट्रक र गाडीहरू ल्याएर त्यहाँ बाधा दिन लाग्दैनन् ? यो कसरी जायज हुनसक्छ ?
यसकारण, मुसलमानहरूविरुद्ध ती कदम चालिएका थिए कि मुसलमानहरू त्यस ठाउँमा आउन नै सम्भव नहोस् र त्यसपछि हामी पनि त्यस ठाउँबाट हटनेछौँ । खुला स्थानको प्रयोग कसरी गर्ने भन्ने कुराको निर्णय पनि के अब हिन्दू समूहहरूले गर्ने हो ?
मुसलमानहरू र इसार्ईहरूमाथिको हिंसाको लागि हामी तर्क खोजिरहेका छौँ । जसरी कुरानमा हिंसाको प्रचार छ त्यसरी नै प्रायः हिन्दू देवी देवताहरूले हतियार भिरेका हुन्छन् । उनीहरूले ‘असुर’ हरूको ठाउँ कब्जा गर्छन्, असुरहरूलाई जङ्गलहरूमा बेदखल गरिदिन्छन्, उनीहरूको हत्या गरिदिन्छन् । गीता होस् वा अन्य हिन्दू ग्रन्थ तिनमा हिंसा र मिथ्याचारको समर्थन गरिएका छन् । के त्यसै आधारमा के हिन्दूहरूको विरुद्धको हिंसालाई जायज ठहर गर्न सकिएला ?
यो मूर्खता हो कि बदमासी ? हामीलाई थाहा छ सारा धार्मिक ग्रन्थहरू जटिल हुन्छन् र तिनको व्याख्या अनेक प्रकारले गर्न सकिन्छ । कतिपय मानिसहरू कुरान या गीताको प्रयोग आफ्नो हिंसालाई उचित ठहर गर्नका लागि गर्ने कोसिस गर्छन् । जस्तो कि एक अल्पसङ्ख्यकविरोधी सङ्गठनको मुखपत्रको नाम नै कृष्णको महाशङ्ख पाञ्चजन्यको नाममा राखिएको छ । त्यस महाशङ्खको घोष कसको विरुद्ध युद्धका लागि हो ? यो नाम नै किन ?
तब के हामी हिन्दूहरूलाई भनौं कि पहिले उनीहरूले गीता या त्यस रामकथाको सम्पादन गर जसमा शुद्रको नाममा शंबुकको हत्या रामले गर्छ । त्यसैले हिंस्रक भिडले आफ्नो बचाउमा कृष्ण या रामको नाम लिने गर्छन्, होइन भने उनीहरूमाथि पनि हमला गरिनेछन् । किनभने, उनीहरू हिंसाको समर्थक ग्रन्थहरूका अनुयायी हुन् । हिन्दूहरूका बारेमा यी सबै कुरा गर्नु हिन्दूहरूका लागि कुतर्क लाग्नसक्छ तर कुरानको बारेमा यस्तै कुरा गर्नु भने उनीहरूलाई अमिल्दो लाग्दैन ।
फेरि हामी तर्क बदल्छौँ र भन्न लाग्छौँ कि मुसलमानहरू रूढीवादी हुन्छन्, स्त्रीविरोधी हुन्छन्, अशिक्षित हुन्छन् आदि । मानौँ यस्तै हो भने पनि त्यसबाट उनीहरूको विरुद्धमा हिंसाको अधिकार बढी –प्रगतिशील– हिन्दूहरूलाई मिल्ने हुन्छ । के मुसलमानहरूलाई सुधार्न उनीहरूमाथि हिंसा भइरहेको हो ? के मुसलमान महिलाहरूको हक हासिल गर्नका लागि मुसलमान पुरुषहरूमाथि हमला गरिएका हुन् ? जब जब मुसलमानहरूमाथि हिंसाको कुरा उठ्छ, हामी किन यी सारा तर्क खोजेर निकालेर ल्याउने गर्छौं ? के हामी यसमाथि गम्भीर विचार गर्न तयार छौँ ?
तथ्याङ्कहरूबाट साबित हुन्छ कि इसार्र्ई मतमा धर्मान्तरणको षडयन्त्र या अभियान चलिरहेको छैन । भारतको जनसङ्ख्यामा इसार्र्ईहरूको सङ्ख्या वर्षौंदेखि लगभग स्थिर रहेको छ । त्यस्तै मुसलमान बच्चाहरूको जन्मदर पनि घट्दै गइरहेको छ । तर, हामी तथ्याङ्कहरूमाथि विश्वास गर्न नै चाहँदैनौँ ।
फेरि हामी उनीहरूको चंगाई सभाहरूमा प्रभुको चमत्कार असफल भएको प्रसङ्ग निकालेर भन्छौँ –उनीहरूलाई ठीक पार्न जरूरी छ । त्यसो त अधिकांश हिन्दू बाबाहरूको सत्सङ्गमा जुन अनर्गल प्रलाप हुन्छन्, त्यसको निम्ति के हामी हिन्दू अनुयायीहरूमाथिको हमलालाई जायज ठह¥याउन सक्छौं ? हामी भलै हमलाहरूमा स्वयम् नै संलग्न नभएका हौंला तर हामी स्वयम्लाई विश्वास दिलाउन चाहन्छौं कि यी हमलाहरूको पछाडि कुनै न कुनै वैध कारण छन् । हामी त्यसलाई खोजेर ल्याउने गर्छौं खोजेर पनि मिलेन भने उपयुक्त कारण सिर्जना गर्ने गर्छौँ । त्यसपछि हिंसाको एक साझा जमिन तयार हुन्छ । त्यसमाथि हिंसा गर्नेहरू र त्यसको कारण खोज्नेहरू एकसाथ उभिन्छौँ । तब के जो त्यस हिंसामा सक्रिय सहभागी नभएकाहरू पनि त्यसको दोषबाट मुक्त हुन सक्छौं ?
साम्प्रदायिक हिंसा सङ्गठित गरिने हुन्छ, त्यसको आयोजना नै गरिन्छ । प्रायः हरेक हिंसा स्थानीय हिंसा लाग्ने गर्छ तर त्यसको प्रेरणा स्रोत एक सत्ता हुन्छ । त्यहाँबाट इशारा गरिने हुन्छ । जस्तो कि कर्नाटकमा हालै जुन इसाईविरोधी जुन हिंसाको उभार आयो, त्यसमा हिन्दू जनताले आफ्नो धारणाको कारण इसाईहरूलाई खोजी खोजी उनीहरूमाथि हमला गर्न थालिएको थियो । जब कर्नाटकको भाजपा सरकारले धर्मान्तरणविरोधी कानुन, चर्च सर्वेक्षण आदिको चर्चा सुरु ग¥यो इसार्र्ईहरूमाथिको हमलामा वृद्धि भयो ।
जगजाहेर छ, कर्नाटक सरकारको उक्त घोषणा र सडकमा भएको हिंसाबीच सम्बन्ध छ । यही कुरा मुसलमानहरूविरुद्धको हिंसामा पनि भन्न सकिन्छ । मुसलमानहरूलाई लिएर हिन्दूहरूको मनमा कैयौँ पूर्वाग्रह छन् र यो कैयौं जमानादेखि थियो तर २०१४ पछि उनीहरूमाथि हमला र उनीहरूको विरोधमा घृणा प्रचारको जुन बाढी आयो, त्यो पहिले किन थिएन ? किनभने त्यही वर्षदेखि एक सक्रिय मुसलमानविरोधी राजनीतिक दल (भाजपा– अनु.) पूर्ण बहुमतका साथ सत्तामा आएको थियो ।
जब सत्ताको शीर्षमा मुसलमानविरोधी हिंसाको प्रचार गर्ने मानिसहरू पुगे उनीहरूको हात हातमा हिंसालाई काबुमा राख्ने संस्थान र संयन्त्रहरू परे तब मुसलमानविरोधी पूर्वाग्रहहरूको प्रयोग गरी उनीहरूको विरुद्ध हिंसा भड्काउन सजिलो भयो । तब विश्वास भयो कि ती साम्प्रदायिक हिंसालाई रोक्ने छैन । जसले ती हिंसालाई रोक्ने कोसिस गर्छ उसको स्थिति के हुन्छ ? उत्तर प्रदेशका प्रहरी अधिकारी सुबोधकुमार सिंहको हत्याले त्यसलाई दर्शाउँछ । जसले त्यस्ता घृणाको प्रचारलाई रोक्ने प्रयास गर्छ उसले के व्यहोर्नुपर्छ यो कुरा केन्द्रीय सरकारका अधिकारी आशीष जोशीको निलम्बनले पनि थाहा हुन्छ ।
पिछल्लो सात वर्षमा भारतमा बारम्बार मुसलमानहरूमाथि र इसार्र्ईहरूको विरुद्ध हिंसाको इसारा गरिए र तिनका लागि सत्ताको सर्वोच्च तहबाटै तर्क दिइयो । जब तपाई जनसङ्ख्या नियन्त्रणको नाममा, आफ्ना छोरीहरूको अर्को धर्मका सित विवाह रोक्ने नाममा, मुसलमान महिलाहरूलाई तिनीहरूका पुरुषहरूबाट बचाउने नाममा कानुन बनाउनुहुन्छ भने तपाइँ उनीहरूको विरुद्ध साम्प्रदायिक हिंसाको लागि जमिन तयार गर्नुहुन्छ । सात वर्षमा भारतका हरेक राज्यमा गाउँ बस्तीहरूमा अचानक कसरी हिंस्रक सङ्गठनहरू देखा परे ? किन हरेकजसो ठाउँमा मुसलमानहरू र इसार्र्ईहरूमाथि हमाला हुन थाले ? के सत्ताधारी राजनीति र यी हिंसाका बीच सीधा सम्बन्ध छैनन् ?
सारा राजकीय संस्थान, तन्त्रहरू यहाँसम्म कि सेनाको एउटा ठूलै भाग पनि यस हिंस्रक विचारधाराको समर्थनमा पटक – पटक उभिएको देखिरहेका छौं । पहिलेदेखि मुसलमान र इसार्र्ईविरोधी हिंसाको विचारधारा भएको राष्ट्रिय स्वयम्सेवक सङ्घको विशाल तन्त्र र यो राजकीय सत्ताको घातक मेलले यस हिंसालाई ऊर्जा दिएको हो । जबसम्म सत्ताबाट यस विचारधारालाई बेदखल गरिंदैन, यसखाले हिंसामा कमी आउने सम्भावना छैन । यसकारण, हामी यो नभनौं कि मानिसहरूको मनबाटै पहिले हिंसा निकाल्नुपर्छ । त्यो असम्भव छ ।
त्यस हिंसाको भावनालाई व्यक्त गरेपछि दण्डित हुने भएमा त्यस्तो हिंसाको भावना मनमै राख्नेछ, बाहिर ल्याउने र प्रयोग गर्नेछैन । मनबाट हिंसाको भाव सडकमा आएपछि नै त्यसको मोल चुकाउनुपर्ने हुन्छ भनी सबैलाई लाग्न दिनुपर्छ । यही तरिकाबाट हिंसा रोक्ने प्रयास गर्नु नै अहिलेको आवश्यकता हो । म आफूविरुद्ध तपार्इँको मनमा भएको पूर्वाग्रहलाई निकाल्न सक्दिनँ तर त्यसको बहानामा आफूमाथि हिंसाको अधिकार भने तपाइँलाई दिन सक्दिनँ । यसको लागि मेरो साथमा राज्य हुन जरूरी छ । त्यो राज्य अहिले भारतका मुसलमानहरू र इसार्र्ईहरूको विरुद्धमा छ ।
(लेखक दिल्ली विश्वविद्यालयमा पढाउँछन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *