युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
सप्तरी, २९ मंसिर । मल नपाएको भन्दै विरोधमा उत्रिएको किसानको गुनासो सम्बोधन गर्न माग गर्दै नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, जिल्ला सहकारी सङ्घको कार्यालय निरीक्षण, अनुगमन र किसानसँगको छलफलपछि समूहले बुधबार ज्ञापनपत्र बुझाएको अध्यक्ष रघुवर साहले बताउनुभयो ।
गहुँ बालीको रोपाइँको समय सकिन लाग्दासमेत मलको चरम अभावका कारण खेत बाँझै रहने स्थिति देखिएकोले आपूर्ति बढाउन र बिक्री वितरण प्रणाली पारदर्शी, व्यवस्थित र सहज बनाउन समूहले माग गरेको छ । सरोकारवाला कार्यालय र डिलर रहेका सहकारी संस्थाको वितरण प्रणाली अनुगमन गर्न र कालाबजारी गर्नेलाई कारबाही गर्न समूहले माग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मागभन्दा निकै कम मल आपूर्ति भएकाले अभाव सिर्जना भएको बताउनुभयो । सप्तरीको लागि चाहिनेभन्दा एकचौथाइ मलमात्र प्राप्त भएकोले थप मल ल्याउन पहल गरेको उहाँले बताउनुभयो । निगरानी समूहले मलको आपूर्ति बढाउन, बिक्रीवितरण पारदर्शी गर्न, वितरण प्रणालीको तथ्याङ्क व्यवस्थित राख्न, डिलर, सहकारीको अनुगमन गर्न र समस्या समाधानको हरसम्भव उपाय खोज्न माग गरेको छ ।
साह नेतृत्वको टोलीले कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादव, कृषि सामग्रीका निमित्त प्रमुख सोनेलाल मुर्मु, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेसँगसमेत भेट गरी प्राप्त मल वास्तविक किसानसम्म पु¥याउन आग्रह गरेको छ । कृषि सामग्रीका प्रमुख मुर्मुले सप्तरीलाई तीन हजार मेट्रिक टन डीएपी मलको आवश्यक रहेकोमा ७८३.५ मेट्रिकटनमात्र प्राप्त भएको जानकारी दिनुभयो । जसमध्ये ७६०.९ मेट्रिक टन सहकारी संस्थामार्फत बिक्री–वितरण भइसकेको उहाँले बताउनुभयो ।
जिल्ला आपूर्ति समितिको बुधबारको बैठकले सूचिकृत सहकारी÷डिलरलाई छुट्याएर बाँकी मौज्दात रहेको ८०० बोरा मल राजविराजस्थित चार वटा सहकारीमार्फत प्रतिकिसान २५ किलोका दरले वितरण गर्ने निर्णय भएको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो । सप्तरीका प्रहरी उपरीक्षक काफ्लेले मल गोदाममा राखी किसानलाई नदिने, कालोबजारी गर्ने, महँगोमा बिक्री गर्नेबारे सूचना दिन आग्रह गर्दै त्यस्तालाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।
समूहको टोलीमा इन्सेक सदस्य वैद्यनाथ झा, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, समूहका कोषाध्यक्ष पुनम पोखरेल, सदस्य राधा अर्याल, सीतादवी यादव, पुनिता कर्ण र सहजकर्ता दीपक यादव रहनुभएको थियो ।
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा काम गर्दै आएको समूहले किसानसँग छुट्टै अन्तक्र्रिया गरेर मलको अवस्थाबारे जानकारी लिएको छ । विभिन्न स्थानीय तहबाट मल खोज्दै सदरमुकाम आएका किसान मल नपाएर चिन्तित र आक्रोशित भएको तिलाठी कोइलाडी गाउँपालिका–१ का एकनाथ यादवले बताउनुभयो ।
छलफलमा किसानले गहुँ रोपाइँको समय सकिन लाग्दासमेत मल पाएका छैनन् । अधिकांश किसानले गाउँका डिलरले पहुँच हुनेलाई मात्र मल दिने गरेको गुनासो गरेका छन् । एक बोरा डीएपी मलका लागि दिनभरि धाउँदासमेत खाली हात फर्किनुपरेको भन्दै विष्णुपुर गाउँपालिका–७ का तेजनारायण साहले डिलरले मल लुकाएर महँगोमा बेच्ने गरेको गुनासो गर्नुभयो ।
मल नपाएर आक्रोशित बनेका किसानले आज तेतरीगाछी, जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शनसमेत गरेका छन् । मलको प्रतिक्षामा दिनभरी उभिँदासमेत मल नपाएपछि आक्रोशित किसानले राजविराजमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । रासस
Leave a Reply