भर्खरै :

देशको स्वास्थ्य स्थिति र नर्सिङ्ग कलेज

कोरोना महामारी सुरु भएको दुई वर्ष पूरा भयो । कोरोनालाई अझै पूर्णरूपमा नियन्त्रण गर्नसकेको छैन । पनि, नेपालमा विस्तारै व्यापार व्यवसाय तथा स्कूल–कलेजहरू खोल्न थालिसकेका छन् । विस्तारै मानिसहरू पुरानै दिनचर्यामा अभ्यस्त हुन थालेका छन् । यतिकैमा अर्को ओमिक्रोन नामको नयाँ भेरियन्ट देखापरेको समाचार आगोसरि फैलिन थालेको छ । विभिन्न देशहरूले हवाई यातायातमा प्रतिबन्ध लगाउन थाले । यसैबेला जुन देशमा नयाँ भेरियन्ट देखिएको हो त्यो देश भ्रमण गरिफर्केका नेपाल सरकारका कर्मचारीहरू विमान स्थलबाटै ताप कसेको खबर बाहिर आएको छ । देशकै जिम्मेवार कर्मचारीहरूबाट यस्तो गैरजिम्मेवार कार्य हुनुलाई हामीले कसरी लिने ?
कोरोना कालमै हामीले विश्वकै मै हुँ भन्ने विकसित देशहरूको स्वास्थ्य स्थितिबारे थाहा पायौँ । ती देशका शासकहरूले चीनले लकडाउनलाई लिएर व्यक्तिगत स्वतन्त्रताको हनन गरेको भनी खिल्ली उडाए । तर, आज त्यही चीनमा कोरोनाको धेरै हदसम्म नियन्त्रण भयो । सङ्क्रमण देखिनासाथ चीनले त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राज्य संयन्त्र परिचालन गरिहाल्छ । यसले हामीलाई समाजवादी व्यवस्था र पुँजीवादी व्यवस्थाको फरक बुझ्न धेरै सहयोग मिलेको छ । यसबाट समाजवादी व्यवस्थामा राज्य संयन्त्र कसरी परिचालन हुँदोरहेछ भन्ने राम्रोसँग बुझ्न हामीलाई सहयोग मिलेको छ । स्वास्थ्य क्षेत्रमा क्युवालाई विश्वकै नमुनाको रूपमा लिन सकिन्छ । यो कुरा WHO ले पनि स्वीकारै हो । यसका लागि पर्याप्त डाक्टरहरूको उत्पादन हुनुपर्यो । त्यतिकै मेडिकल कलेजहरू खोल्नुपर्यो । जनसङ्ख्याको अनुपातमा विश्व स्वास्थ्य सङ्गठनले एउटा मापदण्ड तय गरिराखेको छ । जसअनुसार प्रतिहजार जनसङ्ख्यालाई एक डाक्टरको अनुपात रहेको छ । एक डाक्टरका लागि तीन जना नर्स हुनुपर्ने अनुपात निर्धारण गरिएको छ । सबै किसिमको स्वास्थ्य जनशक्ति प्रतिहजार जनसङ्ख्याका लागि ४.४५ अनुपात हुनुपर्ने लक्ष्य लिइएको छ । स्वास्थ्य सेवामा क्युवा विश्वकै सबभन्दा राम्रो देश मानिन्छ ।
क्युवाको स्वास्थ्य स्थिति
भूगोल र जनसङ्ख्याको हिसाबले क्युवा नेपालभन्दा धेरै सानो छ । क्युवाको क्षेत्रफल १,१०,८६० वर्ग किलोमिटर छ । त्यहाँको जनसङ्ख्या जम्मा १,१३,२६,६१६ रहेको छ । क्युवाले धेरै प्राथमिक उपचार गर्ने स्वास्थ्यकर्मीहरू उत्पादन गर्छ । क्युवामा अमेरिकाले विगत ६०–६५ वर्षदेखि आर्थिक र कूटनैतिक नाकाबन्दी लगाइराखेको छ । संयुक्त राष्ट्र सङ्घले पटकपटक नाकाबन्दी हटाउन प्रस्ताव पास गरिसक्दा पनि अमेरिकाले नाकाबन्दी हटाएन । यसले क्युवाको आर्थिक विकासमा ठूलो असर पारेको छ । क्युवालाई कहिलेकाहीँ चिकित्सकीय औषधिको ठूलो अभाव झेल्नु परेको हुन्थ्यो । यति हुँदाहुँदै पनि क्युवाले चिकित्सा शिक्षा क्युवामा निःशुल्क गरेको छ । त्यहाँ प्रति १३७ जनसङ्ख्यालाई एक जना डाक्टर, प्रति १२२ जनसङ्ख्यालाई एक जना नर्स र प्रति ८०४ जनसङ्ख्यालाई एक जना Stomatplogist उपलब्ध छ । त्यहाँ ४५१ पोलिक्लिनिक, ११,५५० स्वास्थ्य अफिस, ५०७ Stomatplogical services, क, ३६७१८ बेडसहितको १५२ अस्पताल, १४२ maternal homes, @## grandparents house,, ९,३९९ बेडसहित १४४ नर्सिङ होम र १३ Research Institutes हरूको व्यवस्था गरिएको छ । मेडिकल क्षेत्रमा विशेषज्ञता हासिल गर्न चाहने डाक्टरहरूले त्यहाँ पहिले दुई वर्ष प्राथमिक उपचारमा काम गरेकै हुनुपर्छ । यही विशेष व्यवस्थाले चिकित्सा र चिकित्सा शिक्षाको मानव स्रोत साधनको कमीलाई पूर्ति गरेको छ । यसैले क्युवामा बिरामी र डाक्टरको अनुपात १५५ः१ छ, जुन अमेरिकामै ३९६ः१ रहेको छ । क्युवामा १४१ विभिन्न देशहरूबाट ३५,७८७ विदेशी विद्यार्थीहरू शिक्षित भइसकेका छन् । यो वर्षमात्र १०,००० मेडिकल प्रोफेसनलहरू बहानाबाट शिक्षित भयो जसमध्ये १,५३५ जना त विदेशी विद्यार्थीहरू रहेका छन् । १३,००० भन्दा बढी मेडिकल शिक्षण संस्थानहरूमा देशभरिको राष्ट्रिय स्वास्थ्य क्षेत्रमा काम गर्ने ४,८५,००० स्वास्थ्य कामदारहरूमध्येमा २,३४,००० मेडिकल प्रोफेसनलहरू काम गर्दारहेछन् ।
नेपालको स्वास्थ्य स्थिति
नेपालको जनसङ्ख्या २,९८,७६,०९० र क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर रहेको छ । जनसङ्ख्या र क्षेत्रफलको हिसाबले क्युवाभन्दा नेपाल ठूलो छ । तर, हाम्रो देश यो स्वास्थ्य सेवाको मामिलामा धेरै पछाडि छ । लोकतान्त्रिक गणतन्त्रसम्म पुग्दाको अवस्थामा पनि जनताको निम्ति सिटामोलजस्तो साधारण औषधिसम्म सर्वसुलभ छैन । अधिकांश डाक्टरहरू सहरकेन्द्रित छन् । गाउँ–गाउँमा डाक्टर खासै पुगेकै छैन । राम्रा राम्रा अस्पतालहरू पनि सहरकेन्द्रित छन् । नेपालको स्वास्थ्य जनशक्तिसम्बन्धी राष्ट्रिय रणनीतिअनुसार स्वास्थ्य स्थिति र रोग भारको अवस्थामा क्रमिक सुधार देखिएको छ । बालबालिकाको मृत्यु डर, मातृ मृत्यु डर आदि घटेको देखिन्छ । नेपालको रोगव्याधिको भार, २०१७ प्रतिवेदनअनुसार नेपालमा मृत्युको प्रमुख कारण नसर्ने रोगहरू नै छन् । यसमा कुल मृत्युमध्ये नसर्ने रोगबाट हुने मृत्यु ६६ प्रतिशत, चोटपटकबाट हुने मृत्यु ९ प्रतिशत र बाँकी २५ प्रतिशत सरुवा रोग, मातृ, नवजात तथा पोषणसम्बन्धी रोगहरूबाट मृत्यु भएको तथ्याङ्क छ । नसर्ने रोगसम्बन्धी अर्को एउटा प्रतिवेदनमा नेपालमा २० वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूमा श्वास–प्रश्वासको दीर्घरोग ११.७ प्रतिशत, मधुमेह ८.५ प्रतिशत, दीर्घकालीन मृगौलासम्बन्धी ६.० प्रतिशत र मुटुसम्बन्धी रोग २.९ प्रतिशत देखिएको छ । नसर्ने र सर्ने रोगको अनुपात ९० र १० प्रतिशत रहेको देखिन्छ ।
त्यस्तै स्वास्थ्य जनशक्तितर्फ नेपालमा प्रति १००० जनसङ्ख्यालाई चिकित्सक ०.९७४, नर्स २.१०८ र अ.न.मी. १.१८१ रहेका छन् । स्वास्थ्य जनशक्तिहरूमध्ये सबैभन्दा धेरै नर्सको अनुपात रहेको छ भने चिकित्सा विज्ञान प्रयोगशाला व्यवसायीको अनुपात १.०२७ प्रतिहजार रहेको छ । तर, अन्य प्रकारका स्वास्थ्य जनशक्तिहरूको अनुपात कम रहेको तथ्याङ्कले देखाएको छ । नेपालमा प्रति १००० जनसङ्ख्यालाई चिकित्सक १ जना हुनुपर्नेमा ०.९०४ (NPC, CBS 2014 का अनुसार सन् २०२० मा चिकित्सक जनसङ्ख्या अनुपातमात्र ०.११ देखाएको छ) देखिनु राम्रो अनुपात मान्न सकिन्छ । प्रति १ चिकित्सकलाई ३ जना नर्स हुनुपर्नेमा २.१०८ हुनु नराम्रो होइन । सबै चिकित्सक नर्सहरू सहरकेन्द्रित हुनु नै हाम्रो समस्या हो । सरकारको स्वास्थ्य जनशक्तिसम्बन्धी राष्ट्रिय रणनीतिअनुसार सन् २०२० मा नेपालमा सबै किसिमको स्वास्थ्य जनशक्ति प्रति १००० जनसङ्ख्यामा १.९४ रहेकोमा आगामी सन् २०३० सम्ममा यो स्वास्थ्य जनशक्ति अनुपात ४.९७ सम्म पु¥याउने लक्ष्य छ ।
नेपालमा हाल वार्षिक ३,४०० जना सामान्य चिकित्सक, दन्त चिकित्सक, विशेषज्ञ चिकित्सक र विदेशबाट अध्ययन गरी फर्किने चिकित्सक उत्पादन हुन्छ । कम्तीमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार १ जना चिकित्सकलाई ३ जना नर्स अनुपातले हिसाब गर्ने हो भने वार्षिक १०,२०० जना नर्स उत्पादन हुनुपर्ने देखिन्छ । तर, नर्सिङ्ग क्षेत्रको जनशक्ति उत्पादन वार्षिकरूपमा करिब ७,००० मात्र भइरहेको देखिन्छ । यो हिसाबले पनि नर्सिङ्ग जनशक्ति उत्पादन अपुग छ । योबाहेक सरकारले पालिकाहरूमा कम्तीमा १५ बेडको अस्पताल निर्माणको थालनी गरिसकेको छ । सरकारले प्रत्येक स्कूलमा नर्सको व्यवस्था गर्ने नीति घोषणा गरिसकेको अवस्थामा नर्सिङ्ग क्षेत्रको जनशक्ति अझै नपुग हुने देखिएको हुँदा सरकारले एकैचोटि आफ्नै १०० बेडको अस्पताल नभएको निहुँमा नर्सिङ्ग शिक्षामा भर्ना रोक्नु कतिको न्यायोचित हुन्छ ? के आफ्नै अस्पताल नखोल्नुमा कलेजकै मात्र दोषी होला त ? यसमा कलेज खोल्न एक ठाउँमा स्वीकृति लिने, फेरि नर्सिङ्ग काउन्सिलबाट कोर्स चलाउन पनि स्वीकृति लिनुपर्ने, अस्पताल खोल्न स्वास्थ्य मन्त्रालयमा स्वीकृति लिनुपर्ने, ईआईए गर्नुपर्ने आदि कारणले यी सबै प्रक्रिया झन्झटिलो बनाइदिएको छ ।
आफ्नै अस्पताल नभएको काठमाडौँ विश्वविद्यालयको हकमा सरकारले यो किन लागु गरेन भन्ने प्रश्न उठ्छ । अझ त्यहीँ विश्वविद्यालयले नेपालका अधिकांश मेडिकल कलेजहरू सम्बन्धन दिएर चलाइराखेको छ । नियम कानुनको हिसाब–किताब गर्न जान्ने शिक्षा मन्त्रीलाई यो कुराको हेक्का छ कि छैन ? अहिलेसम्म सञ्चालनमा रहेका सबैजसो नर्सिङ्ग कलेजहरू काठमाडौँ विश्वविद्यालयले धुलिखेल अस्पतालसँग सम्झौतामार्फत चलाएजस्तै कुनै न कुनै अस्पतालसँग आबद्ध भएर नै चलाइराखेका छन् । त्यसैले आफ्नै अस्पताल चाहिन्छ भनेर चलिराखेका नर्सिङ्ग कलेजहरू एक्कासि बन्द गर्नुभन्दा समय दिएर अघि बढाउनु उत्तम उपाय हो । ख्वप बहु प्राविधिक अध्ययन संस्थान २०६१÷१÷१० मा स्वीकृति प्राप्त गरी सञ्चालनमा आएको संस्थान हो । यस संस्थानले सीटीईभीटीको नियमअनुसार अस्पताल खोल्नका लागि सुरुदेखि नै आफ्नो कार्य सुरु गरेको थियो । सरकारको लामो झन्झटिलो प्रक्रियाका कारण २५ बेडको अस्पताल खोल्ने स्वीकृति लिन पनि वर्षौँ लाग्यो । स्वीकृति दिएको केही समयमै नपाले अस्पताल निर्माण कार्य गर्यो । हाल अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ । यो अस्पतालको नव निर्मित भवन २५ बेडको स्वीकृति प्राप्त भए पनि १००÷१२५ बेड क्षमताको हुनेछ । भक्तपुर नगरपालिकाले आफ्नो पूर्व सञ्चालित च्याम्हासिङ्गको जनस्वास्थ्य केन्द्रलाई कोभिड सङ्क्रमणको बेलादेखि ख्वप अस्पताल नामकरण गरी आफ्नो पूर्ववत् सेवाको साथै कोभिडको लागि पनि सेवा दिई नगरवासीको सेवा गर्यो । जनताको सहयोग लिएर छिटोभन्दा छिटो अक्सिजन प्लान्ट ल्याएर सञ्चालन गरेर देखायो । कोभिडकै बेलामा यो अस्पतालले सञ्चालन गरेको आइसोलेसन केन्द्रले सबैको मन जितेर देखाएकै थियो । यो अस्पतालमा अहिले पनि दैनिक १४ जना विशेषज्ञ डाक्टर, २० जना मेडिकल अफिसर (डाक्टर) र २९ जना नर्सहरूमार्फत ५०० देखि ६०० सम्म बिरामीहरूको सेवा दिइराखेको छ । यसबाहेक यहाँ पढ्ने नर्सिङ्गका विद्यार्थीहरूलाई प्रयोगात्मक कक्षाको रूपमा जिल्लाको भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतका अस्पतालहरूमा प्रयोगात्मक कक्षाको व्यवस्था गरिराखेको छ । भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ्ग सेवा सुरु गर्ने नेपालकै पहिलो नगरपालिका हो । यो सेवा दिनको लागि प्रत्येक वडामा नर्सिङ्ग स्टेसनको व्यवस्था पनि नगरपालिकाले गरिसकेको छ । यहाँ १ जना नर्स बिहान वडा घुमेर दिउँसो २ बजेसम्म यो स्टेसनमा बस्ने व्यवस्था मिलाइएको छ । यस अस्पतालअन्तर्गत नगरपालिकाले १० वडाहरूमध्ये व्यासी, सल्लाघारी, भगवती स्थान र च्याम्हासिंहमा जनस्वास्थ्य केन्द्रहरू सञ्चालन गरेको छ । त्यस्तै आफ्नो आयुर्वेद सेवा, आँखा उपचार केन्द्र, श्वासप्रश्वास उपचार केन्द्रहरू पनि सञ्चालनमा छन् भने १० वडा बेखालमा जनस्वास्थ्य भवन निर्माण भइरहेको देखिन्छ । बाँकी वडाहरूमा पनि जनस्वास्थ्य केन्द्रहरू बनाउँदै जाने नपाको योजना रहेको थाहा हुन आएको छ । अहिले निर्माण भइरहेको ख्वप अस्पतालमा आकस्मिक सेवा, एक्सरे सेवा, सिटी स्क्यान, अल्ट्रासाउन्ड, एम. आर. आइ., प्याथोलोजी ल्याव, प्रसूति सेवा, शल्यक्रिया सेवा, सघन उपचार सेवा आदि सेवाहरू उपलब्ध हुनेछ्र । जनताको सेवा गर्ने उद्देश्यले यो अध्ययन संस्थानले नेपालभरिकै सस्तो शुल्कमा उपचार तथा नर्सिङ्ग पढाइराखेको छ । यी सबै कारणले ख्वपको नर्सिङ्ग पढाइ रोक्नुपर्ने कुनै कारण देखिँदैन । कतिपय कुराहरूमा विदेशको हुबहु नक्कल नेपालमा लागु गर्दा घातक हुनसक्छ । राम्रो कुरा छ भने आफूभन्दा सानो देश वा ठाउँबाट पनि सिक्न सक्नुपर्छ । नराम्रो कुरा हो भने आफूभन्दा ठूलोले भनेको भन्दै मान्नैपर्छ भन्ने छैन
 । नेपाल समाजवादउन्मुख देश हो । संविधानले शिक्षा र स्वास्थ्य सबै जनताको मौलिक अधिकारकै रूपमा व्याख्या गरेको छ । क्युवा पनि एक समाजवादी देश हो र हामीभन्दा सानो देश हो । स्वास्थ्य क्षेत्रमा क्युवाले गरेको प्रगतिबाट हामीजस्तो सानो देशले धेरै सिक्न सकिन्छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने देशका सबैजसो नगरपालिकाहरूले शिक्षा र स्वास्थ्य क्षेत्रको प्रगतिको लागि भक्तपुर नगरपालिकाबाट धेरै कुराहरू सिक्न सकिन्छ । हो, भक्तपुरको यो कार्य देशको सबै ठाउँमा हुबहु लागु हुन्छ नै भन्ने छैन । तर, आफ्नो राजनीतिक स्वार्थका कारण कुनै पालिकाले गरेको राम्रो कामलाई नसघाउनु बाँदरे प्रवृति नै मान्नुपर्छ । भक्तपुरवासी दुवाकोटमा बन्न लागेको अस्पताल पनि छिटोभन्दा छिटो निर्माण कार्य सुरु होस् भन्ने चाहना राख्छन् । भक्तपुरका अरू नगरपालिकाहरूमा पनि राम्रो सरकारी अस्पतालहरूको बन्दोबस्त होस् । भक्तपुर अस्पतालको पनि सरकारी योजनाअनुसारको स्तरोन्नति छिटोभन्दा छिटो होस् । यो सबै योजना समयमै पूरा भएमा भक्तपुरले स्वास्थ्यमा ठूलो फड्को मार्नेछ्र ।
यी सबै सरकारी स्वास्थ्य योजना सफल बनाउन आवश्यक जनशक्ति उत्पादनका लागि नर्सिङ्ग भर्ना खोल्न दिनु देशकै हितमा हुनेछ । यसको अर्थ स्वास्थ्य क्षेत्रको गुणस्तरमा सम्झौता गर्नु भन्ने कदापि होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *