भर्खरै :

सोभियत रुस – केही टिपोट र प्रभाव – ३

(तत्कालीन सोभियत रूसको विषयमा भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूले लेख्नुभएका लेखहरूको सङ्कलन ‘सोभियत रसिया, सम रेन्डम स्केच्स एन्ड इम्प्रेसन्स’ को पहिलो अङ्ग्रेजी प्रकाशन सन् १९२९ मा बम्बईको चेतना प्राकाशनले गरेको थियो । त्यसको दोस्रो छपाई सन् १९४९ मा भएको थियो । इन्डियन कल्चर वेभसाइटमा राखिएको सो पुस्तकको ई–प्रतिबाट अनुवाद गरिएको हो । जम्मा १४८ पृष्ठको १६ शीर्षकमा विभाजित यो पुस्तक हरेक शनिबारको ‘मजदुर’ दैनिकमा क्रमशः प्रकाशित गर्दै जानेछौँ । पुस्तकको नेपालीमा अनुवाद सुशिलाले गर्नुभएको हो–सम्पादक)
सोभियत प्रणाली
सोभियत प्रणाली वोल्शेविकवाद र रुससँग यति अन्योन्यास्रित रूपमा गाँसिएको छ, यिनीहरूलाई एकअर्काबाट अलग सोच्न पनि मुस्किल छ । तथापि, साम्यवादबिना पनि सोभियत प्रणाली हुनसक्छ अथवा कम्तीमा त्यसको बाहिरी संरचनामात्र भए पनि हुनसक्ने कल्पना गर्न सकिन्छ । अझै पनि कुनै दिन क्रेमलिन फर्किने आशा बोक्दै हिँडेका आफूलाई जारको खास उत्तराधिकारी मान्ने रुसका एक जना पूर्व रुसी भारदारले केही समयअघि सोभियत रुसमा अहिलेजस्तो प्रणाली छ, आफूले त्यस्तै प्रणालीलाई निरन्तरता दिने तर त्यसबाट साम्यवादमात्र निकाल्ने बताएका थिए । तर, हरेक व्यवहारिक कारणले रुसको वर्तमान शासन व्यवस्थालाई नै हामीले सोभियत प्रणालीको पर्यायवाची मान्न सक्छौँ ।
सोभियत सङ्घको अवधारणा सन् १८३४ मा पहिलो पटक बुनिएको थियो । बेलायतमा रोबर्ट ओवेनले स्थापना गरेको अखिल राष्ट्रिय एकीकृत मजदुर सङ्घ (ग्रान्ड नेसनल कन्सोलिडेटेड ट्रेड युनियन) का एक जना नेता जेम्स स्मिथले त्यो अवधारणाको विकास गरेका थिए । सन् १८४७ मा माक्र्स र एङ्गेल्सले लेख्नुभएको विख्यात ‘कम्युनिस्ट घोषणा पत्र’ प्रकाशित भयो । ‘कम्युनिस्ट घोषणा पत्र’लाई आज साम्यवादको जननी मानिन्छ । झन्डै एक पुस्तापछि सन् १८७१ मा पेरिसमा छोटो अवधिको लागि साम्यवाद स्थापना भयो । तर, त्यो प्रयोग असफल भयो । पेरिस कम्युनका पिता लुई अगस्ट ब्लाँकीले क्रान्तिको समयमा छोटो समयको निम्ति भए पनि सर्वहारा वर्गको अधिनायकत्वको प्रस्ट वकालत गरेका थिए । पेरिसमा कम्युन घोषणा हुन अघिल्लो दिन ब्लाँकी जेल परे । मुख्यतः ब्लाँकीलाई जबरजस्ती अनुपस्थित गराइनु र प्रभावकारी नेतृत्व नहुँदा पेरिस कम्युन ढल्यो । तीस हजार पेरिसका बासिन्दाको रगतमा कम्युन डुब्यो । एडोल्फ थेएर्स र उनको सेनाले उनीहरूको निर्ममतापूर्वक संहार गरे । आज त्यो इतिहासको सम्झनामात्र छ । तर, अझै पनि त्यो सम्झना जीवन्त र प्रस्ट छ । कैदी बनाइएका कम्युनार्डहरूलाई मेसिन गनले मारेको पेरिसको पेरे लाचैसे समाधिको पर्खाल आज संसारभरका कम्युनिस्ट र समाजवादीहरूको निम्ति पवित्र तीर्थस्थल बनेको छ ।
सन् १९०५ को क्रान्तिताका नै रुसमा सोभियत प्रणालीले निश्चित आकार लिइसकेको थियो । त्यत्तिबेला आकार ग्रहण गरेको प्रणाली सन् १९१७ मा सोभियत राज्यसत्ता बन्दासम्म क्रमशः विकास भयो र लगातार परिमार्जन हुँदै गयो । वोल्शेविक क्रान्तिपछि त्यसको तीव्र विकास भयो । त्यसयता सोभियत प्रणालीले परिवर्तित परिस्थितिअनुकूल आफूलाई बदल्दै आएको छ ।
सोभियत प्रणालीको मुख्य विशेषता भनेको त्यसले समाजमा विभिन्न आर्थिक स्वार्थसहित सामाजिक समूह वा वर्गहरू हुने तथ्यलाई खुलारूपमा स्वीकार्छ । समाजमा वर्ग विभाजन रहने अवधिसम्म हरेक सरकारले ती सामाजिक वर्गका सापेक्षिक महत्व र शक्तिलाई अभिव्यक्त गर्नुपर्छ । इतिहासको लामो यात्रालाई ती विभिन्न सामाजिक समूह वा वर्गबीचको द्वन्द्वको रूपमा व्याख्या गरिन्छ । त्यसैलाई हामी इतिहासको आर्थिक व्याख्या वा ऐतिहासिक भौतिकवाद भन्दछौँ । हामीलाई बताइएअनुसार हरेक ऐतिहासिक कालखण्डमा एउटा शासक वर्ग हुन्छ । त्यो शासकले आफ्नो सत्ताको दीर्घायु वा शक्तिको सेवा गर्ने सीमासम्म मात्र अन्य वर्गको हितबारे पर्वाह गर्छ । तर, त्यो एउटा वर्गले अर्को वर्गमाथि पार्ने प्रभाव वा दमन कुनै सरकारको अनुहारमा प्रस्ट र खुलारूपमा कहिल्यै प्रकट हुँदैन । शोषित वर्गलाई भ्रममा राख्न शासक वर्गले त्यो वास्तविकतालाई विभिन्न आवरणले छोप्ने गर्छ । परिवर्तनको गति धिमा भएको ठाउँमा शासक वर्गले आफ्ना स्वार्थको रक्षा गर्न केही ईश्वरीय अधिकार र कर्तव्य सिर्जना गर्छ । जसै समाज परिवर्तन हुन्छ र नयाँ तथा उच्चतम खालको आर्थिक र सामाजिक संरचनाको विकास हुन्छ, त्यो नवीन चरणको प्रतिनिधित्व गर्ने वर्ग अग्रपङ्क्तिमा आउँछ । पुरानो शासक वर्गभन्दा त्यो नयाँ वर्ग क्रमशः माथि उक्लन्छ । पुरानो वर्ग थप अघि बढ्ने बाटोमा तगारो बनेको हुन्छ ।
शासक वर्गले संस्कृति र शिक्षामाथि नियन्त्रण जमाएको हुन्छ । समाजको चालचलन र परम्परामाथि नियन्त्रण जमाएको हुन्छ । तर, विशेषतः नयाँ वर्गले पुरानो वर्गको विरोध गरेर आफ्नो अधिकारको माग गर्दा उसले सधैँ आफ्नो वर्गीय चरित्र भने लुकाउन खोज्छ । कम्युनिस्टहरूको भनाइमा आजको ‘प्रजातन्त्र’ पनि वर्गीय शोषणमा आधारित सरकारको रूपमा हो जसले आफ्नो वर्गीय चरित्र लुकाउने गरेको छ । त्यो ‘प्रजातन्त्र’ वास्तवमा सामाजिक वा मानवीय प्रजातन्त्र होइन । त्यसको मूल चरित्र त समाजलाई व्यक्तिको सङ्ख्याअनुसार समानताको भाग लगाउनु हो । शक्तिशाली पुँजीवादी सत्ताविरुद्ध व्यक्ति वा विभाजित समूहलाई शक्तिहीन बनाउनु हो । प्रजातन्त्रको वर्गीय चरित्र त्यत्तिबेला देखिन्छ जतिबेला अन्य वर्गले सङ्गठित बन्ने प्रयासको थालनी हुन्छ । हाम्रो आजको प्रजातन्त्रले त्यस्ता सबै वर्गका सङ्गठनलाई निर्ममतापूर्वक दमन गर्छ ।
रुसमा सोभियतहरू सुरुमा मजदुरहरूको वर्गीय सङ्गठनको रूपमा विकास भएका थिए । तिनीहरू अन्य मजदुर सङ्गठनभन्दा नितान्त फरक थिए । समयान्तरमा मजदुर सङ्गठनको प्रगतिशील तप्का सोभियतहरूसँग मिले र समान विशेषता भएकाहरूसँग आपसमा एकाकार भए । सन् १९१७ मा केरेन्स्कीको समयमा सोभियत सत्ता निकै शक्तिशाली भयो । पछि लेनिनले ‘सबै सत्ता सोभियतलाई’ भन्ने नारा दिएपछि उनीहरू दुश्मन बने र प्रतिस्पर्धी सरकार बने ।
क्रान्तिअघि सुरुको कालखण्डमा सोभियतहरूले मजदुर वर्गको मात्र प्रतिनिधित्व गथ्र्यो । त्यसपछि सिपाहीं र जहाजी मजदुरहरू त्यसमा सामेल भए । किसानहरू पछि मात्र त्यसमा समाहित भएका थिए । तर, किसानहरूभन्दा मजदुरहरू प्रगतिशील तप्का मानिएकोले किसानहरूलाई मजदुरहरू बराबरको महत्व दिइएको थिएन । बौद्धिकहरूलाई पनि पार्टीमा सहभागी बन्न दिइयो । तर, पुँजीपति वर्गको सेवामा लागेका बौद्धिकहरूलाई त्यो अवसर दिइएन । अरूको श्रममा बाँच्ने वा अरूमाथि शोषण गरेर बाँचेका पुराना जारकालीन सरकारी अधिकारी र पादरीहरूलाई बाहिर राखियो । यद्यपि, उनीहरूमध्ये पनि कोही कोही अपवाद थिए । फलतः तुलनात्मकरूपमा सानो सङ्ख्यामा मात्र मानिसहरू बाहिर रहे । वयस्क जनसङ्ख्याको ३.७ प्रतिशतमात्र बहिष्कारमा परे ।
कुन समूहलाई समावेश गर्ने र कसलाई बाहिर राख्ने भन्ने कुराको निर्देशक सिद्धान्त यस्तो थियो : समाज विकासको निश्चित चरणमा आवश्यक वा उपयोगी कुनै समूह वा वर्गलाई त्यही चरणमा मात्र समावेश गर्नुपर्छ र सबभन्दा प्रगतिशील तत्वलाई उनीहरूको ऊर्जा र सामाजिक महत्वको आधारमा काम गर्ने अवसर दिनुपर्छ । समावेश वा बहिष्कारको सबै अधिकार भने सबभन्दा माथिको निकाय अखिल रुस सोभियत कङ्ग्रेसको हातमा हुन्छ । सन् १९१८ को जनवरीमा भएको अखिल रुसी सोभियत कङ्ग्रेसको तेस्रो सम्मेलनले जारी गरेको सिद्धान्तमा लेखिएको छ, ‘सोभियत सरकारमा शोषक वर्गको कसैको पनि सहभागिता हुनुहुन्न ।’ सन् १९१८ को जुलाइमा सम्पन्न अखिल रुसी सोभियत कङ्ग्रेसको पाँचौँ अधिवेशनले जारी गरेको संविधानमा यो कुरा उल्लेख छ । सुरुमा विभिन्न स्थानीय सोभियतहरूको चुनावको अनुगमन गर्ने समितिहरूले नै प्रणालीबाट बाहिर राख्ने अथवा बहिष्कार गर्नेहरूको खास सूची तयार गर्छ । त्यो सूचीमाथि माथिल्लो सोभियतमा छलफल र पुनरावेदन गरिन्छ । अन्तिममा अखिल रुसी सोभियत कङ्ग्रेस र त्यसको कार्यसमितिमा छलफल र पुनरावेदन गरिन्छ । कम्युनिस्टहरू विद्यमान सङ्क्रमणकालीन चरणमा मात्र यस्तो खालको बहिष्करण आवश्यक हुने बताउँछन् । राजनीतिक प्रणाली क्रमशः विकास हुँदै गएसँगै हात वा दिमागले काम गर्ने सबै उपयोगी मानिसलाई सँगसँगै लगिनेछ । त्यो अवस्था अन्तिम चरणमा मात्र हुनसक्छ । तर, अहिलेलाई यो प्रणाली मुख्यतः राज्यको नियन्त्रणमा हुन्छ । राज्यको नेतृत्वमा बलियो र खँदिलो अल्पसङ्ख्यक बसेका हुन्छन् । तर, जनताको समर्थन नभए अथवा निस्क्रिय समर्थनमात्र भएपछि त्यो अल्पसङ्ख्या शक्तिमा रहँदैन । त्यसैलाई हामी ‘सर्वहारा वर्गको अधिनायकत्व’ भन्छौँ । जसको व्यवहारिक अर्थ वर्गीयरूपमा सचेत र अनुशासित नेतृत्वदायी समूहले जनताको हित र समर्थनको दाबी गर्दै शासन गर्नु हो ।
सर्वहारा वर्गको अधिनायकवादको रक्षामा कम्युनिस्टहरूले आजको प्रजातन्त्र पनि खासमा अधिनायकत्व नै भएको औँल्याउँछन् । तर, आजको प्रजातन्त्र पुँजीपति वर्ग वा बुर्जुवा वर्गको अधिनायकत्व हो, जसले पुँजीपति वर्गको स्वार्थको सेवा गर्छ । पुँजीवादी अधिनायकत्व दस प्रतिशत वा त्योभन्दा कम मानिसको अधिनायकत्व हो भने सर्वहारा अधिनायकत्व ९० प्रतिशत जनताको अधिनायकत्व मानिन्छ ।
सोभियत प्रणालीको विशेषता भनेको यसको प्रतिनिधित्वको पद्धति हो । अधिकांश प्रजातान्त्रिक देशमा जस्तै सोभियत प्रणालीमा भूगोल वा क्षेत्रको आधारमा प्रतिनिधित्वको क्षेत्र बनाइन्न, जहाँ व्यक्ति एउटा एकाइ मानिन्छ । सोभियतहरूको संरचना आर्थिक र सामाजिक एकाइको आधारमा जस्तै कारखाना, गाउँ, सहकारी, मजदुर सङ्गठन आदिबाट प्रतिनिधित्व गराइने बन्दोबस्त मिलाइएको हुन्छ । मतदाता सङ्ख्याको आधारमा निर्वाचित हुने प्रतिनिधिको सङ्ख्या समानुपातिक हुन्छ । प्रतिनिधि निर्वाचित गर्न स–साना एकाइहरू बनाइन्छ । यद्यपि, यो प्रणालीमा समानुपातिकताभन्दा एउटा महत्वपूर्ण भिन्नता भने छ : दस हजार मतदाता भएको गाउँबाट पनि एक जना प्रतिनिधि र दुई हजार मतदाता भएको सहरबाट पनि एक जना प्रतिनिधि निर्वाचित हुन्छ । सहरका बासिन्दा विशेषतः औद्योगिक मजदुरहरूलाई सामाजिकरूपमा अघि बढेको वर्ग मानिन्छ । त्यही भएर उनीहरूलाई बढी महत्व दिइन्छ ।
गाउँको सोभियत गाउँको आत्मा मानिन्छ । ‘सोभियत’ शब्दको अर्थ सभा हो । गाउँ सोभियतलाई भारतको गाउँ पञ्चायतसँग तुलना गर्न सकिन्छ । भारतका गाउँहरूमा पनि गाउँलेहरूले गाउँ पञ्चायत निर्वाचित गर्छन् । गाउँ सोभियतका प्रतिनिधिहरू गाउँका निश्चित उमेरमाथिका सबै महिला र पुरुष एकै ठाउँमा भेला भएर हात उठाएर निर्वाचित गरिन्छ । त्यस्ता सभामा सहभागी बन्ने र मत राख्न पाउने अधिकार भएका गाउँले मात्र सहभागी बन्न पाउँछन् । अरूको श्रममा बाँचेका धनी किसान, शोषक, पादरी र त्यस्तै परजीवी र असामाजिक मानिएका तत्वलाई त्यहाँ सहभागी बन्न र मत राख्न दिइन्न । गाउँमा कुनै सानो उद्योग वा सार्वजनिक संस्था छ भने उनीहरूले पनि सोभियतमा आफ्ना प्रतिनिधि सीधै पठाउन सक्छन् । त्यस्तै स्थानीय सहकारी समाज, कृषि मजदुर सङ्गठन, महिला तथा युवा लिगबाट पनि प्रतिनिधि पठाइन्छ ।
सामान्यतः गाउँ सोभियतमा गैरकम्युनिस्टको ठूलो बहुमत हुन्छ । केही कम्युनिस्टहरू पनि हुन्छन् । कम्युनिस्टहरू थोरै भए पनि उनीहरू ज्यादै सक्रिय र बुद्धिमान सदस्य हुने भएकाले गाउँमा उनीहरूको प्रभाव बलियो हुन्छ ।
गाउँलेका दैनिक जीवनसँग जोडिएका विषयको हल गाउँ सोभियतले निकाल्छ । त्यसरी गरिएका निर्णयको पुनरावेदन माथिल्लो सोभियतमा गर्न सकिन्छ । माथिल्लो तहको सोभियतले खाँचो पर्दा तल्लो तहको सोभियतमा हस्तक्षेप पनि गर्नसक्छ । गाउँको सोभियतले भूमि समस्या जस्तै भूमि वितरण, बालीनालीको लागि बीउबिजन वितरण, साझा वनबाट रुख काट्ने, नियमअनुसार कर तिर्ने र उठाउने, विद्यालय र स्वास्थ्य चौकी बनाउने, स्वास्थ्य सेवा, आगलागीबाट जोगिने, आपसी सहायता आदिबारे निर्णय गर्छ । सोभियतले गाउँका विभिन्न सङ्गठनहरूबीच सम्पर्क सूत्रको पनि काम गर्छ । रुसी गाउँमा सहकारी आपसी सहायता समाज, महिला सङ्गठन, युवा लिग, बाल सङ्गठन–पायोनियर्स (स्काउट जस्तै), अन्तर्राष्ट्रिय सहायता सङ्गठनहरूको सङ्ख्या बढ्दो छ ।
सोभियत प्रणालीका अरू दुई वटा विशेषता पनि उल्लेखनीय छन् । पहिलो, प्रत्याह्वानको अधिकार । कुनै पनि तहको सोभियतमा प्रतिनिधित्व गर्ने प्रतिनिधिलाई कुनै पनि बेला निर्वाचित गरेका जनताले फिर्ता बोलाउन पाउँछन् । अरू देशहरूमा एकपल्ट निर्वाचित भएको प्रतिनिधिलाई तीन, चार वा पाँच वर्ष अर्थात् तोकिएको अवधिभित्र कसैले पनि टसको मस गर्न सक्दैन । दोस्रो विशेषता भनेको सोभियतहरूले व्यवस्थापिका र कार्यपालिका दुवैका काम गर्छन् । तर, त्यो कसरी हुन्छ, अझै प्रस्ट छैन ।
सोभियत प्रणालीले अरू कुनै पनि प्रणालीभन्दा जनताको वास्तविक जीवनको प्रतिनिधित्व गर्ने दाबी गरिएको छ । सोभियत प्रणाली प्रतिक्रियात्मक र लचिलो छ । परिस्थिति बदलिएसँगै परिवर्तित परिस्थितिलाई ठीक हुने गरी त्यसले काम गर्नसक्छ, ताकि उत्तम अवस्थाको निम्ति मानिसको स्वाभाविक विकासलाई कुनै पनि अवस्थामा दबाउन नसकियोस् ।
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *