भर्खरै :

अफगानिस्तानको अवस्थाबारे चिन्ता

अफगानिस्तानको मानवीय अवस्था दिनानुदिन खराब बन्दै गएको छ । तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँ विभिन्न अन्तर्राष्ट्रिय दातृनिकाय र दाताहरूले दिँदै आएका सबै खालका सहायता रोकेपछि अफगानी जनताको जीवन दिनानुदिन कष्टकर बन्दै गएको हो । कोभिड–१९ महामारीको मुखमा अफगानिस्तानको स्वास्थ्य क्षेत्र क्षतविक्षत भएको छ । सुरक्षा अवस्थामा सुधार भए पनि महँगी, दैनिक उपभोग्य सामानको अभाव आदि कारण कुनै पनि बेला फेरि त्यहाँ नयाँ द्वन्द्वको सुरुवात हुने सम्भावना बढ्दै छ । लामो समयदेखि लगातार द्वन्द्व र युद्धको चपेटामा परेको देशमा संरा अमेरिकाले लथालिङ अवस्थामा छोडेर भाग्दा आज अफगानी जनता अर्को भुङ्ग्रोमा फसेको छ । धरासयी बनेको अफगानी अर्थतन्त्रलाई तालिवान सरकारले पनि सम्हाल्न सकेको छैन । अथवा, उसले दातृनिकाय र अन्तर्राष्ट्रिय समुदायको सहायता पाउन पनि अवस्थालाई अनियन्त्रित बनाएको हुनसक्छ । दुवै अवस्थामा दुःख अफगानी जनताले भोगिरहेका छन् । हिजो आकाशबाट कतिबेला वम खस्ला, कुन दिशाबाट गोली आउने भन्ने अनिश्चयमा बाँचेका अफगानी जनता आज अर्को नयाँ विकराल परिस्थितिमा फसेका छन् ।
अफगानिस्तानको अवस्थामा तत्काल सुधार नभए लाखौँ अफगानहरूले युरोपतिरको यात्रा थाल्न सक्ने सम्भावनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा भइरहेको छ । दक्षिण अमेरिकाबाट मानव काराभान जसरी उत्तर अमेरिकातिर गएको थियो, त्यसरी नै अफगानी जनताको काराभान अब युरोपतिर हानिने सम्भावना बढी छ । त्यसले युरोपेली देशमा निम्तिन सक्ने शरणार्थी समस्या अकल्पनीय छ । त्यसले युरोपको सामाजिक जीवन, अर्थतन्त्र र राजनीतिक अवस्थामा पर्ने प्रभाव युरोपेली जनताले कल्पना पनि गर्नसक्ने छैनन् ।
त्यसकारण, तत्कालै अफगानिस्तानको सङ्कटपूर्ण मानवीय अवस्थामा सुधार गर्न अन्तर्राष्ट्रिय समुदायले पहल गर्न जरुरी छ । बहुपक्षीय अन्तर्राष्ट्रिय सङ्गठनले अफगानिस्तानको विकराल परिस्थिति सम्हाल्न तत्काल उपयुक्त कदम चाल्न जरुरी छ । अफगानिस्तानबाट बाहिर जान चल्दै गरेको विमानमा चढ्न सक्ने अफगानीहरूले सुरक्षित जीवनको लागि जे पनि गर्नसक्ने सम्भावना संसारले बुझ्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *