भर्खरै :

सक्वको म राजदास–११५ / धादिङको जोगीमारामा चुन कारखानाको सुरुवात

ठेकेदार मित्र पुष्पराजजी मबाट खुसी भएर जोगीमारा चुन उद्योग स्थापना गर्छु भनेर जानुभयो । उहाँलाई मैले आफ्नो अफिसमा बनाएको एक किलो चुन उपहार दिएँ । उहाँ तीनचार दिनपछि दुई तीन बोरा चुनढुङ्गा बोकेर आउनुभयो । उहाँ आउनेबित्तिकै आफैले अस्ति पोतेको चुन पर्खालको एक कुनामा गएर हेर्नुभयो । भित्तामा पोतेको चुन सेतो टल्केको थियो । पुष्पराजजी हातले घोटेर हेर्दा सिमेन्ट पेन्टजस्तो अलिकति पनि चुन नलागेको देखेर अचम्म हुनुभयो । मैले त्यो चुन पोतेको ठाउँमा पानी छ्याप्नोस् भनेँ । पानीले पखाल्दा पनि नबगीकन जमेर बसेको देख्दा ठेकेदारको हौसला बढ्यो । उहाँ एक दुई घण्टा मकहाँ बसेर जानुभयो ।
साँच्चिकै उहाँले धादिङ जिल्लाको जोगीमारा भन्ने ठाउँको मौवा खोलामा चुन उद्योग खोल्ने निर्णय लिनुभएको थियो । यही मौवा खोला पश्चिम पहाडबाट बगेर त्रिशुली नदीमा मिल्दछ । यही मौवा खोलाको पुलले काठमाडौँ जिल्ला र धादिङ जिल्लाको सिमाना छुट्याउँछ । काठमाडौँबाट गएको गाडी मौवा खोला पुल नाघेपछि धादिङ जिल्ला हुन्छ ।
पुष्पराजजी चितवनका हुनुहुन्थ्यो । त्यसबेला पञ्चायतकालमा उहाँको राजनीतिक पहुँच पनि रहेछ । त्यसकारण उहाँले मौवा खोलामा चुन ढुङ्गा पोल्ने अनुमति लिने काम सहजै गर्नुभयो ।

बोत्सवानाका राष्ट्रपति कुवेत मसिरेलाई चुन उद्योगको सम्भाव्यताबारे जानकारी गराउँदै लेखक (सन् १९८४)


धादिङमै मौवा खोला अलिपर उहाँको एक मित्र रहेछ । उहाँको नाम पुष्पराज खतिवडा । दुई जना पुष्पराज मिलेर मौवा खोलामा एक सानो चुन उद्योग खोल्ने कुरा मिलाएछ । मलाई प्राविधिक सल्लाहकारको रूपमा बिनातलब राख्नुभएछ ।
मैले उहाँहरूको प्रस्ताव स्वीकार गरेँ र उहाँहरूलाई पूर्णतः सहयोग गर्ने वचन दिएँ । मेरो पनि नेपालमा कुनै चुन उद्योग अथवा सिमेन्ट उद्योग खुलोस् भन्ने ठूलो इच्छा र आकाङ्क्षा थियो । किनकि म र मेरी श्रीमती भालेन्टिनाको सोभियत सङ्घमा विवाह हुँदा हामीले नेपाल गएर तीन/चार वटा काम गर्ने भनेर आफ्नो भविष्यको योजना निर्धारण गरेका थियौँ ।
१. पहिलो काम गाउँमा पुस्तकालय खोल्ने
कुनै पनि गाउँमा पुस्तकालय हुनु आवश्यक छ भनी उनी मलाई भन्थिन् । साँखुमा एक पुस्तकालय खोल्ने भनेर उनले हरेक शनिबार एउटा कमिसिनओन्नि बजार गएर पुस्तकहरू किनेर ल्याउँथिन् । कमिसिओन्नि बजार भनेको एउटा गल्ली सडकमा पुराना सामान र पुस्तक पुस्तिकाहरू, लुगाफाटो आदि सामानहरू खरीदबिक्री गर्ने खुला बजार हो । त्यहाँ पुराना प्रयोग भइसकेका आफूलाई नचाहिने अथवा आर्थिक अभावका कारण आफ्ना निजी सामानहरू किनबेच गर्न ठाउँ हो । त्यहाँ पुराना पुराना पुस्तक पुस्तिकाहरू थुपै्र भेटिन्छन् त्यस बजारमा धेरै चित्रकार र साहित्यकारहरू आ–आफ्ना चित्र र पुस्तकहरू बेच्न बस्दथे । कोही कोही नाम चलेका साहित्यकारका हस्तलिखित स–साना पुस्तकहरू र कवितासङ्ग्रह पनि त्यहाँ बेच्न राख्दथे । जुन पुस्तक अथवा कविता कहानी सोभियत सरकारले प्रकाशन गर्न निषेध गरेका हुन्थ्यो । सोभियत सङ्घको सरकारले प्रेसप्रति सेन्सर गरेको हुन्थ्यो र सरकारी स्वीकृतिबिना केही पनि साहित्य प्रकाशन गर्न दिइनथ्यो । तर, तत्कालीन सोभियत सङ्घमा धेरै बुद्धिमान र विद्रोही कवि साहित्यकारहरू अझै थिए । सोभियत सरकारको विरोध गर्न नसक्नेहरूले भित्रभित्रै आफ्ना साहित्यिक रचना र गीतहरू गोप्यरूपमा प्रचारप्रसार गरी हिँड्थे ।
कति साहित्यकारहरू खुलारूपमा सोभियत सङ्घको विरोधमा उत्रिन्थे । सोल्भित्सिन बोरिस पास्टरनाक जस्तालाई नसिहत नै दिइन्थ्यो र साइवेरियाजस्तो कठोर र कठीन ठाउँमा निर्वासनमा पठाइन्थ्यो ।
विशेष गरेर यहुदी जातिका मानिसहरू सोभियत सङ्घ छाडेर विदेश पलायन हुन्थे । सोभियत नागरिकहरूलाई सकेसम्म देश छाडेर जान सोभियत सरकारले रोक लगाएको थियो । तर, संयुक्त राज्य अमेरिका र पश्चिम देशहरूको दबाबका कारण युरोप र अमेरिका जान केही खुकुलो गरिएको थियो ।
धेरैजसो यहुदीहरू इजराइल जान्थे । सीधा सोभियत सङ्घबाट इजराइल जान उनीहरू सक्दैनथे । किनभने, इजरायलसँग सोभियत सङ्घको कुनै कूटनीतिक सम्बन्ध थिएन र सोभियत सङ्घबाट सीधा इजराइल जान कुनै यातायातको सुविधा पनि थिएन । त्यसकारण, धेरै सोभियत यहुदीहरू सोभियत सङ्घबाट हङ्गेरी सोभियत ब्लक (वार्ता सङ्गठन) को एक सदस्य मुलुक भएकोले हङ्गेरी जान सजिलै सकिन्थे । अनि हङ्गेरीबाट ती सबै सोभियत यहुदी नागरिकहरू सीधा इजराइल जान्थे । जहाँ उनीहरूलाई आवश्यक सुविधासहित इजरायल सरकारले सहजै अपनाउँथ्यो ।
इजरायल मध्यपूर्व एसियामा द्वितीय विश्व युद्धपछि विश्वका यहुदी जातिहरूको बसोबासको लागि भनेर प्यालेस्टाइनी भूमि कब्जा गरी स्थापित देश हो । त्यहाँ यहुदीहरूको एक सशक्त राष्ट्रको रूपमा रहेको द इजरायल जसलाई संयुक्त राज्य अमेरिकाले आर्थिक, प्राविधिक र सैनिक सहायता प्रशस्त मात्रामा दिइरहेको छ ।
संयुक्त राज्य अमेरिकाकै आड भरोसामा इजरायल मध्यपूर्व एसियामा अरब मुलुकहरूको बीचमा एक शक्ति जमाएर बसेको छ । प्यालेस्टिनी भूमिमा स्थापित इजरायल अरब देशहरूबीच अरबहरूसँगै एक दुश्मनको रूपमा अवस्थित छ । इजरायल स्थापना कालदेखि नै अरब मुलुकहरू विशेष गरेर प्यालेस्टिनी जनतासँग युद्ध लड्दै बसेका छन् । यस युद्धमा लाखौँ मानिसहरूको हत्या हिंसा भइसकेको छ । अझै त्यस क्षेत्रमा सुख र शान्ति कायम हुन सकेको छैन । यद्यपि, प्यालेस्टिनी जनता र यहुदी शासकहरूको बीच शान्ति सम्झौता गर्ने प्रयास नभएको होइन । तर, आजसम्म स्थिर र शान्ति स्थापना गर्न सकिएको छैन । यसको मूल कारण इजरायल एक राष्ट्रको रूपमा स्थापना गरिए जस्तै प्यालिस्टिनी भूमिमै प्यालेस्टाइन राष्ट्र निर्माण भएको छैन र पलिस्टिनीको मुख्य धार्मिक स्थल र राजनीति केन्द्र ‘जेरुसेलम’ को स्वामित्वमा सुरुदेखि आजसम्म विवाद भइरहेको छ । यस धार्मिक पवित्र स्थललाई प्यालेस्टिन र इजरायल दुवैले आफ्नो राजधानी भनेर दाबी गरिरहेका छन् । यस क्षेत्रमा धार्मिक राजनीतिक समस्याले गर्दा कैयौँ ठूला साना युद्धहरू भए र भइरहेका छन् ।
इजरायलबाहेक धेरै सोभियत यहुदीहरू संयुक्त राज्य अमेरिकामा पनि पलायन भएका छन् । अमेरिकाको न्यु योर्क सहरमा कोजी आइजल्यान्ड भन्ने एक सानो टापु छ । जहाँ अत्यधिक पूर्व–सोभियत रुसीहरूको बसोबास छ । कोजी आइजल्यान्डमा जाँदा र त्यहीँको बजार घुम्दा ९० प्रतिशत मानिसहरू रुसी नै भेटिन्छन् । पसल बजारमा सबै खानेकुराहरू रुसी खालका हुन्छन् । मस्को सहरमा झैँ कोजी टापुको बजारमा पनि सबै प्रकारका रुसी खाद्य पदार्थ र रुसी सामानहरू साथै रुसी भाषामा पुस्तक पत्रिकाहरू पनि पाइन्छन् ।
म संयुक्त राज्य अमेरिकामा हुँदा (सन् २००० देखि २००५ सम्म) झन्डै म एक वर्ष जति न्यू योर्क सहरमा बसेँ । प्रायः प्रत्येक दिन म कोजी आइजल्यान्ड जाने गर्थेँ । एक डेढ घण्टा समुद्री किनारमा डुल्थेँ । थुपै्र रुसीहरू त्यहाँ साँझतिर घुम्न आउँथे । समुद्री किनारमा रुसीहरूलाई देख्दा मलाई सन् १९७१–७२ मा सोभियत उक्राइनाको कृष्ण सागर (ब्ल्याक सी) मा रेस्ट (बिदाको छुट्टी) गरी रहेको सम्झना आउँथ्यो ।
सोभियत सङ्घमा अध्ययन गर्दा वर्षको एक महिना गर्मीको छुट्टी मिल्थ्यो । त्यो छुट्टी मनाउन सोभियत सरकारबाट हामीलाई कुनै सानेटोरियम (रिसोर्ट) मा गएर आराम लिन निःशुल्क कुपन मिल्थ्यो ।
सन् १९७१ देखि ७५ सम्म म सोभियत उक्राइनामा पढ्दै थिएँ । गर्मीको छुट्टी मनाउन म दुई पटक कृष्ण सागरको किनार याल्टा गएको थिएँ । याल्टा एक ऐतिहासिक सहर हो । जहाँ द्वितीय विश्व चरम उत्सर्गमा पुगिरहँदा विश्वका तीन विश्व प्रसिद्ध नेताहरूको भेटघाट भएको थियो र जसलाई ‘याल्टा सम्मेलन’ भनिन्छ । यस याल्टा सम्मेलनमा तीन प्रमुख सहभागी थिए । सोभियत सङ्घका सर्वाेच्च कमान्डर जोसेफ स्तालिन, संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति रुज्भेल्ट र तत्कालीन ब्रिटिश प्राइम मिनिस्टर सर विल्सन चर्चिल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *