भर्खरै :

नयाँ क्रान्तिलाई नयाँ पुस्ता

समाजको व्यापक क्षेत्रमा आमूल परिवर्तन ल्याउन कामदार जनताले नयाँ पुस्ता तयार गर्नुपर्ने विचार आउन लागेका छन् । अबको समाज परिवर्तन गर्न नयाँ पुस्ता नै आवश्यक छ भन्ने निष्कर्षमा पुग्नु पनि चानचुने कुरा होइन । धेरै मान्छे यो यथार्थ स्वीकार गर्न अझै तयार छैनन् । आफैँ, आफ्नो पालामा या आफ्नै नेतृत्वमा आफै परिवर्तन गर्ने भन्छन् । तर त्यो कति कसरी सम्भव छ या सम्भव छैन सूक्ष्म विश्लेषण गर्न तयार देखिँदैनन् । आजको समाज २००८ साल, २०१८ साल जस्तो छैन । त्यति बेला साक्षर मान्छे पाउन धौ धौ थियो । अब गाउँ गाउँमा पनि साक्षर मान्छे पाइन्छन् । हाम्रै भक्तपुरमा साँढे धपाउने आन्दोलनको तात्पर्य थियो, भर्पाइ आन्दोलनको माने थियो, मोही किसानको बाली तिरेको भर्पाइ लिने आन्दोलनको ठूलो महत्व थियो । किसान मजदुरका छोराछोरीलाई स्कूलमा पठाउने समस्या थियो । धेरैजसो जग्गा साहुको हुन्थ्यो । जग्गाधनीका छोराछोरीका बिहेमा सबै काम निःशुल्क रूपमा किसानहरूले गरिदिनुपथ्र्यो । आज त्यो सामन्तकालीन युग छैन । जग्गाधनीका छोराछोरीसँगै एउटै विद्यालयमा किसानका सन्तानहरूसँगै पढ्छन्, एउटै रेष्टुराँमा खाजा खान्छन् । तसर्थ आज समाजको आमूल रूपान्तरण गर्न आजकै अवस्थालाई सम्बोधन गर्न सक्ने नयाँ जनशक्ति जरूरी छ जसले युगसापेक्ष प्रश्न गर्न सकोस्, उत्तर दिन सकोस् । नत्र हुँदैन ।
छल्न छकाउन नजाने अन्यथा पथ्र्यो
३० वर्ष अघिकै भक्तपुरमा जेरी, स्वारी, हलुवा, आलुको बोक्रैसहितको तरकारी र चिया खाएर जाने गरेको मैले मेरो आँखाले देखेको छु । अब आज त २०७८ साल भइसक्यो । ती किसानका छोराछोरी नातीनातिनी सायद खेतबारीमा बिहानै जाँदैनन् बरू पढाउन शिक्षालय जान्छन् । दिउँसो त केही किसान खेतबारीमा जालान् । दिउँसो खेतमा काम पनि धेरै हुँदैन । प्रायः सबै खेत हुने जग्गा इँटा भट्टाले ठेक्का लिइसकेको हुन्छ । आजका भक्तपुर सहरका किसानका सन्तान खेतीमा जाँदा हिजो बाबुबाजे झैँ खर्पनमा मल, कोदाली, राखी एउटा बाख्रो डो¥याएर जाँदैन । मोटरसाइकलमा गुड्दै जान्छ र त्यसैगरी फर्कन्छ बेलुकी । यसरी आम मान्छेको दैनिकीमा आमूल फरक भइसकेको छ । एउटा बाख्रो, एउटा बोकाको अर्थतन्त्र भक्तपुर सहरमा अब छैन वा नगण्य मात्र छ । अर्कोतिर पुराना साहुमहाजनका सन्तानहरू पनि एकाधबाहेक जग्गा जमिनमा खेतीमा आश्रित हुन छोडी ठूल्ठूलो कमाइ हुने काममा प्रवेश गरी बढी आम्दानी हुने काममा प्रवेश गरे । विशाल पार्टी प्यालेस सञ्चालन गरी नयाँ पेशाबाट कमाएका छन्, खाएका छन् । आधारभूत रूपमा नै बाटो फरक भएको छ । रूसमा बोल्सेभिक क्रान्तिअघि पेशेवर रूपमा नै गुप्तरूपले कार्यकर्ताको एउटा नेतृत्वदायी समूह हुन्थ्यो । यी कार्यकर्तामा निम्नतम सैद्धान्तिक ज्ञान भने हुनैपथ्र्यो । राजनीतिक अनुभव, सङ्गठनात्मक व्यवहार सरकारी प्रहरीलाई छकाउने खुबी पनि हुनैपथ्र्यो नत्र अन्यथा हुन्थ्यो ।
श्रीखण्डले पोल्दैन सिस्नु बास्ना आउँदैन
शान्तिपूर्ण ढङ्गले पुँजीपतिहरूको सम्पत्ति जनताको सम्पत्तिमा परिवर्तन गर्न र पुँजीपतिको सम्पत्तिमाथि विजय पाउन सम्भव हुँदैन । यो तथ्य सहसा बुझिँदैन पनि । सर्वहारा वर्गको हुकुम सहसा कायम पनि हुँदैन । शोषक वर्गको अस्तित्व ध्वस्त पारेर मात्र वर्गविहीन साम्यवादी समाज स्थापना गर्न सकिने निष्कर्ष आजसम्मको अनुभवले सिकाएको छ । आफ्नै परिश्रमले कमाएको, जालझेल नगरेको सम्पत्ति क्रान्तिपछि पनि आफ्नै हुनेगर्छ । तर आज नाम प्रजातान्त्रिक, समाजवादी, जनवादी, साम्यवादी, जे राखे पनि वस्तुतः तिनीहरूको आदर्श, नीति, सिद्धान्त र व्यवहार भने पुँजीपति वर्गकै हितमा हुने गरेको छर्लङ्गै छ । पुँजीवादी व्यवस्थामा पुँजीपति वर्ग नै विभिन्न गैरपुँजीवादी नाम राखेर काम भने पुँजीवादकै पक्षमा गर्ने प्रचलन बढ्न लागेको छ । अझ नेपालको प्रसङ्गमा त झन् बढी छ । प्रधानमन्त्रीको नेतृत्वमा उनै शोषक पुँजीपतिहरू विभिन्न आवरणमा सत्तामा, सदनमा छिर्छन् । गहिरिएर हे¥यो भने ती उज्याला र सुकिला अनुहारभित्र घर–जग्गा व्यापारी, बालुवा र गिट्टीका व्यापारी, गुण्डा, डन, कालाबजारी, ठेकेदार, माफियाहरू पो त पुगेका हुने रहेछन् । निःस्वार्थ व्यक्ति नै निडर हुन्छ किनकि उसको लिनु खानु केही हुँदैन गलत लिनु खानु केही नभएको मुद्दा पनि त्यति गम्भीर र जटिल हुँदैन । साँचो कुरा साँचै हुन्छ । आगोले पोल्छ हिउँले ठि¥याउँछ । पुँजीवाद शोषणको स्रोत हो । पुँजीवाद जति नै सिङ्गारे पनि सिस्नु वास्ना आउँदैन, श्रीखण्डले पोल्दैन ।
भक्तपुरबाट त्रिचन्द्रमा पढाइ
कतिपय सोझा मान्छे नेमकिपा शासक दलहरूसँग किन मिल्दैन भन्ने खालका प्रश्न गर्छन् । तर, नेपालका शासक दललाई कोट्यायो भने नेमकिपालाई भत्काएका विगत छ्याङ्गै देखापर्छन् । तब हामीलाई खन्ने, जोत्ने शासक दलहरूसँग कसरी सहकार्य ? प्रश्नै उठ्दैन । नेपालको दक्षिण, पश्चिम र पूर्व खुला सिमाना छ । महामारीदेखि यावत नराम्रा काम खुला सिमानाबाट नेपाल सजिलै पस्छन् । कोभिड–१९ को पहिलो र दोस्रो झट्का पसिसक्यो । ओमिक्रोनसमेत पसिसकेछ । तसर्थ यो खुला सिमाना तत्कालै बन्द गर्नुप¥यो । नेपालमा क्रान्ति गर्न नयाँ पुस्ता नै जागृत हुनुप¥यो । पुरानो पुस्ताले अनेक कामगरी निरक्षर बाबु आमाका सन्तानलाई विद्यालय, कलेज, विश्वविद्यालय पढ्ने मात्र गराएन पढाउने समेत जनशक्ति उत्पादन ग¥यो । तपाइँ हत्केला छाम्नोस् त कोदाली खनेका ठेला अझै होला । हामी हिजोलाई बिर्सन लाग्यौँ । हिजो बिर्सनेको भोलि नराम्रो हुनसक्छ । तसर्थ हिजो सम्झौँ, भोलि नबिगारौँ । बाजे–बज्यैका कुरा सुनौँ । वहाँहरू युवा छँदाका अर्थतन्त्र कस्तो थियो, स्वास्थ्य र शिक्षा कस्तो थियो ती हाम्रा विश्वविद्यालय हुन् । गएका ७० वर्षमा भक्तपुर कहाँबाट कहाँ पुग्यो, भक्तपुरबाट पैदल हिँडेर त्रिचन्द्र कलेज पढ्ने कति जना जीवितै हुनुहुन्छ । वहाँहरूलाई खोजौँ र अस्ति हिजो पढौँ । त्यो पुस्ता छँदै लाभ उठाउँ, नयाँ क्रान्तिलाई बल पुग्छ, यो ठट्टा होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *