भर्खरै :

हिन्द–प्रशान्तमा सैन्यकरण र ‘चीनको खतरा’

चीन र संरा अमेरिकाबीच अहिले चलेको महाशक्तिहरूबीचको प्रतिस्पर्धालाई परिभाषित गर्न सही शब्दको यतिबेला भरमार खोजी भइरहेको छ । यो प्रतिस्पर्धा ‘शीतयुद्ध’ हो वा अरू नै केही हो भन्ने विषयमा समकालीन अन्तर्राष्ट्रिय राजनीति वृत्तमा यसबारे सघन बहस भइरहेको छ । चीन र संरा अमेरिकाबीचको शक्ति सङ्घर्षलाई संरा अमेरिका र सोभियत सङ्घबीचको शीतयुद्धको ढाँचाअन्तर्गत कुनै पनि मापदण्डको आधारमा लेखाजोखा गर्न मिल्दैन । पूर्व सोभियत सङ्घ र संरा अमेरिकाबीच ४५ वर्ष चलेको शीतयुद्धको क्रममा भएको तानातान कुनै पनि हिसाबमा अहिलेभन्दा बढी थियो । तर, संरा अमेरिका र उसका साझेदार देशहरूले अवलम्बन गरेको राजनीति र नीति दुवैले लगातार अहिलेको भूराजनीतिक अवस्था ‘फरक विशेषताको शीतयुद्धतिर’ गइरहेको छनक दिइरहेको छ । एसिया र विशेषतः हिन्द प्रशान्त क्षेत्र अहिले ‘द्वन्द्वको केन्द्र’ बनेको छ । यो क्षेत्रमा सैनिक तनाव थप बढ्दै जाने जोखिम छ ।
एसियाको भूराजनीतिको दिशालाई निर्देशित गर्दै आएको र बितेका ७० वर्षमा सो क्षेत्रको तुलनात्मक शान्ति र आर्थिक समृद्धिको कारण बनेको दीर्घकालीन नीतिमा अहिले ठुलो परिवर्तन भइरहेको देखिन्छ । कथित ‘चिनियाँ खतरा’ को झुटो भयको कारण केही दक्षिणपूर्वी एसियाली देशहरूले एक सन्दर्भमा उनीहरूले अङ्गाल्दै आएको ‘असंलग्नता’ र प्रशान्त नीति अहिले सैनिक प्रतिस्पर्धातिर उन्मुख भएको दाबी गरेका थिए । चीनको उदयलाई रोक्न र प्रकारान्तरले ‘विश्व प्रभुत्व’ कायम राख्न आतुर संरा अमेरिकाले यतिबेला एसियाको शान्त सैनिकीकरणको निम्ति मुखियाको भूमिका खेलिरहेको छ ।
संरा अमेरिकाले लामो समयदेखि आफ्नो विदेश नीतिमा ‘सेना प्रथम चरित्र’ को परम्परा बोक्दै आएको छ । ‘कूटनीतिभन्दा माथि रक्षा’ लाई जोड दिने नीतिले सीमा विवाद र पुरानो दुश्मनी जस्ता क्षेत्रीय समस्या समाधान गर्न कुटनीतिक बाटोलाई अवरोध पु¥याएको छ । हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकाको बलियो सैनिक उपस्थिति सत्य हो । जापान, दक्षिण कोरिया र फिलिपिन्सजस्ता क्षेत्रीय साझेदार देशहरूसँग उसको सुरक्षा साझेदारी पनि छ । त्यो क्षेत्रमा संरा अमेरिकाले सेना र सैनिक हातहतियार पनि परिचालन गरेको छ । तर, उसले आफ्नो त्यो शक्तिलाई हिन्द–प्रशान्त क्षेत्रको भलाइको लागि प्रयोग गर्नुको सट्टा मूर्ख र युद्धपिपासु दलभित्र पसेर अरू देशमाथि आदेश जारी गर्ने र हतियारको प्रतिस्पर्धा गर्ने गरेको छ ।
दक्षिण कोरियादेखि अस्टे«लियासम्म जताततै सैन्यकरण बढ्दो छ । अनि ‘एसियामा आधार’ वा ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ रणनीतिको नाममा आफ्ना आक्रामक विदेश नीति चीनविरुद्ध केन्द्रित गर्दै संरा अमेरिकाले एसिया–प्रशान्तमा गतिविधि बढाइरहेको छ । चीनको ‘सैनिक आधुनिकीकरण’ को हावा फुकेर र चीनले आफ्ना छिमेकीहरूविरुद्ध आक्रामक व्यवहार गरेको भन्दै संरा अमेरिकाले ‘चिनियाँ खतरा’को भ्रम फैलाएर तरबार नचाइरहेको छ । त्यही भएर कथित जोखिमबाट उत्तेजित भएका देशहरू समस्याको सैनिक समाधान खोज्न थालेका छन् । जब कि ती समस्याको समाधान कूटनीतिक ढङ्गबाट समाधान हुन सम्भव थियो ।
संवैधानिक रूपमा आत्मरक्षा बलमामात्र सीमित रहन बाध्य जापानले प्रशान्त क्षेत्रमा आफ्नो विगतको अवस्थामा फेरबदल गर्दै लगातार आफ्नो सेनालाई बलियो बनाउनेतिर लागेको छ । गत महिना जापानका नवनिर्वाचित प्रधानमन्त्री फुमिओ किशिदाले जापानको रक्षा बजेट दोब्बर गुणाले बढाउने प्रतिबद्धता व्यक्त गरे । दोस्रो विश्वयुद्ध यता पहिलो पटक जापानको रक्षा बजेट कुल गार्हस्थ उत्पादनको २ प्रतिशतभन्दा माथि उक्लिएको छ । त्यस्तै जापानी मन्त्रीमण्डलले ६ अर्ब ८० करोड अमेरिकी डलर बराबरको अतिरिक्त सैनिक खर्च बढाएको छ । फलतः सन् २०२१ को रक्षा बजेट ५४ अर्ब अमेरिकी डलर पुगेको छ । त्यत्ति रकम भनेको जापानको कुल गार्हस्थ उत्पादनको १.३ प्रतिशत हो । संरा अमेरिकासँग किनेको एफ–३५ लडाकु जेट विमान ओसार्ने लक्ष्यसहित हवाइजहाज वाहकलाई मूल प्रयोजनभन्दा अर्को प्रयोजनमा लगाउन असामान्य ढङ्गले जापानले मिसाइल परिचालन गरेको छ ।
सेनामा आत्मनिर्भर बन्ने प्रयासस्वरुप दक्षिण कोरियाले पनि सैनिक शक्तिलाई बलियो बनाउने उही बाटो रोजेको छ । बाइडेन सरकारले गएको जुन महिनामा दक्षिण कोरियाको मिसाइल कार्यक्रमलाई सीमित बनाउने चालिस वर्ष पुरानो सन्धि खारेज गरेको छ । जसले प्रजग कोरिया र दक्षिण कोरियाबीचको हतियार प्रतिस्पर्धालाई अझ बढावा दिनेछ । सेप्टेम्बर महिनामा दक्षिण कोरियाले पहिलोपटक सफलतापूर्वक पण्डुबीबाट मिसाइलको सफल प्रक्षेपण गरेको छ । त्यस्तो प्रविधि भएको देशमा दक्षिण कोरिया संसारकै सातौं बनेको छ । हतियार प्रतिस्पर्धामा अघि बढ्दै दक्षिण कोरियाले सन् २०३३ मा आफ्नो पहिलो हवाइजहाज वाहक बनाउने योजना सार्वजनिक गरिसकेको छ ।
आक्रामक अउकस सम्झौताको बुई चढेर र आणविक अप्रसार सिद्धान्तलाई लात मारेर अस्टे«लियाले पनि आणविक ऊर्जाबाट चल्ने पण्डुबी बनाउन थालेको छ । जसले हतियारमा क्षेत्रीय प्रतिस्पर्धालाई अझ सघन बनाएको छ ।
चीनले विस्तृत सैनिक आधुनिकीकरणलाई बढावा दिएको कुरा सत्य हो । तर, त्यसो गर्नुको चीनको उद्देश्यलाई गलत ढङ्गले प्रचार गरियो वा त्यसबारे भ्रम सिर्जना गरियो । प्रशान्त क्षेत्रमा संरा अमेरिकाको बढ्दो सैनिक परिचालन र ताइवान क्षेत्रका पृथकतावादीहरूलाई हतियारबद्ध बनाउनुले मुख्यतः चीनको सैनिक पुनःसबलीकरण चीनको लागि आफ्नो प्रगतिको गति रक्षा गर्ने रक्षात्मक कदमसिद्ध भएको छ ।
संरा अमेरिकाको ‘कूटनीतिमाथि रक्षा’ को नीति आफ्नै स्वार्थमा आधारित भएको कुरा धेरै अघिबाटै प्रमाणित भइसकेको छ । अहिलेको हिन्द–प्रशान्त नीति मात्र त्यसको अपवाद हुन सक्दैन । आफ्नो स्वार्थ फत्ते गर्न उसले खतराको हल्लाखल्ला गर्नु नौलो कुरा होइन । बितेका सात दसकमा हिन्द–प्रशान्त क्षेत्रले लामो शान्ति र समृद्धिको अनुभव ग¥यो । त्यसकारण त्यो अवधिमा सो क्षेत्रका देशहरू आपसी विवादबाट टाढा रहे । उनीहरूले कुनै समस्या आए कूटनीतिक माध्यमबाट समाधान गरे । एसिया यतिबेला आम्दानीमा असमानता र महामारीले निम्त्याएको गरिबीजस्ता गम्भीर समस्या भोगिरहेको छ । अतिरञ्जनापूर्ण ‘चीनको खतरा’ भन्दा ती जल्दाबल्दा समस्या समाधानमा बढी ध्यान दिइनु बुद्धिमानी हुनेछ ।
(लेखक बङ्गालेदशका पत्रकार हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *