अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कर्णाली प्रदेश जुम्ला जिल्ला सिँजादरा नेपाली भाषाको उद्गम स्थल मानिन्छ । यो क्षेत्रमा हाल तीन ओटा गाउँपालिकाहरू ‘कनका–सुन्दरी, सिँजा र हिमा’ पर्दछन् । कुनैबेला सिँजा नेपालको राजधानी थियो । तर, अहिले जुम्ला जिल्लाको दरा भनेर चिनिन्छ । यहाँ बाहुन, ठकुरी, क्षेत्री, कामी, दमाई, सार्की आदि जातजातिको बसोबास छ । यहाँ सबैले नेपाली खस भाषा बोल्ने गर्दछन् ।
सिँजामा अन्नबालीहरू मार्सीधान, गहुँ, जौ, कोदो, सिमी, आलु, भटमास, कागुन, चिनु, मकैै आदि बालीको खेती हुन्छ । गहुँ सबभन्दा ढिलो पाक्ने अन्नमा पर्दछ । जौ शुद्ध अन्न मानिए पनि मान्छेले कम खाने गर्दछन् । धार्मिक कार्यमा र मानिसको स्वास्थ्यको लागि राम्रो मानिए पनि जौलाई पुरानो सोचमा गरिबले खाने अन्न भनेर हेला गरिन्छ ।
सिँजादरा जुम्ला जिल्ला सदरमुकामदेखि १२ कोशदेखि २५ कोशपर पर्ने भएकाले टाढा मानिन्छ । यहाँ अन्नको उत्पादन कम हुने भएकाले आफ्नो सीमित जग्गाको उत्पादनले प्रायःलाई खेतबारीको उत्पादनबाट वर्षभरि खान पुग्दैन ।
जुम्लामा सडक यातायात पुग्नुपहिले यहाँका हजारौँ कविलाहरू वर्षभरि खान नपुगेर कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेतलगायतका जिल्लामा पेटभरी खाना पाउँला भनी बसाँइसराइ गर्न बाध्य भए । सदरमुकामभन्दा टाढा भएका कारण यहाँ शिक्षाको पनि सुविधा थिएन । सिँजालीहरू सरकारी जागिर पाउन्नथे । कमाइको स्रोत भनेको पशुपालन (घोडा, भैँसी, गाई), खेतीपाती र घुम्तीव्यापार थियो ।
घुम्तीव्यापारमा घोडा बेच्न जोल्जी (भारत), गोलाघाट (अहिलेको राजापुर), दाङ आदि ठाउँमा जान्थे भने भेडा पाल्न वर्षायाममा पाटन (लेकमा) जान्थे । हिउँद औल (तातोठाउँ) सोरु, बाजुराको कुण्डा, अछाम, गम, दैलेख, दुल्लु, सुर्खेत, राजापुर, दाङ, कैलालीतिर लगेर भेडा पाल्ने गर्थे । हिउँदमा जुम्लामा चिसो हुने, हिउँ पर्ने, बरफ जम्ने भएका कारण औल गएर भेडा पाल्ने गर्थे । चिसो समयमा महिलाहरू जुम्लामै बस्ने, दाउरा, पराल बोक्ने, कुटपिस (धान कुट्ने र पिठो पिस्ने) कामहरू गर्थे । धान ओखलमा कुट्ने र पिठो घट्टमा पिस्ने गर्थे ।
अहिले गाउँगाउँमा धान कुट्ने डिजेलबाट चल्ने मिल राखिएका छन् भने पिठो घट्टमै पिस्ने गर्दछन् । घट्टमा पिस्न दुःख हुने भएकाले मधेशबाट बेच्न ल्याएको सेतो चामल सिमीसँग साटेर वा किनेर भात खाने गर्दछन् ।
खानाको परिकार जुम्लामा भात, रोटी अनि दाल तरकारी र साग नै हुन् । जुम्लामा भातमुखी सरकार छ । अरू नयाँ परिकारको विकास हुन सकेको छैन । पछिल्लो दिनमा जुम्लामा छोराछोरी पढाउने र घाँसको अभाव हुने गरेका कारण पशुपालन व्यवसाय गर्न छाडेका छन् । असोज महिनाभरि घाँस काट्ने, नलपराल जति जम्मा गरेपनि वस्तुभाउलाई खुवाउन गाह«ो हुन्छ । औल अर्थात् तातो ठाउँमा पशु पाल्ने काम छाडी सके । पशुपालन गर्न छाडेपछि घिउ, दूध, दही, मही, मासुको अभाव परिसकेको छ । दूग्ध डेरीको व्यवस्था छैन । केटाकेटीहरू पढ्ने नाममा स्कूलतिर व्यस्त हुने गर्छन् ।
उत्पादनको कमी हुने सिँजादरामा सरकारी जागिर खाने थोरै मान्छे छन् । खेती गरेर गुजारा चलाउनु बाहेक आयआर्जन गर्ने अन्य विकल्प छैन । युवाहरूको व्यवस्थित रोजगारी छैन । महिलाहरूले घरमा बसेर केटाकेटी, गाईभैँसी, खेती कार्य हेर्ने गर्छन् भने पुरुषहरू भारत, मधेश, पहाडतिर घरघरमा पसलको सामान, त्यहाँको जडिबुटी, चामल, सिमी, ओखर, स्याउको चाना बेचेर कपडा किन्ने गर्छन् । हामी सबैले देखेका छौँ, सहरबजारतिर घरघरमा सिरक, कम्बल, ज्याकेट, हिङ, सिलाजित बेच्ने मानिसहरू धेरैजसो जुम्ला सिँजाका हुन् ।
आयआर्जन गर्न त्यहाँका मानिस सेना, विदेश, ठेक्कापट्टा, स्थायी व्यवसाय गर्न सक्दैनन् । त्यसमा उनीहरूको सोच र पहुँच नै छैन । त्यहाँका जनता, मन्त्री, सांसद, उच्च पदस्थ कर्मचारीहरू पनि छैनन् । अमेरिका, युरोप, कोरिया आदि देशमा गएर पैसा कमाउने त्यहाँको स्थिति छैन । सानोतिनो स्वार्थमा प्रभावित भइहाल्ने गर्छन् । भोट हालेको भोलिपल्ट नेताहरू नजिक आउँदैनन्। नेता र सांसद पार्टीको सभामा मात्र जाने गर्छन् । तर, जनताको अवस्था बुझ्ने काम गर्दैनन् । त्यहाँ कमाई गर्न जिल्ला छाड्नेहरू धेरै हुने भएकाले घरका परिवारसँगै बसेर रमाउने कहिल्यै पाउँदैनन् ।
सरकारी सुविधाको अवसर, विकासको रूपैयाँ, सङ्घसंस्थाको तालिम आदि अवसरहरू मुठ्ठीभरका टाठाबाठा हुँ भन्नेहरूले पाउने गर्छन् । तर, लक्षितवर्गले कुनै पनि अवसर पाउने गरेका छैनन् ।
सानातिना कुटिर व्यवसाय गर्न त्यहाँ बजारको व्यवस्था छैन । फलफुल खेतीहरूमा स्याउ फल्छ तर स्याउ १ वर्ष फल्ने अर्काे वर्ष नफल्ने भएका कारण स्याउ खेतीमा जनताको उत्साह छैन । स्याउ फलेको वर्षमा पनि स्याउ व्यापारीले घरघरमा आएर किलोको ३५÷४० रूपैयाँमा किन्ने गर्छन् । स्याउ किन्ने व्यापारीहरू पनि यातायातको प्रवन्ध राम्रो नभएका कारण सुर्खेतमा लिएर प्रति केजी ५५÷६० रूपैयाँमा बिक्री गर्छन् । त्यसैले स्याउबाट नाफा थोरै हुने गर्छ । नाफा कम हुने भएका कारण स्याउ व्यापार व्यापारीहरू पनि उत्साहित देखिँदैनन् । वर्षको आधि समय पुरुषहरू घर बाहिर बस्ने हुँदा महिलाहरू झन् धेरै दुःख गर्नुपर्छ । आमाबाबुले पनि छोराको माया नपाई जीवन बिताउँछन् । छोराछोरीको पढाइ नाम मात्रको हुने गर्छ ।
शिक्षा क्षेत्रमा विद्यार्थीको पढाइ पनि कमजोर छन् । गाउँगाउँमा विद्यालय छन् । तर, शिक्षक दरबन्दीको अभाव छ । भएका शिक्षकहरू पनि पक्षपातपूर्ण तरिकाले राखिएको हुँदा योग्य छैनन् । योग्य भएकाहरू पनि दलीय दबाबका कारण पढाउन मन गर्दैैनन् । पछिल्ला दिनहरूमा आमाबाबु बच्चाहरूको पढाइका कारण र पेटभरी खान मधेशतिर बसाइरसाइ गरी रहेका छन् । त्यहाँको खेतीयोग्य जमिन बाँझो छ । भएको जमिन पनि पशुपालन कम हुने भएका कारण मलको कमिले गर्दा उब्जनी घट्दो अवस्थामा छ ।
खनजोतको लागि पुरानै हलोको प्रयोग गरिन्छ । जमिन जोत्ने मान्छे पाइँदैन । गोरुको अभाव पनि हुने गर्छ । प्रविधि र प्राविधिकको बन्दोबस्त पनि छैन । त्यहाँको मान्छेहरूले अत्यन्तै दुःखपूर्ण जीवन बिताइरहेका छन् । उनीहरूको समस्या बुझ्ने कोही पनि छैन । जनता आफ्नो खुट्टामा टेकेर निर्णय गर्न सक्दैनन्, जालीफटाहाहरूले देखाएको बाटोमा हिँडेर दुःख पाइरहेका छन् ।
उपचार गर्न अस्पताल छैन । डाक्टर पनि छैन, औषिध पनि छैन । हेल्थपोस्टमा उपचार गर्न जाँदा त्यहाँ प्रयाप्त औषधि पाइँदैन । घरमै झारफुक, जडिबुटीको प्रयोग गरेर बाँच्न कोसिस गर्छन् । यिनीहरूको पिडा कसले देख्ने ?
गाउँघरमा अलिअलि पढ्यो, चारपैसा कमायो, सानोतिनो जागिर खायो भने त्यो मान्छे सुगमतिर सरेर जान्छ । अलिअलि पढेकोले हलो चलाउन छाड्छन् । जुम्लामा बुढापाका भन्ने गर्छन्, “दस कक्षासम्म पढेकाले हलो जोत्न छाड्छन्, आइए पास गरे भने घरै छाड्छन् । बिए पास गरे भने देशैँ छाड्ने गर्छन् ।”
खेतीपातीको काम गराइ पनि तातो ठाउँको जस्तो हुँदैन । चैतमा धानको बिउ उमार्नु पर्ने, चैत्रवैशाखभित्र आलु मकै लगाउनुपर्ने, जेठमा जौ काटेर धान रोप्नै पर्ने, असारको बीस गतेसम्म सिमी छर्नैपर्ने । त्यो समयभित्र खेती नगरे असोजसम्म बाली पाक्दैन । कार्तिकमा तुषारो र मङ्सिरमा हिउँ पर्छ । अरू समयमा खेती हुँदैन ।
सरकारसँग कर्णालीका जनताको माग के छ भने हाम्रो उत्पादन र प्राकृतिक स्रोतसँग सम्बन्धित उद्योग धन्दा खोल ! अनि मात्र हाम्रो आर्थिक विकास हुनेछ ¤ कुरा त ठिकै हो । सरकारले स्याउ र जडिबुटी प्रशोधन गर्ने उद्योग, जलविद्यत् उत्पादन गर्ने आयोजना, च्याउ खेती गर्ने प्रविधिको विकास गरिरहेको भए जनता स्याउ, जडिबुटी र च्याउखेती गरी बिक्री गरेर पैसा कमाउँथे होलान् । त्यसो हुन नसक्दा जनताको अवस्था दयनीय छ ।
जुम्ला जिल्लाको सिँजादरा पहाडी जिल्ला मध्येको भौगोलिक सुगमता भएको जिल्ला हो । त्यहाँ प्राकृतिक स्रोत पर्याप्त छ । मलजल पु¥याउन सकेमा र बजार व्यवस्था उचित भए खेतीबाट पनि उत्पादन राम्रै हुने थियो । जनप्रतिनिधि र सरकारको ध्यान पुग्न नसक्दा त्यहाँ गरिबी धेरै छ ।
सरकारी बजेट बाठाटाढाले हिनामिना गर्छन् । विकासका कामहरू पनि राम्रो छैनन् । समाजमा जाँडरक्सी खानेहरूले पनि शान्तीमा खलबल मच्चाउँछन् । युवाहरू बेरोजगार भई भौतारिएर बसेका हुन्छन् । अनि कसरी सिँजाको विकास हुन सक्छ ?
स्थानीय तह, प्रदेश र केन्द्र सरकारको समयमा ध्यान पुगेमात्र सिंजादराका जनताको दयनीय अवस्थामा परिवर्तन ल्याउन सकिन्छ । सम्बन्धित निकायको तत्काल ध्यान जानु आवश्यक छ ।
Leave a Reply