भर्खरै :

स्तालिनबारे झूटको प्रतिकार गरौँ

संसारका कम्युनिस्ट र क्रान्तिकारीहरूले स्तालिनबारे सत्यतथ्य बारम्बार बोलिरहनु र प्रचार गरिरहनुपर्छ किनभने स्तालिनबारे पुँजीपति वर्गले सबैभन्दा बढी झूटो र भ्रमको प्रचार गरिरहेका छन् । स्तालिनबारे पुँजीपति वर्गको झुटको प्रचार यति हानिकारक सिद्ध भएको छ, आफूलाई कम्युनिस्ट दाबी राजनीतिक शक्ति र बुद्धिजीवीहरू समेत स्तालिनबारे तिनै झुटका पछि लागेका छन् । लेनिनका विचार मान्ने तर लेनिनका विचारको कार्यान्वयनमा जीवन होम्ने स्तालिनको बद्ख्वाइँ गर्नेहरू पनि नभएका होइनन् ।
स्तालिनबारे प्रचार गरिएका धेरै गलत प्रचार र भ्रमको चिरफार हुने क्रम चालु छ । विशेषतः स्तालिनको निधन (अथवा हत्या ?) पछि उनकै सचिवालयका सदस्यहरूले उनको बद्नाम गरे । बेरिया, ख्रुश्चेभजस्ता सत्ताका भोकाहरूबीच आपसमा टाउका फोडाफोड भयो । अन्ततः स्तालिनको बद्ख्वाइँ गर्न नेतृत्व गरेको बेरिया गुट आफै खु्रश्चेभको बद्ख्वाइँको शिकार भयो । तर, उनीहरूले आफ्ना स्वार्थ र कमजोरी छोप्न तथा स्तालिनप्रतिको जनताको अगाढ विश्वास तोड्न स्तालिनबारे झूट सिर्जना गरी प्रचार गरिरहे । सोभियत कम्युनिस्ट पार्टीको संशोधनवादी र प्रतिक्रान्तिकारी शक्तिले स्तालिनको विषयमा यति झूट सिर्जना गरे, सोभियत सङ्घका जनता मात्र होइन, संसारका जनताले के ठीक र के बेठीक निक्र्योल नै गर्न सकेनन् ।
तर, इतिहास सधैँ झुटकै सहारामा टिक्न सक्दैन । विशेषतः सन् १९९० मा सोभियत सत्ता समाप्त भएपछि चिहानबाट इतिहास खोज्ने क्रम सुरु भयो । सोभियत संशोधनवादी सत्ताको कोपभाजनको कारण पेटमा आगो पालेर बसेका इतिहासका पात्रहरूले एकपछि अर्को सत्य बोल्न थाले । स्तालिनका अङ्गरक्षक एटी रेबिनले रुसको एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्ताले स्तालिनबारे त्यत्तिबेलासम्म सत्य ठानिएका धेरै झुटको पर्दा च्यातिदियो । ख्रुश्चेभ र बेरियाले प्रचार गरेका झूटलाई एक एक गर्दै छ्यास्न त्यो अन्तर्वार्ता धारिलो हतियार बन्यो । सो अन्तर्वार्ताको आधारमा रुसबाट प्रकाशित भएको एटी रेबिनको संस्मरण क्यानाडाको नर्थ स्टार कम्पासका सम्पादक माइकल लुकासले अङ्ग्रेजीमा अनुवाद गरी प्रकाशन गरेपछि स्तालिनबारे हिजोसम्म सत्य ठानिएका कति झूट आज नाङ्गो भएका छन् । नर्थ स्टार कम्पासले नै प्रकाशित गरेको ‘सेक्रेट डकुमेन्टस्’ ले पनि स्तालिनबारे प्रचारित झुटको जरा खन्ने काम भयो ।
इतिहासकार गुबर फरले आफ्नो प्राज्ञिक जीवनको महत्वपूर्ण हिस्सा स्तालिनबारे सत्य खोज्नमा बिताए । ‘ख्रुश्चेभ लाइज’ पुस्तकमा संसारकै विख्यात मानिएको खु्रश्चेभको ‘गुप्त भाषण’ का हरेक वाक्य वाक्यमा रहेको झूट निकाल्न फर सफल भए । लेनिनसँग स्तालिनको सम्बन्ध, स्तालिनको नेतृत्व मोह, स्तालिनको व्यक्तिवादी चरित्र आदि विषयमा प्रसारित सबै झूटको केस्राकेस्रा केलाएर सत्य उजागर गरे गुबर फरले ।
स्तालिनको विरोध गर्नेहरूले प्रयोग गर्ने हतियार हो – किरोभको हत्या । किरोभ स्तालिनका सबभन्दा नजिकका कमरेड थिए । एटी रेबिनले स्तालिनको शयन कक्षसम्म पुग्न सक्ने निकट मित्रको रूपमा किरोभको व्याख्या गरेका छन् । किरोभको हत्या हुन केही दिनअघि उनलाई रेल स्टेसनसम्म पु¥याउन स्तालिन आफै जानुभएको थियो । प्रतिक्रियावादीहरू यति निच निस्किए, किरोभकै हत्या पनि स्तालिनले गराएको भन्ने गलत प्रचार गरे ।
यसप्रकार स्तालिनबारे धेरै झूट प्रचार गरिएको हुनाले उनको प्रतिरोधमा कम्युनिस्टहरूले अझ धेरै अध्ययन, अनुसन्धान, प्रचार कार्य गर्न जरुरी छ । स्तालिनको बद्ख्वाइँ गर्नु भनेको संसारको कम्युनिस्ट आन्दोलनको बद्नाम गर्नु हो । अक्टोबर समाजवादी क्रान्तिको भावनाको विरोध गर्नु हो । स्तालिनको जन्म दिवसको सन्दर्भमा संसारका क्रान्तिकारीहरूले स्तालिनबारे प्रचारित झुटको अझ बढी खण्डन गर्न जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *