२९ देशद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर
- श्रावण १, २०८३
भक्तपुर, ७ पुस । चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोट सडकको पुनः निर्माण विलम्बबारे बुधबार छलफल कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले नगरकोट सडक पुनः निर्माण चौडा गरी कालोपत्र गर्ने काम सुरू भएको आठ वर्ष भएको तर सरकारहरु तदारुक नहुँदा आठ वर्षमा पनि काम पूरा नभएको उल्लेख गर्नुभयो ।
नगरकोट सडकको काम अविलम्ब सम्पन्न हुनुपर्नेमा जोड दिँदै सांसद सुवालले जनताको यो भावनासँग नेपाल मजदुर किसान पार्टी र जनप्रतिनिधिको हैसियतमा आफ्नो पनि समर्थन भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नगरकोट सडकबारे प्रतिनिधिसभामा पटक–पटक आवाज उठाउँदै मन्त्रीहरूको ध्यानाकर्षण गराएका थियौँ र छौँ । यो सडक पुनःनिर्माण अविलम्ब सम्पन्न गर्न नेमकिपा भक्तपुर जिल्ला समितिको नेतृत्वमा भएको जुलुस र सभामा आफू पनि सहभागी भई ऐक्यबद्धता जनाएको थिएँ ।”
“तत्कालीन गृहमन्त्री रामबहादुर थापाले कुनै नेताको घरभेटी हुँदैमा काम विलम्ब गर्ने खराब ठेकेदारलाई नछाड्ने जवाफ पनि संसद्मा दिनुभएको थियो । तर, हालसम्म निज ठेकेदारलाई कुनै कारबाही भएको छैन”, सांसद सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “संसद्को विकास समितिमा ठेकेदार प्रतिनिधिले मन्त्रीलाई घूस दिन नपरे गुणस्तरीय काम हुने खुलासा गरे । सरकारमा गएका दलहरूले खराब ठेकेदारहरूलाई आफ्ना कार्यकर्ता बनाए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा ११८ अर्ब रूपियाँ बराबरको ठेक्का अपूरो भएको सार्वजनिक भयो । पूर्वमन्त्री रामचन्द्र झाले तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई भ्रष्टाचारको आरोपमा जेल जान तयार भएर बस्नू भनी चेतावनी दिएको समाचार पनि प्रकाशित भयो ।”
सरकारको निर्माण कम्पनी एनसीसी र हेभी इक्वीपमेन्ट डिभिजनलाई कमजोर र खारेज गरिएको गलत भएको धारणा राख्दै सांसद सुवालले सरकारले गर्न नसकेको काम व्यक्तिबाट हुने भ्रम राख्न नहुने बताउनुभयो ।
सांसद सुवालले जोड दिँदै भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयमा हुने कार्यालय प्रमुखहरूको मासिक नियमित बैठकमा कुन कार्यालयको काम किन विलम्ब भइरहेको छ ? समीक्षा गरी आवश्यक निर्देशन दिनुपर्छ र समयमै सम्पन्न गर्नु जरुरी छ ।”
“भारतको एक्जिम बैङ्कको सहयोगमा नगरकोट सडकको पुनः निर्माण हुनु विलम्बको अर्को कारण हो । भारतीय एकाधिकार पुँजीले नेपाललाई विकासमा सजिलै सहयोग गर्दैन । एमसीसी सम्झौता पनि उस्तै हो । सम्झौताको धारा ४.२, ६.८, ७.१, अनुसूची १ र अनुसूची ५ (क) अध्ययन गर्दा हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन नै साबित हुन्छ र नेपाललाई भारतको प्रदेशजस्तो बनाउने पुष्टि हुन्छ”, उहाँले भन्नुभयो ।
सांसद सुवालले देशभक्त नेपाली जनताले एमसीसी सम्झौतालाई कुनै हालतमा समर्थन गर्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय तह चाँगुनारायण नगरपालिकाले नगरकोट सडक पुनः निर्माणमा विलम्ब भएकोबारे सुरूमै जनतासँग छलफल गरी कारबाही अघि बढाएको भए यतिबेला निर्माण भइसक्ने थियो । अवधि सकिनै लाग्दा वा अर्को चुनावको मुखमा छलफल गरियो भनेर जनताबाट विरोध हुने सम्भावना छ ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले आयोजना सम्पन्नमा ढिलाइ भएकोले रु. ३१ करोडबाट ३५ करोड खर्च पुगेकोको असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “आयोजना ढिलाइले गर्दा स्थानीय जनताहरुमा धुँवा, धुलोले गर्दा क्यान्सर हुनसक्ने सम्भावना भएकोले कसले जिम्मा लिने ? ठेकेदारले नैतिक, सामाजिक, जनस्वास्थ्य र स्थानीयको आर्थिक उपार्जनमा सम्वेदनशील भएर कार्य गर्नुपर्छ ।”
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रको सभापतित्वमा भएको कार्यक्रममा चानपाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद सापकोटा,, नेमकिपा भक्तपुरका जिल्ला अध्यक्ष न्हुछेभक्त फोजूलगायतले पनि बोल्नुभएको थियो ।
Leave a Reply