भर्खरै :

घुमघामका टिपोटहरू

१. बडीगाड
बडीगाडको मुहान ढोरपाटन हो । ढोरपाटनको पूर्वी मोहडाबाट सुरु भएर यो खोला दक्षिण बग्छ । रुद्रबेनीमा पुगेर बडीगाड कालीगण्डकीमा मिसिन्छ । यतातिर खोलालाई गाड भन्छन् । खस बोली पछ्याउँदै आजभोलि बडीगाडलाई यदाकदा बडीघाट लेख्न थालिएको छ । नाम फेर्दा इतिहास मेटिन्छ । यहाँका खस बुद्धिजीवीलाई यो कुरा कसले सम्झाओस् ¤ कतै इतिहास मेट्न जानाजान यसो गरिएको त होइन ? गैर खस जातिले यो प्रश्न उठाउन सक्छन् । यसले जातीय किचलो झिकेर छाक टार्नेहरूलाई गतिलो खुराक दिन सक्छ । त्यो किचलो उठ्नु अघि नै बडीगाडलाई बडीगाड किन नभन्ने ?
२. माछा
बडीगाड देखाउँदै आमा भन्नुहुन्छ, “तिमीहरू सानो छँदा यो खोलामा माछै माछा थिए । हामी सुपो लिएर आँगनमा जान्थ्यौँ । अनि, सुपोभरि माछा उघाएर ल्याउँथ्यौँ ।” यस्तै अनुभव धेरै अघि लेखिएको साझा प्रकाशनको पुस्तक ‘अल्छीका पाइलाहरू’ मा पनि उल्लेख छ । कुनै बेला मानिसहरू माछा मार्न खुकुरी लिएर बडीगाडमा पस्ने गर्थे रे ¤ आज दुईवटा घटनाले बडीगाडका माछालाई इतिहास बनाइदिए । एक, बिपी कोइरालाले गरेको गण्डक सम्झौता । दुई, बिजुली, बम र विष । गण्डक बाँधले बडीगाडमा फुल पार्न समुद्रको बाटो हुँदै आउने विदेशी माछाहरूलाई तल त्रिवेणीमै छेक्यो । अर्कोतिर विज्ञानको चमत्कार बनी आएको बिजुली, बम र विष फालेर माछा मार्ने चलनले माछाको छेलोखेलो ह्वात्तै घटाइदियो । नत्र डल्फिनसहित आधा कुइन्टलसम्मका माछाहरू देखिने र भेटिने खोला हो बडीगाड ।
३. कागजी काम
लौहपुरुष गणेशमान सिंहले गण्डक सम्झौतालाई ०१५ सालको चुनाव जिताएबापत भारतलाई नेपाली काङ्ग्रेसले चढाएको कागज भने । काम महाकाली सन्धि र माथिल्लो कर्णाली सम्झौतामा झैँ कागजमा मात्र भएन । यामानको बाँध नै बन्यो । बडीगाडछेउका माछाप्रेमी सर्वसाधारण बपिीको बाँधकर्मको परोक्ष प्रभावबाट पीडित बन्न पुगे । आजभोलि बडीगाडवरपरका किसान कामले भन्दा पनि कागजले पीडित छन् । सक्कली किसानहरू सरकारी राहत वा प्रोत्साहन रकमबाट वञ्चित छन् । नक्कली किसानहरू पार्टीको आडमा किसानको भाग खोस्नमा सिद्धहस्त भइसकेका छन् । लुम्पेक गाउँमा एक शासक पार्टीको कार्यकर्ताले गाउँभरका बाख्राहरू जम्मा पा¥यो । ४१ वटा बाख्रा पु¥याएर उसले एकमुष्ट फोटो खिच्यो । फोटो र फर्जी कागज बुझाएर उसले किसानलाई आउने सरकारी सहयोग हजम ग¥यो । बाख्राका सक्कली मालिकहरू जिल्लराम भए ।
४. मन्डी
मजुवा बडीगाड किनारको बजार हो । बजारमा हालसालै एउटा मन्डी बनाइएको छ । मन्डी के भन्नु, दुइटा निलो टिनको छानोसहितका सिमेन्टका डबली बनाइएको छ । छानोले घाम त छेक्छ, तर बर्खामा पानी छेक्दैन । यसको काममा एक एमाले नेताले बडो रमाइलो चर्तिकला देखाए । खासमा चेतन गुल्मी जिल्लाका एमाले अध्यक्ष हुन् । छोरीको बिहे बडो धुमधामले गरिदिए बुटवलतिर । बिहेमा मजुवा बजार नै हल्लियो । गानाबजाना र भोजभतेरको छेलोखेलो थियो । ठूलाठूला मान्छेको जमघट थियो । बिहेमा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आगमन चेतनको पहुँच बताउन पर्याप्त थियो । तर, यही तामझामबीच बजारका केही सर्वसाधारणले चेतनको चर्तिकला भुलेनन् । एकजना मजुवाबासीले भने, “मन्डीको टेन्डर साढे सात लाखको थियो । तर, जाबो दुइटा टिनका छाप्रा हाल्न पनि साढे सात लाग्छ र ? चलनचल्तीको भाउअनुसार यसलाई अढाइ लाखभन्दा बढी लाग्नै सक्दैन । अढाइ लाखको काम गरेर चेतनले पाँच लाख हजम ग¥यो । एमालेको जात जनाउन एकजना दलितलाई निरीक्षक बनाइयो । त्यो दलित कुनै सरकारी निकायमा छैन, ऊ जनप्रतिनिधि पनि होइन । कुन हैसियतले उसलाई निरीक्षक बनाइयो ? कसैलाई थाहा छैन… । निरीक्षक आयो । मन्डीभन्दा पाँच सय मिटर माथि पिपलको रूखमुनि उभियो । तल खाल्डोका दुइटा छाप्रा हे¥यो । सबै ठीकठाक छ भनी कागजपत्रमा सही धस्कायो । चेतनले पाँच लाखमध्ये कति रकम उसलाई दियो ? गाउँमा सबैले आआफ्नै अड्कल काटेका छन् । रक्सीमासुमा बिक्ने जातले त्यो काम पनि सस्तैमा गरेको हुनुपर्छ ।”
५. रक्सीमासु
बडीगाडका दुवै तीरमा रक्सीमासुमा बिक्ने जातिहरूको बाहुल्य छ । बोटे गाउँ बडीगाडको पश्चिम किनारमा छ । खोलासँगै जोडिएको जमिन समथर र उर्व छ । त्यहाँ केही घर बाहुन क्षेत्रीका छन् । त्यहाँमाथि एउटा पिपलको रूख छ । सँगै एउटा विद्यालय छ । त्यसमाथि लागेपछि बोटेहरूका घर छन् । तिनका खेतहरू बाँदर खेल्ने खोरियाजस्ता छन् । हिसाब स्पष्ट छ – अब्बल र दोयम जमिन हुनेखानेलाई, सीम र चहार जमिन गरिबगुरुवालाई । बोटेहरू माछा मारेर, जमिन हुनेहरूकहाँ खेती मजदुरी गरेर र भारत आदि देशमा गएर आफ्नो ज्यान पाल्छन् । दुईचार घरले आजभोलि क्यामेरासहितका मोबाइल किनिसकेका छन् । सरकारी अनुदानमा उनीहरूले पक्की घरहरू पनि हालेका छन् । तर, रक्सीको आहालमा डुब्ने उनीहरूको जीवनचर्यामा धेरै हेरफेर आएको छैन । नेपाली विकास र समृद्धि भनेको स्वामीहरूले मगन्ते जनतालाई दिने दानदक्षिणा हो भन्ने तथ्य बोटे गाउँमा हेर्दिन भने पनि हेर्नुपर्छ । नेपाली काङ्ग्रेसका विद्वान नेता चन्द्र भण्डारी बोटे गाउँका हर्ताकर्ता हुन् । दसैँको बेला उनी गाउँमा आएर बोटेजनलाई टीका लगाइदिन्छन्, दसैँ खर्च दिन्छन् । राँगो ढलाएर भण्डारीले भण्डार पनि लगाउँछन् । यति गरेपछि बोटे गाउँको भूमि र अर्थ व्यवस्थामात्र जोगिन्न, चुनावी माहोल पनि काङ्ग्रेसको पोल्टामा पर्छ । बोटेजनका हातमा मरेका माछा हालिदिने भण्डारीले कर्मजीवी बोटेहरूले मार्ने माछाहरू बिजुली, बम र विषले नष्ट भइरहेका छन् भनी संसदमा कहिल्यै चिन्ता वा चासो व्यक्त गरेको सुनिएको छैन । बोटेहरू आत्मनिर्भर भएमा आफ्नो सारा खेल भताभुंग हुने कुरा भण्डारीलाई राम्रै हेक्का छ !
६. रोल्पा
माओवादी सङ्घर्षको आधार इलाका रोल्पाबाट आएका एकाध दर्जन किशोरकिशोरी आजभोलि बडीगाडको तीरमा देखिन्छन् । नदीको कुहिरो नफार्दै उनीहरू बडीगाडमा ढुङ्गा थुपार्न जान्छन् । एकाध घण्टापछि ट्रयाक्टर आइपुग्छ । त्यसमा ढुङ्गा लोड गरेर दल बहादुरले गाडी हुइँकाउँछन् । अलिपर तारको तटबन्ध बाँधिदै छ ।
दल बहादुर एघार कक्षामा पढ्छन् । रेडियो प्रस्तोता बन्ने सपना सङ्गालिराखेका छन् । घरपरिवारको आर्थिक स्थिति गतिलो नभएपछि उनी पाँचसात जिल्ला नाघेर यहाँ तटबन्ध बाँध्ने काममा आएका छन् । आएको दुई महिनामै उनले ट्रयाक्टर चलाउन सिकिसके । उनीसँगै गाउँबाट ते¥ह चौध वर्षका दुईजना किशोरहरू पनि आएका छन् । चारपाँच कक्षा पढेर पढाइ छोडेका केही किशोरीहरू पनि छन् । बालअधिकारको कुरा उनीहरूका निम्ति कुरैमात्र हो । उनीहरू उमेरअघि नै बुढो हुन विवश छन् । उनीहरूमाथि हुने श्रम शोषणको अर्को किस्सा पनि छ । ठेकेदार तिवारीले उनीहरूलाई महिनाको ६ सय २० रूपैँया ज्याला दिन्छ । बाहिर उनीहरूलाई अर्कै भाउ भन्न लगाइएको छ । त्यसैले केही लुकाएझैँ गर्दै गायत्रीले मलाई भनी, “दाई, महिनाको ८ सय दिन्छ । त्यही पैसा लिएर गाउँमा देवाली मनाउन जाने हो ।”
लाग्छ गुल्मी, पर्वत, स्याङ्जा, बागलुङ, म्याग्दीलगायत जिल्लामा फिँजारिएका प्रकृतिको कहर रोक्ने यी कलिला रोल्पाली हातहरूलाई माओवादीको कोसेली यही हो ।
७. हावा
बडीगाड किनारमा एउटा गाउँ छ – चोरकाटे । गाउँलाई सुन्दर देखाउने मेसोमा आजभोलि एउटा पवित्र हिन्दू नाम दिइएको छ गाउँलाई । नत्र घर आएको चोरलाई प्रहरी नपर्खी गाउँलेहरू मिलेर काटेपछि गाउँको नाम चोरकाटे रहन गएको कथा यहाँ प्रचलित छ ।
चोरकाटेमा एउटा गाडी मर्मत गर्ने ग्यारेज छ । एकजना जनप्रतिनिधिको गाडी ग्यारेजअघि अडियो । जनप्रतिनिधिले टायरमा हावा भर्न लगाए । ५० रूपैँयाको कामको बिल उनले ५०० रूपैँयाको बनाउन भने । आजभोलि ग्यारेज चलाउने कान्छोले जनप्रतिनिधिको गाडी आयो कि मुर्मुरिँदै भन्ने गर्छ – बतासे डाँडामा गएर हावा भर्नुस्, यहाँ जनप्रतिनिधिको गाडीमा हावा भरिन्न ¤
यो विवरण सुनेर एकजना दाइले भने, “शोषण त्यत्ति मात्र हुन्न । आजभोलि काम गर्नेलाई पनि निचोरेर ५० रूपैँयाको काम ४० रूपैँयामा गराइन्छ । ५०० रूपैँयाको बिल बनाउन लगाइन्छ । सरकारलाई त ठगिन्छ नै, कामदारलाई पनि चुस्नु चुसिन्छ ¤”
८. बेरोजगारी
बडीगाडवरपर धेरै बेरोजगारहरू छन् । कामको खोजीमा रैथाने युवाहरू भारतका कुनाकानी धाउँछन् । पञ्जाबका खेतहरूमा जोतिन्छन् । दिल्ली, मुम्बईमा भाँडा टल्काउँछन् । मद्रासमा गाडी सफा गर्छन् । गोर्खा राइफल्समा सेकिन्छन् । गाउँमा रैथाने युवाहरू त्यति भेटिँदैनन् । कोरोनाले गर्दा मात्र अलिअलि युवाहरू देखापरेको स्थानीयहरू बताउँछन् । झट्ट हेर्दा मोदीको ‘पानी और जवानी’ वाला भाष्य सही त हैन भन्ने लाग्छ । पहाडतिर फर्किने गाडीमा थोरै मान्छे हुन्छन् । भारततिर लाग्नेहरूको लर्कोले गर्दा बुटवल झर्ने युवाहरूले गाडीहरू खचाखच भरिन्छन् ।
मजुवा बजारमा पाखुरी बजारिरहेका एक युवकको अर्थशास्त्रचेत कामलाग्दो थियो । उनले भने, “बेरोजगारलाई रोजगार दिन सरकारले मेसिनले गर्ने काम हातले गराउन सक्छ । जस्तो यही गिट्टी हेरौँ । मेसिनले दुईचार घण्टामा ढुङ्गा फोरेर गिट्टी बनायो । गाउँपालिकाले कुमाल गाउँ र बोटे गाउँका युवाहरूलाई गिट्टी फोर्न लगाएको भए तिनीहरूले रक्सी खान छोडेर अलिअलि काम गर्थे, दुईचार पैसा कमाउँथे । गाउँपालिकाको बजेट फ्रिज पनि हुन्थेन ।”
गाउँमा थपिँदै गरेको विद्यालयको भवनबारे उनले अर्को अर्थशास्त्र बताए । विद्यालयतिर इसारा गर्दै उनले भने, “गाउँमा पाँच करोडको भवन बन्दै छ । गाउँकै बेरोजगारहरूलाई काम दिएको भए गाउँलेहरूकै खर्च गर्ने क्षमता बढ्थ्यो । सरकारी पैसा गाउँकै हुन्थ्यो, गाउँमै रहन्थ्यो । तर, यहाँ त कता हुन् कताका मान्छे आएका छन् । पश्चिमतिरका ज्यामी छन् । केही मिस्त्री इन्डियन पनि छन् । मैले हेडमास्टरलाई ‘किन बाहिरबाट कामदार झिकाएको’ भनी सोधेँ । ‘गाउँमा दक्ष जनशक्ति भएनन्’ रे !” इँटा बोक्न र बालुवा चाल्न पनि कस्तो दक्ष मान्छे चाहिने रहेछ ?” ‘यति पुरानो स्कूलले गाउँमा जाबो घर बनाउनसक्ने जनशक्ति पनि तयार गर्न सकेन’ भन्दिएँ मैले त । मैले बुझ्न लगाएको थिएँ, सस्तोमा काम गर्ने र अलि बढी च्यापे पनि नबोल्ने हुनाले यिनीहरूले अन्तैबाट ज्यामी झिकाउँदा रहेछन् । गाउँले ज्यामी भए कमिसन खानेहरूको पोल खुल्थ्यो, ज्यामीलाई दबाए उल्टै कठालो समाउँथे । बाहिरका ज्यामी आएपछि बेरोजगारहरूबीच नै झगडा पर्ने भयो । ‘हाम्रो रोजगार खोस्ने प्युठानी, रोल्पाली अथवा रुकुमे’ भन्ने भए । मिहिनेत मजुरी गर्ने दाजुभाइबीच झगडा पर्ने भयो । हुनेखानेलाई चाहिँ दुवै हातमा लड्डू हुने भयो । यो स्कूले ठेक्काको खास कुरा यही हो !”
९. ‘जय मसि’
मजुवा बजारमा ‘जय मसि’ भन्नेहरूको सङ्ख्या औँलामा गन्न सकिने जति छ । बजारको एउटा सीमान्त घरको आँटीमा शनिबारे सङ्गति हुन्छ । झट्ट हेर्दा मजुवामा इसाई धर्मावलम्बीहरू भूमिगतजस्ता देखिन्छन् । बरु यसको तुलनामा ‘ओम शान्ति’ हरू सत्तामा बसेझैँ लाग्छ । उनीहरूले सरकारी जग्गामा मजाको भवन बनाएका छन् र त्यहीँ सङ्गति चलाउँछन् । आध्यात्मिक प्रवचन सुनेर आनन्द लिनेहरूको त्यता धुइरो लाग्छ ।
इसाई धर्मको सुरुआत भूमिगत शैलीमै भएको थियो । सोभियत विद्वानहरूले यसबारेमा धेरै सशक्त अनुसन्धानहरू गरेका छन् । उनीहरूको अध्ययन अनुसार सुरुमा बाइबल एउटा छोटो साहित्यिक ग्रन्थ थियो र यशु यस कथाका मूल पात्र थिए । दासमालिकहरूको अमानवीय शोषणमा पिल्सिएका उत्पीडितहरूको आँखामा कालान्तरमा यही साहित्यिक पात्र ‘मसिहा’ वा ‘मुक्तिदाता’ बन्यो । दासप्रथाकालीन बन्दोबस्तविरुद्ध एउटा आध्यात्मिक विद्रोहको रूपमा इसाई धर्मको प्रसार हुँदै गयो । सुरुमा इसाई धर्ममा समाजका उत्पीडितहरू नै लागेका थिए । प्रजाबिना राजा बन्न गा¥हो छ भन्ने लागेपछि रोमन राजा कोन्स्टान्टिनले इसाई धर्मलाई राजधर्म घोषणा गरेका थिए । त्यसपछि इसाई धर्मका उच्च पदहरूमा धनीमानीहरूले कब्जा जस्तै जमाए । अनि युरोपमा हजार वर्षको अन्धकार युग सुरु भयो । सामन्तहरूले आफ्नो भूमि बढाउनको लागि लाखौँ इसाई किसानहरूलाई धर्मयुद्धमा होमे । इसाई धर्मबारे नास्तिकहरूको यो बुझाई नै सही बुझाई हो । इसाई धर्मले उत्पीडित जनतालाई आफूलाई पापी भन्न लगाउँछ, आफैलाई धिक्कार्न लगाउँछ र महाविनाशको बेला ईश्वरले आफूलाई मात्र उद्दार गर्नेछन् भनी उनीहरूमा आत्मरती गर्ने वा आफूभित्र गुम्सिने एकलकाँटे भावना भर्छ । यी दुवै भावना शोषकहरूका लागि फाइदाजनक हुनाले शासकहरू बाइबल प्रचारमा लाग्ने गर्छन् । अन्य धर्मका हकमा पनि यो कुरा लागू हुन्छ ।
मजुवा बजारका इसाईहरू सबथोक बुझेर इसाई भएका होइनन् । इसाई धर्म उनीहरूको जीवनमा विद्रोह बनेर आएको हो । यहाँका पहिलो विश्वासी भारतमा काम गर्थे । २०–२२ वर्षसम्म होटल लाइनमा काम गरेर उनी नेपाल फर्के । त्यतिबेला बुटवलमा पनि ठूला होटलहरू थिएनन् । कामको खोजीमा उनी काठमाण्डौ गए । त्यहाँ होटलमा काम गर्ने निक्र्योल भइसकेपछि उनलाई जात सोधियो । उनी दलित भएको थाहा पाएपछि उनलाई काममा लिइएन । उनले अरू होटलहरूमा काम खोजे । ती होटलमा पनि यस्तै छुवाछूत भोगेपछि उनले आफ्नो धर्म र अस्तित्वमाथि प्रश्न गर्न थाले । यही सिलसिलामा उनी इसाई धर्मको सम्पर्कमा आए । धेरै अक्षर नचिनेको एउटा साधारण व्यक्तिले बाइबल छिचोल्न थाल्यो । जीवन र जगतबारे अनेक चिन्तन गर्न थाल्यो । यसरी ऊ ‘परमेश्वर’ समक्ष पुग्यो । उसलाई आमाबाको धर्म पढ्न बन्देज लगाइएको थियो । तर अब ऊ धर्म पढ्नसक्ने व्यक्ति बन्यो । यो फड्कोले ऊ खुसी छ ।
मजुवाबासी अर्को इसाई भारतकै एक अस्पतालको क्यान्टिनमा काम गथ्र्यो । मजदुर बस्तीमा साथीसङ्गीको प्रभावमा ऊ मण्डलीहरूमा जान थाल्यो । त्यहाँ जातको बन्देज थिएन । जातले ऊ बाहुन हो । तर, उसलाई जातको पर्खाल नभएको मुम्बईको त्यो बस्तीका इन्द्रेणीजस्ता मान्छेहरू मन परे । मनले खाएरै ऊ इसाई बन्यो । भारतमा बस्दाबस्दै उसलाई घरबाट दिदीको फोन आयो । दिदीले पार्टीको सेटिङमा उसलाई मजुवाको माविमा जागिर मिलाइदिइन् । विदेश बस्नुभन्दा घरपरिवारसँगै बस्नु जाति देखेर ऊ मजुवा आयो । तर, यहाँ ऊ र उसकी पत्नीलाई सुक्खा १२ हजार रूपैँयामात्र तलब दिइयो । सुरुमा द्वारपालको काम भने पनि पछि यो जोडीलाई सबै काम लगाइयो । उसकी पत्नीले स्कूल बढारकुढार गर्नेदेखि लिएर चर्पी पनि सफा गरिन् । उनीहरूको छोरालाई पढाइदिने बाहेक विद्यालयले उनीहरूको तलब बढाउने कुनै सङ्केत देखाएन । विद्यालयको व्यवस्थापन समितिमा धेरैजसो बाहुनै छन् । तर, आफ्नो बिरह सुनाउन ऊ साँझपख पहिलो इसाईको सीमान्त घरमा जाने गर्छन् । उनीहरूको धार्मिक आत्मीयता वास्तवमा वर्गीय आत्मीयता हो । त्यहाँ जातको कुनै बारबन्देज छैन ।
मजुवा बजारका अरू दुईचार इसाईहरू यिनै दुई साथीहरूको काम कुरा र विचारमा मुग्ध भएर इसाई बनेका हुन् । इसाई बनेर उनीहरूले बोलीचाली र व्यवहारमा ठूलो फड्को मारेका छन् । लाग्छ, हिन्दू धर्मले कथित शुद्रमाथि नीच व्यवहार नगरेको हुन्थ्यो, उनीहरूलाई पढ्नबाट वञ्चित नगरेको हुन्थ्यो भने नेपाली समाज यति पिछडिनुपर्ने कारण थिएन । मजुवा आसपासका दलित र गैरदलितको व्यवहार त्यो सीमान्त घरको भन्दा पछौटे भएबाट यो कुरा पुष्टि हुन्छ । त्यहाँ दलित र गैरदलित दुवैले दलितको भान्सामा बसेर मजाले खाना खान्छन् । छोइछिटो त्यहाँबाट नामेट भइसकेको छ ।
१०. महँगी
गाडी मध्यरातमा बुटवल बसपार्कमा रोकियो । चार प्यासेन्जरहरू ओर्लिए । तीमध्ये तीनजना भारतीय थिए । चौथो म थिएँ । नेपाल घुमेर घर फर्किँदै गर्दा उनीहरू खुसी थिए । यहाँका गाडीहरूले उनीहरूलाई ठग्नु ठगेछन् । त्यसैले नेपाललाई सराप्दै थिए । मैले उनीहरूलाई भनेँ, “भारतमा पनि विदेशीलाई पाएसम्म ठग्छन्, यसलाई अन्यथा नलेऊ । बरु यहाँ के राम्रो देख्यौ त्यो बताऊ ।”
गोरखपुर आसपास घर भएको घुमन्ते टोली चरम हिन्दूवादी रहेछ । एकजना दुब्लो युवकले मुसलमानहरूलाई ‘पाठापाठी थुपार्ने सुँगुर’ भन्न भ्यायो । नेपाल हिन्दू राज्य थियो भन्दा नाक फुलाउने टोली नाइकेले भन्यो, “नेपालमा सबथोक महँगो छ । तैपनि, मानिसहरू आरामले बाँचिरहेका छन् । हाम्रोमा भए आन्दोलन भइसक्ने थियो । तर, नेपालीहरू खुब धनी रहेछन् ।” उसको भनाइ निर्दोष र स्वतःस्फूर्त थियो । नेपालीहरू धनी छन् भन्दा खुसी लाग्नुपर्ने हो । तर, मलाई कसैले नराम्ररी चिमोटेजस्तो लाग्यो । विडम्बना कस्तो थियो भने मैले ऐया पनि भन्न सकिन ।
११. मुसलमान
“अङ्कल आरामै हुनुहुन्छ ?” चिन्दै नचिनेको एउटा बालकको प्रश्न आयो । नेपालगञ्जको महेन्द्र पार्कमा काम गर्ने ऊ जमर रिज्वी रहेछ । नेपाली मुस्कानमा उसको मुस्कानले एउटा अतुलनीय शोभा थपेझैँ लाग्यो ।
यस्तै एउटा मुस्कान मैले बुटवलदेखि नेपालगञ्ज जाने गाडीको चालक विजय खानको ओँठमा देखेको थिएँ । विजयले गुल्मेली मगर्नी बिहे गरेका छन् । तिनाउ खोला आसपास उनका पुर्खाले रगतपसिना बगाएका छन् । उनको बालापन बुटवलमै बित्यो । बुटवलको पुरानो बस्तीमा । पुख्र्यौली सम्पत्तिमा ड्राइभरीको कमाइ थपेर बुद्धनगरमा केही वर्षअघि उनले घर बनाएका छन् । बहिनीलाई नौतनवा बिहे गरिदिएका उनी अलिकति पुँजी जम्मा गर्ने आसले विदेश जाने योजना बुन्दै छन् । एकै सामन्तले दर्जनौँ पत्नी राख्ने चलन चलिसकेको यो देशमा विजयले अचम्मै बोले । उनले भने, “आजको जमानामा मूर्ख बन्ने होइन, थोरै सन्तान जन्माएर प्रकृति जोगाउनुपर्छ ।”
मुस्कानकोे लहरीमा नौतनवामात्र होइन, काश्मिरसम्म पनि लहरिएको छ । कुश्मा बजारमा हिँडिरहेको थिएँ । साइकल पसलको मिस्त्रीले बडो मीठो नेपाली बोल्यो । मनमनै उसको जनजिब्रोको तारिफ गरेँ । एकछिनलाई मैले उसलाई गुरु थापेँ । घरको बगलमा केही महिला र केटीहरू आपसमा कुरा गर्दै थिए । उनीहरू काश्मिरका कुरा गरिरहेका थिए । एक विकट पहाडी घरमा काश्मिरको लामो चर्चा सुन्दा म अचम्मित भए । आशङ्काले साइकल पसलको नाउँ हेर्न आँखा उठाएँ । बोर्डमा लेखिएको थियो– इस्माइल साइकल पसल ¤ जुन मिस्त्रीको नेपाली भाकामा म मुग्ध बनेको थिएँ, ऊ मुसलमान थियो ¤
१२. रिक्सा
“खेतीबाडीको मौसममा खेती गर्थेँ । अरू बेला ठेलामा फलफुल बेच्थेँ । ठेलामा बीबीलाई राखेर आफू रिक्सा चलाउँदै छु ।” इ–रिक्सा नेपालगञ्जको न्युरोडमा अघि बढ्दै थियो । यी दाइ रिक्सा हुइँकेझैँ बोलिरहेका थिए ।
यी दाइलाई रिक्सा रहर नभई बाध्यता हो । नेपालगञ्ज सिमान्तमा उनको गाउँ छ । खोलाले यसपालिको बालीजति बगायो । भारततिर मात्र नभई नेपालतिर पनि धेरै किसानको महिनौँको मिहिनेत पानीमा बगेर गयो । अब वर्षभरि अन्न बेसाउनुपर्ने छ । त्यसैले नयाँ धन्दामा लगेका छन् । आखिर जसरी पनि तीनजना लालाबालाको पेट भर्नै छ ¤ सरकारले राहत दिन्छु भनेकै हो । तर, गाउँसम्म राहतको ‘र’ पनि पुगेको छैन । नेपाली किसानको मात्र होइन, भारतीय किसानको मर्का पनि उस्तै छ । कुरैकुरामा रिक्सादाइले भारतीय किसानको लागि पनि सुस्केरा छोड्न भ्याए । संसद्मा मोदीको मन्तव्यमा ताली ठोक्ने नेपाली शासकहरूलाई उनको सुस्केरा ससानो प्रत्युत्तर जस्तो लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *