भर्खरै :

भक्तपुर नगर– जीवन्त नगर

(पुस १० गते भएको नृत्य वत्सला मन्दिरको पुनः निर्माणपछिको उद्घाटन तथा यस मन्दिर पुनः निर्माणसम्बन्धी सम्पूर्ण विवरण र ऐतिहासिक पृष्ठभूमिसहित सङ्ग्रह गरिएको पुस्तक ‘नृत्य वत्सला मन्दिर पुनः निर्माण–२०७८’ सार्वजनिकीकरण समारोहमा व्यक्त मन्तव्य)
‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ भन्ने नारालाई आत्मसात गर्दै यसलाई सार्थक बनाउने अभियानमा भक्तपुर नपा रहेको अवगत गराउंदै यहाँका मूर्त अमूर्त कलाहरूको जगेर्ना÷पुनःनिर्माण÷मर्मत सम्भार गर्न हामी जनप्रतिनिधिहरू जनताको साथ लिएर अघि बढिरहेका छौँ । काठमाडौँ उपत्यकामा मात्र सात वटा विश्व सम्पदाहरू रहेको हामी सबैलाई थाहा छ । त्यसमध्ये यो भक्तपुर दरबार क्षेत्र पनि एक हो । आज हामीले यहाँ बहुप्रतिक्षित उद्घाटन कार्यक्रम गर्ने सौभाग्य पाएका छौँ । पुर्खाद्वारा सिर्जित कला र संस्कृतिकै कारणले आज हामी यसरी विश्व सम्पदा क्षेत्रमा सूचिकृत हुन सफल भएका हौँ । यिनै अद्वितीय कला र संस्कृतिलाई यहाँका जनताले निर्वाधरूपले अनुकरण एवं जगेर्ना गर्दै अघि बढिरहेको कारणले भक्तपुर नगर ‘जीवन्त नगर’ को रूपमा परिचत हुनुका साथै पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । भनपाले यहाँका मूर्त र अमूर्त कलाहरूको जगेर्ना गर्दै नयाँ पिँढीलाई सिकाउन र बुझाउन हाम्रो सभ्यताबारे जानकारी दिनुको साथै हाम्रा यी धरोहरहरूलाई जीवन्त राखी पुस्तान्तरण गर्न लागिपरेका छौँ । आज २०७८ पुस १० का दिन यस भक्तपुर दरबार क्षेत्रको मुटु÷दरबार क्षेत्र लायकुको ढुकढुकी यो नृत्य वत्सला मन्दिरको पुनः निर्माण सम्पन्न गरी उद्घाटन गर्न गइरहेका छौँ । साथै यसै मन्दिर पुनः निर्माण सम्बन्धी पुस्तक ‘नृत्य वत्सला मन्दिर पुनः निर्माण २०७८’ सार्वजनिक गर्ने कार्यक्रममा हामी जनताबीच रहेर सहभागी भइरहेका छौँ ।
भक्तपुरको यस लाय्कु क्षेत्रमा नृत्य वत्सला मन्दिरसहित सिद्धि वत्सला र यन्त्र वत्सला मन्दिर गरी ३ वटा वत्सला मन्दिरहरू रहेका छन् । जसमध्ये यो मन्दिर प्रस्तरकलामा निर्मित शिखर शैलीको मन्दिरको एक उत्कृष्ट नमुनाको रूपमा रहेको दुईमत नहोला ।
नेपाल संवत् ७९८ मा राजा जितामित्र मल्लले यस लोहँ देगः पाटनको कृष्ण मन्दिरको शैलीमा निर्माण गर्न लगाएको हामीले इतिहासमा पढ्न पाउँछौँ । यस मन्दिरको निर्माण लगत्तै भूकम्पले क्षति पुगे पछि जितामित्र मल्लको छोरा राजा भूपतीन्द्र मल्लले सो मन्दिर जीर्णोद्धार गर्नुका साथै घण्टाको स्थापना गरेको र उक्त घण्टा ‘खिचा ख्व गँ’ नामले चिनिन्छ । यो मन्दिरको संरचना वि.सं. १८९१, १९९० र २०७२ सालको ठूल–ठूला भूकम्पले भत्केको थियो ।
देश विकास शिक्षाबाट मात्र सम्भव हुने भएकोले शिक्षालाई उत्पादनसँग जोड्न नेपाल मजदुर किसान पार्टीका अग्रजहरूले भक्तपुरलाई ‘एक घर एक स्नातक’ एवं ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यले ख्वप मा.वि.लगायत अन्य ६ शिक्षण संस्थाहरू सञ्चालन भइरहेको यहाँलाई अवगतै छ । यसमध्ये भनपाले २०५८ सालमा विज्ञान र प्राविधिक शिक्षालाई जोड दिई ख्वप इन्जिनियरिङ्ग कलेज र २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ्ग सञ्चालन गरेको हो । यी दुवै कलेजबाट हालसम्म हरेक वडाबाट करिब १०० इन्जिनियरहरू उत्पादन भइसकेको यहाँहरूसमक्ष राख्न चाहन्छु । त्यसमध्ये ख्वप इ. कलेजका स्नातकोत्तर तहमा ME Earthquake Engineering अर्थात् (भूकम्पीय प्रविधिमा स्नातकोत्तर तह) र MSC in Urban Design &Conservation अर्थात् (नगर नियोजन र सम्पदा संरक्षणमा स्नातकोत्तर तह) सञ्चालन गरी विज्ञहरू तयार गर्दै आइरहेका छौँ । २०७२ सालको भूकम्पलगत्तै यी दुवै इ. कलेजका प्राध्यापक एवम् विद्यार्थीहरूले भक्तपुरलगायत उपत्यका र उपत्यकाबाहिर भूकम्पबाट संरचनाहरूमा भएका क्षतिबारे अध्ययन अनुसन्धान गरेका थिए ।
विश्वका विभिन्न विश्वविद्यालयका प्राध्यापक÷अन्वेषकहरूले पनि भक्तपुरबारे अध्ययन अनुसन्धान गरेका थिए । जसमध्ये अमेरिकाको Princeton र क्यानडाको Carlton विश्वविद्यालयले ख्वप इ. कलेज र ख्वप कलेज अफ इ. सँग सहकार्य गरी अध्ययन अनुसन्धानबाट आएको सुझावको आधारमा यो नृत्य वत्सला मन्दिरको पुनः निर्माण गरेका हौँ । २०७३ असार २३ गते भक्तपुर नगरपालिकाको स्टेरिङ्ग कमिटीबाट नृत्य वत्सला मन्दिर निर्माण प्रक्रिया अघि बढाउन एउटा ‘प्राविधिक समिति’ गठन भएको थियो । उक्त समितिको संयोजकको जिम्मेवारी पाउने शौभाग्य मलाई मिलेको थियो र उक्त समितिमा भनपाको सम्पदा शाखा प्रमुख, पुरातत्व विभागलगायत दुवै इन्जिनियरिङ्ग कलेजका प्राचार्यद्वय साथै विज्ञ र विशेषज्ञहरू संलग्न भई अध्ययन अनुसन्धान गर्न थाल्यौँ । यस वत्सला मन्दिर पुनः निर्माण गर्न गठित प्राविधिक समितिलाई सल्लाह र Guidance कै लागि भूकम्पविज्ञ प्रा.डा. प्रेमनाथ मास्के र संरक्षणविद् एवं वरिष्ठ वास्तुविद प्रा.डा. सुदर्शनराज तिवारीज्यू हुनुहुन्थ्यो ।
यस मन्दिरलाई पुनः निर्माण गर्दा यसलाई अब आउने ठूला साना भूकम्पले पहिले पहिलेझैँ पूर्ण क्षति हुन नदिन संरचनालाई मजबुत बनाउने उद्देश्यका साथ अघि बढ्यौँ ।
सल्लाहकारज्यूहरूको सल्लाहसहित उक्त टोलीले भनपालाई सबलीकरणका समाधानका उपाय एवं प्रविधिसहितको प्रतिवेदन बुझायो ।
हरेक भूकम्पमा यस मन्दिरमा ठूलो क्षति हुनुको कारण यस मन्दिरको बनौटको किसिमलाई लिनुपर्ने प्राविधिकहरूले औँल्याएका छन् । यस मन्दिरको बाहिर गारो ढुङ्गामा माटोको जोडाइ रहेको र भित्री भागमा माटोको जोडाइमा इँटाको गारो रहेको र यी दुई गारोबीच बन्धन नभएको कारणले भत्किएको भन्ने विज्ञहरूको विश्लेषण रहेको छ ।
वि.स. २०७२ वैशाखको भूकम्पको क्षतिपछि भक्तपुर न.पा.द्वारा सञ्चालित ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गको प्राविधिक समितिले गरेको प्राविधिक अध्ययन प्रतिवेदनअनुरूप वत्सला मन्दिरमा भएको क्षति र पुनः निर्माण गर्दा सबलीकरण विधिसहितको पुनः निर्माण गरिएको हो । यस विधिअनुसार मन्दिरका चारै कुनामा काठका खम्बाहरू राखी ती खम्बाहरूलाई काठकै कैचीले जोडेर निर्माण गरिएको छ । यस मन्दिरको भित्री भागबाट गजुरसहित ६ तह रहेकोमा हरेक तहलाई पनि काठका दलिनहरूले जोडेका छन् । यसरी गरिएको सबलीकरणले वत्सला मन्दिरको भूकम्पीय जोखिम न्यूनीकरण गर्न सहयोग हुने विश्वास गरिएको छ । अतः भक्तपुरको दरबार क्षेत्रको मध्य भागमा अवस्थित यस नृत्य वत्सला मन्दिरको शोभाको साथसाथै प्राविधिक अवस्था पनि सबल गरिएको कारणले यस क्षेत्रको जीवन्तताको साथै सुरक्षित हुने विश्वास गर्न सकिन्छ ।
दरबार क्षेत्रमा रहेका यस नृत्य वत्सला मन्दिरबाहेक सिद्धि वत्सला मन्दिरका साथै हालै पुनः निर्माण भइरहेको शिलु महादेवको शिखर शैलीको मन्दिरमा पनि नृत्य वत्सला मन्दिरको सबलीकरण विधि अपनाई पुनः निर्माण गरिएको छ । भविष्यमा पनि यसै विधिअनुरूप भक्तपुरका सम्पदाहरू संरक्षण र पुनः निर्माण गर्ने नीति लिइएको छ ।
यसरी हाम्रा सम्पदाहरूको पुनः निर्माण र संरक्षण हुन सकेमा उपत्यकाका भौतिक सम्पदाहरू जोगिने छन् । यी र यस्ता सम्पदाहरूसँग जोडिएका सांस्कृतिक सम्पदाहरू जोगाउन टेवा मिल्नेछ । हाम्रो सभ्यताको जगेर्ना हुनेमा भक्तपुर नपा विश्वस्त छ । यसरी मौलिक शैली र मौलिक प्रविधिमै स्थानीय कालिगडहरूबाट उपभोक्ता समितिमार्फत पुनः निर्माण गर्न सकेको खण्डमा हाम्रो मौलिक प्रविधि, मौलिक शैली एवं स्थानीय कालीगड पनि जीवित हुनेमा दुईमत नहोला । भक्तपुर नगरका हरेक भौतिक सम्पदाहरू यसरी नै अध्ययन, अनुसन्धान र अन्वेषण गरी मौलिक शैली, मौलिक विधि र प्रविधिका साथै स्थानीय कालीगडहरूबाटै पुनः निर्माण संरक्षण गर्ने नीति अघि बढाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *