भर्खरै :

पाटनमा भेटिएको लिच्छविकालीन शिलालेखमा के छ ?

  • पुष १३, २०७८
  • – सपना श्रेष्ठ
  • समाचार

काठमाडौँ, १२ पुस । पाटन दरबारको भीमसेन मन्दिरअगाडि उत्खनन कार्य भइरहँदा गत सोमबार जमिनको गर्भभित्र १४ सय वर्ष पुरानो करीब ६ फीट अग्लो लिच्छविकालीन शिलालेख भेटिएको थियो । यसअघि २०७८ भदौ २९ को दिन उत्खननकै क्रममा पूर्व मध्यकालको शिलालेख पनि भेटिएको थियो ।
उत्खननकै टीममा खटिएका पुरातत्वविद् प्रकाश दर्नालले अर्को लिच्छविकालको अभिलेख भेटिएको जानकारी दिएपश्चात् लिपिविद् श्यामसुन्दर राजवंशी उक्त शिलालेखको अध्ययन अनुसन्धान गर्न गएका थिए ।
उनका अनुसार शिलालेखमा १५ पङ्क्ति अभिलेखको पाठ छ । उक्त शिलालेखमा उत्कीर्ण लिपि लिच्छवि लिपि रहेको छ भने भाषा संस्कृतको छ । यसको शिरोभागमा दायाँबायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न छ ।
यसको मुख्य विशेषता भनेको नै यो गुडेको धर्मचक्र हो । अन्य शिलालेखमा धर्मचक्र सीधा देखाइन्छ । तर, यस शिलालेखमा भने गुडेको देखाइएको छ र यस्तो चित्र अन्य शिलापत्रमा नभएको उनी बताउँछन् । शिलापत्रको लम्बाइ झन्डै ६ फीट लामो भए तापनि अभिलेख कुँदिएको भाग मात्रको नाप ८५ सेमि लम्बाइ र ५२ सेमि चौडाइ रहेको छ ।
शिलापत्रमा सिमेन्टको मसला लागेको हुनाले त्यहाँ कुँदिएका अक्षरहरू पढ्न कठिन भएको उनी सुनाउँछन् ।
“शिलालेखको अक्षर धमिलो भए पनि ‘अंशुवर्मा’को नाम प्रस्ट देखिन्छ । यसमा ‘योब्रङ्ग्राम’ र अन्तिम पङ्क्तिमा ‘संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्षे’ प्रस्टसँग लेखिएको छ । ‘राजा वृषदेवले बनाएको विहार’ भन्नेसम्म अहिले पढ्न सकिने देखिएको छ ।”, लिपिविज्ञ श्यामसुन्दर राजवंशी भन्छन् ।

पाटनमा उत्खननको क्रममा भेटिएको शिलालेख


उनका अनुसार आजभन्दा ३२ वर्षअघि गोकर्ण बालुवा गाउँमा पनि यस्तै संवत् ५३६ द्वितीय पौषको अभिलेख भेटिएको थियो । तर, त्यसमा अंशुवर्मा आफैले स्थापना गरेको राजविहारको उल्लेख गर्दा ‘स्वकारितक राजविहार’ भनेर प्रस्ट सँग उल्लेख भएझैँ यस अभिलेखमा राजा वृषदेव कारितक भनेर राजा वृषदेवले बनाएको विहारको प्रस्ट उल्लेख छ । शिलालेखको अन्तिम पङ्क्तिमा दूतक कुमारामात्य चन्द्रजीवको नाम सहजै पढ्न सकिन्छ । शिलालेखलाई अझै राम्रोसँग सफा गरी थप अध्ययन अनुसन्धानको आवश्यकता छ र अनुसन्धानको क्रम जारी छ ।
लिच्छविकालमा दुईवटा संवत् चलेको मानिन्छ । तर, यो कुरा मिथ्या हो भन्ने यस शिलालेखबाट पुष्टि गर्न सकिन्छ । लिच्छविकालमा दुईवटा संवत् चलेको हो भन्ने विद्वान र विज्ञहरूलाई यस शिलालेखले ठूलो चुनौती दिएको उनी भन्छन् । गोकर्ण बालुवा गाउँमा प्राप्त शिलालेखमा संवत् ५३६ पौष उल्लेख थियो । तर, त्यस शिलालेखलाई आफूलाई विज्ञ भन्नेहरूले आफ्नो प्रतिष्ठा कायम राख्न उक्त शिलालेख शिवदेवको पालाको भनेर व्याख्या गरिदिए । अब उही संवत् उल्लेखित अर्को शिलालेख भेटियो । यसमा भएको संवत् ५३६ ज्येष्ठ र गोकर्ण बालुवा गाउँको संवत् ५३६ पौषमध्ये कुन अघिल्लो र पछिल्लो भन्ने जान्ने कौतुहलता सबैलाई रहेको उनी सुनाउँछन् ।
“यसमा सिमेन्टको मसलाले बिगारेको भाग सफा गर्ने कार्य भइरहेको छ । उक्त सिमेन्टको भाग पढ्न सक्ने गरी सफा भएपछि उक्त शिलालेखमा लेखिएको कुरा भन्न सकिन्छ । अहिले नै के लेखिएको छ भनेर भन्न गा¥हो छ ।”, उनी भन्छन् । उनका अनुसार उक्त लेखिएको कुरा पढ्न अझै समय लाग्नेछ ।
त्यस्तै पाटन सङ्ग्रहालयका प्रमुख सुरेश लाखेका अनुसार उक्त शिलालेखमा लेखिएको कुरा पढेपश्चात् त्यसलाई पुनः बाहिर भीमसेन मन्दिरअगाडि नै राखिनेछ । त्यसलाई सङ्ग्रहालयमा भन्दा बाहिर राख्दा नै त्यसको महत्व हुने कुरा उनी भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *