भर्खरै :

जिल्ला–जिल्लामा १२८ औँ माओ दिवस

कालीकोट, १३ पुस । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कालीकोटको आयोजनामा १२८ औँ माओ त्सेतुङ दिवसको अवसरमा शुभकालीका गाउँपालिका भर्ताको थुनीमा जनसभा भयो  ।
जनसभामा नेमकिपा जिल्ला समिति कालीकोटका अध्यक्ष खड्गराज शाहीले माक्र्सवाद र लेनिनवादलाई चीनको तत्कालीन परिस्थितिमा प्रयोग गरी माओ त्सेतुङले चीनलाई साम्राज्यवादी शक्तिबाट मुक्त गर्नुका साथै चिनियाँ जनतालाई शोषणबाट मुक्त गरेको बताउनुभयो ।
उहाँले नेपालमा माओको नाम बेचेर राजनीति गर्नेहरू आज महलमा बसेर कम्युनिस्टको सिद्धान्त र विचार छोडेको बताउनुभयो ।
नेमकिपा कालीकोट जिल्ला समितिका सचिव धनन्जय अधिकारीले नेपालमा आफूलाई कम्युनिस्ट दाबी गर्नेहरूले माओ त्सेतुङ विचारधारालाई अराजक ढङ्गबाट दुरूपयोग गरेको र विकासको नाममा शासक दलका कार्यकर्ताले देश र जनताको सम्पतिमाथि रजाइँ गरिरहेको बताउनुभयो । लछु बुढा मगरको सभापतित्वमा भएको जनसभामा पार्टीका जिल्ला सदस्यहरू सूर्यबहादुर शाही, माया जीसी, दलसुर बोहरा, कलबहादुर शाही र धनबहादुर बुढामगर, जनकबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
जुम्ला
जुम्ला, १२ पुस । सर्वहारा वर्गका महान् गुरु माओ त्सेतुङको १२८ औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी, जुम्लाले विभिन्न ठाउँमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
यसैक्रममा नेमकिपा, सिँजा गाउँपालिका समितिले आइतबार सिँजा क्याम्पस प्राङ्गणमा जनसभाको आयोजना गरेको छ । कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य दीर्घबहादुर शाहीले माओबाट कामदार जनताको निःस्वार्थ भावनाले सेवा गर्नुपर्छ भन्ने कुरा माओबाट सिक्नुपर्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष गणेशबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा जुम्ला जिल्ला समिति सदस्यहरू गजेन्द्रबहादुर कार्की र नेमकिपाको तर्फबाट निर्वाचित वडाध्यक्ष रणबहादुर रोकायाले पनि बोल्नुभएको थियो ।
त्यसैगरी नेमकिपा तिला गाउँपालिका समितिले सोमबार कुँडारीमा माओ दिवस कार्यक्रम मनायो । कार्यक्रममा नेमकिपा, जुम्ला जिल्ला समितिका सचिव लालबहादुर बुढाले नेमकिपाले माओ त्सेतुङ विचारधारालाई आत्मसात् गरी देशको वस्तुस्थितिअनुसार आमूल परिवर्तनको यात्रा थालेको धारणा राख्नुभयो ।
आयोजक समितिका मानबहादुर बोहराको सभापतित्वमा भएको कार्यक्रममा पार्टी जिल्ला सदस्यहरू राजेश्वर देवकोटा र मुनिनाथ योगी, नेपाल क्रान्तिकारी मजदुर सङ्घका जिल्ला अध्यक्ष हर्कबहादुर बोहरालगायतले बोल्नुभएको थियो ।
कैलाली
कैलाली, १२ पुस । विश्व सर्वहारा वर्गका महान नेताद्वय स्तालिनको १४३ औँ र माओ त्सेतुङ्गको १२८ औँ जन्मदिवसको अवसरमा शनिबार कैलालीमा प्रशिक्षण कार्यक्रम भयो ।
नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले स्तालिन र माओको जीवन सङ्घर्षबाट सिक्नुपर्ने आवश्यकता औँल्याउँदै विश्वमा समाजवादी लहर ल्याउनमा उहाँहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
ज्योति बडुवालको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा कैलालीको कोषाध्यक्ष लक्ष्मी पुन, गुप्तबहादुर शाही, गगनबहादुर थापामगरलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *