भर्खरै :

चीनको सियानमा महामारी नियन्त्रण गर्न सघन रोकथाम अभियान

सियान, २८ डिसेम्बर । चीनको उत्तरपश्चिम शान्सी प्रान्तको राजधानी सियानले सोमबार पूरै सहरमा न्युक्लि एसिट परीक्षण अभियान थाल्नुका साथै पछिल्लो कोभिड–१९ को पुनरोदय नियन्त्रण गर्न महामारी रोकथाम र नियन्त्रणका गतिविधिलाई व्यापक बनाएको छ ।
आइतबार सियानमा स्थानीय रूपमा सङ्क्रमित थप १५० जना बिरामी भेटिएको थियो । डिसेम्बर ९ देखि सियानमा सुरु भएको नयाँ चरणको सङ्क्रमणमा हालसम्म ६३५ जना व्यक्ति सङ्क्रमित भएका छन् ।
डिसेम्बर ९ मा सियानमा स्थानीयरूपमै फैलिएको पहिलो सङ्क्रमित फेला परेको थियो । त्यसयता धेरै जना स्थानीयरूपमै सङ्क्रमित बिरामी फेला परेको थियो । सियानमा स्थानीयरूपमै सङ्क्रमित १३७ जना कोभिड–१९ बिरामीमा फेला परेको भाइरसको आनुवंशिक अध्ययन गर्दा सबै डेल्टा भेरियन्ट भएको पत्ता लागेको छ । ती भाइरसहरू सियानमा बाहिरबाट आएका सङ्क्रमितमा फेला परेको भाइरससँग मेल खाने रोग रोकथाम तथा नियन्त्रण केन्द्रका निर्देशक ल्यु फेङले भने ।
“धेरै पोजिटिभ बिरामीमा सुरुको चरणमा रोगका लक्षण त्यत्ति देखिएन । त्यसकारण उनीहरूले यसलाई बेवास्ता गरे । जसकारण भाइरस अझ फैलिएको देखिन्छ”, केन्द्रका सह निर्देशक वेई सियोलीले भने ।
भाइरसको अध्ययनले विभिन्न क्षेत्रबाट सङ्क्रमण भएको हुनाले त्यसको मूल पत्ता लगाउन जटिल भएको वेईले बताए । १ करोड ३० लाख जनसङ्ख्या भएको सियान सहरमा गएको बिहीबारबाट नै समुदाय र गाउँहरूमा बन्द व्यवस्थापनको नियम लागु गरिएको छ । सहरका बासिन्दालाई अत्यावश्यक अवस्थामा बाहेक सहर नछोड्न आग्रह गरिएको छ ।
लामो दूरीका यातायातका साधन सबै बन्द गरिएको छ । तर, महामारी नियन्त्रणको लागि आवश्यक सामग्री र अन्य दैनिक आवश्यकताका सामान ढुवानी गर्ने सवारी साधनलाई भने सुचारु राखिएको छ ।
अनलाइन ट्याक्सी र अन्य सवारी साधनलाई मध्यम र उच्च जोखिम क्षेत्रमा जान निषेध गरिएको छ ।
“सियानमा सकेसम्म चाँडो भाइरसलाई नियन्त्रणमा ल्याउन नियन्त्रण र रोगी पहिचानको कामलाई सघन बनाइएको छ” चिनियाँ इन्जिनियरिङ प्रतिष्ठानका प्राज्ञ चाङ पोलीले भने ।
“मलाई लाग्छ, जनवरी महिनाको मध्यसम्ममा सङ्क्रमण रोकिने र जनवरीको अन्त्यसम्ममा महामारी पूर्णतः रोकिनेछ । त्यसो गर्न सम्भव छ”, उनले हालै दिएको एक अन्तर्वार्तामा भने ।
सहरभरि विभिन्न चरणमा न्युक्लि एसिड परीक्षण गरिएको छ । “समयमै सङ्क्रमित पत्ता लगाउन, क्वारेन्टिनमा राख्न र रोग फैलिने क्रम रोक्न व्यापक परीक्षण आवश्यक छ । यसले सङ्क्रमणको सम्भावनालाई न्युन बनाउन मद्दत गर्छ”, सियान नगरपालिकाका एक वरिष्ठ अधिकारीले भने ।
सियान सहरमा ५ हजारभन्दा बढी स्थानमा सङ्कलन केन्द्र स्थापना गरिएको छ । ती केन्द्रहरूबाट ३१ हजारभन्दा बढी नमूना सङ्कलन गरिएको छ । १२ सयभन्दा बढी घुम्ती नमूना सङ्कलन टोली परिचालन गरिएको छ । उनीहरूलाई विशेषतः निर्माण स्थल, पसल पसल र स्टलमा परिचालन गरिएको छ ।
“सबै सङ्क्रमित बिरामीलाई तोकिएका अस्पतालमा क्वारेन्टिनमा राखी उपचार गरिएको छ । महामारी नियन्त्रणमा सुधार गर्न र अस्पतालमा उपचार प्रभावकारी बनाउन राष्ट्रिय र प्रदेश स्तरका विज्ञहरूलाई सियान आमन्त्रण गरिएको छ”, सियान नगरपालिकाको स्वास्थ्य कार्यालयका सह निर्देशक ल्यु योङपेङले भने ।
उनले बिरामीको उपचारमा परम्परागत चिनियाँ औषधि र पश्चिमा औषधि दुवैको प्रयोग गरिएको र सबै बिरामीको अवस्था स्थिर रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *