भर्खरै :

बहुध्रुवीय विश्वमा जो बाइडेन

चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङ र चीनका प्रधानमन्त्री चाओ एनलाईलाई भेट्न संरा अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले गरेको चीनको भ्रमण अर्को वर्ष ५० वर्ष पुग्दै छ । दुई देशबीच दशकौँ लामो वैमनस्यता र निर्मम व्यवहारपछि आपसी सम्बन्ध पुनःस्थापनाको निम्ति त्यो भेट एउटा प्रमुख कदम सिद्ध भएको थियो ।
सन् १९७२ मा संरा अमेरिका र चीनबीचको वैचारिक भिन्नता छर्लङ्ग भइसकेको छैन । दुवै पक्षले आपसी वैमनस्यता हल गर्नमै ठूलो फाइदा देखेका थिए । सोभियत सङ्घलाई एक्ल्याएर उनीहरूले शीतयुद्धलाई समाप्तितिर डो¥याए । चीनले शान्तिपूर्ण आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने अवस्था बनाएर उनीहरूले त्यसयताका दशकहरूमा विश्वको समृद्धि प्रवद्र्धनमा टेवा पु¥याए ।
चीनसँग भएको मनग्य श्रमशक्ति र अथाह भूमिले उसलाई संसारकै उत्पादनको केन्द्र बनायो । त्यसबाट अन्तर्राष्ट्रिय कम्पनीहरूलाई आफ्नो उत्पादनको लागत घटाउन र उपभोक्तालाई सुलभ मूल्यमा आफ्ना उत्पादन बेच्न सक्ने बनायो । त्यही क्रममा चीनको आम्दानी बढ्यो । न्यून लागतका उत्पादित वस्तु अन्यत्र बिस्तार हुन थाल्यो । चीनको आर्थिक प्रगतिले उसकै आन्तरिक बजारमा व्यापक मात्रामा माग बढायो । त्यसले बाँकी संसारको हितमा पनि टेवा पु¥यायो ।
वास्तवमा सन् १९८०–दशकदेखि सन् २००७ सम्म संसारको अर्थतन्त्रमा लचकता घटेको बेला विश्व अर्थतन्त्रमा चीनको प्रवेशले संसारलाई सधैँ उसप्रति ऋणी बनायो । चाल्र्स गुडहार्ट र मनोज प्रधानले आफ्नो अध्ययनमा यही विषय औँल्याएका छन् । त्यो अवधिमा चीनको उदयबाट संरा अमेरिकाले ठूलो लाभ उठायो ।
तर, त्यही क्रममा संरा अमेरिकाले केही रणनीतिक गल्तीहरू पनि ग¥यो । शीतयुद्धको समाप्तिसँगै संरा अमेरिकालाई नयाँ चुनौती र वैरभावले पारिभाषित युगको लागि विश्व व्यवस्था अद्यावधि गर्न अभूतपूर्व अवसर प्राप्त थियो । तर, रिचर्ड हास संरा अमेरिकाले त्यो अवसर गुमाएकोमा दुःख मनाउँछन् । त्यो मौका छोप्नतिर भन्दा संरा अमेरिकाले ८ त्रिलियन अमेरिकी डलर खर्च हुने गरी आतङ्कवादविरुद्धको युद्धमा आफ्नो दिलोज्यान लगायो । त्यो युद्धको योजना पनि गल्ती थियो र व्यवहारमा पनि त्यो असफल भयो ।
संरा अमेरिकाले आफूलाई परिवर्तित विश्व अर्थतन्त्रमा अनुकूलन गर्न सकेन । करोडौँ अमेरिकीहरूले उत्पादनमूलक रोजगारी गुमाउँदा उनीहरूले विशेषतः चीनसँगको व्यापारलाई मात्र दोषारोपण गरिरहे । जब कि उनीहरूले रोजगारी गुमाउनुको मूल कारण प्रविधिमा भएको प्रगति थियो । त्यही बेला संरा अमेरिकी मध्यमवर्गको आम्दानी घट्नु र असमानता बढ्नुले जनतामा असन्तोष बढ्यो ।
सन् २००८ को वित्तीय सङ्कटले यो निराशालाई अझ गहिरो बनायो । वित्तीय क्षेत्रलाई नियन्त्रणमा राख्न सरकार पूर्णतः असफल भएको मात्र होइन, त्यसले विश्वको अर्थव्यवस्थाको मर्यादाक्रममा सबभन्दा माथि बसेको संरा अमेरिका अपराजयी नभएको पुष्टि ग¥यो । संरा अमेरिका सङ्कटमा फसेको र मन्दीग्रस्त बनेको अवस्थामा चीनको वृद्धिदर भने कहिल्यै ६ प्रतिशतभन्दा ओरालो लागेन । सन् २००९ मा चीनको बृहत् वृद्धि कार्यक्रमले वस्तुको मूल्य बढाएर विश्वव्यापी आर्थिक पुनःस्थापनामा मद्दत पु¥यायो ।
सन् २०१६ मा अमेरिकी मतदाताहरूबीच बढ्दो भय र निराशा अनुभव गर्दै र त्यसैबाट लाभ उठाउँदै डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भए । उनले अमेरिकाले नेतृत्व गुमाउँदै गएको चित्रण गर्दै त्यसलाई दीर्घकालीन चुनौतीको रूपमा व्याख्या गरे । अनि त्यसको सबै दोषको भारी भने चीनमाथि थोपरे । तर, उनले ‘अमेरिकालाई अझै महान्’ बनाउनु त कता हो कता, अमेरिकाले गरेका प्रतिबद्धताहरूसमेत त्यागेर, आफ्ना साझेदारहरूलाई चिढाएर र साझा चुनौती सामना गर्ने मेलमिलापका रणनीतिबाट अलग बसेर संसारमा संरा अमेरिकाको छवि अझ धमिल्याए । ट्रम्पको चीनसँगको प्रत्युपादक व्यापार युद्ध चर्चामा रह्यो ।
तथापि, चीनलाई घेरा हाल्नुपर्ने प्रमुख शक्तिको रूपमा हेर्ने ट्रम्प एक्लैमात्र पक्कै थिएनन् । बाइडेन सरकार आएपछि लागु भएका नीतिबाट पनि यो कुरा प्रस्ट हुन्छ । बाइडेनले ट्रम्पका धेरै नीतिमा परिवर्तन गरे । तर, चीनप्रतिको कडा नीतिमा बाइडेनले पनि कुनै हेरफेर गरेका छैनन् । उल्टो बाइडेनले चीनलाई घेराबन्दी गर्न प्रजातान्त्रिक देशहरूको मोर्चाबन्दी गर्ने कोसिस गरे ।
ट्रम्प सरकारका उथलपुथलपूर्ण चार वर्षपछि बाइडेनलाई संसारको पुनःसंयोजन गर्ने राम्रो अवसर थियो । बहुध्रुवीय आजको संसार कसरी व्यवस्थापन गर्ने भन्ने तरिका निधो गर्न उनले चीन र रुस दुवैसँग रचनात्मक हिसाबको सम्बन्ध बिस्तार गर्नसक्थे । तर, यो मौका छोप्नतिरभन्दा बाइडेनले संरा अमेरिका र चीनबीचको दुष्मनीमा कुन पक्ष लिने भनी देशहरूलाई छनौट गर्ने ठाउँमा पु¥याए ।
संरा अमेरिकी अन्तर्राष्ट्रिय छवि कमजोर बनिसकेको अवस्थामा बाइडेनले यो अवधारणाबाट आफूले चाहेकै जस्तो परिणाम पाउन नसक्ने बोध गर्नेछ । आज युरोपेली शक्तिहरूले समेत चीनप्रति नरम व्यवहार गर्न थालेका छन् । युरोपेली देशहरूले चीनसँग गहिरो आर्थिक सम्बन्ध जोडेका छन् । उनीहरूले चीनविरुद्ध सैनिक रणनीतिको खुलारूपमा विरोध गरेका छन् ।
संरा अमेरिकाले चाहे पनि र नचाहे पनि बहुध्रुवीय विश्व व्यवस्था तयार भइसकेको छ । हर्वार्डको बेल्फर सेन्टरले गरेको पछिल्लो अध्ययनले वित्त, अनुसन्धान र विकास, शिक्षा र विश्वभरका प्रतिभामाथि पहुँचको क्षेत्रमा संरा अमेरिका अझै अरूभन्दा अघि भए पनि प्रविधि र सैनिक क्षमताको आधारमा चीनले संरा अमेरिकालाई नजिकबाट पछ्याइरहेको छ । साथै, शीतयुद्धभन्दा फरक अहिलेका संसारका प्रमुख शक्तिहरू–संरा अमेरिका र चीन आफै आर्थिक साझेदारहरू हुन् । सन् १९८८ को ¥यान्ड अध्ययनअनुसार सन् १९७७ मा सोभियत सङ्घको कुल गार्हस्थ उत्पादन (जीडीपी) संरा अमेरिकाको जीडीपीको ६० प्रतिशतमात्र थियो । सोभियत सङ्घले आफ्नो कुल गार्हस्थ उत्पादनको १५–१७ प्रतिशत सुरक्षा क्षेत्रमा खर्च गर्दा संरा अमेरिकाको तुलनामा सोभियत सङ्घको सुरक्षा खर्च तेब्बर थियो । त्यत्तिबेला सोभियत सङ्घको प्रतिव्यक्ति आम्दानी अमेरिकाको तुलनामा आधामात्र थियो ।
तर, अहिले चीन र रुस दुवैको मिलाउँदा पनि आजको डलरको मूल्यमा संरा अमेरिकाको कुल गार्हस्थ उत्पादनको झन्डै ७७ प्रतिशत छ । त्यस्तै क्रयशक्ति क्षमता (पर्चेजिङ पावर पेरिटी) को आधारमा १३७ प्रतिशत छ । अहिले संरा अमेरिकाको ऋण बढेको छ । उसको ऋण अहिले २९.२ त्रिलियन पुगेको छ ।
उन्नाइसौँ शताब्दीका जर्मनी राजनेता अटो भोन बिस्मार्कले त्यत्तिबेलाको विश्व व्यवस्था पाँच देशको हातमा रहेको बताएका थिए । तीमध्ये तीन देश मिले उसले नै विश्व व्यवस्था निक्र्योल गथ्र्यो । संरा अमेरिकाका पूर्व विदेश सचिव हेनरी केसिङ्जरले जब तीन–देशीय विश्व व्यवस्था लागु हुन्छ, देशहरूले दुई देशको समूहमा हुने विकल्प छान्नुपर्ने बताएका थिए ।
रुस र चीनलाई अलग बनाउनेतिर लाग्नुभन्दा संरा अमेरिकाले उनीहरूसँग समान हिसाबको सम्बन्ध विकास गर्नुपर्छ । मध्य भूमि (बफर ल्यान्ड) र सीमासँग सम्बन्धित संवदेनशील विषयलाई प्रस्ट पार्न तत्काल त्यसो गर्न अपरिहार्य छ । युक्रेन नाटोको सदस्य नबनोस् भन्ने रुसको चाहनालाई संरा अमेरिकाले राम्ररी बुझ्न जरुरी छ । ताइवानको स्वाधीनताको घोषणा वा कुनै पनि विदेशी शक्तिबाट त्यहाँको सैनिकीकरणलाई चीनले किन मान्न सक्दैन भन्ने कुरा संरा अमेरिकाले बुझ्न जरुरी छ । सन् १९६२ मा क्युवामा सोभियत मिसाइल राख्दा संरा अमेरिकालाई के सह्य भएको थियो, होइन र ?
संरा अमेरिकी प्रभुत्ववादको अन्त्य भयो । तर, स्थायी विश्व शक्ति सन्तुलन हासिल गर्न सम्भव छ । त्यो कुरा बाइडेनमा निर्भर हुनेछ ।
(एन्ड्रु हङकङ विश्वविद्यालयको एसिया ग्लोबल प्रतिष्ठानका वरिष्ठ अध्येता हुनुहुन्छ भने स्याओ गेङ हङकङ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका अध्यक्ष हुनुहुन्छ ।)
स्रोतः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *