भर्खरै :

संरा अमेरिकी प्रजातन्त्र धनीमानीको प्रजातन्त्र

(नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘संरा अमेरिकी प्रजातन्त्रको अवस्था’ बारे भएको अन्तरक्रिया कार्यक्रममा व्यक्त मन्तव्य)
डिसेम्बर ९ र १० मा संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको अग्रसरतामा कथित ‘प्रजातन्त्र सम्मेलन’ को आयोजना भएको थियो । सम्मेलनमा रुस र चीनजस्ता देशहरूलाई आमन्त्रित नगरी चीनको अविभाज्य भाग थाइवानलाई आमन्त्रण गरियो । यसरी संरा अमेरिका प्रजातन्त्रको नाममा संसारलाई विभाजित गर्न उद्यत्त देखिएको छ । यसै पृष्ठभूमिमा चीनको विदेश मन्त्रालयले प्रजातन्त्र र अमेरिकी प्रजातन्त्रको अवस्थाबारे आलेख सार्वजनिक गरेको थियो । सो आलेखलाई सुशिलाले नेपालीमा अनुवाद गर्नुभएको र ‘मजदुर’ दैनिकमा प्रकाशित भएको पहिलो अङ्कको अध्ययनको सङ्क्षेपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
प्रजातन्त्र सबै मानव जातिको साझा मूल्य हो । त्यो सबै राष्ट्रको अधिकार हो, केही देशको विशेषाधिकार होइन । प्रजातन्त्रले विविध रूप लिन्छ र त्यसको कुनै एकै आकारको निश्चित ढाँचा छैन । संसारका विविध राजनीतिक व्यवस्थालाई एउटै फित्ताले नाप्नु वा विभिन्न राजनीतिक सभ्यतालाई एकै कोणबाट नाप्नु पूर्णतः अप्रजातान्त्रिक हुने अवधारणा आलेखमा व्यक्त गरिएको छ ।
प्रजातन्त्र अर्थात्, डेमोक्रेसी शब्द प्राचीन ग्रीक भाषाबाट आएको हो । त्यसको अर्थ ‘जनताको शासन’ वा ‘जनताको सार्वभौमिकता’ हो । शासन प्रणालीको रूपमा बितेका २५ सय वर्षभन्दा अघिदेखि विविधरूपमा प्रजातन्त्रको अभ्यास हुँदै आएको छ । प्राचीन एथेन्सका नागरिकहरू प्रत्यक्ष प्रजातन्त्रको अभ्यास गर्थे भने आधुनिक समयमा प्रतिनिधिमूलक सरकारको अभ्यास भइरहेको छ । प्रजातन्त्र भनेको मानव जातिको राजनीतिक अग्रगतिको परिणति भएको आलेखमा बताइएको छ ।
अब्राहम लिङ्कनको भनाइ ‘जनताले जनताको लागि जनताद्वारा गरिने शासन’ भन्ने सिद्धान्त संसारभर प्रसिद्ध छ । तथापि, वर्षौँ वर्षदेखि संरा अमेरिकाको प्रजातन्त्र अलग बन्दै जानुका साथै क्रमशः क्षयीकरण हुँदै गएको छ । पैसाको राजनीति, पहिचानको राजनीति, राजनीतिक दलहरूबीचको झैझगडा, राजनीतिक ध्रुुवीकरण, सामाजिक विभाजन, जातीय द्वन्द्व र धनी–गरिबबीचको बढ्दो दुरीजस्ता समस्या अझै विकराल बन्दै गएको वास्तविकता आलेखमा चर्चा गरिएको छ ।
संरा अमेरिकाले आपूmलाई ‘चुचुरोको सहर’ र ‘प्रजातन्त्रको प्रकाश पुञ्ज’ भन्दै आएको छ । आप्mनो स्थापनाकालमा प्रजातन्त्र र स्वतन्त्रताको रक्षा गर्न त्यो राजनीतिक प्रणाली बनाइएको दाबी गरे पनि आजको संरा अमेरिकामा प्रजातन्त्रको अवधारणाले चमक गुमाएको र अमेरिकी प्रजातन्त्र आज पैसाको राजनीति, धनीमानीको शासन, राजनीतिक ध्रुवीकरण र काम गर्न नसकेको पद्धतिको कारण गम्भीररूपमा थला परेको वास्तविकता आलेखमा खुलस्त पारिएको छ ।
अमेरिकी शैलीको प्रजातन्त्र पैसाबाट चल्ने धनीमानीको खेल बनेको छ । जनताको प्रजातन्त्रसँग अमेरिकी प्रणाली आधारभूतरूपमा फरक छ । एक सय वर्षअघि आहायोका रिपब्लिकन दलका सांसद मार्क हानाले राजनीतिमा पैसा महत्वपूर्ण भएको बताए । अमेरिकामा आज राष्ट्रपति चुनाव र संसदीय चुनावमा खर्बभन्दा बढी नेपाली रूपैँया खर्च भयो । नेपालमा पनि पुँजीवादी दलहरू र संशोधनवादी कम्युनिस्टहरूले चुनावमा अर्बौँ खर्च गरिरहेका छन् ।
संरा अमेरिका धनीमानी वर्गले प्रभुत्व चलाएको अलगै खालको देश हो । राजनीतिक बहुलवाद देखाउने दाँतमात्र हो । धनीमानी वर्गको सानो सङ्ख्याले राजनीतिक, सैनिक र आर्थिक क्षेत्रमा प्रभाव जमाएको छ । उनीहरूले नै सबै खालका सुखसुविधा उपभोग गरेका छन् । विशेषतः सन् १९६० दशकयता डेमोक्रेटिक र रिपब्लिकन दलहरूले पालैपालो शासन गरेर ‘बहुदलीय व्यवस्था’ लाई नाममात्रको बनाएको छ ।
सर्वसाधारण मतदाताको लागि कुनै तेस्रो दल वा कुनै स्वतन्त्र उम्मेदवारलाई मतदान गर्नु भनेको मत खेर फाल्नुबाहेक केही हुने गरेको छैन । त्यसकारण, मतदाताहरूलाई डेमोक्रेटिक वा रिपब्लिकन उम्मेदवारमध्ये एक जना चुन्नुपर्ने बाध्यता छ । त्यसैले, संरा अमेरिकी राजनीतिक अभ्यासमा ‘जनताले सरकार’ बनाउन असम्भव प्राय छ । नेपालका शासक वर्गले पनि पुँजीवादी शासन प्रणाली अपनाएर ‘प्रजातन्त्र’ लाई धनीमानीहरूको जनता ठग्ने मेसो बनाएको जनतालाई अनुभूत भइरहेको यस आलेखको सन्दर्भसँग मिल्दोजुल्दो भएको पाएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *