भर्खरै :

जनरल चाल्र्स दे गाल : एक अध्ययन – १०

लन्डनमा
दे गाल लन्डनमै बसे पनि बेलायतसँगको उनको सम्बन्ध चिसियो । बेलायतले नापतौल गरेर आफूलाई अगाडि बढाएको उनले बुझ्दै गए । त्यसलाई उनले चर्चिलको ‘महत्वाकाङ्क्षी वाचा र नापतौल गरिएका भावनाहरू’ भनेका थिए । उनले बेलायती कूटनीतिको नकच्चरोपनबारे लेखेका छन् । तैपनि उनले बेलायती मित्रता लत्याउन सकेनन् । बेलायतले नै उनलाई हतियार, पैसा, सूचना, हिँड्डुलको सुविधा, सञ्चारका साधनहरू दिएको थियो । आठ महिनासम्म दे गाल लन्डनमै रहे । त्यहाँबाट फ्रान्सका आफ्ना कार्यकर्तासँग दे गालले सजिलै सम्पर्क राख्न सक्थे । साथै, केही समय उनले आफ्नो परिवारसँग पनि बिताए ।
लन्डनमा ‘फ्री फ्रेन्च सङ्गठन’ को आकार बढिरहेको थियो । १९४१ को आरम्भमा त्यसमा साढे चार सयजति सैन्य र निजामति कर्मचारी थिए । कर्मचारीहरूको तलब सुविधा धेरै थिएन । झन्डै हप्तामा एकचोटि राष्ट्रिय समितिको बैठक बस्थ्यो । मन्त्रीहरूको काम सल्लाह दिने तहमै सीमित थियो । जनरलको बोली आलोचनाभन्दा माथि थियो । एडमिरल मुसेल्लेले मात्र दे गाललाई प्रश्न गरे । दे गालको व्यवहारले मित्र शक्तिहरूसँगको ‘फ्री फ्रेन्च’ को सम्बन्ध दाउमा पर्ने बताएपछि उनीसँग दे गाल रिसाए । उनले बेलायती आड लिएपछि दे गालले उनलाई ‘फ्री फ्रेन्च’ बाटै निकाला गरे । बेलायतसँगको दे गालको सम्बन्ध झन्झन् बिग्रियो । दे गाललाई नसोधी बेलायतले मडागास्करमा कब्जा जमायो । त्यहाँ भिशे शासन थियो । दे गाललाई बेलायतले मडागास्करको प्रशासनमा स्थान दिने झिनो लोभ देखायो । तर, दे गाल अक्रोशित भए र फ्रान्सको कुनै पनि भूभागमा दाबी गरे बेलायत र अमेरिकी सरकारसँग सम्बन्ध तोड्ने धम्की दिए । यही धम्कीका कारण मे महिनामा चर्चिलले दे गाललाई अफिसमा बोलाएर कुरा गरे । उनले जापानी आक्रमणको डर देखेर तारन्तार मडागास्कर कब्जा गरेको बताए । फ्रान्सेली उपनिवेशलाई गरिएको व्यवहार भोलि सग्लो फ्रान्ससँग हुन सक्ने भन्दै दे गालले आफ्नो अडान लिए । उनले अमेरिका र रुजवेल्टसँग पनि यस्तै व्यवहार गर्ने बताए । अन्तमा चर्चिलले दे गाललाई मडागास्कर र सोमालिल्यान्डमाथि ‘फ्री फ्रेन्च सेना’ को नियन्त्रणमा भाँजो नहाल्ने आश्वासन दिए ।
पुनरोदय
सन् १९४२ को वसन्त याममा दे गालले आफ्नो सङ्गठनको नाम फेरेर ‘युद्धरत फ्रान्स’ राखे । खासमा त्यो वर्ष युद्धको भेल उल्टिन्छ भन्ने अनुमान थियो । तर, दे गालको सेना यो भेलमा निकै सानो थियो । त्यसमाथि लडाइँमा भन्दा गस्ती र आवतजावत गर्दा दे गालले धेरै सैनिक गुमाएका थिए । उनी आफ्नो सेना लडाइँमा जाओस् भन्ने चाहन्थे । त्यसैले लिबियाको युद्धमा उनले दुई डिभिजन सेना पठाउन खोजेका थिए । रूसतिर पठाउने भनेपछि बेलायतले उनको सेनालाई लिबियामा बोलायो । यसको कारण के थियो भने लिबियाको लडाइँमा जर्मनीका प्रसिद्ध जर्नेल रोमेल आउँदै थिए । त्यसैले बेलायतले दे गाललाई रोमेलसँग भिडाउने सोच्यो । तर, दे गाललाई अरू कामबाट फुर्सद भएन । जनरल काएनिङ लडाइँमा गए । मे २७ मा बिर–ए–हकिम भन्ने स्थानमा रोमेल नेतृत्वको सेनासँग फ्रान्सका १२ हजार सैनिकहरू लडे । जून ७ मा जर्मन सेनाले फ्रान्सेली सेनालाई घे¥यो । ठूलो दुःखले जून ११ मा फ्रान्सेली सेनाले जर्मन घेराबन्दी तोड्न समय भयो । यो ठूलो सफलता थियो । बिर–ए–हकिमको लडाइँलाई फ्रान्सको पुनरोदयको थालनी भनी प्रचार गरियो ।
जुलाई १८ को दोस्रो वार्षिकीमा बिर–ए–हकिमको विजयोत्सव मनाइयो । बिर–ए–हकिमकै विजयले गर्दा अमेरिकाले दे गालको सरकारका लागि आफ्नो दूत राख्ने खबर पठायो । उसले फ्रान्सेली राष्ट्रिय समितिलाई सैन्य सहयोग दिने वचन दियो । पत्रमा दे गालको सरकारलाई मान्यता दिएको कहीँकतै उल्लेख थिएन । बेलायतले पनि यस्तै कन्जुस्याइँ देखायो । बेलायती परराष्ट्रमन्त्री एन्थोनी इडनले लडाइँमा फ्रान्स ‘अनुपस्थित नरहेको’ बताए । अमेरिका र बेलायतले दे गाललाई अझै पनि एक ‘प्रतीक’ मात्र मानिरहे । दे गालको सरकारलाई उनीहरूले सरकार भनेनन् । ‘युद्धरत फ्रान्स’ लाई मान्यताको आवश्यकता थियो । त्यो उसलाई सोभियत सङ्घले मात्र दियो । १९४२ सेप्टेम्बर २८ मा सोभियत सरकारले फ्रान्सेली राष्ट्रिय समितिलाई फ्रान्सको एकमात्र अधिकारी बतायो ।
अर्को खेल
सन् १९४२ को गर्मीयाममा अमेरिकी सेनाले अर्को खेल रच्यो । उसले बेलायती टापुहरूमा जलसेना र वायुसेना थुपा¥यो । यसको सुइँको दे गाललाई दिइएन । सम्मेलनहरूमा दे गालले सैन्य अपरेसनका कुरा निकाल्दा बेलायत र अमेरिकाले अर्को विषय निकालिहाल्थे । पश्चिममा जर्मनीविरुद्ध दोस्रो मोर्चा खोल्ने सोभियत सङ्घलाई दिएको वचन पनि बेलायत र अमेरिकाले पूरा गरेनन् । बरु, दे गालले दोस्रो मोर्चा खोल्नुपर्ने विचारलाई जोडदार रूपमा उठाए । हिसाबै गरेर उनले हिटलर पूर्वी मोर्चामा फसेको र ५० डिभिजन सेनाले हिटलरलाई टक्कर दिन सकिने बताए । उनले ‘युद्धरत फ्रान्स’ लाई दोस्रो मोर्चाको लागि तम्तयार रहन आदेश पनि दिएका थिए । तर, अमेरिका र बेलायत उत्तर अफ्रिकाको चाल अर्कै थियो । दे गाल बेलायतबाट युरोपभरि आक्रमण गर्नुपर्ने पक्षमा थिए । यसरी उनी फ्रान्समा पस्न सक्थे । तर, अमेरिका र बेलायती चालामाला छुट्टै देखियो ।
अमेरिका र बेलायत फासीवादविरोधी युद्ध तीव्र पार्न चाहन्नथे । बरु उनीहरू उत्तर अफ्रिकातिर जाँदै थिए । यो कुरा दे गाललाई थाहा दिइएन । बेलायत र अमेरिका फेरि पनि फ्रान्सेली उपनिवेशमा पस्ने देखेपछि दे गाल आक्रोशित भए । उत्तर अफ्रिकामा कार्यरत अमेरिकी कूटनीतिज्ञहरूको खेलमा दे गाललाई अलग राखियो । अमेरिकाले फ्रान्सलाई अलग राखेर फ्रान्सेली समस्यामा डाडुपन्यो चलाउन चाहन्छ भन्ने कुरा दे गालले बुझिहाले । जुलाईमा बेलायत र अमेरिकाले देखाएको सदभाव ढोँगमात्र थियो । त्यसैले अगस्त ५ मा दे गाल मध्यपूर्व गए । फ्रान्सेली उपनिवेशहरूमा चलिरहेको बेलायती चलखेलविरुद्ध लड्न उनले सकेजति गरे । सेप्टेम्बरमा दे गाल लन्डन फर्केपछि चर्चिलले उनलाई फ्रान्सको प्रतिनिधि मान्न अस्वीकार गरे । त्यसबेला दे गालको उत्तर थियो – “त्यसो भए कुन हैसियतले तपाईँले मसँग विश्व घटनाबारे वार्ता गर्दै हुनुहुन्छ त ?” चर्चिलले कुनै उत्तर दिएनन् । चर्चिल अमेरिकी पुच्छर बनिसकेका थिए । अनि, दे गालले चर्चिललाई ठाउँमा ल्याउने समय पर्खिन थाले ।
अमेरिकी धोका
सन् १९४२ नोभेम्बरको एक रात अपरेसन टर्च सुरु भयो । बेलायत र अमेरिकाका १ लाख २० हजार सैनिकहरू सयौँ युद्धपोतसहित अल्जेरिया, ट्युनिसिया र मोरक्को पसे । ती देशहरू उत्तर अफ्रिकी उपनिवेशहरूमा पसे । बेलायत र अमेरिकाले यो कुरा दे गाललाई पनि जानकारी गराएका थिएनन् । दे गाललाई त्यस अपरेसनमा बेवास्ता गरिएको थियो । वास्तवमा उनीहरू फ्रान्सेली उपनिवेशहरूमा आँखा गाढ्दै थिए । दे गाल निराश भए । यो उनको जीवनकै निराश क्षण थियो । अन्ततः उनले चर्चिल र रुजवेल्टलाई पाठ सिकाउने मन बनाए । यसको लागि उनले १० महिनासम्म अविराम सङ्घर्ष गरे ।
नोभेम्बर ८ मा दे गालले लन्डनमा चर्चिल र इडनलाई भेटे । उनीहरूले दे गाललाई खुसी पार्न खोजे । उनीहरूले आफूहरू अमेरिकाको पछाडि लाग्न बाध्य भएको जिरह गरे । दे गालसँगको सम्बन्ध नचुँडिने बताए । तर, दे गाल आरामले बसिरहे । उनले भिशे सरकारसँग साँठगाँठ गरेको अमेरिका उल्टो दिशामा हिँड्न बाध्य भएको बुझे । त्यसैले दे गालले केही सैन्य सल्लाहहरू दिए । उनले ट्युनिसियाको बिजेर्ता सहर कब्जा गर्नुपर्ने बताए । उनले बेलायत अमेरिकामुनि बसेको देखेर आश्चर्य प्रकट गरे । साँझपख दे गालले फ्रान्सेली जनताको नाउँमा एउटा रेडियो सन्देश दिए । उनले उत्तरी अफ्रिकामा बसिरहेका फ्रान्सेली सैनिक र जनतालाई मित्र शक्तिलाई सहयोग गर्न आह्वान गरे ।
दे गालले एक समाजवादी नेतालाई आफ्नो प्रतिनिधि बनाएर अमेरिका पठाए । ती प्रतिनिधिले राष्ट्रपति रुजवेल्टसामु ‘युद्धरत फ्रान्स’ को राजनीतिक योजनाहरू सुनाए । उनलाई रोक्दै रुजवेल्टले आफू राष्ट्रपति विल्सनजस्तो आदर्शवादी नभई व्यावहारिक भएको बताए । जसले अमेरिकालाई बढी भूमि दिन्छ, आफूले त्यही जनरललाई स्वागत गर्ने उनको दृढ मत थियो । साथै, फ्रान्समा निर्वाचन भएर कुनै सरकार नआउँदासम्म फ्रान्स भन्ने देशै नरहेको उनको निक्र्योल थियो । नभन्दै उत्तर फ्रान्सको कमान सम्हालिरहेका भिशे सरकारका जर्नेलहरूले भटाभट आत्मसमर्पण गर्दै गए र अमेरिकाले तिनलाई स्वागत गर्दै गयो । नोभेम्बर १५ मा जनरल दारलाँले पेताँकै शाखा सरकार गठन गरेको घोषणा गरे । जनरल गिरौद अफ्रिकास्थित फ्रान्सेली सेनाका कमान्डर बने ।
हिटलरी सेनाले अब फ्रान्सको दक्षिणी भेग पनि कब्जा गरिसकेको थियो । त्यसैले भिशे सत्ताका शासकहरू उत्तर अफ्रिकामा जम्मा भइरहेका थिए । अमेरिकाले तिनैलाई फ्रान्सेली शासक घोषणा ग¥यो । त्यसबेला दारलाँको सरकार अल्जायर्समा थियो । यसको अर्थ अमेरिका दे गाललाई फ्रान्सको शासक मान्न तयार थिएन । बरु, उसले हिटलरको पक्ष लिने भिशेहरूलाई नै काखी च्यापिरहेको थियो । यसबाट फ्रान्सेली देशभक्तहरू मर्माहत भए । त्यसैले दे गालले उत्तर अफ्रिकामा भइरहेका गतिविधिहरूप्रति आफू जिम्मेवार नभएको सन्देश जारी गरे । बेलायतले रुखो मनले भिशे शासकहरूलाई काखी च्याप्ने अमेरिकी नीतिको पक्ष लिए पनि दे गाललाई समर्थन गर्न छोडेन ।
चलाखी
दे गालले आफूलाई फ्रान्सको वैध शासकको मान्यता दिलाउन बेलायतलाई दबाब दिए । उनी बेलायतले अमेरिकालाई यो कुरामा सहमत गराओस् भन्ने चाहन्थे । यसको लागि उनले दुइटा चाल चले । एक, उनले हिटलरप्रति घृणा जगाउने, आदर्श प्रचार गर्ने र देशभित्रका प्रतिकार समूहहरूसँग जोडिने काम गरे । यसबाट उनी फ्रान्सेली प्रतिरोध सङ्घर्षका नामैका भए पनि नेता हुन् भन्ने पर्न गयो । दुई, उनले बेलायत र फ्रान्सका पुँजीपतिहरूलाई ढाडस दिए । स्तालिनग्रादको लडाइँ चलिरहेको थियो । बेलायत र फ्रान्सका पुँजीपतिहरू त्यो लडाइँमा सोभियत सङ्घको विजयसँगै युद्धपछि उसको हात माथि पर्ने भयो भनी चिन्तित थिए । सोभियत सङ्घको विजयले बेलायत र फ्रान्समा कम्युनिस्ट शासन आउँदैन भनी दे गालले सान्त्वना दिए । साथै, उनले चलाखीपूर्वक भिशे सत्ताले कम्युनिस्ट पार्टीहरूलाई बलियो बनाउनसक्ने डर देखाए ।
नोभेम्बर १६ मा दे गालले चर्चिललाई भेटे । उनले फ्रान्सेली जनताको मनस्थितिबारे चर्चिललाई केही कागजपत्र दिए । भिशे शासकहरूलाई काखी च्यापेर मित्रशक्तिले युद्ध जिते नै भने पनि उनीहरूको नैतिक पराजय हुनेछ भनी दे गालले चर्चिललाई सम्झाए । बरु नैतिक विजेता भनी सारा युरोपले स्तालिनलाई जस दिनेछ भनी दे गालले होसियारीपूर्वक आफ्नो ‘तुरूप’ फाले । चर्चिलको सबैभन्दा कमजोर बिन्दु कम्युनिस्टप्रतिको घृणा हो भन्ने चतुर दे गाललाई थाहा नहुने कुरै भएन । चर्चिलले चालु घटनाहरू निर्णायक होइनन् भनी कुरा टारे ।
अमेरिकी खेल
दे गाल ‘युद्धरत फ्रान्स’ लाई सुगठित बनाउन चाहन्थे । बेलायती रेडियो अमेरिकाले चलाउन थालेपछि दे गालले रेडियो सन्देश दिन पाएनन् । तैपनि ‘युद्धरत फ्रान्स’ ले प्रगति गर्दैै गयो । उसले मडागास्कर र सोमालिल्यान्ड कब्जा ग¥यो । उसले लिबिया र फेजानमा सफलता पायो । दे गाल र दारलाँ फरक ध्रुवका जनरलहरू थिए । दे गालले दारलाँलाई सघाउन पठाएको सेनालाई दारलाँले फिर्ता पठाइदिए । डिसेम्बर २४ मा दारलाँको हत्या भयो । हत्यारालाई रातारात मृत्युदण्ड दिइयो । बाहिर राजावादी र दे गालमध्ये एकजनाले सो हत्या गरेको हल्ला चल्यो । त्यसपछि गिरौदलाई प्रशासकीय र सैन्य कमान्डर इन चीफ भनियो ।
दे गालले गिरौदलाई भेट्न खोजे । गिरौदले मानेनन् । उनीहरूबीच पत्राचार चाहिँ भइरह्यो । अर्को वर्ष जनवरीमा चर्चिलले एकाएक गिरौद र दे गाललाई भेट गराउन मोरक्कोमा पर्ने काजाब्लाँका सहर बोलाए । त्यहाँ रुजवेल्ट पनि उपस्थित थिए । अमेरिका र बेलायतले फ्रान्सको भावी नेता छनोट गर्न खोजे भनेर दे गाल त्यहाँ जान मानेनन् । दुई दिनपछि चर्चिलले ‘युद्धरत फ्रान्स’ लाई दानापानी बन्द गरिदिने धम्कीसहित दे गाललाई काजाब्लाँका बोलाए । त्यहाँ उनलाई एकदम साधारण भेषमा भूमिगत शैलीमा बोलाइएको थियो । त्यसैले भित्रभित्र भुटभुटिँदै दे गाल काजाब्लाँका गए ।
गिरौदसित दे गालको भेट भयो । गिरौदले आफूले राजनीतिमा रुचि नराख्ने, पत्रपत्रिका नपढ्ने र रेडियो नसुन्ने बताए । उनी भिशे सरकारका विरोधी पनि थिएनन् । अमेरिकाको आज्ञाकारी हुनाले नै उनलाई प्रशासकीय र सैन्य प्रमुख बनाइएको थियो । चर्चिलले एउटा समिति बनाउन भने । त्यो समितिमा फ्रान्सका उपनिवेशहरूका गर्भनरहरू राखिने भयो । ती गभर्नरमध्ये धेरै भिशे सत्ताका समर्थकहरू थिए । एकजना त पेताँ सरकारका मन्त्री पनि भइसकेका थिए । खासमा अमेरिका र बेलायतले आफ्ना कठपुतलीहरूको समिति बनाएर फ्रान्सका उपनिवेशहरूमा आफ्नो हात बलियो बनाउन चाहन्थे । त्यो समिति भिशे सत्ताका समर्थकहरूको होइन भनी देखाउन मात्र उनीहरूले दे गाललाई त्यसमा राख्न चाहेका थिए । अमेरिका उत्तर अफ्रिकालाई आफ्नो सैन्य आधार क्षेत्र बनाउन चाहन्थ्यो । त्यसका लागि ऊ जसलाई पनि काखी च्याप्न तयार थियो । भिशे गभर्नरहरूको समिति बनाएर अमेरिकाले फ्रान्सका उपनिवेशहरूलाई एउटा सङ्घीय ढाँचामा राख्न चाह्यो । उसले उपनिवेशहरूको स्वतन्त्रताको नाममा यी सबै खेल खेलिरहेको थियो । दे गालले अमेरिकी चाल बुझिहाले । त्यसैले उनले समिति बनाउने प्रस्ताव अस्वीकार गरे । उनलाई सम्झाउन गिरौद, अमेरिकी प्रतिनिधि मर्फी, चर्चिल, बेलायती प्रतिनिधि म्याकमिलनले ठूलो प्रयास गरे । तर, उनी टसको मस भएनन् ।
काजाब्लाँकाबाट दे गाल लिबिया गएर ‘युद्धरत फ्रान्स’ को गतिविधि निरीक्षण गर्न चाहन्थे । तर, बेलायतले उनलाई अनुमति दिएन । त्यसपछि उनी लन्डन गए र एक पत्रकार सम्मेलन गरेर अमेरिकी खेलले भिशे सत्तालाई काखी च्यापेको खुलासा गरे । उनी पुनः पूर्वी भेगमा जान चाहे । फेरि पनि बेलायतले उनलाई कागजपत्र दिन मानेन । बेलायती र अमेरिकी पत्रपत्रिकाले उनलाई आक्रमणको तारो बनाउन थाले । तर, उनी आफ्नो विचारबाट डगेनन् । चर्चिल र रुजवेल्टले आफ्नो उपस्थितिबेगर केही गर्न नसक्नेमा उनी ढुक्क बन्दै गए । उनले चलाखीपूर्वक उनीहरूलाई झुक्याएका थिए । जनरल कात्रौक्स अल्जायर्समा उनका प्रतिनिधि बने । अब दे गालवादी र गिरौदवादीहरूबीच होडबाजी सुरु भयो । ज्याँ मोँने, रेने माएर, मर्भिलजस्ता धनाढ्य प्रतिनिधिहरू बिस्तारै दे गालतिर सर्दै गए । यसको लागि दे गालले अनेक दाउपेच लगाएका थिए ।
प्रस्तुति : सुरेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *