भर्खरै :

राजनीतिलाई ख्याल ठट्टा नसम्झौँ !

एमाले, राप्रपा, नेका, माओवादी केन्द्र (प्रचण्ड समूह) आदि पुँजीवादी दलहरूको महाधिवेशनबारे ठूलो चर्चा र परिचर्चा सुनियो, देखियो । ‘राष्ट्रिय’ र पुँजीवादी प्रचार माध्यमहरूले महाधिवेशनका महत्वपूर्ण विषय र समाचारहरू दिनुभन्दा पनि ती दलहरूकै विषय, नेताहरूको परिचय, खान्दान र गतिविधिहरू पृष्ठका पृष्ठ छापेर प्रचार गरे । देशमा ‘कम्युनिस्ट’ भनिने पुँजीवादी दलहरूकै आपसी गाली, निन्दा, हिलो छ्यापाछ्यापले सांसद–संसद् (विधायिका), मन्त्रीहरू र कार्यपालिकामात्र होइन न्यायपालिका अर्थात् प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, अन्य न्यायाधीशहरू र कानुन व्यवसायीहरूको सङ्गठन– ‘बार’ एवम् कानुन व्यवसायीहरूसमेत विवादमा तानिए र सडकमा उत्रिन बाध्य भए ।
हेर्दा स्वाभाविक लाग्ने तर पुँजीवादी दल र नेताहरू सबै बदनाम भएपनि पुँजीवादी व्यवस्था भने चोखै देखिने खालका परिस्थिति नेपाली जनताले भोगे । आश्चर्यजनक विषय हो – पुँजीवादी व्यवस्थाका तीनवटै खम्बा विधायिका, कार्यपालिका एवम् न्यायपालिका र ती संस्थाका सबै सञ्चालकले चोर, डाँका, ठग, भ्रष्टाचारी र अख्तियार दुरुपयोग आयोगलाई गुहार्नुपर्दा पनि पुँजीवादी व्यवस्था कसरी चोखो होला ? यो प्रश्न टड्कारो देखिँदै छ ।
३०–४० वर्षमै कुनै राजनीतिक व्यवस्था ठीक वा बेठीक भनी विश्लेषण गर्ने साधारण जनताको चिन्तनको सीमाभित्र पर्दैन र अहिले पनि सबै देशमा सम्भव भएको व्यवहारमा देखिएको देखिँदैन । २–४ सय वर्ष अघिदेखि एरिस्टोटल र प्लेटोभन्दा अगाडि र पछाडिका चिन्तकहरूले पनि बुद्धि खियाएकै थिए । तर, माक्र्स र एँगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ जस्तो चिरागले मात्र राजनीतिक चिन्तनको कालरात्रीमा नयाँ प्रकाश छरेको अनुभव आमूल परिवर्तनका पक्षपातीहरूले गरे ।
माक्र्सवादअनुसार पनि विधायिका, कार्यपालिका र न्यायपालिका ती संस्थाका सञ्चालकहरूले मात्र सच्याएर सच्चिने होइन । उत्पादनका साधन र सेवाहरूमा व्यापक जनताको अर्थात् समाजकै स्वामित्व नभएसम्म पुँजीवादी व्यवस्थाका तीनवटै संस्थाका सञ्चालकहरूले चाहेर पनि कुनै प्रकारको आमूल परिवर्तनको मेसो पाउने छैनन् ।
हिजो एकले अर्कोलाई सत्तोसराप गर्ने पात्रहरू अर्थात् एकले अर्कोलाई विदेशी पुँजीका दलालको आरोप लगाएकाहरू आज एक सार्वजनिक बैठकमा उपस्थित भएर पुनः आपसमा एकता र मेलको बिन्दु खोज्दै छन् । के हिजो एक–अर्कालाई लगाएका चोर, डाँकू, ठग, देशघाती, तानाशाही, विदेशी दलालजस्ता आरोप र लाञ्छना सबै झूट हुन् ? के हिजो थुकेका सबै व्यक्ति र वस्तु आज पुनः पूज्य र खानलायक हुने भयो ?!
सत्य यही हो भने के हिजोको गाली र फतुर तराईको होलीमा गरिने गाली र काठमाडौँको गुठीमा जाँड–रक्सीले मात्तिएर गरिने झगडा मात्रै हो ? प्रश्न पुनः तेर्सिन्छ – हिजो गरिएका गाली र लगाइएका लाञ्छना सबै झूट हुन् भने त्यसो किन भनियो ? हिजोको सत्य आज असत्य हुने भए आजको सत्य भोलि किन असत्य साबित हुँदैन ? यसको उत्तर पार्टी र पार्टीका नेताहरूसँग हुनेछैन । यो सबै यो व्यवस्थालाई जस्ताको तस्तै राख्ने नेताहरूको कालो मुख पुछ्ने र केही ‘नयाँ नेताहरू’ प्रस्तुत गर्ने विदेशी पुँजीवादी थिङ्क ट्याङ्क वा ‘नवरत्न’ वा ‘सल्लाहकारहरूको’ चटक मात्र हो ।
यस्तो गाली र झगडा नेपालको पुँजीवादी रङ्गमञ्चमा मात्रै होइन प्रजातन्त्रको मातृभूमि भनिएका बेलायत र अमेरिकामा समेत हुन्छ र भइरहेको छ । क्रान्तिको लडाइँमा साधारण जनता र सिपाहीहरू मात्रै मारिएनन् बरु राजाहरूसमेत टुँडिखेलमा काटिए, गिलोटिन (मान्छे मार्ने मेसिन) मा मारिए र राष्ट्रपतिहरू नाचघर एवम् सडकमा समेत मारिए ।
नेताहरूको झगडा र हत्याले पुँजीवादी व्यवस्था सुध्रिने होइन बरु समाजवाद र साम्यवादी व्यवस्थाले मात्रै समाजमा आमूल परिवर्तन आउँछ । ठेकेदार, कालाबजारिया, शोषक, तस्कर, विदेशी दलाल, जाली–फटाहाहरूको पैसाको बलमा निर्वाचन जितेर होइन देशका बहुमत कामदार जनताको सचेत सङ्घर्षले मात्र समाजमा आमूल परिवर्तन ल्याउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *