भर्खरै :

“देशमै गुणस्तरीय शिक्षा भए शिक्षाको नाममा विदेश जाने पैसा रोकिनेछ”

भक्तपुर, १४ पुस । प्रभात सार्वजनिक गुठीद्वारा सञ्चालित प्रभात माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बुधबार बधाई तथा मार्गनिर्देशन कार्यक्रम गरियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले राजनीति सबै नीतिको मूल नीति भएको हुँदा राजनीतिमा विद्यार्थीहरूको चासो हुनुपर्छ भन्नुभयो ।
“दर्शन आँखाजस्तै हो । देशको बन्दोबस्ती र विकासको लागि अर्थशास्त्रीहरूको जरूरी छ । नेपालको सुन्तला र स्याउ विश्वमै गुणस्तरीय हो । तर, अर्बौँ रूपैयाँको फलफुल विदेशबाट नेपाल आयात गरिन्छ । सरकारमा गएका पार्टी र नेताहरूकै कारण देशको अधोगति भएको हो ।” अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।
उहाँले थप्नुभयो, “नेपाली विद्यार्थीहरू विदेश पढ्न अर्बौँ रूपियाँ खर्च गर्दै छन् । नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था गर्न सकिन्छ ।”
जुनसुकै विषय पढे पनि राम्रोसँग अध्ययन गर्नुपर्नेमा जोड दिँदै उहाँले समाजवादी देशहरूमा लाखौँको सङ्ख्यामा डाक्टर र इन्जिनियर भएको तर नेपालमा भएका डाक्टर र इन्जिनियर पनि विदेश जान बाध्य भएको उल्लेख गर्नुभयो ।
“कतिपय देशमा विद्यार्थी परीक्षामा उत्तीर्ण हुने प्राप्ताङ्क ६० प्रतिशत रहेको छ । नेपालमा भर्खर ३५ प्रतिशत प्राताङ्क बनाइएको छ । यसकारण, नेपाली विद्यार्थीहरूको गुणस्तर घट्यो ।” अध्यक्ष बिजुक्छेँले उल्लेख गर्नुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रेम सुवालले मा.वि. शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क नगर्ने सरकारहरूकै कारण नेपाली युवाहरू वैदेशिक रोजगारीमा जोखिमपूर्ण काम गर्न बाध्य भएको उल्लेख गर्नुभयो ।
उहाँले सार्वजनिक शैक्षिक गुठीअन्तर्गतको प्रभात माध्यमिक विद्यालयलाई सरकारको तर्फबाट नियमित सहयोगको व्यवस्था हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले नयाँ पुस्ताले देश–विदेशको राजनीतिबारे जानकारी राख्नुपर्नेमा जोड दिँदै देशघाती एमसीसी सम्झौता खारेज गराउन नेपाली जनताले उठाएको सङ्घर्षमा विद्यार्थीहरूको सहभागिता र ऐक्यबद्धता आवश्यक भएको चर्चा गर्नुभयो ।
विद्यालय सञ्चालक समितिका सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले नयाँ पुस्ताले पुरानो पुँजीवादी विचार त्याग्नुपर्ने र नयाँ समाजवादी विचार अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “शैक्षिक योग्यतासँगै व्यवहार, अनुशासन, चरित्र र संस्कारमा अब्बल बन्नुपर्छ । पाठ्यपुस्तकसँगै साहित्य, राम्रो पत्रपत्रिकाको अध्ययनलाई जीवनपद्धति बनाउनुपर्छ । भाषा र अभिव्यक्ति कौशलले शैक्षिक योग्यतालाई अझ प्रकाशमा ल्याउने हुँदा भाषा र अभिव्यक्ति कौशललाई विकास गर्नुपर्छ ।”
जीवनमा जुनसुकै पेसा अपनाए पनि सेवा भावले गर्नुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो, “परिवार, समाज र देशविना जीवनको औचित्य हुन्न । त्यसैले विदेशिने मानसिकतालाई अझ कमजोर बनाउन जरूरी छ ।”
विद्यालयका प्राचार्य बदनकेशरी प्रजापतिले प्रभात माविका विद्यार्थीहरू जुनसुकै कलेजमा अध्ययन गर्न गए पनि र अध्ययनपछिको रोजगारीमा पनि इमानदार र अनुशासित हुने अपेक्षा राख्नुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *