भर्खरै :

मतदाताहरूलाई लोभ्याउने होडमा भारतका राजनीतिक दलहरूबीच वैचारिक अन्तर मेटिँदै छ

भारतीय राजनीति अब यस घुम्तीमा आएर उभिएको छ, जहाँबाट सुधारको कुनै सम्भावना देखिएको छैन । भारतीय राष्ट्रिय काङ्ग्रेसले विकासको नवउदारवादी मोडेलको वरिपरि सर्वसम्मतिको त्यस बिन्दुमा सबैलाई लिएर आएको छ, जहाँ विभिन्न राजनीतिक दलहरूबीच नीतिहरूलाई लिएर कुनै मतभेद छैन । त्यहीँ एक अन्य राष्ट्रिय दल अर्थात् भारतीय जनता पार्टी (भाजपा) पछिल्लो सात वर्षमा वर्तमान समाजको कल्पनामाथि आम सहमतिको त्यस बिन्दुसम्म ल्याउनमा सफल रहेको छ । जहाँ सबै प्रमुख दलहरू ‘बहुसङ्ख्यक सांस्कृतिक राष्ट्रवाद’ को सीमाको क्षेत्रमा आफ्नो स्थान बनाउन र प्रतिस्पर्धी हिन्दूत्वको प्रक्रियाको एक भाग बन्ने होडमा लागिरहेका छन् ।
आम सहमति बनाउने यी दुई कोसिसहरूको जवाफमा क्षेत्रीय दलहरूले सीधा जनतालाई लाभ पु¥याउने लोक कल्याणकारी कार्यक्रमलाई आफ्नो मुख्य आधारका रूपमा प्रस्तुत गरेका छन् । उनीहरूले किसान, विद्यार्थी, युवा, अल्पसङ्ख्यक, दलित समुदाय र महिलाहरूको लागि आफैमा अनौठा विभिन्न कल्याणकारी योजनाहरू सुरु गरेका छन् ।
चुनाववाद (जसरी पनि निर्वाचन जित्नैपर्ने सिद्धान्त) को जरुरत पूरा गर्नका लागि उनीहरूले कल्याणवादको रूपरेखा तयार गरेका छन् । वर्तमानमा यिनीहरूमध्ये प्रत्येक समूह एक दोस्रोसित सिकिरहेका छन् र अनुकरण गरिरहेका छन् । यसै क्रममा काङ्ग्रेसले मन्दिर राजनीतिमा कुद्दै आफ्नो कल्याणवादलाई विस्तार गरेको छ र एक जनैधारी नेतालाई अगाडि राखेर आफैलाई हिन्दू भएको दावा गरेको छ । त्यही भाजपा आक्रामक नवउदारवादको सहारामा कल्याणवादको वातावरण रचना गर्ने कोसिस गरिरहेको छ ।
अर्कोतिर क्षेत्रीय दलहरू नवउदारवादी एजेन्डाहरूबाट प्रभावित छन् र क्षेत्रीय विशेषताहरूका साथ अखिल भारतीय हिन्दू पहिचानको सन्तुलन बनाउने तरिकामाथि विचार गरिरहेका छन् । मतदाताहरू निरन्तर जारी यस प्रकारको प्रतिस्पर्धी राजनीतिलाई बुझ्ने कोसिस गरिरहेका छन् । तिनीहरू राजनीतिक दलहरूबीच कुनै खास भिन्नता पत्ता लगाउने सङ्घर्ष गरिरहेको प्रतीत हुन्छ र यस्तो माध्यम खोजिरहेका छन्, जसको प्रयोग गरेर मत दिनका लागि सही दल चयन गर्न सकियोस् ।
उनीहरूका लागि नेताहरू र जनप्रतिनिधिहरू एउटा दल छोडेर अर्को दलमा सामेल हुनुमा कुनै कठिनाइ होइन किनभने यसले उनीहरूको जीवनमा खासै अर्थ पनि राख्दैन । साथै, अरू त अरू ती नेता या जनप्रतिनिधिहरूको राजनीतिक अपिल या आकर्षण पनि त्यही बनिरहन्छ ।
दल–बदल कुनै मुद्दा नै होइन, बल्कि असल सङ्कट राजनीतिक विचार÷कल्पनामा उम्रेको एक गतिरोध हो । यसकारण, ध्यानको केन्द्र व्यक्तित्व– जस्तो कि, भिन्न – भिन्न नेताहरूको या उनीहरूको व्यक्तिगत पहिचान, वंशवादी राजनीति, भाषण कला र जीवनी विवरणहरू माथि बढी चलेको छ । मतदाताहरू उनीहरूको प्रदर्शनको आधारमा आफ्नो समझदारी बनाउने गर्छन् कि पार्टी र नेताहरूबीच सम्भावित अन्तर हुन सक्छन् । जस्तो कि अहिले स्पष्ट भएको छ कि भाजपा शासन चलाउनमा योग्य छैन र चुनिएका केही प्रतिभाशाली नेताहरूको सहारामा नवउदारवादलाई एक दीर्घकालीन नीति – संरचनाको रूपमा जारी राख्न सकिँदैन जस्तो काङ्ग्रेसले मनमोहनसिंहको नेतृत्वमा गरेको थियो । यसकारण, भाजपा अहिले एउटै हिन्दूत्वको एजेन्डामा ध्यान केन्द्रित गर्नका लागि बाध्य छ, जुन उसलाई विरासतका रूपमा प्राप्त भएको छ । ऊ अब अझ बढी आक्रामक, मुखरित र कतिपय अवस्थामा हास्यास्पद तरिकाले हिन्दूत्वको अनुसरण गरिरहेको छ ।
चुनाव आएपछि नै भाजपाका नेताहरू व्याकुल हुन्छन् र हिन्दू–मुस्लिम समुदायहरूलाई उनीहरूको चुनावी रथ दौडाउने माध्यमको रूपमा हेर्ने गर्छन् । यसले काम गरेन भने यो भन्दा बढी उनीहरूको सोचमा वा बुद्धिमा अरू केही आउने नै गर्दैन । जस्तो कि दिल्ली र बङ्गालको चुनावहरूमा मिलेको असफलतापछि देखिएको थियो । फेरि पनि अर्को चुनावमा त्यही नै उपाय दोहो¥याउने गरिन्छ । सरकार चलाउनमा तिनीहरूको अक्षमता पार्टीहरूलाई हिन्दूत्वको चर्चा गर्न र बयानबाजीलाई एक विचित्र सीमासम्म तानेर लानका लागि बाध्य पारिदिएको छ । उदाहरणका लागि अहिले उत्तर प्रदेशको निर्वाचन अगाडि भारतमा फैलिएको प्रदूषणका लागि पाकिस्तानमाथि आरोप लगाइएको छ ।
हुन त भाजपाका लागि विकासको एजेन्डा लागु गर्नका निम्ति कठिनाइहरू अगाडि आउनु संयोग होइन बरु यो हिन्दूहरूसमेत भारतीय नागरिकहरूलाई कमजोर बनाउने र उनीहरूलाई अतिसंवेदनशील एवम् चिन्तित बनाएर शासन गर्ने व्यापक हिन्दूत्ववादी कल्पनाका परिणाम हो ।
असुरक्षित वातावरण र औसत दर्जाको शासनमा विकास हुन सक्दैन । यो एक संरचनात्मक विरोधाभास हो जसलाई उनीहरू टाढा बनाउन सक्दैनन् । यसलाई व्यवस्थापन गर्ने एक मात्र तरिका सङ्कटकाल या भविष्यका आशङ्काहरूप्रति बढीभन्दा बढी जनमत निर्माण गर्नु र यो आशा गर्नु हो कि जनता भाजपा–आरएसएसको राजनीतिसित जोडिरहनका लागि उन्मादी तरिकाले प्रतिक्रिया दिनेछन् ।
देशको सबैभन्दा पुरानो पार्टी भारतीय राष्ट्रिय काङ्ग्रेस केही समयदेखि पतनतिर अग्रसर छ । काङ्ग्रेसको दुविधा केही हदसम्म भाजपासित ठीक उल्टो छ । त्यसले बुझेको छ कि आफूले चुनाव किन हारिएको छ । पार्टीमा भित्री कलह, भ्रष्टाचारका आरोपहरू, नेतृत्व सङ्कट र अपेक्षाहरूमा पार्टी सफल हुन नसक्नुजस्ता कारणले नै काङ्ग्रेसले चुनावहरू हारिरहेको हो । तर, जब त्यसले चुनाव जित्छ, किन चुनाव जितियो भनी त्यसलाई थाहा नै हुँदैन न त काङ्ग्रेसीहरू त्यस कारणलाई खोज्ने आवश्यकता नै अनुभव गर्छन् । तर, कहिलेकाहिँ त्यसलाई थाहा हुन्छ कि मतदाताहरूले किन आफ्नो पार्टीलाई मत दिए भनी । जस्तो कि, दुई वर्ष अगाडि मध्यप्रदेश र राजस्थानमा भए । अब यो स्पष्ट भइसकेको छ कि भारतीय राष्ट्रिय काङ्ग्रेसले यसकारण मात्र जित्ने गर्छ किनभने जनताको अगाडि कुनै अरू राम्रो विकल्प हुने गर्दैन । काङ्ग्रेसले पनि जनतालाई त्यही नवउदारवादी सपना देखाइरहेको छ जसलाई अहिले भाजपाले अगाडि बढाइरहेको छ । वास्तवमा धेरैजसो नीति, जसमा वस्तु तथा सेवा कर (जीएसटी) र कृषि कानुनहरू पनि आउँछन् यथार्थमा काङ्ग्रेसको दिमागकै सुरुआती उपज थिए ।
यतिखेर भारतीय राष्ट्रिय काङ्ग्रेस अस्पष्ट र डावाँडोल अवस्थामा छ । यो पार्टी धर्मनिरपेक्षता र आफ्नो हिन्दू पहिचान स्थापित गर्ने प्रयासहरूको बीचमा झुन्डिरहेको छ । यो स्थिति त्यस पार्टीको नीति र वैचारिक झुकावमा व्याप्त गहिरो सङ्कट हो । जुन कुरा पार्टी नेतृत्व कमजोर, भ्रमित र गैरप्रतिबद्ध भएपछि अझ बढी उदाङ्गो हुने गर्छ । काङ्ग्रेसले यस दलदलबाट बाहिर निक्लनका लागि केही पनि गरेको छैन र लगातार यही मानेर अगाडि बढिरहेको छ कि सरकार चलाउनमा भाजपाको ठूलो असफलताका कारण मतदाताहरूसित काङ्ग्रेस नै एउटै विकल्प बाँकी रहनेछ र उसले निर्वाचन जित्नेछ । भारतीय राजनीतिमा राजनीतिक विचारको इतिहासको अन्त हुने स्थितिमा क्षेत्रीय पार्टीहरू आफ्नो आफ्नो दावा पेश गरिरहेका छन् ।
यसमा आम आदमी पार्टी (आप), द्रविड मुनेत्र कजगम (डीएमके), तृणमूल काङ्ग्रेस मतदाताहरूको विश्वास जित्ने आफ्नो अवसरलाई चम्काइरहेका देखिएको छ । ‘आप’ पार्टी भाजपाको शासनको असफलतालाई आधार बनाएर आफ्नो पार्टी विस्तार गर्ने प्रयास गरिरहेको छ र हरेक ठाउँमा दिल्लीको तुलनात्मक रूपमा राम्रो शिक्षा, स्वास्थ्य, पानी र बिजुलीको सुविधा उपलब्ध गराउनमा आफ्नो सफलताको उदाहरण पेश गरिरहेको छ । यसैबीच ‘आप’ का अध्यक्ष अरविन्द केजरीवालले धार्मिक स्थलहरूमा निःशुल्क यात्राको घोषणा गरेर एक नयाँ हिन्दू राग गाईदिएका छन् । आप पार्टी सेवा वितरणमा आधारित राजनीतिक मोडेलमा चलिरहेको छ, ठीक त्यस्तै जस्तो कि पहिले आन्ध्र प्रदेशमा तेलेगु देशम पार्टीका नेता तथा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नाइडुले स्वयम्लाई मुख्यमन्त्री नभई सीईओ (चिफ इक्जेक्युटिभ अफिसर) घोषणा गर्ने प्रयास गरेका थिए । यस मोडेलले कुशल शासनको वाचाको प्रतिनिधित्व गर्छ भनिए पनि यथार्थमा भारतमा नवउदारवाद आइसकेको घोषणा गर्छ ।
तृणमूल काङ्ग्रेस (टीएमसी) को भारतीय राष्ट्रिय काङ्ग्रेससित नाता तोड्ने र वामविरोधी हुनुको एउटा अनौठो इतिहास रहेको छ । टीएमसीलाई पश्चिम बङ्गालमा वामपन्थी राजनीतिको किल्ला ढाल्नमा सफलता मिल्नुमा स्वयम् त्यस पार्टीको विचारभन्दा पनि भारतीय कम्युनिस्टहरूको काम गर्ने पुरानो तरिका, नातावाद, कृपावाद र बढ्दो भ्रष्टाचार कारक रहेको थियो । नयाँ विचार वा कल्पनाको अगुवाका रूपमा टीएमसी उदाए पनि उसमा पनि कुनै नयाँ वैचारिकता छैन ।
टीएमसीले त्यस कल्याणवादको प्रतिनिधित्व गर्छ जसमा योजनाहरूले जनतालाई सीधा लाभ पु¥याउने गर्दछ । उसले पनि भाजपाको निरङ्कुश शासनको विरोधमा वैचारिक लडाईँ लडेको जस्तो गरेर देशको नेतृत्व छिन्ने प्रयास गरिरहेको छ । जब कि त्यो पार्टी पहिले भाजपाकै गठबन्धनमा थियो र त्यसबाट अलग्ग भएको धेरै समय पनि भएको छैन । बङ्गालको औसत अर्थव्यवस्था हेरेर टीएमसीको विकासको या फुकी फुकीकन पाइला चालेर कुँदिएको ममता बनर्जीको ‘जमिनी नेता’ को छविले मात्र पनि कुशल शासनको ठूला ठूला दावाहरू गर्न सकिँंदैन । यसकारण, बनर्जीले अहिले ‘वैचारिक लडाइँ’ अगाडि बढाइरहेकी छन् । तर, तिनले अगाडि बढाइरहेको वैचारिक लडाइँको उद्देश्य विचारको आदर्शसम्म पुग्ने नभई एकातिर मोदीको व्यक्तित्व र अहङ्कारमाथि प्रहार गर्ने र अर्कोतिर आफैलाई विपक्षको अगुवा मान्ने भारतीय राष्ट्रिय काङ्ग्रेसको प्रवृत्तिलाई चुनौती दिने मात्र हो ।
आप, टीएमसी, डीएमके, अकाली दल, टीडीपी आदि क्षेत्रीय पार्टीहरू भारतका वास्तविक विकल्पभन्दा पनि भारतीय राजनीतिमा देखापरेको गतिरोधको छाया या प्रतिविम्ब मात्र हुन् । उनीहरू पनि अब काङ्ग्रेसकै प्रवृत्तिमा अग्रसर छन् । तिनीहरूको पनि प्रवृत्ति राजनीतिक विकल्प बन्नेभन्दा पनि ‘मतदाताहरूसित अरू कुनै विकल्प रहेको छैन, यसकारण आफ्नो पार्टी स्वतः नै जनताको मत पाउने हकदार हो र जनताले आफ्नै पार्टीलाई मत दिन्छन् भन्ने सोचाइमा केन्द्रित छन् ।
वास्तविक राजनीतिक विकल्प हुनसक्ने कम्युनिस्ट र वामपन्थी पार्टीहरू भने वैचारिक जडशुत्र, व्यावहारिक सङ्कीर्णता र टुटफुटले विकल्प बन्ने बाटोबाट निरन्तर टाढा हुँदै गएका छन् । भारतीय लोकतन्त्र (प्रजातन्त्र) अहिले वास्तविक विकल्पको अभावमा स्वयम्लाई विकल्प सम्झने पुरानै वर्ग र शासक प्रवृत्तिहरूले भरिन पुगेको छ । मतदाताहरूलाई लोभ्याउने होडमा आज भारतका शासक राजनीतिक दलहरूबीच वैचारिक अन्तर मेटिँदै गएको छ ।
(Spot the Difference in What Parties Vying for India’s Voters Now Represent)
–The Wire, 06/DEC/2021
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *