भर्खरै :

दैलेखमा माओ जन्मदिवसको अवसरमा जनसभा

दैलेख, १८ पुस । नेमकिपा दैलेख जिल्ला समिति चामुण्डा विन्द्रासैनीको आयोजनामा विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङ्गको जन्मदिवसको अवसरमा हाडाकोटमा जनसभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले गरिबी र पिछडिएको चीनमा चिनियाँ गरिब जनतालाई शासनमा पु¥याउन अध्यक्ष माओले गर्नुभएको योगदानलाई विश्वका कामदार जनताले भुल्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “आजको चीन निर्माणमा अध्यक्ष माओकै महत्वपूर्ण योगदान छ । गरिबी निवारणमा चीनको प्रगति उत्साहजनक छ । चीनको विकास आश्चर्यजनकरूपमा अगाडि बढिरहेको छ ।”
नेमकिपा १४ औँ दैलेख जिल्ला सम्मेलन तयारी समितिका सदस्य नीरकबहादुर शाहीले कम्युनिस्ट भनिने नेपालका शासक पार्टीहरूले चीनबाट सिक्न नचाहेको उल्लेख गर्दै कम्युनिस्टको नाममा जनतालाई छक्याइरहेका दलहरूलाई चिन्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा सुरेन्द्रबहादुर शाही, इन्द्रप्रसाद चौलागाइँ, धनकुमारी शाही, खड्गबहादुर कठायत, केशवबहादुर शाही, ठानबहादुर राना, मनबहादुर विक, कृष्ण ढकालले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी महाबु गाउँपालिकाको आयोजनामा महाबुको काप्री खोलामा विश्व सर्वहारा वर्गका महान् नेता स्तालिनको जन्म दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा दैलेखका बमबहादुर सिहले गरिब–पिछडिएको रूसलाई विश्वको महाशक्ति देश बनाउन स्तालिनको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
दोस्रो विश्व युद्धमा सोभियत सङ्घ पक्षधरलाई जिताउन र हिटलरलाई पतन गराउन स्तालिनको योगदान अतुलनीय रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “स्तालिनको जीवन सङ्घर्षबाट शिक्षा लिनुपर्छ । जस्तोसुकै कठिन परिस्थिति आइपरे पनि देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने लक्ष्यलाई छोड्नुहुन्न ।”
कार्यक्रममा दुर्गबहादुर थापा, मनबहादुर खत्री, लक्ष्मी सिंह र टेकबहादुर सलामीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *