भर्खरै :

कोरोनाको असर अझै बाँकी !

कोरोना भाइरसको कारण लामो समय शिक्षालय बन्द भयो । विद्यालय बन्दसँगै पढाइमा पनि असर पुग्यो । यस अवधिमा अनलाइन कक्षा चले पनि सबैको त्यो पहुँचमा पुगेन या अनेक प्राविधिक कारण सबै विद्यार्थीहरू कक्षामा सामेल हुन सकेनन् । कति सामेल भए पनि नियमित भएन । अहिले पढाइ नियमित भयो । परीक्षा पनि सुरू भयो । लामो समयसम्म पढाइमा सामेल हुन नपाएकोले कति विद्यार्थीहरूको पढाइमा ध्यान गएन । अभिभावकहरू कोरोनाको कारण विद्यार्थीहरूको बानी बिग्रिएको या पढाइप्रति चासो नराखेको गुनासो पोख्छन् । कति विद्यार्थीहरूले पढाइ नै छोडे । कति दुई–चार दिन आउने र दुई–चार दिन कक्षा छाड्ने विद्यार्थीहरू पनि देखिए । यिनै चिन्ता अभिभावकहरूमा मात्र होइन शिक्षकहरूमा देखिन्छ ।
चिन्तामा डुबेर पढाइको स्तर उठ्ने होइन । तर, कोरोना कालभन्दा पहिलेका विद्यार्थीहरूको तुलनामा अहिलेका विद्यार्थीहरूको पढाइको स्तर खस्किने हो कि भन्ने चिन्ता हो अभिभावक र शिक्षकहरूको । त्यसको अर्थ सबै विद्यार्थीहरूको स्तर खस्केको भने होइन । अब बितेको दिन छोडेर अबका दिनमा विद्यार्थीलाई पढाइप्रति उत्प्रेरित बनाउन, जागरूक बनाउन शिक्षक, अभिभावकहरू सचेत हुनुपर्छ, विद्यार्थीहरूलाई उत्साहित बनाइनुपर्छ । शिक्षकले विद्यालयमा, अभिभावकले घरमा आफ्ना विद्यार्थी र सन्तानको निम्ति बाटो देखाउनुपर्छ, पढाइको महत्वबारे बताउनुपर्छ । निरास भएर, प्रायश्चित गरेर भविष्य निर्माण गर्ने गोरेटो छोड्नु हुँदैन, छोडाउनु हुँदैन । यो समयको आवश्यकता हो, पाइला हो । आशा गरौँ, कोरोना सङ्क्रमितको सङ्ख्या अब नबढोस् ।
सङ्क्रमण नफैलाउन सबै जना सबै ठाउँमा सतर्क भएर बसौँ । हामी सबै सचेत होऔँ । हिजोझैँ सो सङ्क्रमण फैलिएमा फेरि विद्यालय, कलेज बन्द हुनेछ, उद्योग–कारखाना बन्द हुनेछ । सरकारी तथा गैरसरकारी कार्यालय, विभिन्न सङ्घ–संस्था, घरेलु उद्योग आदि बन्द हुनेछ । अनि हाम्रो रोजीरोटीको समस्या हुनेछ । कतिको आफ्नो व्यवसाय नै धरापमा पर्नेछ, कतिले आफ्नो सेवा छोड्नुपर्ने हुन्छ । अन्ततः जीवन जोहो गर्न गा¥हो हुन्छ । यसकारण, देशभरका प्रत्येक सरकारी तथा निजी अस्पताल, स्वास्थ्य केन्द्रमा सङ्क्रमितको लागि ठाउँ, औषधि, अक्सिजन या अन्य सामानको व्यवस्था गरिराख्नुपर्छ । अस्पताल र जनस्वास्थ्य केन्द्रका चिकित्सक, नर्स या अन्य स्वास्थ्यकर्मीहरूको बन्दोबस्त भइरहनुपर्छ । यस कार्यमा सरकारले आवश्यक सबै व्यवस्था मिलाउनुपर्छ, जहाँ अभाव छ, त्यहाँ पूर्ति गर्नुपर्छ । यसरी हर समय हर पल सरकार चनाखो भइरहनुपर्छ । परेपछि व्यहोरौँला भनेर ढुक्क बस्ने बेला होइन अहिलेको समय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *