भर्खरै :

कुखुरापालक किसानहरू सङ्कटमा

धेरै मध्यम तहसम्म अध्ययन गरेका युवाहरूले स्वरोजगार व्यवसायको रूपमा कुखुरापालन गरिरहेका छन् । त्यसै त कुखुरापालन व्यवसाय निकै चुनौतीको पेसा हो । त्यसमाथि दाना र औषधीको निरन्तर मूल्यवृद्धिले जोखिम र चुनौती बढ्दै गएको छ । ५० किलो दानाको मूल्य रु. ३८०० –४००० पुगेको छ । कुखुराको लागि प्रयोग हुने औषधिको मूल्य पनि निरन्तर बढ्दै गएको छ । नेपालमा दाना, औषधि, कुखुरा र अण्डाको बजारको मूल्य निर्धारणको बेथितिका कारण किसान सधैँ नै शोषणमा परिरहेका छन् । कच्चा पदार्थमा मूल्यवृद्धिको कारण देखाई हरेक महिना दानाको मूल्य वृद्धि हुँदै गएको छ । ऋण सापती गरेर लाखौँको लगानी गरिसकेपछि किसानले दाना नखुवाई कुखुरा मार्न सक्दैन । त्यसैले जति मूल्य बढे पनि थप ऋणमा डुबेर दाना किन्नुको विकल्प छैन । तर, त्यसरी महँगो दाना, औषधि, भुस, इन्धन, जग्गा वा टहरा भाडा तिरेर उत्पादन भएको कुखुरा र अण्डाको मूल्य किसानको हितमा हुन सकेको छैन ।
कुखुराको मूल्य मासु व्यवसायीले निर्धारण गर्दै आएका छन् भने अन्डाको मूल्य डिलरहरूले । दाना र औषधिको मूल्य सही छ वा छैन भनी सम्बन्धित निकायले कहिल्यै अध्ययन र अनुगमन गरेको खबर सुन्न पाइँदैन । यस्तो अवस्थामा केही वर्षभित्र देशलाई मासु र अन्डामा आत्मनिर्भर बनाउने सरकारको योजना कदापि सफल हुनेछैन । उठ्नै नसकिने गरी घाटा खाएका किसानहरूले फेरि उही व्यवसाय गर्नेछैनन् । कुखुरा र अन्डाको उपभोक्ता मूल्य अत्यधिक बढाउनुपर्ने किसानहरूको आशय कदापि होइन । कुखुराको मूल्य र मासुको मूल्यमा भइरहेको अत्यधिक अन्तर घटाउनुपर्छ भन्ने हो । त्यस्तै अन्डाको किसान मूल्य र उपभोक्ता मूल्यमा पनि ठूलो अन्तर छ, त्यसलाई घटाएर किसानहरूको घाटा कम गरिनुपर्छ । यदाकदाबाहेक कुखुरापालक किसानले कहिल्यै फाइदा पाउन सकिरहेका छैनन् । दानाका डिलरहरू र भेटेनरी औषधि पसलेहरू भने धनी हुँदै गएका छन् । कुखुरापालक किसानहरू भने शोषण र सङ्कटमा परिरहेका छन् । के यसमा तीन तहका सरकारहरूको ध्यान जाला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *