हेटौंडा, २० पुस । आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनका लागि रिक्त रहेको बाग्मती प्रदेशतर्फको दुई सीटको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट अन्यतर्फ कृष्णबहादुर तामाङ र महिलामा गीता काफ्लेले उम्मेदवारी दर्ता दिनुभएको छ । काभ्रे जिल्लाका तामाङ नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ यसअघि भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पनि उम्मेदवार रहनुभएको थियो । नेपाल क्रान्तिकारी महिला सङ्घका गीता काफ्ले भक्तपुर, चाँगुनारायण नपा निवासी हुनुहुन्छ । नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिको नेतृत्वमा बाग्मती प्रदेश निर्वाचन आयोग पुगेको टोलीले नेमकिपाको तर्फबाट उम्मेदवारी दर्ता गरेको हो ।
मङ्गलबार नै सत्तागठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस र नेकपा (समाजवादी) का एक÷एक जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

कृष्णबहादुर तामाङ
निर्वाचन कार्यालयका अनुसार नेपाली काङ्ग्रेसका कृष्णप्रसाद पौडेल र महिलामा नेकपा समाजवादीबाट गोमा तिमल्सिनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी (नेकपा एमाले)को तर्फबाट गोपाल शाक्य र निरकुमारी कुँवर (निरु दर्लामी) लाई राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता भएको छ ।
निर्धारित निर्वाचन तालिकाअनुसार बुधबार २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको बताइएको छ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ । आगामी माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ । मतदानका लागि हेटौँडा उपमहानगरपालिका–८ मा रहेको हेटौँडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदानस्थल तोकिएको छ ।

गीता काफ्ले
राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष र प्रदेशसभा सदस्य मतदाता रहनेछन् । राष्ट्रियसभा निर्वाचनमा बाग्मती प्रदेशमा ३४६ मतदाता रहेका छन् । ११९ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कुल २३८ जनामध्ये एक जना गाउँपालिका अध्यक्ष निलम्बनमा परेका कारण २३७ जनामात्र मतदाता कायम भएको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।
त्यस्तै प्रदेशसभाका कुल ११० जना सदस्यमध्ये एक जना सदस्यको कोरोनाका कारण निधन भएकोले प्रदेशसभाका १०९ जना सदस्य मतदाता कायम रहेको कार्यालयले जनाएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ ।
जसअनुसार निर्वाचनमा १०९ जना प्रदेशसभा सदस्यको पाँच हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको चार हजार २६६ मतभार रहेको छ । जसअनुसार बाग्मती प्रदेशमा कूल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।
Leave a Reply